site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिगको नवौँ चरणमा कोरोनासँगै अल्मुताइरीको 'आतंक'

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौँ चरणका खेलहरू शुक्रबारबाट दशरथ रंगशालामा सुरु हुँदैछन् । लिगमा विश्रामअघिको नवौँ चरणमा कोभिड–१९ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको 'आतंक' फैलिएको छ । 

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पुस १९ गते मोरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक ३४ खेलाडीको नाम सार्वजनिक गरेका थिए । त्यसमा गत आइतबार त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङ घाइते भएपछि आर्मीकै जगजीत श्रेष्ठ र च्यासल युथका आशिष राईलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । 

अल्मुताइरीले बोलाएको टोलीमा सात जना मछिन्द्रका खेलाडी छन् । मनाङ, त्रिभुवन आर्मी र न्युरोड टिम (एनआरटी)का समान चार, नेपाल पुलिसका तीन, थ्री स्टार, जावलाखेल युथ र हिमालयन शेर्पाका दुई, एपीएफ, च्यासल युथ, सातदोबाटो, एपीएफ र संकटाका एक एक जना खेलाडी छन् । कप्तान किरण चेमजोङ मादिभ्समा खेल्नछन् । 

अल्मुताइरीले मंगलबार राष्ट्रिय टोलीका सदस्यसँग छलफल गरेका थिए । उनले खेलाडीलाई ‘होमवर्क’ दिएका छन् । यससँगै क्लबका प्रशिक्षकहरू क्रुद्ध बनेका छन् ।

‘‘लिग चलिरहेको छ । अल्मुताइरीले खेलाडीलाई राष्ट्रिय टोलीका लागि होमवर्क दिएका छन् । अब खेलाडी लिगमा भन्दा कसरी राष्ट्रिय टोलीमा पर्ने भनेर क्लबमा भन्दा उतातिर केन्द्रित हुन थालेका छन्,’’ दशरथ रंगशालामा भेटिएका एक प्रशिक्षकले गुनासो गरे, ‘‘उनले थपे खुट्टा जोगाएर खेल्नु भनेर निर्देशन दिएका छन् रे । क्लबका सबै प्रशिक्षकहरू अहिले त्यही कुराले रिसाएका छन् । खेलाडीले लिगको खेलमा भन्दा उतातिर पो ध्यान दिने भए ।’’

नेपालले माघ १५ र १८ गते दशरथ रंगशालामा खेल्दैछ । लिगमा अहिले उपाधि होड र रेलिगेसन क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । एक खेलको नतिजाले लिग तालिकामा धेरै फरक पर्नेछ । लिगमा अहिले मछिन्द्र २० अंकका साथ शीर्ष स्थानमा छ । उसलाई १९ अंक जोडेको मनाङले नजिकबाट पछ्याइरहेको छ । समान १४ अंकका साथ संकटा र त्रिभुवन आर्मी क्रमशः तेस्रो र चौँथो स्थानमा छन् । १३ अंक जोडेको पाँचौँ स्थानमा छ । 

शीर्ष पाँचमै रहेको क्लबका एक पदाधिकारीले बुधबार गुनासो गरेका थिए, ‘‘अल्मुताइरीले प्रारम्भिक टोलीमा परेका खेलाडीलाई खुट्टा जोगाएर खेल्नु भनेका छन् । अझ लिग अगाडि त अल्मुताइरीले खेलाडीलाई कुन क्लबमा अनुबन्ध हुने भनेर समेत निर्देशन नै दिएका थिए । अल्मुताइरीले अनावश्यक हस्तक्षेप गरिरहेका छन् ।’’

ती प्रशिक्षकले क्लबको अनुमतिविना खेलाडीलाई बोलाएर मिटिङ गरेको भन्दै गुनासो पोखेका थिए । उनले त्यसकाविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाएको बताए । 

एन्फाले क्बललाई खेलाडी ‘रिलिज’ गरिदिनका लागि पत्र पठाउनुपर्छ । क्लबले रिलिज नगर्दासम्म खेलाडीले राष्ट्रिय टोलीमा जान पाउँदैनन् ।

क्लबका प्रशिक्षकले थपे, ‘‘यो नवौँ चरणको खेलपछि नाम सार्वजनिक गरेर खेलाडीलाई प्रशिक्षणमा बोलाएको भए राम्रो हुन्थ्यो । तर, अगाडि नाम सार्वजनिक गरिदिएपछि खेलाडीको ध्यान क्बलमा भन्दा राष्ट्रिय टोलीमा केन्द्रित भएको छ । त्यसले क्बलको प्रदर्शनमा असर गरेको छ ।’’

प्रशिक्षक अल्मुताइरीको 'आतंक'सँगै क्लबहरूलाई कोभिड–१९ को आतंकले पनि सताएको छ । च्यासल युथका कमल श्रेष्ठ र प्रदीप भण्डारी संक्रमित भइसकेका छन् । अन्य क्लबमा पनि खेलाडी विरामी परेको बिहीबार एन्फाले आयोजना गरेको प्री म्याच कन्फेरेन्समा बताएका छन् । 

‘‘चिसोले गर्दा खेलाडी बिरामी छन् । द्विविधामा छौँ । हाम्रो ९ खेलाडीले प्रशिक्षण गरेका छैनन् । आजको प्रशिक्षणमा पनि १२ खेलाडी र किपरसहित १४ जना उपस्थित भए,’’ जावलाखेलका प्रशिक्षक किशोर केसीले भने, ‘‘रुघाखोकी लागेको छ । केही खेलाडी निको पनि भएका छन् ।’’

त्यस्तै एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि आफ्नो क्लबका खेलाडी पनि बिरामी परेको बताएका छन् । उनले थपे, ‘‘लिगमा धेरै खेलाडीमा कोरोना लागेको हल्ला छ । हाम्रो पनि धेरैलाई डाएरिया तथा रुघाँखोकी लागेको छ । यसमा खेलाडी सजक हुनुपर्छ ।’’

आठौँ चरणमा हिमालयन शेर्पाले थ्री स्टारविरुद्ध खेलेको थियो । उक्त खेलमा हिमालयन शेर्पा २–० ले पराजित भएको थियो । खेलपछि हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले पनि खेलाडी विरामी परेर समस्या भएको बताएका थिए । 

उनले भनेका थिए, ‘‘दुई तीन जना खेलाडीलाई ज्वरो आएको छ । हामीले अली जोखिम मोलेरै खेलाएका थियौँ । अब पछिल्लो समय कोभिड–१९ बढिरहेको छ । हामीले टेस्ट त गरेका छैनौँ । टेस्ठ गर्‍यो  भने देखिने हो कि !’’

एन्फाले लिग अगाडि प्रत्येक खेल अगाडि खेलाडीका पीसीआर परीक्षण गरिने बताएको थियो । तर त्यो नियम कडाइका साथ लागु गरिएको छैन । जसकारण खेलाडीको स्वास्थ्य जोखिममा परेको छ । 

शीर्ष पाँच भित्र रहेको एक क्लबका पदाधिकारीले भने, ‘‘परीक्षण गर्ने हो भने धेरै खेलाडीलाई कोभिड–१९ भएको हुनसक्छ । धेरैमा रुघाखोकी र ज्वरो देखिएको छ । समान्य रुघा खोकी भनेर खेलाइयो भने खेलाडी खेल्दा खेल्दै ढल्न सक्ने सम्भावना हुन्छ । तर, एन्फा यस विषयमा गम्भीर देखिएको छैन ।’’

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro