काठमाडौं । “यस्तो कलाकार आइडल बनोस्, जसलाई जात, धर्म र लिंगले होइन, पूरै देशले बनाओस् नेपाल आइडल,” नेपाल आइडलको २६ औं श्रृंखलामा उत्कृष्ट सात प्रतिस्पर्धीमध्येका प्रताप दासको रोजाइमा आएका शिव लामिछानेले नेपाल आइडलको मञ्चबाट भनेको वाक्य हो यो ।
उक्त श्रृंखलामा स्वनुप पौडेल, युवराज चौलागाईं, सिने गुरुङ, विश्व नेपाली, मिङ्मा शेर्पा, कमल खत्री र शिव लामिछाने सात उत्कृष्ट प्रतिस्पर्धीको आइडलका रुपमा मञ्चमा उपस्थित भएर नेपाल आइडलका प्रतिस्पर्धीलाई गीत गाउन साथ दिइरहेका थिए ।
प्रताप दासको रोजाइमा आएका शिव लामिछानेले प्रतापलाई भोट माग्दै माथिको वाक्य भनेपछि सबैले ताली बजाएर उनको आग्रहलाई साथ दिए ।
त्यही दिन प्रमिला राईको आइडलका रुपमा सिने गुरुङ आइन् । प्रमिलाले सिनेको गीत ‘मन...’ गाइन् । सिने र प्रमिला दुवैको ड्रेसमात्रै म्याच भएन, स्वर पनि उस्तै–उस्तै सुनिएको थियो । प्रमिलाले आफैं पनि भेनकी थिइन्, “दिदीसँग मेरो भ्वाइस पनि म्याच हुन्छ जस्तो लाग्छ ।”
सिनेले नै उठान गरेको गीतलाई प्रमिलाले न्याय गरेर गाइन् । उनले तीनै जना निर्णायक (न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी) को स्ट्यान्डिङ अवेशन पाइन् । प्रमिलालाई उत्कृष्ट प्रस्तुति भन्दै सिनेले मञ्चमै लामो समय अंकमाल गरिन् ।
भोलिपल्ट थियो, ‘एलिमेनेशन डे’ अर्थात् दर्शकले गरेको भोटिङका आधारमा सात जनामध्ये सबैभन्दा कम मत ल्याउने एक जना बाहिरिने दिन ।
‘बटम थ्री अर्थात् सबैभन्दा कम मत ल्याउने तीनजनामा पर्नेको नाम उद्घोषक सुशील नेपाल र रिमा विश्वकर्माले क्रमशः लिँदै थिए । ‘बटम थ्री’ मा परे शिवाज लामिछानेको निकै अप्ठ्यारो गीत सहजै गाएर वाहवाही कमाएका प्रताप दास । सुजाता पाण्डे पनि ‘बटम थ्री’ मा परिन् र अघिल्लो दिन सिने गुरुङको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारेकी प्रमिला राई पनि ‘बटम थ्री’ मै परिन् ।
सुशील र रिमाले क्रमशः सेफ भएका दुई जनाको नाम लिए । सुजाता एक हप्ताका लागि ढुक्क भएर मञ्चबाट बाहिरिन् । बाँकी थिए सुखद् निर्णयको पर्खाइमा रहेका प्रताप र प्रमिला । प्रतापले पनि सुखद समाचार सुने, बाँकी रहिन् प्रमिला । उनका लागि त्यो दिन नेपाल आइडलको आफू उभिरहेको मञ्च अन्तिम दिन थियो ।
न्ह्यू बज्राचार्यले उनलाई विदाइको हात हल्लाउँदै भने, “सात जनामा तिमीहरु सबै मेरा लागि बराबर हौ । र, म यो पनि भन्न सकिरहेको छैन कि तिमी सेफ हुनुपर्ने भनेर । तिमी सेफ हुनुपर्ने थियो भन्दा एक जना अर्को आउट हुनुपर्ने थियो भन्ने अर्थ आउँछ । अहिलेको लागि म तिमीहरु सातै जनाको लागि न्युट्रल छु । हिजो तिमीले साँच्चै–साँच्चै राम्रो गाएको थियौ ।”
सधैं बचेर कमेन्ट गर्ने न्ह्यूको यो वाक्यलाई जसरी अथ्र्याए पनि हुन्छ सायद । “हिजो तिमीले साँच्चै राम्रो गाएका थियौ...” भन्ने वाक्यलाई अर्थ लगाउँदा उनी यो हप्ता सेफ हुनुपर्ने थियो भन्न सकिन्छ । ‘तिमी सेफ हुनु पर्ने थियो भन्दा एक जना अर्को आउट हुनुपर्ने थियो भन्ने अर्थ आउँछ’ भन्ने कुराको अर्थ पनि उस्तै नै आउँछ । ‘अहिलेको लागि म तिमीहरु सातै जनाको लागि न्युट्रल छु’ भन्ने कुराको अर्थ लगाउँदा पनि प्रमिला अघिल्लो दिनको प्रस्तुतिका आधारमा सेफ हुनुपर्ने थियो भन्ने जस्तो अर्थ लाग्छ ।
यहाँ न्ह्यू बज्राचार्यले खुलेर बोल्न सकेनन् भन्न खोजिएको पनि होइन र प्रमिलाको पक्षमा वकालत गर्न खोजेको पनि होइन । शिव लामिछानेले भनेजस्तै नेपाल आइडल जात, धर्म र लिङ्गले होइन, पूरै देशले बनाओस् भन्नमात्रै खोजिएको हो ।
निर्णय जनताको हातमा छ । जनताले जसलाई चाहन्छन्, उही नेपाल आइडल बन्छ । निर्णायकले पनि कुर्सीमा बसेर निर्णय सुन्नुको विकल्प छैन ।
२१ औं श्रृंखलाबाट केञ्जल मेहर श्रेष्ठ बाहिरिन् । निर्णायक इन्दिरा जोशीले भनिन्, “आज म एउटा भविष्यवाणी गर्छु, केञ्जल भविष्यको सेलेवल आर्टिस्ट हो । तपाईं नेपाल आइडलको यो सिजनको फ्युचर हो । मैले गरेको यो भविष्यवाणी मिलेन भने मलाई फोन गरेर भन्नुस् तपाईंले भनेको मिलेन ।”
एक सांगीतिक रियालिटी शोका विजेता प्रताप लामा टप टेनमा पनि परेनन् । नेपाल आइडलका प्रतिस्पर्धीलाई सिकाउँदै निर्णायकको मन जितिरहेका उनी कम भोटकै आधारमा बाहिरिए ।
राम्रो प्रतिभा देखाइरहेकी प्रज्ञा विश्वकर्मा खुट्टै टेक्न पाइनन् । कालीप्रसादले यस्तै आशा लाग्दा एक प्रतिस्पर्धी बाहिरिँदै गर्दा भनेका थिए, “के भइरहेको छ यो मैले बुझ्नै सकिरहेको छैन ।” यसको अर्थ थियो, राम्रो प्रतिभाले पाउने जति भोट पाइरहेका छैनन् । उनीहरुलाई अन्याय भइरहेको छ ।
स्ट्यान्डिङ अवेशन पाउने र ‘पर्फर्मेन्स अफ द डे’ हात पार्ने नै ‘डेन्जर जोन’ मा परिरहेका हुन्छन् । निर्णायकले भोट मागिरहेका प्रतिस्पर्धी नै ‘बटम थ्री’ मा उभिरहेका हुन्छन् । यो परिस्थितिलाई हेर्दा को नेपाल आइडल हुन्छ भनेर कसैले पूर्वानुमान गर्न सकिरहेको छैन । गायकी उत्कृष्ट हुँदाहुँदै पनि बाहिरिनु पर्ने मतले नेपाल आइडल झनै कौतूहलपूर्ण भइरहेको छ ।
सबै प्रतिस्पर्धीमा प्रतिभा छ । निर्णायकले छानेर यहाँसम्म ल्याएका प्रतिभा हुन् । त्यसैले पनि उनीहरुको प्रतिभामा शंका गर्ने ठाउँ छैन । तर घटीबढी क्षमता सबैमा हुन्छ । त्यसको सही मूल्यांकन जनताले गर्नुपर्छ । शिवले भनेजस्तै जाति, भाषा, लिंग र क्षेत्रीयता भोटमा प्रतिविम्वित नहोस्, जित्ने प्रतिभाले नहारोस् । नेपाल आइडलको पहिलो सिजनले यसको गरिमा बढाएर लैजाओस् ।