site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अनि नगरप्रहरीले जबरजस्ती ह्विलचेयरमै ट्रकमाथि चढाए... 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोलखा सैलुङ गाउँपालिका–८ का ५२ वर्षीय डिल्लीबहादुर कार्कीलाई हरेक बिहान उनकी श्रीमती ज्ञानुले ह्विलचेयरमा राखेर हात्तीसारदेखि रत्नपार्क पुर्‍याउँछिन् । 

डिल्लीबहादुरलाई निर्माणाधीन काठमाडौं भ्यूटावरको ठीक अगाडि पट्टीको सडक किनाराको एक कुनामा छाडेर  थर्मोसमा चिया लिएर हिँड्छिन् ज्ञानु । 

त्यस वरिपरि रहेकालाई चिया बेच्नु उनको दैनिकी हो । ह्विलचेयरमा रहने डिल्लीबहादुरले पनि त्यहीँ बसेर पानी मास्कलगायतका सामग्री बिक्री गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बुधबार डिल्लीबहादुर ह्विलचेयरमा बसेर पानी, मास्क र चुरोट बेच्दै बेच्दैथिए ।  दिउँसो २ बजे काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली आइपुग्यो । 

उनीसँग लामो कुरै गर्न चाहेनन् नगर प्रहरी । सामान जफत गर्न हिँडेको ट्रकमा थिए नगर प्रहरी । ह्विलचेयरमा रहेका कार्कीलाई जबरजस्ती ह्विलचेयर र उनका सामग्रीसहित ट्रकमाथि चढाए ।

Global Ime bank

डिल्लीबहादुर रोए, फेरि यस्तो नगर्ने अनुनय विनय गरे तर नगर प्रहरीले सुनेनन् ।

त्यसपछि  भ्यूटावर नजिकैबाट ट्रकको पछाडि ह्विलचेयरमा कार्कीलाई एक्लै राखेर बसन्तपुर हुँदै टेकुस्थित महानगर कार्यालय पुर्‍याइयो ।

ट्रकको पछाडि ह्विलचेयरमा रुँदै गरेका तस्बिर कतिपयले मोबाइलमा कैद गरे । 

उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि नगर प्रहरी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्को आलोचना भइरहेको छ ।

टेकु पुर्‍याएपछि नगर प्रहरीले ‘अबदेखि त्यहाँ नबस्ने’ सर्त गरायो । ट्रकमा टेकुसम्म पुर्‍याएको नगर प्रहरीले सर्तसहित छाडिदियो ।

तर उनी त्यहाँबाट ह्विलचेयरमा कोठामा जान सक्ने अवस्था थिएन । कोठामा एक्लै जान सक्ने अवस्था नभएकाले भान्जा र बहिनीलाई बोलाई आफ्नो कोठा गएका थिए । 

२०७३ सालमा कार्की रुखबाट लडेका थिए ।  त्यसपछि उनको ढाड भाँचियो ।  उनी उपचारका लागि श्रीमतीसहित काठमाडांै पसेका थिए । गाउँमा भएको ९ रोपनी जग्गा बेचेर उपचार गरे । तर उपचार सफल हुन सकेन । 

डिल्लीबहादुरको ढाडभन्दा मूनिको शरीर चल्दैन । उनी दिसा पिसाबसमेत आफैँ गर्न सक्दैनन् । 

“उपचार सफल नभएपछि गाउँमा जिविकोपार्जनको उपाय नभएर काठमाडौंमै कोठा भाडामा लिएर सडक व्यापार गर्न थालेँ,” उनले बाह्रखरीसँगको कुराकानीमा भने ।

उनी एक ठाउँबाट अर्को ठाउँमा सर्नको लागि अरुको सहारा चाहिने भएकाले एकै ठाउँमा बसेरै मास्क, चुरोट र पानी बेचेर गुजारा गर्नुपरेको बताउँछन् ।

श्रीमतीको कमाईले रासन पानी, आफ्नो कमाईले औषधि उपचार र छोरीको कमाईले घरभाडा तिर्दै आएको उनी बताउँछन् । 

डिल्लीबहादुरका तीनजना छोरी छन् । दुईवटीको बिहे भइसकेको छ ।  एकजना छोरी उनको साथमै छन् । उनी महाबौद्धको एक पसलमा जागिर गर्छिन् ।  

श्रीमतीले चिया बेचेर बेलुकी ६ बजेतिर उनलाई लिएर घर फर्किन्छिन् ।

“शरीरले सक्दैन । यसैगरी पानी, मास्क बेच्दै गुजारा चल्ने गरेको छ । मलाई माग्न लाज लाग्छ । माग्न परेको दिन म मर्छु होला,” उनले भने । 

डिल्लीबहादुर दुर्घटना हुनुअघि गाउँमै भैँसीपालन र घरखेती गर्थे । उपचारकै लागि गाउँमा भएको ९ रोपनी जग्गा बेच्नुपरेपछि गुजाराका लागि सहर पसेको उनी सुनाउँछन् । 

उपचारकै लागि राष्ट्रिय ट्रमा सेन्टर, मोडल अस्पताल, साँगाको थेरापी सेन्टर पुगे पनि डिल्लीबहादुरको शरीर पुरानै अवस्थामा फर्कन सकेन । 

“गाउँ त दुर्गम क्षेत्र हो । त्यहीँमाथि म जस्तो अशक्त एक ठाउँमा बसेको बस्यै हुन्छु,” उनले भने ।  काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) बनेपछि फुटपाथ व्यापार गर्न कडाइ गरेका छन् । 

महानगरले पूर्णरुपमा फुटपाथ व्यापार गर्न निषेध गरेको छ ।  नगरप्रहरीले व्यापारीहरुको ठेला लखेटी–लखेटी जफत गरेका कैयौँ घटनाहरु बाहिर आइरहेका छन् । 

डिल्लीबहादुरलाई अमानवीय तरिकाले ट्रकमा राखेर घुमाइएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो ।

तर काठमाडौं महानगरपालिकाले मानवसेवा आश्रममा लैजाने भन्दै लगेको भन्दै बचाउ गरेको छ । महानगरका एसपी दिनेश अर्यालले मानव सेवा आश्रममा लैजानलाई गाडीमा हालेर टेकु लगिएको दाबी गरे । 

उनले सडकमा त्यसरी बस्न नहुने महानगरको नीतिअनुसार नै काम गरेको बताए । 

“उहाँलाई मानवसेवा आश्रम लैजानको लागि लिएर गएका थियौँ । तर उहाँ आश्रम जान मान्नु भएन । बेलुकी उहाँका आफन्त आएर लिएर गए,” उनले भने । 

उनी मानवसेवा आश्रममा बस्ने आफ्नो परिस्थिति नरहेको बताउँछन् । 

“हिजो त नगरप्रहरीले कुरै गरेनन् । आश्रममा भन्दा मलाई कोठामै सुरक्षा हुन्छ । डाइपर लगाउनुपर्‍यो, औषधी उपचार गर्नुपर्‍यो, उठ्न बस्न सकिँदैन यतिधेरै स्याहार सुसार कसले गरिदिने ? कि त सपरिवारलाई नै लैजानुपर्‍यो । त्यसैले परिवारबाट छुट्न सक्दिनँ,” उनले भने । 

आफन्त परिवारले फरक क्षमता भएकाहरुलाई यसरी सडकमा ल्याएर छोड्दा विकृति बढ्दै गएको महानगरको दाबी छ । 

सजिलैसँग जिविकोपार्जन हुने भए यसरी सडकमा बस्नुनपर्ने डिल्लीबहादुरको भनाइ छ ।
“महानगरले फुटपाथ व्यापार हटायो ठिकै छ । तर फरक क्षमता भएका नागरिकहरुलाई ठाउँ र समय छुट्याइदिएर बस्न त दिनुपर्‍यो पनि हाम्रो पनि को छ र यो सहरमा ?, किन हामीलाई धरपकड र जबर्जस्ती गर्नुपर्‍यो ?,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC