site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मोरङ सुगर मिल्स पुनः चलाउँदै साल्ट ट्रेडिङ, एकल वा साझेदारीमा सञ्चालन योजना

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले बन्द अवस्थामा रहेको मोरङ सुगर मिल्सलाई पुन: सञ्चालनमा ल्याउने तयारी गरेको छ । अहिले एकल वा साझेदारी सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले बताएका छन् ।

हालै सम्पन्न ५८औँ वार्षिक साधारणसभामा एक लगानीकर्ताले कारखाना सञ्चालनको अवस्थाबारे जिज्ञासा राखेपछि अध्यक्ष श्रेष्ठले साझेदारी वा एकल लगानीमा सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको बताएका हुन् ।

कारखाना भएको स्थानमा अहिले उखुखेती भइरहेको छ । उखुफार्मको अवस्था राम्रो छ । यसलाई पुनः उद्योगको रूपमा अघि बढाउने योजना कर्पोरेसनको छ ।

Argakhachi Cement Island Ad

चिनी उद्योगमा अग्रणी मोरङ सुगर मिल्स सन् १९४७ मा नेपाली र भारतीय उद्योगहरूको संयुक्त उद्यमको रूपमा स्थापना भएको थियो । उद्योग नेपाल भारत सीमामा रहेको विराटनगरको रानी सिकियाहीमा अवस्थित छ ।

मिल्समा जर्मन प्रविधि थियो । प्लान्टको सुरुवाती क्षमता २५० टन र पछि सन् १९९३ मा साल्ट ट्रेडिङको व्यवस्थापनले बढाएर ४५० टनमा विस्तार गरेको थियो ।

साठी वर्षभन्दा बढी समय सेवा गरेपछि प्लान्ट मेसिनरी धेरै पुरानो भयो । देशमा नयाँ स्थापित चिनी कारखानाको तुलनामा यसमा भएको सानो आकारको प्लान्टका कारण उद्योग बन्द भएको थियो ।

विराटनगर जुट मिल, रघुपति जुट मिल, मोरङ सुगर मिल्स, वीरगन्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, भृकुटी कागज कारखाना, कृषिऔजार कारखाना, छालाजुत्ता कारखाना, हेटौँडा कपडा कारखाना, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग निकै प्रख्यात थिए ।

उद्योगको जगमा नेपालमा नगदेबालीहरूको व्यावसायिक खेतीले व्यापकता पाएको थियो ।

यता सूचीकरण शुल्क नबुझाएर लामो समय कारोबारमा नआएपछि मोरङ सुगर मिल्सलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले डिलिस्टिङ गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्