site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
मेरो आँखामा १ घण्टाका लागि पट्टी लगाइदियो..., ‘अनि म शून्य भएँ !’

काठमाडौं । शून्यताको आभाष के हुने रहेछ ? तपाईंले कहिल्यै आफू शून्य भएको महसुस गर्नुभएको छ ? साहित्यिक पाटामा त हामीले धेरैपटक सुनेकै हौँला यो लाइन, “म शून्यसरी विलाएँ” । तर, यसको शाब्दिक अर्थ के हो ? सायद, यो अनुभव व्यक्तिपिच्छे, अनुभवपिच्छे अनि परिस्थिति पिच्छे फरक हुन्छ होला । अहिले म तपाईंलाई मेरो शून्यताको यात्रामा लैजान चाहन्छु । 

“तिमी आँखा बन्द गरेर आफूले आफैँलाई अनुभव गर” ध्यान, योग वा भनौँ आध्यात्मिक गुरुहरूले प्राय भन्ने यो शब्द । 
के तपाईंले कहिल्यै आँखा बन्द गरेर हेर्ने कोशिस गर्नुभएको छ ? तपाईंलाई अच्चम लाग्ला आँखै बन्द भएपछि कसरी हेर्न मिल्छ भनेर । 

तपाईं-हामीले लामो समयसम्म आँखा बन्द गर्ने भनेको अचेत अवस्थामा मात्रै होला । किनभने चेतन समयमा धेरैबेर आँखा बन्द गरेर हेर्नै सक्दैनौँ । सायद हामीमा त्यो धैर्यता नै छैन । अरू बेला त हामी एकछिन पनि आँखा बन्द गरेर अनि पूरै अन्धकारमा बस्न सक्दैनौँ ।  तर, मैले आँखा बन्द गरेर अन्धकार कोठामा धेरै चिज हेरेको छु । साँच्चै आँखा बन्द गरेर हेर्नुको आनन्द बेग्लै हुने रहेछ । आँखा खुल्ला हुँदा हेर्ने त्यही वस्तु अनि परिवेशलाई आँखा बन्द हुँदा हेर्दा एकदमै फरक हुने रहेछ ।  आँखा बन्द गरेर हेर्दा हामीले हेर्ने भन्दा पनि हाम्रा पाँच ज्ञानेन्द्रियहरूले आ–आफ्नो काम तिव्र गतिमा गर्ने पो रहेछ !

Dabur Nepal

अनि मेरो आँखामा १ घण्टाका लागि पट्टी लगाइदियो...

घरको भुइँतल्लाको दुईजना मात्रै सँगसँगै हिँड्न मिल्ने सानो गल्ली जस्तो प्यासेज । एकछेउ लहरै मिलाएर १५ वटा मेच राखिएको थियो । त्यसमेचमा बसिरहेका १५ जनामध्ये एकजना म पनि थिएँ । 

हामीले बोकेका ब्याग, मोबाइल, केही साथीले आँखामा लगाएका पावरवाल चस्मा देखि जुत्ता पनि खोल्न लगाइयो । त्यसपछि, हाम्रो आँखामा कालोे पट्टि बाँधिदिए । मन केही डराइरहेको थियो, कताकता एक्साइटेड पनि अनि कताकता ढुक्क पनि थिएँ । किनभने त्यहाँ म पूरै अपरिचित व्यक्तिहरूसँग पनि थिइन् ।
 
त्यसपछि, कसैले कानैमा मधुरो आवाजमा भने, “स्वागत छ” । त्यसो भन्नेबित्तिकै केही भाडोमा तरल पदार्थ खन्याएजस्तै कानैमा तररर... आवाज आयो । आवाजले आत्तिन नपाउँदै हातमा आधा भरिएको गिलास कसैले ठम्याइदियो । आँखामा पट्टी थियो, त्यसैले पिउन खोज्दा थाहा पाएँ गिलास आधा भरिएको रहेछ । अनि त्यो तरल पदार्थ पिउने कि नपिउने दुविधाबीच नै मैले दुई घुट्की पिएँ । केही चिनेजानेको स्वादजस्तो, केही अमिलो जीवनजलको स्वादजस्तो लाग्यो । त्यसपछि, कसैले मेरो हात समातेर मलाई कतै डो¥याउँदै लग्यो र एउटा कोठामा लगेर छोडिदियो । 

म अघि बसेको सिटको बाँयापट्टिबाट गन्दै आउने हो भने म १२ औं मा थिएँ । त्यसैले, त्यो कालो कोठामा पुग्नेबित्तिकै सुरुमा त हामी लयमै थियौँ । साथीहरूको आवाजले थाहा पाइयो । आँखा पूरै बन्द । कहाँ जाने, के गर्ने, के छ त्यो कोठामा केही मेसो पाइरहेको थिइनँ । सायद म जस्तै अरु साथीहरू पनि त्यही दुविधामा थिए । तर, पनि मैले विस्तारै छामछाम–छुमछुम गर्दै पहिलो पाइला अघि बढाएँ । त्यसैगरि दोस्रो, तेस्रो पाइलाहरू विस्तारै अघि बढ्न थाले । 

मन डरले ढुकढुक ढुकढुक गर्दै थियो । जसो पाइला अघि बढ्दै जान थाले खुट्टाले अनेक कुरा स्र्पश गरेको अनुभूति भयो । अनि थाहा भयो त्यो कोठाको भुइँ हामीले सधौ टेक्नेजस्तो सफा थिएन । कतै मान्छेका लुगामा टेकेजस्तो कतै जुत्तामा टेके जस्तो । कतै गिट्टी, कतै चामलका दाना बिछ्याएको जस्तो कतै गेडागुडीका दाना त कतै चिप्लो च्यापच्याप । लाग्दै थियो त्यहाँ कसैको रगतमाथि पाइला पो टेक्दै छु अनि कसैको लम्पसार परेर ढलेको शरीरमाथि कुल्चिरहेको पो छु कि ! विस्तारै अघि बढेर हात छामछुम गर्न खोज्दा मानिसको टाउको जस्तो कतै जंगलको पात पतिंगर अनि लहरा समातेजस्तो त बीच–बीचमा लामो फलामको डोरी छोएको महसुस हुन्छ । 

त्यसमाथि, पृष्ठभूमिमा फरक–फरक आवाजले मेरो कान चनाखो भएर सुनिरहेको थियो । कहिले जंगलमा चराचुरुगी कराएजस्तो, कलकल पानी बगिरहेको जस्तो, केही उत्सव मनाइरहँदा बज्ने जस्तो बाजाको आवाज, कतै बन्दुक पड्केको जस्तो, कहिले मान्छे चिच्चाइरहेको, घरिघरि कुकुरको झुन्ड एकैसाथ रोएर चिच्याएजस्तो अनेक–अनेक अनि डरलाग्दा आवाज सुनिन्थ्यो । 

यति मात्रै होइन त्यो कालो कोठामा एकप्रकारको छुट्टै गन्थ पनि आइरहेको थियो । सायद, त्यो कसैलाई बास्ना पनि हुन सक्छ । तर, मलाई त्यो गन्धले सुरुदेखि अन्तसम्मै तानिरह्यो ।

सुरुमा त म एकदमै आत्तिएँ अनि साथीहरूको सहारा लिन खोजेँ । हरर चलचित्रसँग डराउने म त्यहाँ पस्दा साँच्चै डरले मेरा कान तिखातिखा ठाडाठाडा भएका थिए । लाग्दै थियो, भूतको चलचित्रमा भूत आउँदा कानमा फुसफुसाएर नामले डाकेको जस्तो । मेरो पनि कानमा आएर मेरो नाम पो लिन्छ कि'\ वा मलाई स्वात्तै तानेर कतै लग्छ कि । मनमा अनेक डरकै कारण म साथीहरूको हात समाउँदै अघि बढ्न थालेँ । 

तर, साथीहरूसँगसँगै अघि बढिरहँदा कसैले मेरो हात साथीको हातसँग छुटाइदियो । अनि, त्यसपछि म झसंग भएजस्तो महसुस भयो र म एक्लै विस्तारै हिँड्न थालेँ । 

त्यो बेला मलाई महसुस भयो कि हामी आपत्तविपत्तमा सधैँ कोही न कोहीको सहारा खोज्ने रहेछौँ । मान्छे कति स्वार्थी हुँदोरहेछ है ! अघि, डर लाग्दासम्म साथ अनि हात खोजिरहेको म, त्यो अपरिचित ठाउँमा समय बिताउँदै गएँ, केही आत्मीय महसुस हुन थालेँ अब म एक्लै हिँड्न सक्छु जस्तो भन्ने आत्मविश्वास बढ्यो । शून्य भएर एकछिन आफैँलाई खोज्छु जस्तो लाग्न थाल्यो मैले कसैको साथ नै लिन छोडेँ । 

किनभने मलाई आत्मविश्वास बढिसकेको थियो कि त्यहाँ अब डराउनुपर्ने केही छैन । छ त केवल आफूलाई खोज्ने, एकछिन ‘आँखा बन्द गरेर आफैलाई हेर्ने’ । म एकछिन अडिएँ, मलाइणर्् त्यो कोठामा वरिपरि चक्कर लगाउँदा लगाउँदै उभिँदा उभिँदै केही थकाइ महसुस भइरहेको थियो । मैले मेरो विगतमा पाएको केही ‘फेलिएर’ सम्झेँ अनि अनिश्चित भविष्य सम्झिएर मन त्यसै चिसो हुन थाल्यो । 

भुइँभरि लछारपछार भएका लुगाफाटा, जुत्ता, खानेकुरा, अनि लतपतिएको रगतले माओवादी जनयुद्धमा मारिएका सहिदहरू अनि उनीहरूको घरपरिवारको त्यो डर सम्झिएँ । 

जुन मैले चाहेर पनि महसुस गर्नै सक्दिन । अंग्रेजीमा भनिन्छ नी सिम्पाथाइज गर्न सक्छु तर एम्पाथाइज गर्न सक्दिन् । अर्थात् ओहो ! विचरा ! जस्ता शब्दहरू पोखेर सहानुभूति व्यक्त गर्न सक्छु, तर त्यही पीडामा आफूलाई राखेर हेर्नै सक्दिनँ ।  किनभने देशको राजधानीसँगै जोडिएको ललितपुरको नेवार समुदायमा जन्मिएर हुर्केकी मैले त्यो जनयुद्ध भोग्नु त परको कुरा त्यसको एउटा बाछिटा पनि मसम्म परेन । पेसाकै कारण यस्ता कुरा सुनेकी र भागेकाहरूलाई देखेकी मात्रै छु । 

१० वर्षे जनयुद्ध भोगेका अनि प्रत्यक्ष देखेकाहरूको बारेमा सोच्दासोच्दै आङ सिरिङ हुन थाल्यो । त्यसमाथि के हो, कहाँ हो, के गर्ने हो, यहाँ के छ ? भन्दै घरिघरि कराइरहेको आवाज, अनि पृष्ठभूमिमा कहिले एकदमै जोडले त कहिले मधुरोमा सुनिरहने अप्रिय अनि डरलाग्दो, कहालीलाग्दो आवाजले मलाई एकदमै गाह्रो बनाइरहेको थियो । 

सायद म शान्त, अनि मौनता खोजिरहेको थिएँ । त्यसैले, होला एक समय एक्कासि मेरो मुखबाट ‘प्लिज हामी सबैजना केही समय चुप लागेर बसौँ न’ भन्ने वाक्य फुत्किएछ । मलाई केही भोक पनि लागेको जस्तो भइरहेको थियो अनि थकान पनि । त्यहि एक्कासि मेरो कानमा बाँसुरीको सुरिलो धुन ठोकिन पुग्यो । र म त्यही धुनलाई पछ्याउन थालेँ । बाँसुरीको धुन अघि अघि अनि म त्यसको पछिपछि । तर, मन एकदमै आनन्दित महसुस भइरहेको थियो । 

कोही प्रेमिल जोडी एकअर्कासँग जिस्कदै पछ्याइरहे जस्तो महसुस भएको थियो । तर, त्यो रोमाञ्चित अनि आनन्दित महसुस मैले धेरै बेर भोग्न पाइन । सुरुमा त्यो कोठामा प्रवेश गर्नुअभि जस्तै कोही व्यक्तिले मेरो दुवै हात समायो र मलाई डो¥याउँदै बाहिर लग्यो । 

हामी १५ जना नै त्यहाँ ओछ्याएको गलैँचामा बस्यौं । हामीलाई आँखाको पट्टी खोल्न मिल्ने निर्देशन आयो । सबैजनाले दिउँसोको त्यो उज्यालो हेरे र भर्खरै गरेको त्यो कालोकोठाको अनुभव साटासाट गर्न थाले । तर, म भने एकदमै चुप थिएँ । किन किन मलाई केही बोल्न मनै लागिरहेको थिएनँ । म एकदम शान्त बस्न रुचाइरहेको थिएँ । मसँग सुनाउन केही शब्द नै थिएन । भन्न त धेरै कुरा थियो, तर म केही बोल्नै सकिनँ एकोहोरो टोलाइरहेँ अनि साथीहरूको कुरा सुन्दै बसेँ । 

त्यो कहिले नदेखेको र नगएको छुटै संसारबाट बाहिर निस्कदाँ म शून्य भएको थिएँ । मन आनन्दित थियो । शरीर र मन दुवै हलुका महसुस भइरहेको थियो । मैले आफूलाई पाएँ या अझै पाउन सकिनँ, मैले मेरा मनका कति प्रश्नको उत्तर पाएँ या पाउन सकिनँ त्यो मलाई नै थाहा भएन । तर, मलाई पछुतो लाग्यो । सायद म त्यो संसारमा छिरेदेखि ननिस्केसम्म कसैसँग नबोलेर कसैको सहारा नखोजेर चुपचाप आफैँ हिँडेको भएँ मैले आफूभित्रै धेरै कुराको जवाफ पाउँथें होला, अनि अझ बढी आनन्द पनि महसुस गर्थेँ होला । त्यो १० वर्षे जनयुद्धको भोगाइलाई अझ मज्जाले महसुस गर्न सक्थेँ होला । 

अनि, मलाई महसुस भयो । हामी बिहान उठेदेखि राति नसुतेसम्म कि कम्प्युटर कि फोन हेरेर जीवन रमाउन खोज्नेहरूलाई त्यो अर्को संसारमा समय–समयमा हराउन कति महत्त्वपूर्ण रहेछ भनेर । आँखा बन्द गरेर केही समय आफँैभित्र हराउनु अनि आफ्नो वरिपरिको वातावरण, सम्बन्धलाई महसुस गर्न अनि बुझ्न कति महत्त्वपूर्ण छ भनेर । 

यो फरक संसारको अनुभूति यतिबेला मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘भित्र÷बाहिर–भाग ४ को हो । जसको परिकल्पना तथा निर्देशन रामहरि ढकालले गरेका हुन् । नर्वेमा रंगमञ्चमै स्नात्तकोत्तर गरेका उनको यो प्रयोगात्मक नाटक विधा हो, जसलाई उनी संवेदी प्रदर्शनी भन्न रुचाउँछन् । 

“यो एउटा प्रयोगात्मक काम हो । हामीले हेर्दै र देख्दै आएको रंगमञ्चीय कामभन्दा धेरै नै फरक छ । जसलाई म ‘आत्मबोध कला’ आर्ट अफ रियलाइजेसन भन्ने गर्छु । तपाईँ यसमा सुन्न सक्नुहुन्छ, तर शब्द होइन, मनको आवाज । तपाईँ यसमा देख्न सक्नुहुन्छ, अरूलाई होइन, आफैँलाई । आफैँलाई यो एउटा खोजको थालनी हो जहाँ जीवनका धेरै पाटाहरूलाई बोध गर्न सक्नुहुन्छ” परिकल्पनाकार तथा निर्देशक रामहरि आफ्नो यो फरक शैलीबारे भनिरहेका थिए । यसको भाग १ र ३ उनले नर्वेको ओल्सोमा मञ्चन गरेका थिए भने भाग दुई सन् २०१९ मा नेपालमा भएको ‘नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सव’ मा मञ्चन गरेका थिए । 

विदेशमा केही प्रचलनमा आए पनि नेपालमा भने यस किसिमको नाटक अहिलेसम्म उनैले मञ्चन गरेका हुन् । यसबारे सुनाउँदै उनी बताउँछन्, “विदेशमा भने यसलाई स्वाद, स्वाद, स्वादसँग, स्पर्श, स्पर्श, स्पर्श गरी एउटा मात्रै सेन्सरी थिममा मञ्चन गरिन्छ । तर, मैले भने यसलाई किन १० वर्षे जनयुद्धलाई जोडेर पाँचैवटा सेन्स प्रयोग हुनेगरी त्यसको स्मरण र अनुभूतिमा तयार पारेको हुँ ।”यहाँ दर्शक आफैँ पात्र हुन्छन् भने कलाकार मञ्च बाहिर हुन्छन् । असार २३ बाट मञ्चन सुरु भएको नाटक साउन १ गतेसम्म सोमबारबाहेक हरेक दिन दिउँसो ४ बजे मञ्चन हुँदै छ । 

आखाँमा पट्टि लगाइदिनुअघि नै निर्देशकले ब्रिफिङ गर्दै यसो भनिरहेका थिए– “भोक, तिर्खा, स्वाद, स्पर्श, आवाज, गन्ध अथवा बास्ना, दृष्टि सन्तुलन, पीडा द्वन्द्व पछाडिको मनोविज्ञान भूगोल सिर्जना गरेका छौँ । धेरै किसिमका फरक वस्तुसँग जोडिने कोशिस गर्नुहोला । नाटकको क्रममा हामीले केही चिज तपाईंहरूलाई ख्वाउने पनि छौँ । तर, त्यो खुवाएका चिजहरू, त्यो छोएका वस्तुहरू, भेटेका अनि गन्ध लिएका चिजहरू कुनै वस्तुको रूपमा मात्रै होइन भावनासँग र भावनात्मक अभिव्यक्तिको रूपमा लिएर मानवीय पक्षलाई जोडेर हेरिदिनुहोला । यो नाटकमा तपाईंले आफ्नो आवाज सुन्नुहुन्छ तपाईंको मनको आवाज, तपाईंले आफैँले आफैँलाई देख्नुहुनेछ । जीवनलाई जोडेर हेरिदिनुहोला ।” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro