काठमाडौं । ‘हुने बिरुवाको चिल्लो पात’ सौगात मल्लको बाल्यकाल केलाउने हो भने यो उखान उनकै लागि बनेको जस्तो लाग्छ । गायिका इन्दिरा जोशी र सौगात क्लासमेट । स्कुलका हरेक सांस्कृतिक कार्यक्रममा नृत्यमा सौगात र गायनमा इन्दिराकै नाम सुनिन्थ्यो ।
सौगात सानैदेखि ‘हिरो’ बन्ने सपना पाल्थे । हिन्दी र अंग्रेजी चलचित्रहरू हेरेर हुर्किएका उनी हिरो बन्न चाहन्थे । मनभरि त्यही सपना बोकेर एक दिन काठमाडौं छिरे । भलै, उनले घरमा कहिल्यै भनेनन् । आमाबुवाले ‘जे गर्नुछ गर्, तर पढाइ भने पूरा गर्’ भन्थे ।
एसएलसीपछि घरबाट पढ्न भन्दै काठमाडौंतर्फ लागे । तर, उनका आमाबुवा छोरा हिरो बन्न काठमाडौं गएको भन्नेमा निश्चिन्त थिए ।
सौगातलाई पढाइमा रुचि हुने कुरै भएन । हिरो बन्ने सपना थियो । तर, ठूलो पर्दामा कसले लिने ? उनलाई आफैँलाई विश्वास थिएन । अरूले सहजै कसरी पत्याइदिऊन् ? हुन त गाउँमा हुँदै फाट्टफुट्ट नाटक पनि गर्थे ।
“एकैपटक ठूलो पर्दामा आउन कसले दिन्छ र ? म सानैदेखि उतैतिर नाटकहरू त गर्थेँ । यता आएर अभिनयको क्लास लिएँ, रणभूमि, दाग र पन्छी चलचित्रमा पनि खेलेँ,” सौगात सुनाउँछन् ।
आफैँले खेलेका चलचित्र हलमा हेर्न थालेपछि उनलाई एक्कासि नेपाली चलचित्रप्रति वितृष्णा जाग्यो । “मेरो रुचिको, मेरो स्टाइलको फिल्महरू देखिनँ । राजेश हमाल दाइको ठाउँमा यसो आफूलाई राखेर हेर्थेँ, त्यो कथा, डाइलग र त्यो स्टाइलमा म कसरी सुहाउथेँ होला भन्ने लाग्थ्यो । किनभने, मलाई त्योभन्दा केही फरक हुनुपर्छ भन्ने लाग्थ्यो । भलै, यस्तै हुनुपर्छ भन्ने आइडिया दिमागमा थिएन । तर, मैले खेले पनि आखिर त्यस्तै त हुने हो नि भन्ने लाग्थ्यो । त्यसपछि मलाई पर्दामा देखिनै मन लाग्न छोड्यो ।”
तर, त्यो वितृष्णालाई बाल्यकालदेखिको अभिनयको मोहले लामो समय छोप्न सकेन । उनी गुरुकुलसँग जोडिए । अभिनयलाई निरन्तरता दिए । रंगमञ्चको स्वतन्त्रताले लोभ्यायो । रंगमञ्च आफूअनुकूल ठाउँ रहेछ भन्ने लाग्यो ।
क्यारिकेचर नोटिस हुने उद्देश्य
सौगात मल्ल ८/९ वर्षको हुँदा नै स्टेजहरूमा प्रस्तुति दिन थालिसकेका थिए । सुरु नृत्यबाट गरेका उनले पछि आफूलाई धेरै मानिसबीच चिनाउन क्यारिकेचर गर्न थाले । स्कुलमा हुँदा बलिउडका कैयौँ कलाकारको क्यारिकेचर दुरुस्तै उतार्थे । तर, त्यसो गर्ने रहर नभएर नोटिसमा आउने ‘आइडिया’ मात्रै थियो ।
“मलाई खासमा क्यारिकेचर गर्न राम्रो लाग्दैन थियो । मान्छेले मलाई वास्तै नगरेर त्यसो गरेको हुँ । सानैदेखि डान्स गर्थेँ । त्यो सबैलाई थाहा थियो । अब के गर्ने त भनेर यसो सोच्दा मैले घरमै बुबा, अंकलहरूको क्यारिकेचर गरेको ठ्याक्कै मिल्यो,” उनी भन्छिन्, “अनि, यसो इन्डियन शोजहरू हेरेँ, राम्रो चल्ने रहेछ । धेरै मिहिनेत पनि गर्न नपर्ने, एकैपटकमा हुने भनेर गर्दै गरेको ३०, ४०, ५०, ६० कतिवटाको गरेँ । किनभने, डान्स, गाउने सबैले गरिरहेकै थिए । त्यसैले क्यारिकेचरको बाटो रोजेको हुँ ।”
बाल्यकालमा चकचके सौगात घरमा हुँदा केही न केही सामान फुट्ने, बिग्रने स्वाभाविक थियो । अहिले भने उनी शान्त, एक्लै बस्ने, प्रायः किताब पढ्ने र चलचित्र हेर्न रुचाउँछन् ।
हलिउड भनेर नेपाली चलचित्रमा अभिनय
सौगातको हिरोका रूपमा डेब्यु चलचित्र ‘कागबेनी’ हो । यो चलचित्र गर्नुको पनि रमाइलो कहानी जोडिएको छ उनीसँग ।
एकाध चलचित्रमा सानो रोल गरेपछि उनी रंगमञ्चसँग जोडिए । कारण, उनलाई अभिनय गर्नु थियो । अब नेपाली चलचित्र गर्दिनँ नै भन्ने थियो । तर, साथीले हलिउड चलचित्र भनेर ‘कागबेनी’सँग जोडिदिए ।
“एकजना साथीले फाराम ल्याएर थमायो । मैले साथीलाई भनेँ– तिमीलाई थाहा छ त म नेपाली चलचित्र गर्दिनँ भनेर । उसले भन्यो– थाहा छ, तपाईंले बाहिरको फिल्म मात्रै गर्छु भन्नुभएकोले ल्याएको । यो बाहिरकै फिल्म हो । साथीले यसरी खेलाएका थिए मलाई कागबेनी,” उनले सम्झिए ।
त्यसपछि उनले फाराम भरे । फारमसँगै व्रतबन्ध बेलाको र दसैँको टीका लगाएका तस्बिरहरू टाँसेर पठाए । उनी छानिए पनि ।
हलिउड फिल्म भनेर मक्ख परेर गएका उनी भूषण दाहाल, अनुप बराल सबै नेपाली कलाकार देखेपछि छक्क परे ।
हलिउड चलचित्र नभए पनि उनलाई मनपर्ने ‘द मङकिज पअ्’ भन्ने कथामा आाधारित थियो, कागबेनी । सानै बेला पढेको कथाको पाना उनले ठूलो भएर सबै नेपालीलाई नाटकमार्फत देखाउँछु भनेर जतन गरेर राखेका थिए । त्यसैले उनले नेपाली भए पनि चलचित्र नगर्ने सवाल नै उठेन ।
विदेशी चलचित्र हेरेर हुर्किएका उनलाई प्रायः नेपाली चलचित्रको डाइलग डेलिभरी, अभिनय र कथा फिक्का लाग्थ्यो । हलमा चलचित्र हेर्दाहेर्दै यति बेला यो डाइलग भनेको भए गज्जब हुन्थ्यो वा डाइलगको टाइमिङ नै मिलेन भन्ने अनुभूत हुन्थ्यो ।
दर्शकका रूपमा चलचित्र हेर्दा सौगातको पहिलो रोजाइमा आउने विधा थ्रिलर, हरर हुन् । चलचित्रमा थ्रिलर भएन भने उनलाई दिक्क लाग्छ । उनको हकमा लभस्टोरी र कमेडी अन्तिममा आउने जानराहरू हुन् । तर, उनी प्रायः लभस्टोरी जानराकै चलचित्रहरू खेलिरहेका हुन्छन् । कारण, यहाँ यस्तै चलचित्र बन्छन् ।
चलचित्रको अफर आउँदा वान लाइन स्टोरी मन परे स्क्रिन प्ले हेरेर काम गर्ने/नगर्ने निर्क्योल गर्छन् । राम्रो स्क्रिन प्ले भएका चलचित्रहरू मुस्किलले पाइने उनी बताउँछन् ।
फरक पात्रबाट चिनिने चाहना
‘लुट’ उनको जिन्दगीको ट्रनिङ पोइन्ट हो । पाँचौँ चलचित्र लुटको ‘हाकु काले’ दर्शकले चिन्ने नाम हो । सौगातका तीन दर्जन चलचित्र आइसक्दा पनि हाकु कालेलाई कुनै पात्रले छायामा पार्न सकेनन् । भलै, उनी हरेक चलचित्रको पात्रबाट चिनिन सम्भव नरहेको बताउँछन् । अब भने कुनै अर्कै पात्रले चिनिन चाहन्छन् । प्रयास गरिरहेका छन् ।
“यो जिज्ञासा मभित्र पनि छ । किन अरू पात्रबाट चिनिँदैन होला ? के मिहिनेत गरेर त्यो चिनारी ल्याउन सकिन्न ?,” उनी भन्छन्, “तर, यसको लागि टिम नै राम्रो हुनुपर्छ । एकजनाको मिहिनेतले हुँदैन । म आजसम्म पनि त्यो कोसिसमा छु । त्यो मेरो मात्रै नभएर हरेक अभिनेताको हुन्छ ।”
अभिनयमा पारंगत भनेर चिनिने उनलाई पछिल्लो समय एकैखालको अभिनय भएन र ? भन्ने टिप्पणी हुन थालेको छ । “छानेरै चलचित्र गरिरहेको हुन्छु । आफ्नो तर्फबाट त फरक र राम्रो दिन्छु भन्ने कोसिस सधैैँ भइरहन्छ,” उनी भन्छन् ।
सौगात कम बोल्छन् । मिडियामा आउन खासै रुचाउँदैनन् । उनी भन्छन्, “हरेक व्यक्तिको बानी फरक–फरक हुन्छ । म पहिलेदेखि नै कम बोल्छु । त्यसैले मलाई मिडियामा आउन त्यति मन लाग्दैन । यसको लागि म मेरो दर्शकसँग क्षमा पनि माग्न चाहन्छु ।”
अक्सर कलाकारहरू फुर्सदको समय सामाजिक सञ्जालमा व्यस्त हुन्छन् । उनी भने आफूलाई नयाँ पात्रको तयारी, पुस्तक अध्ययन, व्यायाम र चलचित्र हेर्नमा व्यस्त राख्छन् ।