
कहिले–कहिले समय, सन्दर्भ र विषयले अब्बल व्यक्तिलाई पनि दोधारमा पारिदिन्छ । थोरै कन्फ्युजन र आत्मबलको बीचमा उभ्याइदिन्छ । अनि, काबिल व्यक्तिलाई पनि के गर्ने र नगर्ने अन्योलको भुमरीमा फसाइदिन्छ ।
एउटा पहिचानबाट अर्को अथवा फराकिलो नामका लागि व्यक्ति दौडधुप गर्छन् । पंख फिँजाएर संसार विचरण गर्ने चाहना राख्छन् । त्यस्तै चाहना हरिवंश आचार्यमा पनि छ । एक खुड्किलो माथि उक्लिने रहर उनमा कसरी पलायो ? कसरी र केका लागि पहिचानलाई थप फराकिलो बनाउनुपर्यो ?
अघिल्लो वर्षको एकदिन, अभिनेत्री स्वस्तिमा खड्काले हरिवंशलाई फोन गरेर भनिन्, ‘दाइ विनोद पौडेलले एउटा चलचित्र बनाउँदै हुनुहुन्छ, तपाईंलाई मुख्य भूमिकामा लिन चाहनुहुन्छ ।’
हरिवंशले चलचित्र ‘बुलबुल’ त हेरेका थिए । तर, यसका निर्देशक विनोद पौडेलसँग चिनजान थिएन ।
यद्यपि, हरिवंशलाई ‘बुलबुल’जस्तै सिनेमामा काम गर्ने रहर थियो । उनले स्वस्तिमालाई भने, ‘ठिक छ, पहिला स्क्रिप्ट हेरौँ । त्यसपछि फाइनल गर्छु ।’
अविरल थापाले हरिवंशलाई स्क्रिप्ट हात लगाइदिए । एकपटक स्क्रिप्ट पढ्दा कथा छरलंग भएन, दोहोर्याएर पढे । तेस्रोपटक पढेपछि उनलाई लाग्यो– यस क्यारेक्टरमा काम देखाउन पाइन्छ । काम देखाउन सक्छु कि भन्ने लाग्यो ।
हरिवंशलाई ‘अभिनेता हरिवंश आचार्य’ भनेर चिनाउने रहर छ । कारण, उनलाई हरेक स्टेजमा ‘हास्यकलाकार हरिवंश आचार्य’ भनेर बोलाउँछन् ।
ठिकै हो, उनले ह्युमरमा थुप्रै काम गरेका छन् । हास्य क्षेत्रमा धेरै काम गरे । आफूले जे गरे र जति गरे त्यसमा गर्व महसुस हुन्छ । तर, उनलाई पछिल्ला केही वर्षयता हास्यमात्रै अलि सानो विधा पो भयो कि अभिनेता भनेर पनि चिनिनुपर्छ कि भन्ने भयो ।
“ह्युमर मेरो जग हो, यसलाई म छोड्न सक्तिनँ । तर, विविधता कसरी ल्याउने र ठूलो दायरा कसरी बनाउने भनेर यो स्क्रिप्ट पढेँ,” हरिवंश भन्छन्, “यो सिनेमामार्फत आफूलाई अभिनेताका रूपमा चिनाउन सकिन्छ कि भनेर काम गर्ने निर्णय गरेँ ।”
हरिवंश नेपालमा थिए, विनोद अमेरिकामा । हरिवंशले भर्चुअल फोन संवाद गरे, विनोदले स्क्रिप्ट र क्यारेक्टरबारे भने । हरिवंशले चुनौती देखे । तर, हरिवंश चुनौती सामना गरेर काम गर्न तयार भए ।
० ० ०
आन्तरिकदेखि शारीरिकरूपमा समेत परिवर्तन ल्याउनु थियो । विनोदले भने, ‘दाइ अब कपाल र दारी नकाट्नुस् । लामो सेतो कपाल र दारी चाहिन्छ ।’
कहिले छायांकन गर्ने ? समय निश्चित भयो । अमेरिकाको ओहायोमा छायांकन गर्ने योजना बन्यो । हरिवंशसँग अमेरिकाको भिसा छ । तर, वर्किङ भिसा होइन । त्यहाँ काम गर्न ‘वर्क पर्मिट भिसा’ चाहिन्छ । वर्क पर्मिट नभई काम गर्दा प्रहरीले समाउने सम्भावना हुन्छ । कालोसूचीमा पर्ने सम्भावना हुन्छ । त्यसैले ‘भूठान’को निर्माण टिमले वर्किङ भिसा पठाइदिए ।
“वर्किङ भिसाका लागि उहाँहरूले धेरै पैसा खर्च गरिसक्नुभएको थियो । मैले पारिश्रमिक पनि लिएको थिएँ,” हरिवंश भन्छन्, “त्यसैले उहाँहरूले भनेजस्तो र चाहेजस्तो काम गर्न सकौँला कि नसकौँला भनेर चिन्ता भइरहन्थ्यो ।”
अनि ?
वर्कसप सुरु भयो । सामान्य वर्कसप त यसअघि पनि उनले गरेकै हुन् । तर, अमेरिकाको वर्कसप अलि विशेष रह्यो ।
कसरी ?
वर्कसपको पहिलो दिन...। वर्कसप भनेको डाइलग रट्ने त हो भन्ने थियो हरिवंशलाई । तर, त्यहाँ २४/२५ वर्षका भाइबहिनी पो वर्कसप गराउने भन्दै आए ।
“अलि घमण्ड भएको मान्छे भए त म ५० वर्ष काम गरेको कलाकारलाई तिमीहरूले वर्कसप गराउने भन्थेँ होला । तर, म त्यस्तो छैन, नयाँ पुस्ताबाट नयाँ कुरा सिक्न पाइन्छ भनेर वर्कसपमा बसेँ,” हरिवंश भन्छन्, “हलिउडमा फिल्म पढेका भाइबहिनी हुनुहुँदोरहेछ । उहाँहरूले वर्कसप गराउन थाल्नुभयो ।”
युवा पुस्ताले के सिकाउलान् भन्ने कौतुहल थियो । पहिलो दिन नै हरिवंशका लागि अनपेक्षित रह्यो ।
स्क्रिप्ट हेरेर डाइलग रटाउलान् भन्ने सोचेका उनलाई मेडिटेसन गर्न पो लगाए । ‘तपाईं यहाँ पुग्नुभयो, ठूलो जंगल छ, पानी परिरहेको छ, त्यो पानीमा तपाईं निथ्रुक्क भिज्नुभयो भनेर कल्पना गरौँ’ भन्नेजस्ता कुरा अनुभूत गर्न सिकाए ।
हरिवंशले सोधे– यो किन ?
‘तपाईंले हामीले गराएको कुरा महसुस गर्नुभयो कि होइन ?’ अभिनयका स्पात हरिवंशले फिल नगर्ने कुरै थिएन ।
त्यसपछि बल्ल सुरु भयो, संवादको रटान । डाइलगको ‘पेस’, त्यसको ‘पज’लगायतमा विनोदले आफ्नो तयारी र भिजन सुनाए । “सुरुमा मैले सोचेको क्यारेक्टर अर्कै थियो । म उहाँहरूको आँखा पढ्थेँ,” हरिवंश भन्छन्, “त्यसपछि म उहाँहरूले भनेको पेस समाउथेँ । नौ दिन वर्कसपमा बसेपछि मलाई क्यारेक्टरमा पसेजस्तो भयो ।”
वर्कसपकै एकदिन विनोदले हरिवंशलाई भने– ‘तपाईं जिन्दगीको अन्तिमअन्तिम समयतिर हुनुहुन्छ । तर, अन्तिम समय आफ्नो जन्मभूमि घर फर्किन पाउनुभएन भने के हुन्छ । अनुभूत गर्नुस् ।’
विनोदले हरिवंशलाई भने– ‘मैले मेरो सपना यो स्क्रिप्टमार्फत तपाईंलाई समपर्ण गरेको छु । अब मेरो करिअर तपाईंमै अड्किएको छ ।’
हरिवंश ह्युमरका बादसाह, वर्कसपमा कमेडी गरिरहन्थे । हँसाइरहन्थे । विनोदले भने, ‘दाइ, तपाईं अब यो सिनेमा अवधिभर कमेडी नगर्नुस् । सुट सकिएपछि भाउजूसँग पनि कमेडी नगर्नुस् । कमेडी गर्दा सिनेमाको चरित्रबाट बाहिर निस्किनुहुनेछ ।’
हरिवंशको आँखा भरिए । उनी उठेर सरासर भर्याङ चढेर माथि गएर कसैसँग नबोली कुनाको सिटमा गएर एक्लै बसे ।
यो देखेर विमल सुवेदी (अभिनेता तथा भूठानका प्रोडक्सन डिजाइनर) डराएछन् । कुदेर विनोद भए ठाउँमा आएर भने, ‘के भन्यौ हँ, हरि दाइलाई ? कसैसँग नबोली कुनामा गएर बस्नुभएको छ । भोलिदेखि सुट छ नि ! बर्बाद होला ।’
तर, हरिवंश रिसाएका थिएनन् । उनी क्यारेक्टर फिल गरिरहेका थिए । आफूलाई चरित्रमा ‘ट्रान्सफर्मेसन’ गरिरहेका थिए ।
० ० ०
सुटिङमा जाने भएपछि कपाल र दारीजुंगा सेतो पार्नुपर्ने थियो । दारीजुंगा त सेतो भइसकेको थियो । तर, कपाल भने पूरै सेतो भइसकेको रहेनछ । कपाल ब्लिच गर्नुपर्ने भयो । कपाल ब्लिच गर्दा झर्न सक्छ, कहिल्यै पनि नआउन सक्छ भन्ने कुरा भयो । तर, रिस्क त लिनैपर्यो । अमेरिकन ब्युटिसिएनले चारपटक ब्लिच गरेपछि फेरि ब्लिच गर्न मानेन ।
“एकपटक ब्लिच गर्दा कालो अलिअलि खुइलियो । दोस्रोपटक गर्दा तामाजस्तो भयो । तीनचोटी गर्दा गेरु वस्त्रजस्तो भयो । चौथोपटक गर्दा अलिअलि सेतो भयो,” हरिवंश भन्छन्, “चारपटक गरेपछि अमेरिकन ब्युटिसिएनले नमानेपछि भुटानी ब्युटिसिएनलाई ब्लिच गर्न लगायौँ ।”
सुटिङ सुरु भयो । सुरुमा इनडोर सुटिङको सेड्युल थियो । पहिलो दिनको पहिलो सिन नै हरिवंशको थियो ।
“निर्देशकलाई चित्त बुझाउनै ग्राह्रो रहेछ । पाँच टेक लिएपछि विनोदजीले मलाई अंगालो मारेर आँखाभरि आँसु पार्नुभयो । मेरा पनि आँखा भरिए,” हरिवंश नोस्टाल्जिक हुन्छन्, “त्यसपछि मलाई आत्मविश्वास बढ्दै गयो । डिसेम्बरमा सुटिङ थियो । जाडो थियो । वार्मर प्रयोग गरेर सुटिङ गरियो । खल्ती र लुगाभित्र वार्मर राखेर काम गर्थ्यौं ।”
अमेरिकामा रेल्वेमा सिनेमा सुटिङ गर्न छुट्टै अनुमति चाहिन्छ, जुन निकै झन्जिटिलो पनि हुन्छ । त्यसैले लुकेर सिनेमा खिच्ने निर्णय भयो ।
रेल पास भएपछि चिच्याएको दृश्य खिच्नुथियो । त्यसका लागि लिकको छेउमा बस्नुपर्थ्यो । रेल पुलिस पनि हुने र अमेरिकन पुलिस पनि रेल्वेमा बाक्लै परिचालन हुन्छन् । कारण रेलको लिकमा आत्महत्या गर्न आउनेको संख्या ठूलो रहेकाले प्रहरीले रेल्वे छेउछाउ आउनै दिँदैन ।
त्यसैले रेलको सिन लुकीछिपी खिच्ने निर्णयमा निर्माणपक्ष बसेको थियो । क्यामेराम्यान पनि रुखमा लुकेर बस्नुपर्ने र हरिवंश पनि त्यसैगरी लुकेर बसेर रेल आउनबित्तिकै खिच्नुपर्ने थियो ।
“रेलको इन्जिन क्रस हुनबित्तिकै म पनि रुखबाट बाहिर आएँ । क्यामेराम्यान पनि बाहिर आउनुभयो । रेलको लिक छेउमा म बसेको थिएँ । रेलको छतमा हिउँको ढिक्का जमेर बसेको हुने रहेछ,” हरिवंश भन्छन्, “रेलको छतबाट हिउँको ढिक्का खसेर अनुहारमा ट्वाक्कट्वाक्क लाग्थ्यो । रेल अब सकिएला भन्यो, तर सात किलोमिटर लामो पो रहेछ ।”
रेल पास भइसकेपछि हरिवंश चिच्याए । क्यामेराम्यानले पनि खिचे । निर्देशक आए । मोनिटर हेर्दा त हरिवंश लुकेको खुट्टा र क्यामेराम्यानको खुट्टा पनि देखिएछ । मिहिनेत गरेको काम लागेन ।
रिसुट गर्नुपर्ने भयो । उनलाई साँच्चै गाह्रो लाग्यो । तर, गर्नैपर्यो ।
“चार दिनपछि पुनः त्यो सिन खिचियो । तर, त्योबेला रेल अलि छोटो परेछ र हिउँ पनि परेको थिएन,” हरिवंश भन्छन्, “दोस्रोपटक एकै टेकमा सिन ओके भयो ।”
० ० ०
नेपालमा सामान्य चिसोमा मात्रै बसेका र काम गरेका हरिवंशलाई अमेरिकामा कहिले हिउँमा त र कहिले कठांग्रिदो चिसोमा छायांकन गरिरहनु परेको थियो ।
हरिवंशले अर्को एउटा चिसोको अनुभव सुनाए । हरिवंशलाई चर्चमा डुबाउने सिन थियो । अमेरिकाको चिसोमा पानीभित्र डुब्नु कम चुनौती थिएन ।
‘शत्रुगते’मा एउटा सिन थियो, पानीभित्र क्यामेरा खोसाखोस गर्ने । दीपकराज गिरी र हरिवंशको सिन थियो । स्विमिङ पुलभित्र करिब दुई घण्टा बिताउँदासम्म त हरिवंशलाई खासै जाडो भएको थिएन । तर, बाहिर आएपछि पूरै काँप्न थाले, रोकिँदै रोकिएन । गाडीभित्र पसेर एसी अन गरेर तातो बनाए । तर, पनि काँप्न रोकिएन ।
ओठ काँपे, दाँत बज्न थाले । हरिवंश आफैँलाई डर लाग्यो । स्पोट ब्वाईलाई एक क्वार्टर खुकुरी रम लिन पठाए । तातोपानी गाडीमै अगाडि नै ल्याइदिएका थिए । आधा क्वार्टरको आधा रम तातोपानीमा हालेर स्वाट्टै पिए । एक मिनेट के बितेको थियो, उनी काँप्न छाडे । त्योबेला उनले अनुभूत गरे, यसले त औषधिकै काम गर्यो ।
चर्चमा पनि त्यही सम्झिए उनले । “त्यहाँ तातो पानीको लाइनलिएर तातो पानी भरेको । तर, बाहिरको तापक्रमले भर्दाभर्दै चिसो बनाइदियो,” हरिवंश भन्छन्, “त्यहाँभित्र जाने मलाई आँटै आएन । त्यसपछि मैले त्यहाँ छिर्नुअगाडि नै दुई पेग पिइदिएँ । त्यसपछि मलाई शत्रुगतेको समस्या झेल्नुपरेन । तर, त्यसबाहेक हामीले सेटमा कहिल्यै पनि अल्कोहल प्रयोग गरेनौँ ।”
० ० ०
अमेरिकामा हरिवंशले नयाँ पुस्ताबाट क्यारेक्टरमा कसरी रूपान्तरण हुने भनेर सिके । हिउँको बीचमा अभिनय गरे । माइनसको छेउमा रहेको पानीमा सिनेमाको सिनकै लागि डुबुल्की मारे ।
यतिमात्रै पनि होइन, उनले अग्रजसँग पनि स्क्रिन सेयर गरे । ती थिए, हलिउड अभिनेता ब्रुस डर्न । हलिउडका नामी अभिनेता ब्रुस डर्नको उमेर ८८ वर्ष थियो, ह्विलचेयरमा बस्ने ।
ह्विलचेयरमा बस्ने मान्छेले कसरी अभिनय गर्लान् भन्ने हरिवंशलाई लाग्यो । स्वाभाविक पनि थियो । तर, जब उनको सिन सुरु भयो, हरिवंश छक्क परे । ब्रुस डर्नको भ्वाइसको लेबल देखेर उनी दंग परे ।
“डाइलग बोल्दा उहाँले यसरी फिल दिएर बोल्नुभयो, त्यो साँच्चै गज्जब थियो,” हरिवंशले ब्रुसलाई सम्झिए ।
उनलाई हलिउडको अर्को पक्ष गज्जब लाग्यो ।
जस्तै ?
“ठूलो सेतो पेपरमा ठूलठूलो अक्षरले डाइलग लेखेको हुँदो रहेछ । अगाडि र दयाँ/बायाँ नै त्यो डाइलग बोकेर अरूले देखाउँदा रहेछन्,” हरिवंश सुनाउँछन्, “जता फर्किएर बोले पनि उसको आँखाले देख्ने ठाउँमा डाइलग हुनेरहेछ । त्यही हेरेर डाइलग बोल्ने रहेछन् ।” यो आइडिया पनि हरिवंशलाई गज्जब लाग्यो ।
अर्को अनुभव...।
के ?
अमेरिकाको ओहायो राज्यमा ‘भूठान’को छायांकन भइरहेको थियो । केही प्राविधिक नेपाली र केही हलिउडकै थिए । तर, हरेक डिपार्टमेन्टको प्रमुखमा भने नेपाली प्राविधिक नै थिए ।
जस्तै ?
सिनेमेटोग्राफरमा सुशन प्रजापति थिए । “हामी त गोरो छाला हुनबित्तिकै हामीभन्दा जान्ने हुन्छन् भन्ने सोच्छौँ । तर, सुशनले आफूभन्दा सिनियर उमेरका गोराहरूलाई यसो गर, त्यसो गर भनेर भनिरहन्थे,” हरिवंश भन्छन्, “लाइनट ब्वाईहरू अमेरिकन नै थिए । उनीहरू नेपाली प्राविधिकको मातहतमा बसेर काम गरिरहेका थिए ।”