काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विनाशकारी ‘गोरखा भूकम्प’मा काष्ठमण्डप भत्किएको थियो ।
पुरानै शैलीमा पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पाँचौँ शताब्दीका काठलाई यथावत् राखिएको छ । उक्त काठले काष्ठमण्डपको ऐतिहासिकता झल्काएको छ ।
तर, काष्ठमण्डपको चार कुनामा गणेश र गुरु गोरखनाथको पुरानो मूर्ति परिवर्तन गरी नयाँ राखिएको छ । ती मूर्ति एक महिनादेखि विवादित बनेका छन् । नयाँ मूर्ति राखिएकोप्रति केही स्थानीय असन्तुष्ट छन् ।
समितिले सम्बन्धित निकाय हनुमानढोका दरबार हेरचाह अड्डा, पुरातत्व विभागसँग स्वीकृति नलिई मूर्ति परिवर्तन गरेको थियो । पुरानो मूर्तिलाई बेवास्ता गर्दै नयाँ मूर्ति राखिएको हेरचाह अड्डाले जनाएको छ ।
अड्डाका कार्यकारी निर्देशक सन्दीप खनाल अड्डा, पुरातत्व विभाग र स्थानीयसँग छलफल नगरी मनपरी ढंगले मूर्ति राख्दा विवाद भएको बताउँछन् ।
‘‘स्थानीयको धार्मिक आस्थाको कदर भएन । लामो समयदेखि यहाँका सम्पदाहरूको हेरचाह गर्दै आएको अड्डालाई बेवास्ता गरिएको छ । आफैँ मनपरी सम्पदा परिवर्तन गर्ने हो भने हेरचाह अड्डा रहनुको के काम ? पुरानो मूर्ति पूजा गर्न नमिल्ने गरी टुटफुट भएको छैन । समितिले काम नलाग्ने भन्दै बेवास्ता गरेका मूर्तिहरू अड्डाले सुरक्षित ठाउँमा राखेको छ । मूर्ति परिवर्तन गर्नै परे पनि सबैसँग छलफल गरेर मात्रै राख्नुपर्ने हो,” खनालले भने ।
पुनर्निर्माण समितिका अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य राजेश शाक्यले आफू सरकारमा रहेकै कारण शक्ति प्रदर्शन गरेको स्थानीयको आरोप छ ।
स्थानीय अञ्जली मास्के स्थानीयका भावना जोडिएका मूर्तिहरू परिवर्तन गरी नयाँ राख्दा धार्मिक आस्था घटेको बताउँछिन् । ‘‘मूर्ति काम नलाग्ने गरी टुटेफुटेका छैनन् । स्थानीयको मन र भावना जोडिएका मूर्ति परिवर्तन गरिएको छ । काष्ठमण्डपमा पुरानै मूर्ति स्थापित गरिनुपर्छ,” उनले भनिन् ।
मूर्ति परिवर्तन गरी गैरकानुनी रूपमा नयाँ मूर्ति राखिएको भन्दै सम्पदा संरक्षणकर्मी र स्थानीयले विरोध गर्दै आएका छन् । सम्पदा संरक्षणकर्मीहरूले पुरानै मूर्ति स्थापित गरिनुपर्ने भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति, पुरातत्व विभाग विभाग र युनेस्कोलाई ज्ञापनपत्र बुझाएका थिए ।
सम्पदा संरक्षणकर्मी एवं अधिवक्ता सञ्जय अधिकारी अहिलेसम्म सम्बन्धित निकायले मूर्ति विवाद समाधानको उपाय नखोजेको बताउँछन् । “प्राचीन स्मारक ऐनविपरीत मूर्ति परिवर्तन गरिएको छ । स्वेच्छाचारी तरिकाले मूर्ति परिवर्तन गरिएको छ । यसरी सम्पदा परिवर्तन गर्दा विश्वसम्पदाको अस्तित्व संकटमा पर्छ । अब अदालत जान्छौँ,” अधिवक्ता अधिकारीले भने ।
प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को दफा १२ (ग) मा ‘कुनै पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, बिरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि–नोक्सानी गरेमा त्यस्तो पुरातात्विक वस्तुको बिगोबमोजिमको रकम असुलउपर गरी पाँच हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने’ व्यवस्था छ ।
पुराना मूर्ति जीर्ण भई टुटेफुटेको र त्यस्तो मूर्तिको पूजा गर्न नहुने मान्यताका आधारमा परिवर्तन गरिएको पुनर्निर्माण समितिको भनाइ छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक तथा वाग्मती प्रदेश सांसद राजेश शाक्यले गोरखनाथको मूर्ति दुई टुक्रा भएकाले परिवर्तन गरिएको बताए । अरू चार गणेशका मूर्तिहरू टुटेफुटेका कारण परिवर्तन गरिएको पनि उनले बताए ।
‘‘बाहिर गलत हल्ला फैलाउने काम भएको छ । हामीले गोरखनाथलगायत चार गणेशका मूर्ति सम्बन्धित पुजारीलाई सल्लाह गरेर मात्रै परिवर्तन गरेका हौँ । स्थानीयको धार्मिक आस्थालाई बेवास्ता गरेका होइनौँ,” शाक्यले भने ।
समितिले मूर्ति परिवर्तन गर्दा स्थानीय, विज्ञसँग छलफल गरेको भए राम्रो हुने पुरातत्व विभागका महानिर्देशक दामोदर घिमिरे बताउँछन् ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विवाद सम्बन्धमा सबै सरोकारवाला निकायबीच छलफल गरेर टुंगोमा पुग्नुपर्ने बताए । ‘‘काष्ठमण्डपमा परिवर्तित गुरु गोरखनाथ र चार गणेशका मूर्ति विवादित छन् । पुरातत्व विभाग, महानगर, अड्डा, पुनर्निर्माण समिति र स्थानीयको छलफलमा विवाद समाधान गर्नुपर्ने हुन्छ । एक थरी स्थानीय परिवर्तित नयाँ मूर्तिप्रति असन्तुष्ट छन् भने अर्को थरी स्थानीय सन्तुष्ट छन् । यस्तो अवस्थामा स्थानीयसँगै सरोकारवाला निकायसँग छलफल गरी टुंगोमा पुग्नुपर्छ,” मेयर शाक्यले भने ।