काठमाडौं । नेपाली चलचित्र क्षेत्रको एक चर्चित नाम हो, करिष्मा मानन्धर । तीन दशकअघि नेपाली सिने उद्योगमा प्रवेश गरेकी उनले सयौँ चलचित्रमा अभिनय गरिसकेकी छन् ।
उनले नेपाली चलचित्र उद्योगलाई नजिकबाट नियालेकी छन् । सिने क्षेत्रका अवसर, चुनौतीबारे ज्ञान छ ।
उनै करिष्मा अब गाउँगाउँमा फिल्म हल पुग्न नसके नेपाली चलचित्रको विकास र विस्तार नहुने बताउँछिन् । उनी सबै नेपालीसम्म फिल्म हलको पहुँच पुगे मात्र नेपाली सिने क्षेत्रको विकास हुनेमा विश्वस्त छिन् ।
“हाम्रो मुलुक सानो छ, पहाडमा हलहरू छैनन् । सीमित बजार नै हाम्रो सबैभन्दा ठुलो चुनौती हो । चलचित्र जति जसरी बनेपनि हेर्ने अडियन्स त्यही हो,” उनी भन्छिन्, “हरेक प्रदेशका राजधानीबाहेक अन्य ठाउँमा हलहरू छैनन् । दर्शकसम्म फिल्मको पहुँच नभएसम्म दर्शक कसरी बढ्छ ? बजार कसरी विस्तार हुन्छ ?”
यसो भनिरहँदा आफूलाई कतिपयले मुर्ख भन्न सक्ने तर पहुँच नबढाएसम्म नेपाली सिने बजार विस्तार नहुने उनको दाबी छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीका कारण बजार केही फैलिएको तर त्यतिले पर्याप्त नहुने उनी बताउँछिन् ।
"पहिला त देशभित्रै पहुँच बढाउन सक्नुपर्यो नि । विदेशी मार्केटमा विस्तार हुन कि विदेशी स्तरको चलचित्र बनाउन सक्नुपर्यो,” अभिनेत्री मानन्धर भन्छिन् ।
सबै ठाउँमा ठुलो लगानीका हल आवश्यक नरहेकोमा उनी सचेत छिन् । ठाउँ र जनसंख्या हेरेर हल विस्तार गर्न ढिलाइ गर्न नहुने उनको जोड छ ।
धेरै जनसंख्या रहेको नेपालको तराई क्षेत्रमासमेत सिनेमा हलको विस्तार हुन नसकेको उनको गुनासो छ । आफूले विस्तारको प्रयास गरेपनि सफल हुने नसकेको उनले बताइन् ।
“जहाँ नेपालको ५१ प्रतिशत जनसंख्या बस्छ भन्छौँ त्यही नेपाली सिनेमा पुगेको छैन । भोजपुरी सिनेमालगायत सीमा पारीकै चलचित्र हेर्न जान्छन् । यो कुरालाई नेपाल सरकारसहित विकास बोर्ड र सम्बन्धित क्षेत्रले खै त चासो दिएको ? मैले एकदुईपटक त्यहाँ नेपाली चलचित्रको पहुँच विस्तार गर्ने प्रयास पनि गरेको हो तर म असफल भएँ,” उनले भनिन् ।
अर्कोतर्फ नेपाली चलिचित्रले नेपालका हरेक भाषीलाई समेट्नुपर्ने उनको भनाइ छ । नेपाली चलचित्रप्रति दर्शकको रुचि बढाउन तेलुगू, तमिललगायत दक्षिण भारतीय चलचित्रहरूले जस्तै नेपाली चलचित्रले पनि हरेक भाषालाई समेट्नुपर्ने उनको तर्क छ ।
करिष्माको बुझाइमा ठुलोपर्दामा ‘चलचित्रको मजा’ लिने दर्शकको संख्यामा कमी आएको छ ।
“पहिला भन्दा अहिले सिनेमा हलमा नै पुगेर सिनेमा हेर्ने कल्चर अलि घटेर गएकोजस्तो लाग्छ । निश्चित उमेर समूहका सुविधासम्पन्न हलमा जानुहुन्छ होला,” उनी भन्छिन्, “हरेक घरमा नेटफ्ल्क्सि छ, अरू प्लेटफर्महरू छन् । म आफैँ पनि भर्खरै नेटफ्ल्क्सिमा सिनेमा हेर्दै थिएँ । घरघरमा ठुलोठुलो स्क्रिन अनि त्यही अनुरूपको साउन्ड सिस्टमहरू छन् । होम थिएटरमा नै रमाउन थालेका छन् ।”
उनकाअनुसार अहिले दर्शकहरू हलमा फिल्म मनोरञ्जन गर्न कम साथीहरूसँग भेटघाट गर्न बढी जान्छन् ।
उनी आफू भने हलको ठुलो पर्दामा फिल्म हेर्न रुचाउनेमा पर्छिन् । तर डिजिटल प्लेटफर्म आएपछि अधिकांश दर्शकहरू अत्यन्तै राम्रो फिल्म हेर्न मात्र हलसम्म पुग्ने गरेको उनको अनुभव छ । अहिले बढी मात्रामा ल्याप्टप र मोबाइलमा नै फिल्म हेर्ने जमात बढेको उनी बताउँछिन् ।