site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
छोरी चोर्ने ज्वाइँको कथा ‘चोरको स्वर’

काठमाडौं । ‘म्युजिकल फिल्म’ बनाएर म्युजिक भिडियोमार्फत छोटो अनि मिठो कथा प्रस्तुत गरिरहेका नवीन चौहानलाई यसलाई अझ विस्तुत बनाउने सोच पलायो । पूर्वको पाँचथरमा जन्मिएका नवीनको जन्म र हुर्काइ आफ्नोभन्दा बिल्कुलै फरक जाति, भाषा, संस्कृति रहनसहन भएको लिम्बू समुदायमा भयो । 

लिम्बू समुदायको रहनसहनदेखि विभिन्न सांस्कृतिक अस्तित्वहरूलाई नजिकबाट नियाल्ने मौका पाएका उनलाई यस समुदायको विवाह अझ ‘भागी विवाह’ को संस्कारले औधी आकर्षित गरिरहेको थियो ।  “म पाँचथरमा जन्मिए अनि हुर्किएँ । हाम्रो घर लिम्बूहरूको बाहुल्यता भएको टोलमा थियो । मलाई लिम्बू समुदायको चालचलन, रहनसहन सबै एकदमै आकर्षक अनि रमाइलो लाग्थ्यो” कथाकार चौहानले बताए । 

Dabur Nepal

‘आर्टमाण्डु’ मार्फत अघि भनिएजस्तै बढिमा ६ मिनेट लामो म्युजिक भिडियोबाट कथा भनिरहेका उनलाई कलाको अर्को सशक्त रूप नाटकमार्फत कथा भन्ने हुटहुटी लाग्यो ।  अनि, एक बिहान रंगकर्मी अनिल सुब्बालाई फोन गर्दै भने, “लिम्बू समाजमा भागी विवाहपछिको जो संस्कार छ, यसमा नाटक गरौँ न ।” तर, अनिलले उत्साह र आश्चर्य दुवै एकैपटक प्रकट गर्दै प्रश्न तेस्र्याए, “कुरा त गजबै हो, यसमा नाटक पनि गरौँला तर कथामा के पो भन्ने, के पो देखाउने?” अनिलको आश्चर्य स्वाभाविक पनि हो । लिम्बू समुदायकै अलिलाई आफ्नो समुदायभित्रकै यो संस्कृति दर्शकले त्यति रुचाउलान् भन्नेमा शंका थियो ।

अर्को भनेको हाम्रो रंगमञ्चलाई नजिकबाट नियाल्ने हो भने, नाटकले कुनै एउटा सन्देश दिएको हुनुपर्छलगायत नाटक यस्तो हुनुपर्छ भन्ने एउटा गडिएको विचारधारा (स्टिरियोटाइप) छ ।  “अनिलको कन्फ्युजन स्वाभाविक थियो, किनभने हामीले नाटक भन्नेबित्तिकै कुनै एउटा मुद्दा उठाउनुपर्छ । नाटकले केही सन्देश दिने हुनुपर्छ भन्ने स्टिरियोटाइप छ,” नविन भन्छन्– “तर, यो नाटकका लागि हामीसँग कथा केही पनि थिएन् । त्यही कुनै एउटा समुदायमा बिहे हुन लागेको सामान्य परिवेश मात्रै थियो ।”

बाहिर जे होस् आफूले भने केही नयाँ अनि फरकपन दिने निधो गरेँ । राम्रो भए ठिकै हुन्छ, यदि नराम्रो भए पाठ सिकिन्छ भन्ने सोचेर नविनले कथा तयार पारे, ‘चोरको स्वर’ । जसलाई अनिल सुब्बा अनि अन्वेष राई थुलुङले संयुक्तरूपमा निर्देशन गरे, चोरको स्वर ।

आत्मीयता अनि संस्कृति

चोरको स्वर बुझाउन जाँदा देखिएका नोकझोक, लफडाबाजी, भावुकता,  चोरको स्वर, पूर्वेली लिम्बू समुदायमा प्रचलित रीत हो । यदि, चोरको स्वर स्विकारे बिहे हुन्छ र अस्विकार गरे बिहे अघि बढ्दैन । लिम्बू केटाले केटीलाई भगाउँछ । तर, केटालाई मन परेर भगाएको केटी उसँग भाग्न राजी नै नहुन सक्छ । केटी विराजी पनि हुन सक्छ । त्यसैले, छोराले केटी भगाएपछि केटीको राजी विराजी सोधिन्छ । लिम्बू समुदायको भागी विवाहको रीत यहीँबाट सुरु हुन्छ । केटाको घरमा केटाकेटी दुवैलाई राखेर ठूलाबडाले राजी कि विराजी भन्दै सोधेर संस्कार अघि बढाउँछन् । 

यदि, केटीले राजी भनी भने केटा पक्ष ‘चोरको स्वर’ बुझाउन केटी पक्षको माइत जान्छ । त्यहाँ गएर विधिपूर्वक ‘चोरको स्वर’ स्विकार गरेपछि दुई परिवारबीच नयाँ सम्बन्ध जोडिन्छ र छोरीलाई माइत आउजाउ गर्ने ढोका खुला गरिन्छ । 
यहि, लिम्बू रीतको साक्षी हुने व्यवस्था यतिबेला थापागाउँस्थित मण्डला थिएटरमा भइरहेको छ । 

जेठ २० गतेदेखि सोमबारबाहेक हरेक दिन बेलुका ५ः३० बजे शनिबार दिउँसो १ बजे पनि मञ्चन भइरहेको छ । 
यस्तो सामान्य परिवेशमा नाटक बन्ला त ? भन्ने दुविधामा सुरु भएको नाटकले दर्शकको औधी माया पाइरहेको छ । त्यसैले त असारको १५ गतेसम्म मात्रै मञ्चन गर्ने घोषणासहित आएको नाटकको मिति सरेर असार २६ हुन पुगेको छ ।  
मण्डलामा मञ्चन भइरहेको कथाको परिवेश नविनको जन्मथलो पाँचथरकै हो ।

चेम्जोङ गाउँको १९ वर्षिय भान्जाले शेर्मा गाउँको चेली भगाउँछ । चेली भगाएपछि चेम्जोङ गाउँका भद्द भलाद्मीहरू ‘चोरको स्वर’ रीत बुझाउन दुलहीको गाउँ शेर्मा जान्छन् । तर, यो पछिल्लो सम्बन्धले यी दुई गाउँबीच भएको पुरानो नोकझोक, विकासे फरक, बिहे भएर गएकी चेलीलाई माइतीले ‘चोरको स्वर’ नस्विकार्दाको पीडा, दाजु र बहिनीबीचको माया, लिम्बुवान स्वायत्त राज्यको विषयलगायत यावत कुरालाई ताजा बनाउँछ । 

हुन त नाटक र चलचित्रमा अभिनय नै भए पनि विलकुलै फरक पाटो हो । तर, ‘चोरको स्वर’ हेरिरहँदा यसलाई चलचित्रको भाषामा एउटा ‘कम्प्लिट प्याकेज’ हो भन्दा फरक पर्दैन । दुई घण्टा लामो नाटक हेरिरहँदा दर्शकलाई कहिँकतै पनि अत्यास नलाग्न सक्छ । नाटकले पेट मिचिमिची हसाउँछ भने अन्त्यतिर हरेक दर्शकलाई भावुक बनाएर सुकसुक रुवाउँछ पनि । नाटकमा द्वन्द्व देखाइएको छ भने श्रीमान्–श्रीमती, युवायुवतीबीचको प्रेम पनि देखाइएको छ । 
रंगकर्मीहरूको अभिनय, बोली–लवज, पहिरन, । मञ्चको सेटअप, प्रकाश संयोजन खानपान, रहनसहन, सोल्टी र सोल्टिनीको नोकझोक अनि बेला–बेलामा बज्ने प्रत्यक्ष–अप्रत्यक्ष बज्ने च्याम्ब्रुङको तालले दर्शकलाई कुनै नाटक हेरिरहेको नभएर साँच्चै टिपिकल लिम्बू गाउँमै बसेर ती परिवेशको साक्षात्कार गरिरहेको भान दिन्छ । 

तीन महिना लगाएर तयार पारिएको नाटकले साँच्चै नै टिमको मेहनत प्रष्ट झल्काउँछ । त्यसैले, त लिम्बू समुदायका दर्शक मात्रै नभएर अन्य जातिका दर्शकहरू पनि नाटक सकेर बाहिर आउँदा सेवारो भन्दै लिम्बू लवजमा जिस्कँदै निस्किरहेका थिए । 

यति मात्र कहाँ हो र “८०, ९० वर्ष पुगिसकेका लिम्बू बाजैबजैहरु पनि आएर नाटक हेरेपछि यस्तै हुनछ नी बाबु, नाटकले त हाम्रो पहिलाको सम्झना ताजा बनाइदियो भन्दै नोस्टाल्जिक पनि हुनु भएको छ” नाटकको सफल प्रभावबारे सुनाउँदै कथा लेखक चौहानले पहिलो सफलतालाई अब निरन्तरता दिने योजना सुनाए ।  “पहिलो नाटकले राम्रो रेस्पोन्स पाएर हौसला मिलेको छ, अब वर्षमा एउटा भए पनि सकेसम्म यसलाई निरन्तरता दिने प्रयास रहनेछ” पहिलो अनुभव राम्रो रहेको भन्दै नविनले योजना सुनाए ।

यस नाटकमार्फत हाम्रो आफ्नो मौलिक नाटक लेखनको कमी भयो, मञ्चनका लागि नाटक नै छैन भन्ने सुन्दै आइरहेका गुनासाहरूको समाधान देखिएको छ । चार वर्ण छत्तिस जात रहेको नेपाली समुदायमा यस्ता विभिन्न जातजातिको जन्मदेखि मृत्युसम्म हुने संस्कृति र रीतिस्थितिलाई नाटकमा प्रस्तुत गर्न सकिन्छ भनेर नविन चौहानले बाटो देखाइदिएका छन् । 

‘चोरको स्वर’ का कलाकारहरूमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङहाङ, इंगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनील तामाङ रहेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro