
काठमाडौं । नेपाली सेनाले ‘सैनिक कल्याणकारी कोष’ मार्फत २३ वटा परियोजना लगानी गरेको छ । ती परियोजनामा पौनै ८ अर्ब रुपैयाँ लगानी सेनाले गरेको छ ।
घर जग्गा खरिददेखि भवन निर्माण, फ्युल स्टेशनदेखि पिउने पानी प्लाण्टमा सेनाले लगानी विस्तार गरेको छ । “२०८१ पुस मसान्तसम्म २३ वटा परियोजनामा ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ सैनिक कल्याणकारी कोषको लगानी रहेको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथि गौरवकुमार केसीले बाह्रखरीसँग भने ।
‘बहुजन हिताय बहुजन सुखाय’ को उद्देश्य राखी २०३२ सालमा सैनिक कल्याणकारी कोषको स्थापना गरिएको थियो । ४९ वर्षअघि एक करोड २४ लाख १ हजार रुपैयाँबाट स्थापना भएको कोषमा २०८१ पुस मसान्तसम्म कुल सम्पत्ति ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ ।
“बैंक तथा वित्तीय संस्थाहरुमा ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र परियोजनाहरुमा लगानी ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ छ,” सैनिक प्रवक्ता केसीले भने ।
सैनिक कल्याणकारी कोषको कुल सम्पत्तिमध्ये ८.८६ प्रतिशत परियोजनामा लगानी भएको छ ।
नेपाली सेनाका अनुसार, सेनाको स्वास्थ्य विज्ञान संस्थानमा २ अर्ब ३० करोड ९४ लाख ६७ हजार रुपैयाँ लगानी छ । कल्याणकारी भवन तथा त्रि–चन्द्र मिलिटरी हस्पिटलमा कल्याणकारी कोषमार्फत १ अर्ब ६० करोड ६० लाख १९ हजार रुपैयाँ लगानी भएको छ ।
प्राप्त विवरणअनुसार निवृत्तिभरण कोषमा १ करोड रुपैयाँ छ । यस्तै, सुनाचुरी ईमल्सन प्लाण्टमा २७ करोड ४४ लाख ९३ हजार रुपैयाँ लगानी कोषबाट भएको छ ।
चितवनमा सैनिक आवासीय माध्यमिक विद्यालयका लागि घर जग्गा खरिद गर्दा कल्याणकारी कोषबाट १७ करोड ५२ लाख ६७ हजार रुपैयाँ लगानी भएको छ । अक्सिन प्लाण्टमा ४ करोड ७४ लाख ५१ हजार रुपैयाँ लगानी गरिएको छ ।
ईचंगुनारायणमा जग्गा खरिद र भवन निर्माण गर्दा कोषबाट ४२ करोड २२ लाख ६३ हजार रुपैयाँ लगानी भएको छ । नेपाली सेना कल्याणकारी वोर्डमा ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ लगानी गरिएको छ ।
यस्तै, ९ करोड ४६ लाख २३ हजार रुपैयाँ शुद्ध पिउने पानी प्लाण्टमा लगानी कल्याणकारी कोषबाट भएको छ । जे.पी.प्रतिष्ठान (मैत्री सेवा आश्रम)मा २ करोड ९८ लाख ५० हजार रुपैयाँ लगानी गरिएको छ ।
बुटबलको रामनगरमा रिपुमर्दिनी फ्यूल स्ेटशनमा कोषको २ करोड ६० लाख ६१ हजार रुपैयाँ लगानी छ । तनहुँको खैरेनीटारस्थित रिपुमर्दिनी फ्यूल स्टेशनमा २ करोड १८ लाख ३१ हजार रुपैयाँ लगानी कोषको छ ।
बुटवलको कल्याणकारी भवनमा ७ करोड ७६ लाख ८२ हजार रुपैयाँ र सिभिल एक्सप्लोसिभ प्लाण्टमा ५० करोड २ लाख ११ हजार रुपैयाँ लगानी सैनिक कल्याणकारी कोषबाट भएको छ ।
कोषबाट नेपाली सेना सुपथ मूल्य क्यान्टिनमा १२ करोड ६७ लाख ५३ हजार रुपैयाँ लगानी भएको देखिन्छ । नेपाली सेनाको जुत्ता परियोजनामा १३ करोड १६ लाख २ हजार रुपैयाँ लगानी कोषबाट भएको छ ।
ईटहरीको फ्यूल स्टेशनमा ५ करोड ६३ लाख ५६ हजार रुपैयाँ लगानी सेनाले कोषमार्फत गरेको छ । कृषि विज्ञान संस्थानमा ४६ करोड ८८ लाख ४५ हजार रुपैयाँ सेनाको लगानी छ । नेपाली सेना इन्जिनियरिङ्ग संस्थानमा ४१ करोड १२ लाख ८३ हजार रुपैयाँ सैनिक कल्याणकारी कोषको लगानी रहेको छ । सितापाईला फ्यूल स्टेशनमा कोषले ९ करोड ४५ लाख ४४ हजार रुपैयाँ लगानी गरेको छ ।
यस्तै, रिपुमर्दिनी पेट्रोल पम्पको स्तरोन्नतिका लागि कोषबाट २ करोड ६२ लाख ९६ हजार रुपैयाँ खर्च भएको सेनाले जनाएको छ । कोषबाट वीरेन्द्र अस्पताल छाउनीमा जग्गा खरिद गर्दा २ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । नेपाली सेना पालसायर कारखानामा सैनिक कल्याणकारी कोषले ११ करोड ७१ लाख १८ हजार रुपैयाँ लगानी गरेको छ ।
सैनिक कल्याणकारी कोषमा संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिसनमा खटिने नेपाली सेनाबाट निश्चित रकम कटौती गरी राख्ने गरिन्छ । २०३२ सालमा स्थापित कोषमा सुरुदेखि यसरी नै रकम जम्मा हुँदै आएको छ ।
कोषबाट स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी काम सञ्चालन हुँदै आइरहेका छन् । सैनिक कल्याणकारी कोषबाट करिब १० लाखभन्दा बढी सेवाग्राहीले सेवा तथा लाभ प्राप्त गरिरहेको जनाएको छ ।
सेवाग्राहीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियत समेत गरी चार ‘स’ को अवधारणालाई आधार मानी कल्याणकारी कार्यहरू सञ्चालन गर्दै आइएको दाबी सेनाको छ । कोषको संरक्षक प्रधानमन्त्री र सह–संरक्षक रक्षामन्त्री रहने व्यवस्था छ ।
कल्याणकारी कोषसम्बन्धी कार्य सञ्चालनका लागि प्रधानसेनापतिको अध्यक्षतामा अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरूको प्रतिनिधित्व एवं अवकाश प्राप्त सैनिक अधिकृतहरूसहित सात सदस्यीय ‘सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति’ छ ।
सैनिक कल्याणकारी कोषको प्रमुख आयस्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम र सकल दर्जाको भत्तावापत प्राप्त रकम कट्टा गरी जम्मा हुनआउने रकम, विद्यालय/महाविद्यालयहरूको शिक्षण शुल्क तथा अन्य आयमूलक कार्यहरूबाट संकलित रकम रहेको छ ।
२०८१ पुस मसान्तसम्म ‘क’ वर्गका वाणिज्य बैंकमा ७९ अर्ब १४ करोड ५९ लाख ४८ हजार रुपैयाँ (९९.८२ प्रतिशत), ‘ख’ वर्गका विकास बैंकमा ४ करोड ४८ लाख ११ हजार रुपैयाँ (०.०६ प्रतिशत) र ‘ग’ वर्गका वित्त कम्पनीमा ९ करोड ४९ लाख ७ हजार रुपैयाँ (०.१२ प्रतिशत) सैनिक कल्याणकारी कोषको रकम जम्मा छ ।