
काठमाडौं । सद्भाव आचार्य, उमेरले १९ वर्षमात्रै छोएका छन् । अर्थात् अझै ‘किशोर’ नै छन् । नेपाली गल्फ पछ्याउनेहरूमाझ उनी निकै चर्चित छन् । कारण, सानै उमेरमा हासिल गरेका अविश्वसनीय उपलब्धि । हालै मात्र नेपालमै सम्पन्न ११औँ नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा १० स्ट्रोकको अग्रतासहित उपाधि जिते । एमेच्योरमा नेपालकै नम्बर वानमा आफूलाई स्थापित गराएका सद्भावको प्रशिक्षण उत्तिकै कठिन छ ।
उनी दैनिक आठ घण्टाभन्दा धेरै समय प्रशिक्षणकै निम्ति काठमाडौंस्थित गोकर्ण गल्फ क्लबमा बिताउँछन् । पारिवारिक पृष्ठभूमि गल्फकै हुँदा अभिभावकबाट पनि उनले निःसर्त साथ पाएका छन् ।
सानै उमेरमा गल्फमा जितेका उपाधि, पाएका उपलब्धि र बनाएका कीर्तिमानको सूची लामै छ । उनै ‘टिनएजर’ सद्भावसँग गल्फ र त्यससँग सम्बन्धित अन्य समसामयिक विषयमा रहेर बाह्रखरीका आशिष पुडासैनीले कुराकानी गरेका छन् । जसको संवादित अंश यस्तो छ–
–तपाईंले गल्फ नै रोज्नुको कारण के हो ?
मेरो परिवार हजुरबुवाको पालादेखि नै गल्फमा छ । हजुरबुबाले खेल्नु भयो । बुबा व्यावसायिक खेलाडी नै बन्नु भयो । काका (बुवाको भाइ) पनि गल्फमै हुनुहुन्छ । मेरो परिवार नै गल्फमा भएको र मलाई यो खेल मन पर्ने भएको हुँदा गल्फ रोजेको हुँ ।
–पारिवारिक पृष्ठभूमिले तपाईंलाई गल्फर नै बन्नुपर्छ भनेर दबाब थपेको हो ?
होइन । परिवारले गल्फ खेल्नु राम्रो हो तर, यो मेरो चाहना पनि हो । सानै उमेरदेखि खेल्न लाग्दा नै मलाई यो खेलप्रति रुची बढ्यो । मेरो व्यक्तिगत रुचि भएकै कारण म यहाँ आएको हुँ । परिवारको दबाबले होइन ।
–गल्फमा कहिलेदेखि लाग्नुभएको हो ?
मैले खेल्न लागेको सानैदेखि हो । चार वर्षदेखि । तर, चार वर्षदेखि नै खेल्न लागे भन्न अलि मिल्दैन होला । ९–१० वर्षदेखि म यो खेलमा झन् धेरै रमाउन थालेँ । म मेरो पहिलो प्रतियोगितामा तेस्रो भएँ । त्यसपछि मभित्र पहिलो हुनुपर्छ भन्ने भोक बढ्यो । मलाई पहिलो हुँदा कस्तो अनुभव हुन्छ भन्ने अनुभव लिनु थियो ।
–हाल नेपालकै नम्बर वान एमेच्योर गल्फर हुनुहुन्छ । त्यो अनुभव कस्तो हुँदो रहेछ ?
रमाइलो हुने रहेछ । रमाइलोसँगै यो जिम्मेवारी पनि हो । उमेर सानो छ भनेर छुट पाइँदैन । मैले मेहनत गरेको छु । यसलाई समय दिएको छुँ । सानै उमेरमा नेपालको नम्वर वान एमेच्योर गल्फर बनेको छु । तर, मैले मभन्दा अनुभवी तथा सिनियर खेलाडीभन्दा धेरै समय र मेहनत लगाएको छु ।
–नेपालमा सद्भावको नाम आउँदा सँगै नीरज तामाङको पनि नाम आउँछ । उहाँसँगको प्रतिद्वन्द्वी वा सम्बन्धलाई कसरी लिनुभएको छ ?
म त्यसलाई प्रतिद्वन्द्विता भन्दिन । नीरज राम्रो खेलाडी हो । म उसलाई सम्मान गर्छु । उहाँ अहिले जहाँ छ, त्यसका निम्ति उसले कठिन मेहनत गरेको छ । उ मभन्दा केही बढी उमेरको खेलाडी पनि हो । उसँग भन्दा केही धेरै अनुभव पनि छ ।
उसले दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा पनि गरेको छ । म उसलाई प्रतिद्वन्द्वी भन्दा पनि मैले पछ्याउने सक्ने पात्रको रूपमा लिएको छुँ ।
–नेपालमा गल्फको सम्भावना कस्तो देख्नुभएको छ ?
मलाई लाग्छ, यसको सम्भावना बढिरहेको छ । मलाई हेरेर नै धेरै युवा खेलाडीहरू यो खेलमा आकर्षित भएका छन् । पक्कै पनि आगामी पुस्तामा यसको धेरै सम्भावना छ र अहिलेको सन्दर्भमा यो बढिरहेको छ ।
–तपाईंको ‘आइडल’ को हो ?
म टाइगर वुड्सलाई मेरो आइडलको रूपमा मान्छु । वुड्सले जसरी यो खेलमा अरु गल्फरले प्रभाव जमाएको मैले देखेको छैन । टाइगर वुड्सको प्रभाव म जन्मिनुभन्दा अघिको हो ।
तर, मैले युट्युब र अरु इन्टरनेटमा उनको खेल हेरेको छु । त्यसबाट मलाई के लाग्छ भने हालसम्म वुड्सजस्तो राम्रो गल्फ कसैले खेलेको छैन । त्यसैकारण टाइगर वुड्स मेरो रोल मेडल हुन् ।
–१९औँ एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्नुभयो, अबको लक्ष्य के छ ?
अबको मेरो लक्ष्य भनेको २०औँ एसियाली खेलकुदमा मेडल ल्याउनु हो । यसको लागि म कठिन मेहनत गरिरहेको छु । सँगै मलाई अमेरिका जाने अवसर पनि छ । अहिले नै यो कुरा निश्चित भइसकेको छैन ।
तर, यसको काम भइरहेको छ । मलाई लाग्छ यसले मलाई पदक जित्न सक्ने खेलाडी बनाउन सहयोग गर्नेछ । अबको लक्ष्य भनेको एसियाली खेलकुदमा स्वर्ण वा अन्य पदक जित्नु हो ।
–ओलम्पिकमा गल्फबाट नेपाललाई पदक दिलाउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
ओलम्पिकमा गल्फ खेल्नु फरक कुरा हो । त्यहाँ प्रतिस्पर्धा गर्न व्यावसायिक गल्फर हुनुपर्छ । जो म अहिले होइन । र, अबको केही वर्षमै प्रो बन्ने मेरो लक्ष्य पनि बनिसकेको छैन । मलाई अझै म प्रो गल्फर बन्नका निम्ति तयार छु जस्तो लाग्दैन । म अबको दुई वा तीन ओलम्पिक संस्करणपछि मात्रै त्यसका निम्ति तयार हुन्छु । त्यसबेला नै म आफ्नो उत्कृष्ट दिनेछु ।
–गल्फ करियरमा तपाईंको सबैभन्दा खुसीको पल कुन थियो ?
हालसम्म त्यस्ता दुई प्रतियोगिता छन् । युरोपियन ग्रान्ड फाइनल पाल्डो सिरिज, जुन दुबईमा भएको थियो । त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय जित थियो । त्यहाँ मैले यू–२१ क्याटागोरीमा जितेको थिए । त्यसबेला म निकै खुसी थिएँ । अर्को भनेको भर्खरै सम्पन्न भएको नेपाल एमेच्योरको उपाधि हो ।
जसमा मैले पछिल्लो तीन वर्षदेखि सहभागिता जनाइरहेको थिए । मेरो पहिलो सहभागितामा मैले तेस्रो र दोस्रो सहभागितामा दोस्रो स्थान हासिल गरेको थिए । तेस्रोपटकमा मैले प्रतियोगिताको उपाधि जित्न सफल भए ।
–कहिलेकाहीँ गल्फमै लागेर अरु चिजहरू छुटिरहेका छन् जस्तो लाग्दैन ?
त्यस्तो लाग्दैन । मलाई बुवाले मानसिक रूपमा तयार बनाउनु भएको छ । हामीले दीर्घकलीन सोच्नुपर्छ जस्तो लाग्छ । मैले अहिले गरेको त्यागले मेरो भविष्यलाई पक्कै पनि रमाइलो बनाउने छ । अहिलेको सानो खुसीभन्दा पछि जीवनभर पाइने खुसी नै राम्रो हो जस्तो लाग्छ ।
म अरु केही सोचिरहेको छैन । मलाई गल्फ खेल्दा रमाइलो लाग्छ र यसैमा रमाइरहेको छुँ ।
–गल्फलाई कठिन खेल पनि भनिन्छ नि, किन ?
पक्कै पनि यो कठिन छ । यसको ५० प्रतिशत म हो र बाँकी ५० प्रतिशत प्रकृतिमा निर्भर हुन्छ । यसमा प्रकृतिको पनि ठूलो भूमिका हुन्छ । तर, आफूले दिने ५० प्रतिशतलाई नै १०० प्रतिशत बनाउनुपर्छ । यसको लागि तयारी धेरै गर्नुपर्छ । यसमा समय र मेहनत लगाउने हो भने पक्कै पनि गल्फ सहज खेल बन्छ ।
–यो यात्रामा सहयोग गर्नुहुने क–कसलाई सम्झनुहुन्छ ?
यहाँसम्म आइपुग्दा मैले सम्झनै पर्ने धेरै नामहरू छन् । सर्वप्रथम मेरो परिवार । मेरो फुफाजु र दिदी पनि हुनुहुन्छ । उहाँहरूले मेरो गल्फको लागि आफ्नो समय दिनुभएको छ । सायद अरु कसैले पनि त्यस्तो गर्नुहुँदैन । जसरी उहाँहरूले सहयोग र साथ दिइरहनु भएको छ । गोकर्ण फरेस्ट रिसोर्टप्रति पनि कृतज्ञ छु ।
जहाँ म आएर दिनभर गल्फ खेल्न पाइरहेको छु । नेपाल गल्फ एसोसियसनलाई पनि सम्झन चाहन्छु । उहाँहरूको सहयोग र साथबिना बाहिर हुने प्रतियोगिता प्रतिस्पर्धा गर्न असम्भवजस्तै छ ।
–गल्फमा तपाईं अब्बल हुनुहुन्छ । अध्ययनमा आफूले आफूलाई कसरी चिनाउनुहुन्छ ?
मैले भर्खरै मेरो प्लस–२ सक्काए । गल्फसँगै पढाईलाई पनि अघि बढाउन निक्कै दुःख थियो । तर, यो स्मरणयोग्य कुरा पनि बनेको छ । अबको आगामी अध्ययन पहिले जत्तिको दबाब दिने हुँदैन भन्ने लागेको छ ।
पहिले मलाई पढ्न मन लाग्दैन थियो । तर, अहिले पढाइ पनि उत्तिकै महत्त्वपूर्ण छ जस्तो लाग्छ ।
म अझै पनि टिनएजर छु र धेरै कुराहरू सिक्न अझै बाँकी नै छन् । प्लस–२ सम्म धेरै दबाब थियो । परीक्षाको कारण मेरो धेरै प्रतियोगिताहरू पनि छुटे । सबैकुरा हुनुको पछाडि केही कारण हुन्छ भनेको जस्तै हो । म पढाइमा ठिकै छु जस्तो लाग्छ । मैले मेरो ग्रेड घटाएको छैन ।
–गल्फमा शारिरीक अवस्था पनि महत्वपूर्ण भन्नुभयो । अहिले आफ्नो शारीरिक अवस्थालाई कत्तिको ध्यानमा राखिरहनु भएको छ ?
मैले अहिले फिजियो वर्कमा धेरै समय बिताइरहेको छु । मैले पछिल्लो तीन महिनामै १५ किलो तौल बढाएँ । जुन मेरो चाहना पनि थियो । गल्फमा पावर र फ्लेक्सिबिलिटी पनि चाहिन्छ । यसको लागि विशेष धन्यवाद नाडालाई । उहाँहरूले नै मलाई फिजियोसँग सम्बन्धित धेरै कुराहरू सिकाइरहनु भएको छ ।
–अन्त्यमा, गल्फमा चासो राख्नेहरूलाई के भन्न चाहनुहुन्छ ?
गल्फमा आइरहनुभएका धेरै नयाँ साथीहरूलाई देखेको छु । भाइहरू छन् । उनीहरू मलाई तपाईंले के–के गर्नुहुन्थ्यो ? भनेर सोध्छन् । म उनीहरूलाई मैले जुनियर प्रतियोगितामा सहभागिता जनाउँदा गरेको गल्तीहरू बताउँछु । गल्फमा मानसिकताको पनि कुरा आउँछ ।
अहिले मलाई गल्फ खेल्न फिजिक पनि चाहिने रहेछ भन्ने थाहा भएको छ । म यी सबै कुराहरू ध्यानमा राख्न आग्रह गर्छु ।