site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

सामान्यतः विश्वविद्यालयको उपकुलपतिजस्तो प्राज्ञिक पदमा पुगेका व्यक्ति कारण नबताई एकाएक पदबाट राजीनामा दिएर हिँड्ने गर्दैनन् । कारण, उपकुलपति नै कार्यकारी प्रमुख हुने हुनाले उनको अनुपस्थितिले विश्वविद्यालयको गतिविधि नै ठप्प जो हुने गर्छ । तर, नेपाल भने अपवादमा पर्छ ।

यसपटक देशकै सबैभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालय ९त्रिवि०का उपकुलपति केशरजंग बराल एकाएक राजीनामा दिएको भन्दै कार्यालयमा अनुपस्थित भइदिए । उनले राजीनामा दिएको भनिएको दुई साता हुनलाग्दा पनि विश्वविद्यालयका कुलपतिका तर्फबाट भने कुनै कारबाही भएको छैन ।

त्रिवि ऐनअनुसार उपकुलपति विश्वविद्यालयको प्रमुख कार्यकारी हुन् । यसैले उपकुलपति पदका विषयमा अन्योल हुँदा विश्वविद्यालय नै एक प्रकारले ठप्प हुनपुग्छ । दुर्भाग्य, सरोकारवाला उपकुलपति, शिक्षामन्त्री तथा पदेन कुलपति प्रधानमन्त्री कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएको देखिएन । 

उपकुलपति बराललाई काम गर्न मन नलागेको वा अवरोध भएको भए उनले त्यस विषयमा सार्वजनिकरूपमा स्पष्ट जानकारी दिनुपर्थ्यो । तर, उनी त सुटुक्क राजीनामा दिएर हिँडिदिए । फलस्वरूप, विश्वविद्यालयमा अन्योल  त उत्पन्न भयो नै कामकाज ठप्प हुनपुग्यो ।

अर्कातिर, यतिका दिनसम्म विश्वविद्यालयका प्रमुख पद मानिने कुलपति एवं प्रधानमन्त्री ‘कानमा तेल हालेर’ बसेका छन् । तालुकवाला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले पनि त्रिविका उपकुलपतिको राजीनामाका सम्बन्धमा कुनै चासो देखाएकी छैनन् । अर्थात्, त्रिविको अवस्थाप्रति सरकार निस्पृह छ ।

राजीनामा दिएर हिँडेका उपकुलपति बराल नेकपा (माओवादी केन्द्र) निकट भएकै कारण उपकुलपति नियुक्त भएका हुन् भन्ने चर्चा उतिबेलै चलेको थियो । यस्तै, उपकुलपति बरालको कार्यशैलीप्रति प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असन्तुष्टि पनि बेलाबखत प्रकट भइरहेकै हो । यसैले राजीनामा र असहयोग दलगत राजनीति प्रेरित नै देखिन्छ । 

प्रधानमन्त्री ओलीको पार्टी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपकुलपति बरालविरुद्ध विभिन्न गतिविधि गर्दैआएका थिए । यी सबै कारण उपकुलपति बराल काम गर्न नसकिने निष्कर्षमा पुगेको हुनसक्छ । त्यसै हो भने पनि यसरी एकाएक पलायन  हुनु गैरजिम्मेवार प्रवृत्ति हो ।  

‘राजीनामा’ उपकुलपति बरालको धम्की, घुर्की वा पलायन जे भए पनि प्रधानमन्त्री ओलीले तत्काल सम्बोधन गर्नुपर्थ्यो । प्रा।डा। केशरजंग बराललाई साँच्चै नै उपकुलपति पदमा रहिरहन इच्छा छैन भने राजीनामा स्वीकार गरेर ससम्मान बिदा दिइनुपर्छ ।

प्रा। बरालको राजीनामा स्वीकार नभई नयाँ उपकुलपति चयन प्रक्रिया सुरु नहुने हुनाले पनि त्रिविका कुलपतिले निकास दिनै पर्छ । अन्यथा, त्रिविलाई अन्योलको भुमरीमा धकेलेको अपजस  पनि प्रधानमन्त्री तथा विश्वविद्यालयका पदेन कुलपतिमाथि नै लाग्नेछ ।  
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro