
काठमाडौं । समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका पुराना नेता ढुण्डीराज शास्त्री हामीबीच रहेनन् । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।
पञ्चायतकाल र बहुदलीय कालखण्डमा कांग्रेसभित्र समाजवाद र सिद्धान्तका व्याख्याता मानिने शास्त्रीको सोमबार निधन भएको हो ।
उनी दलविहीन पञ्चायतकालमा तीन वर्ष जेल जीवन बिताए भने तीस वर्ष निर्वासन रहे । उनी कांग्रेसको हिंसात्मक तथा अहिंसात्मक दुवै आन्दोलनमा सक्रिय भएका थिए । उनले २०११ सालमै कांंग्रेसको सिद्धान्त बोकेका हुन् । यद्यपि कांग्रेसको सदस्यता चाहिँ २०१३ सालमा लिएका थिए । उनी अर्घाखाँची किमडाँडामा जन्मिएका हुन् ।
कांग्रेसमा गिरिजाप्रसाद कोइरालाविरोधी खेमाका नेता मानिन्थे भने कृष्णप्रसाद भट्टराई निकट । भट्टराईले आफू कार्यवाहक सभापति हुँदा २०४५ मा शास्त्रीलाई नेपाली कांग्रेस केन्द्रीय सदस्य बनाएका थिए ।
केन्द्रीय सदस्य भएसँगै शास्त्री केन्द्रीय नेतामा स्थापित भएका थिए । जतिखेर शैलजा आचार्य, रामचन्द्र पौडेल, चिरन्जीवी वाग्ले उनीभन्दा ‘जुनियर’ थिए । अझ शेरबहादुर देउवा केन्द्रीय सदस्यसमेत बन्न पाएका थिएनन् ।
अर्थात् पञ्चायत र बहुदलीय कालखण्डको प्रारम्भिक चरणमा शास्त्री देउवा माथिका नेता मानिन्थे ।
२०४८ फागुन १ देखि ३ गतेसम्म झापाको कलबलगुडीमा भएको नेपाली कांग्रेसको आठौं महाधिवेशनबाट कार्यवाहक सभापति भट्टराई सभापतिमा निर्विरोध निर्वाचित भए । त्यसपछि पनि शास्त्री केन्द्रीय सदस्यमै मनोनीत भए ।
प्रजातन्त्र पुनर्स्थापनापछि शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँचीबाट सांसद निर्वाचित भएका थिए ।
२०४८ जेठमा गठित गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्मा शास्त्री उद्योग मन्त्री नियुक्त भए । तर, उनको कार्यकाल लामो रहेन । तत्कालीन प्रधानमन्त्री कोइरालाले २०४८ पुस १५ गते मन्त्रिपरिषद् पुनर्गठन गरी शास्त्रीलाई हटाइदिए ।
उनीमात्र होइन, कोइरालाले सभापति भट्टराई निकट मानिएका चिरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, शेख इद्रिस, गोपालमान श्रेष्ठ, वासु रिसाललाई मन्त्रीबाट हटाएका थिए । कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंह र पार्टी सभापति भट्टराईसँग कुनै परामर्श नगरी हटाएपछि कांग्रेस विग्रहमा प्रवेश गरेको थियो ।
त्यसरी एकाएक मन्त्रीबाट हटेपछि कांग्रेसभित्र ‘छत्तीसे सांसद’को सांसदको उदय भयो । शास्त्री पनि कोइरालाको उग्र विरोधी नेतामा गनिन्थे । तिनीहरुले अन्ततः कोइरालालाई अहसयोग गरी २०५१ असारमा प्रधानमन्त्रीबाटै राजीनामा दिन बाध्य तुल्याए ।
२०५१ पछि भने उनी देउवाभन्दा ‘पछि’ पर्दै गए । २०५२ भदौमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि अझै तल परे । उनै देउवाको मन्त्रिपरिषद्मा उद्योग मन्त्रीका रुपमा फेरि सरकारमा शास्त्रीको आगमन भएको थियो ।
पार्टीभित्रको विग्रह कम गर्न २०५५ वैशाखमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शास्त्रीलाई उद्योग र श्रममन्त्री बनाएका थिए । उनी २०५३ काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको नवौं महाधिवेशनपछि केन्द्रीय सदस्या मनोनयन त परे ।
तर पार्टीभित्र पनि देउवाभन्दा मुनि पुगे । देउवा सुदूरपश्चिमबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने शास्त्री मनोनित । उनी २०५३ मा पार्टी शिक्षण विभाग प्रमुख थिए । उनी २०५७ सम्म निरन्तर केन्द्रीय सदस्य रहे, सभापति भट्टराई हुँदा होस् या कोइराला ।
तर, उनी कोइरालाविरोधी कित्तामा रहे । २०५७ मा पोखरा महाविधेशनबाट कोइराला दोस्रोपटक सभापति निर्वाचित भएसँगै शास्त्रीलाई केन्द्रीय सदस्य मनोनीत गरेनन् ।
त्यतिमात्र होेइन, २०५८ सालमा ‘पार्टी विधान, सिद्धान्त र आदर्श उल्लंघन हुने क्रियाकलाप गरेको अभियोग’मा पार्टीबाटै निस्कासन परे । त्यसरी निष्कासन परेसँगै शास्त्री कांग्रेसबाट टाढिँदै गएका थिए ।