site stats
बाह्रखरी :: Baahrakhari
विशेष
दिक्क पारेको 'लौन हजुर लौन हजुर आयो निर्वाचन' ट्युन !

काठमाडौं ।  तपाईंले दिनमा कतिपटक फोन गर्नुहुन्छ ?

आजभोलि हरेकपटक फोन गर्दा स्थानीय निर्वाचन लक्षित एउटा जानकारीमूलक गीत (कलर ब्याक ट्युन) बजेको पक्कै सुन्नुभएकै होला ।

“लौन हजुर लौन हजुर आयो निर्वाचन 
हाम्रो गाउँ–सहरमा आयो निर्वाचन...”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर, हरेकपटक फोन गर्दा यही गीत दोहोरिन थालेपछि असन्तुष्टि देखिएको छ । विशेषगरी युवापुस्तालाई यो गीतले तनाव दिएको देखिन्छ ।

सामाजिक सञ्जालमा उनीहरूले गीतले मानसिक तनाव दिइरहेको भन्दै आक्रोश पोखिरहेका छन् । बोलीचालीको शब्दमा यो गीत ‘भाइरल’ नै बनेको छ ।
कतिपयले यो गीत बन्द गराउन आग्रह गरेका छन् । 

‘नवीन थापा स्टार एजुकेसन’ नाम गरेका एक प्रयोगकर्ताले आफूलाई सो गीतले मानसिक यातना नै दिएको बताएका छन् ।

उनले लेखेका छन्, “यसलाई पपुलर भा'को भनिँदैन नि ! यो त एक किसिमको मानसिक यातना हो ।”

त्यस्तै, अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्, “केको पपुलर ? वन्ली डिस्टर्ब ।”

त्यस्तै, ‘या गा मी’ नामक अर्का प्रयोगकर्ता लेख्छिन्, “उनीहरूका कारण मलाई कसैलाई फोन नै गर्न मन छैन ।” 

आयुष अधिकारी नाम गरेका प्रयोगर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “यो गीत योपटक ग्रामी अवार्डमा जानुपर्छ र जान्छ पनि ! यसमा मलाई गौरवान्वित महसुस भइरहेको छ ।” 

सामाजिक सञ्जालमा यस्ता थुप्रै टिकाटिप्पणीहरू भइरहेका छन्, जसले उक्त 'कलर ब्याक ट्युन' अधिकांशलाई मन नपरेको देखिन्छ ।

सर्जक के भन्छन् ?
ट्रोलको सिकार भइरहेका गायक/गायिका हुन्, मोहित मुनाल र कृष्णा खनाल ।

गायनका साथै पछिल्लो समय कम्पोजर तथा एरेन्जरको रूपमा सक्रिय मोहितले नै यो गीतमा आवाज दिएका हुन् । कम्पोज पनि उनी आफैँले गरेका हुन् । आवाजमा उनलाई कृष्णाले साथ दिएकी हुन् ।  

यतिबेला, उनीहरूले सामाजिक सञ्जालमार्फत धेरै नकारात्मक प्रतिक्रिया पाइरहेका छन् । तर, ती प्रतिक्रिया स्वाभाविक भएको मोहित बताउँछन् । 

“एउटै कुरो एकोहोरो सुनिरहँदा वाक्क लाग्छ नै, मान्छेलाई चिनी पनि बढी खायो भने ‘तितो’ हुन्छ । त्यो इरिटेसन त हुन्छ नै । कहिलेकाँही मलाई त सुन्दासुन्दा वाक्क लाग्छ । यो ह्युमन नेचर नै हो,” मोहिले हाँस्दै बताए ।

तर, गीतमार्फत टेलिभिजन र रेडियोदेखि समाचार सुन्ने र पढ्ने पहुँच नभएका नागरिकलाई निर्वाचनबारे जानकारी दिन पाएकोमा उनी खुसी महसुस गरिरहेका छन् ।

निर्वाचनको सूचनालाई लोक शैलीमा कम्पोज गर्नुको कारण प्रस्ट्याउँदै मोहित थप्छन्, “सहरी क्षेत्र मात्रै हेर्नुभएन । समग्रमा नेपालीले सुन्ने भनेको नै हो । त्यही भएर लोक खालको अझ त्यसमा पनि ‘क्याची’ खालको । मान्छेको दिमागमा हिट गर्ने खालको बनाउन खोजेको । तर दिमागमा हिट त गर्‍यो, तर अलि बढी नै हिट गरेछ ।”

फिमेल भोकल दिएकी कृष्णा दर्शकको नकारात्मक प्रतिक्रियाले मन केही खिन्न भएको बताउँछिन् । पाँच वर्ष इमेज न्युज एफमा समाचार वाचिकाको रूपमा काम गरेकी कृष्णा पछिल्लो समय मोहितकै रियल टाइम कम्पनीसँग जोडिएर यस्तै जिङ्गल र विज्ञापनहरूमा आवाज दिइरहेकी छन् ।

रेकर्डिङका क्रममा आफूलाई कलर टोनका लागि आवाज दिइरहेको भन्नेसमेत थाहा नभएको उनी बताउँछिन् ।

“मलाई यो कलर टोनका लागि भनेर थाहा थिएन । पछि, रिङटोनमा बज्दा म आफैँ सरप्राइज भएकी थिएँ । दाइले भन्नुभयो अनि मैले गाएँ । एकजना साथीलाई फोन गर्दा यो कलर टोन बज्यो । यो त मैले नै गाएको गीतजस्तो पनि लाग्छ भन्ने लागेको थियो,” उनी अगाडि थप्छिन्, “म ठ्याक्कै स्टुडियो नै गइरहेको थिएँ, पुगेर दाइलाई सोधेको पो थाहा पाएँ । ओ हो राम्रो भएछ भन्ने लाग्यो ।”

उनी आफैँले आफ्नो भिडियो सामाजिक सञ्जालमा सेयर गरिन् । तर, आएका नकारात्मक प्रतिक्रियाले उनको मन खिन्न बनायो ।

“आममानिसहरूलाई राजनीति भनेपछि यसै पनि वितृष्णा जाग्छ । त्यसमा पनि जताततै निर्वाचनकै कुरा । फोनमा पनि यही गीत मात्रै सुन्दा इरिटेटिङ भएको हुनुपर्ट,” उनले भनिन् । त्यसकारण सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू स्वाभाविक नै भएको उनी बताउँछिन् ।

तर, कतिपयले गायक/गायिकाकै दोष देखाएर गरेका नकारात्मक प्रतिक्रियाहरूमा भने उनको दुःखेसो छ । “तर, कति कमेन्टमा हामीहरूकै दोष भएको जस्तो हामीलाई नै गाली गरेको देख्दा अलिकति नराम्रो लाग्छ नै । किनभने मेरै ट्विटरमा पनि कति त्यस्तो नकारात्मक कमेन्टहरू आएका छन्,” उनले भनिन् ।

पपुलर कि अनपपुलर 
“सबैले सुन्नुभएको छ, सबैलाई म्युजिक र गीत पूरै कण्ठ पनि भइसक्यो होला । यस हिसाबले त पपुलर नै हो जस्तो लाग्छ मलाई," गीतका सर्जक तथा गायक मोहितले भने ।

यतिबेला, उनीहरूकै गीतको चर्चा छ । यो हिसाबले गीत सम्भवतः सबैको कान–कानमा पुगिसकेको छ । एउटा सर्जकका लागि आफ्नो सिर्जना दर्शकले सुन्नु भनेकै ठुलो उपलब्धि हो ।

नयाँ कलर टोन
सोमबार दिउँसोसम्म हरेकको मोबाइलमा त्यही कलर टोन सुनिइरहेको थियो । तर, सोमबार दिउँसोदेखि निर्वाचन आयोगले अर्कै कलर टोन पठाइसकेको छ । 

अहिले तपाईंले फोन गर्दा मोहित र कृष्णाको आवाज सुनिँदैन । नयाँ आवाजमा नयाँ गीत सुन्नुहुन्छ । 

तर, मोहित र कृष्णालाई गीत परिवर्तन गर्नुको कारणबारे जानकारी छैन ।

तर, सामाजिक सञ्जालमा आएका नकारात्मक प्रतिक्रियाले गीत परिवर्तन गरिएको हुनसक्ने कृष्णाको अनुमान छ ।

“धेरै नकारात्मक कमेन्ट आएर पनि हो कि, सामाजिक सञ्जालमा धेरै नै नकारात्मक प्रक्रिया आयो नि त ! तर, थाहा छैन किन कलर टोन परिवर्तन भयो ?,” उनले भनिन् । 

यसबारे गायक मोहितले पनि अनभिज्ञता प्रकट गरे । “हामीले मात्रै नभएर अरूले पनि बनाउनुभएको छ रे, त्यसैले मेरो पार्ट यति मात्रै हो कि ! खै इरिटेसन नै भएर पनि हो कि ! त्यो त आयोगलाई नै थाहा होला ।”

गोरखापत्रमा आयोगले टेन्डर आह्वान गरेकोमा बिडिङ गरेर आफूले पाएको मोहितले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्