site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन मोबाइल पसल लुटिएपछि अर्जुन भन्छन्– अब व्यवसाय गर्न मन छैन (भिडियोसहित)

काठमाडौं । ट्राफिक नियमविरुद्ध आन्दोलन गर्दै आएका सार्वजनिक यातायातका मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रका सडकमा गाडी तेर्साए । यातायात मजदुरहरूका नेताहरूले बसपार्कभित्र कोणसभा गर्न खोजे ।

तर, नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्कभित्र आन्दोलनका कुैन कार्यक्रम गर्न नदिने अडान लियो । तर, मजदुरहरूले जबरजस्ती बसपार्कभित्र कोणसभा गरे ।

दिनभर शान्तिपूर्ण प्रदर्शन भएको थियो । तर, प्रहरीले हस्तक्षेप गर्न खोजेपछि मजदुरहरूको प्रदर्शनले उग्ररूप लिएको थियो । प्रहरी र मजदुरबीच भएको झडपका क्रममा दुईवटा प्रहरीका गाडी र अस्थायी प्रहरी बिटमा आगजनी भयो । केही प्रदर्शनकारी र ३३ जना प्रहरी घाइते भए ।

साँझपख आन्दोलन ल्होत्से मलतर्फ मोडियो । ल्होत्से मलको सिसामा ढुंगा र इट्टा बजारिए ।

प्रदर्शनकारीहरू मलतर्फ सोजिएपछि सुरक्षाका लागि भुइँतलामा मोबाइल पसल राखेका अर्जुन चालिसे र केही कपडा पसलेहरू मलको तेस्रो तलामा बसेका थिए । 

त्यति नै बेला उनीहरूले बसपार्कको पेट्रोल पम्पमा आगजनी गर्ने तयारी भइरहेको गाइगुँइ सुने । हल्ला पुष्टि हुन नपाउँदै मल झ्यालका सिसाहरू तोडफोड हुन थाल्यो । प्रदर्शनले ठूलै रूप लिने ठानेपछि 'ज्यान जोगाउन' ल्होत्से बहुउद्देश्यीय प्रालिका सञ्चालक दीपक कुँवरसहितका व्यवसायीहरू भागे ।

त्यतिबेलासम्म सामाजिक सञ्जालमा चालिसेको मोबाइल पसल लुटिएको भिडियो फुटेज भाइरल बनिसकेको थियो । 

रातितिर आन्दोलन मत्थर भएपछि डायमन्ड मोबाइल पसलका सञ्चालक चालिसे आफ्नो पसलमा आइपुगे । उनी पुग्दा उनका तीनवटै मोबाइल पसल लुटिएका थिए । 

हेर्नुहोस् भिडियो

“हामी ज्यान जोगाउन पसल चाबी लगाएर भाग्यौँ । तर, मोबाइल पसल लुटिएको पत्तै पाएनौँ । सामाजिक सञ्जालमा मोबाइल पसल लुटिएको भिडियो भाइरल बनेको रहेछ । तर, मैले पसलमा पुगेपछि मात्रै थाहा पाएँ,” चालिसेले भने । 

तीनवटै पसल गरी करिब ९ करोड बराबरको मोबाइल लुटिएको चालिसेको अनुमान छ । यकिन विवरण भने आउन बाँकी छ ।

काठमाडौंमा सबैभन्दा मोबाइल स्टक बढी हुनेमा आफू पर्ने चालिसेको दाबी छ । “पसलमा २० लाख त क्यास मात्रै थियो । अर्काको पसलमा यसरी दिनदहाडै लुटपाट हुँदा पनि कसैले केही गरेन । एकदमै तनावमा छु । व्यवसाय गर्ने मनोवल गिरेको छ । अब त व्यवसाय गर्न मनै छैन,” उनले भने । 

चालिसे आफ्नो पसल तोडफोड हुनुको दोष कसैलाई पनि दिन चाहँदैनन् । अब राज्यले निष्पक्ष छानबिन गरी न्याय दिनेमा आफू आशावादी रहेको उनले बताए । 

उनले क्षतिपूर्तिका समन्वय गरिदिन बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आग्रह पनि गरेका छन् । प्रधानमन्त्रीले पनि आश्वासन दिएको उनले सुनाए । 

“आज प्रधानमन्त्रीसँग भेट भएको छ । उहाँले व्यवसायीलाई त्यसै मर्न दिन्न भन्नुभएको छ । राज्यले निष्पक्ष छानबिन गर्नुपर्‍यो । मैले न्याय पाउनुपर्‍यो,” उनले भने । 

लुटपाटपछि चालिसेले महाराजगञ्जमा अनुमानित क्षतिको विवरणसहित उजुरी दिएका थिए । उनको उजुरीमाथि अनुसन्धान अघि बढिसकेको प्रहरीले जनाएको छ । 

Lotse 1151676466485.jpg

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष कुँवरले अहिलेसम्म छलफलका लागि सरकारसहित कसैले पनि नबोलाएको गुनासो गरे । “हामी राज्यसँग कानुनी संरक्षण चाहन्छौँ । हामीलाई निर्धक्क भएर काम गर्ने वातावरण चाहियो । अहिले पनि ज्यान खतरामा छ,” उनले भने । 

ल्होत्सेले तोडफोड भएको मर्मत खर्च मात्रै सात करोड बराबर लाग्ने अनुमान गरेको छ । 

कुँवरका अनुसार यातायात मजदुरहरूले आन्दोलन र तोडफोड हुनुपूर्व पनि धम्की दिँदै आएका थिए । उनले यातायात मजदुरका नेताहरूलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् । 

तर, यातायात मजदुरका नेताहरूले भने ल्होत्सेकै 'गुन्डा'हरूले मोबाइल पसलमा तोडफोड गरेको दाबी गरेका छन् । मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीलाई वार्तामा बोलाएका थिए । वार्ताका क्रममा मजदुर नेताहरूले लुटपाटमा आफूहरूको संलग्नता नरहेको दाबी गरेका थिए । 

मजदुर नेताहरूले पनि आगजनी र झडपको दोषीलाई कारबाही गर्नुपर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिसँगको सम्झौता खारेज गर्नुपर्ने, निलम्बनमा परेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) फिर्ता गर्नुपर्ने, ट्राफिक जरिबाना घटाउने र झडपमा क्रममा पक्राउ परेका मजदुरलाई विनासर्त छोड्नुपर्ने माग राखेका थिए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहमतिपछि यातायात मजदुरहरूको आन्दोलन स्थगित भइसकेको छ ।

सोमबारकै घटनालाई लिएर बालाजु प्रहरी वृत्तका डीएसपी रवीन विष्टको जिम्मेवारीसमेत खोसिएको थियो । 

प्रधानमन्त्री प्रचण्डले लुटपाट घटनाबारे गम्भीरतापूर्वक छानबिन गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेका छन् । 

प्रहरीले मोबाइल पसल लुटपाट गरेको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro