site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
‘भट्ट गेडी’ खोज्न 'खरबारीमा आगो' !

‘बङ्गलादेशी बबन्डर’ नेपालमा पनि दोहोरिएमा तर मार्न पाइएला कि भनेर मुख मिठ्याइरहेकाहरूको सपना ‘तीनकुने ताण्डव’मै तुहिएजस्तो छ । बङ्गलादेशीहरूले जस्तै सरकारको कुशासनको रिसमा लोकतान्त्रिक पद्धति नै सिध्याउने मूर्खता नेपाली नागरिकले पक्कै नगर्लान् ! 

बङ्गलादेश र नेपालको शासनमा केही समानता थिए । शेख हसिनाको कार्यकालमा बङ्गलादेशमा भ्रष्टाचार, अनियमितता बढेकै थियो । प्रतिपक्षले निर्वाचन बहिष्कार गरिरहँदा पनि  सत्ता पक्ष निषेधमै रमाएर बसेको थियो । बङ्गलादेशको आर्थिक उन्नति दक्षिण एसियामै उदाहरणीय बन्न पुग्दा गरिब र धनीका बीचको खाडल पनि निकै फराकिलो हुँदैथियो । 

भनिन्छ- बङ्गालीहरू अलि उग्र प्रवृत्तिका हुन्छन् । त्यसमाथि एउटा जमातले निषेध भोगेको थियो । निषेध भोग्ने राजनीतिक जमात र इस्लामी कट्टरपन्थीहरूबीच बङ्गलादेश नबन्दै देखिको निकटता थियो । ‘रजाकर’का सन्तानहरू निषेध भोग्दैथिए । उता शेख हसिनाको सरकारले  ‘स्वतन्त्रता सेनानी’का सन्तानलाई समेत विशेष सुविधा दिइरहेको थियो । 

सत्ताको स्वाद निकै समय चाखेको बङ्गलादेशको सेना पनि सायद शेख हसिनालाई हटाउन पाए राजकाजमा फर्कन सकिने अनुमानमा थियो । हसिनाको रुखो स्वभावले उनका नजिकका पनि धेरैलाई असन्तुष्ट बनाएको थियो रे । यसैले बङ्गलादेशमा विद्रोह हुनु अस्वाभाविक थिएन । 

त्यस विद्रोहलाई छरछिमेकदेखि परपरसम्म पनि ‘अरब उत्थान’जस्तै ठानेर हेरियो । भारतमा अपेक्षाकृत हसिनाप्रति सहानुभूति देखियो भने पाकिस्तानी संस्थापन निकै रौसिएको थियो । विद्रोहपछि बङ्गलादेशमा शक्तिमा पुगेकाहरू धेरै पाकिस्तानप्रति झुकाव राख्नेहरू छन् रे ! 

कागलाई बेल पाके सरह नै भए पनि नेपालमा विभिन्न समूह बङ्गलादेशी बबन्डरबाट निकै रौसिएको देखिन्थ्यो । एकथरीले बङ्गलादेशमा जस्तै नेपालमा पनि सडकबाटै संघीय लोकतान्त्रिक गणतन्त्र फालेर राजतन्त्र फर्काउन सकिने ठाने । अर्काथरीलाई राजतन्त्र त चाहिएको थिएन तर अहिलेको शासन र शासकहरूलाई सडकबाट फालेर ‘ठालुतन्त्र’ चलाउने रहर जागेको थियो । जनताले नचुनेका र कतैप्रति जवाफदेही नहुने बङ्गलादेशकै जस्तो जमातको शासन ‘ठालुतन्त्र’ हो । बङ्लादेश बनाउने धम्की दिने अर्को जमात भने साँच्चै विद्रोह नै होस् भन्ने त चाहँदैन तर त्यही बहानामा सरकारसँग मोलतोल गर्ने दाउ हेरेर बसेको छ । 

कतिपय त यसो भन्दा वा लेख्दा के अर्थ लाग्छ वा त्यसको परिणाम के होला भन्नेसम्म पनि नबुझी रिस र झोँक पोख्नेहरू पनि यही जमातमा देखिएका छन् । तिनीहरू  वास्तवमै अहिलेको शासन व्यवस्थामा उथलपुथल होस् भन्ने चाहँदैनन् तर कुशासनले जन्माएको उकुसमुकुस व्यक्त गर्न चाहन्छन् । 

नेपाली निकै चाँडै बिर्सनेमा पर्छन् । अझै राणा शासन भोग्नेहरू बाँकी नै छन् । पञ्चायत भोग्नेहरू त कति छन् कति ? त्यसमा पनि २०५८ जेठपछिको शासन भोग्नेहरू त बहुमतमै होलान् । उतिबेलाको एउटा प्रसङ्गमात्र उप्काउन खोजेको - यसरी नै निर्वाचित सरकारसँग रिस पोख्न राजालाई उकास्ने काम कतिले गरेका थिए ? एकपटक सम्झौँ त ! 

उतिबेला शासनका विरुद्ध विषबमन गर्नेहरूमध्ये केही त ‘राजावादी’ अर्थात् लोकतन्त्र विरोधी नै थिए । केही लोकतन्त्र पक्षधरकै आवरणमा संसदीय व्यवस्थाको जरो खोतल्न लागेका रहेछन् । राजाले शासन हातमा लिएर लोकतन्त्र समाप्त पारेकै दिन केही झल्याँस्स भए होलान् भने केही मनमनै खुसी । 

त्यही उपक्रम अहिले पनि दोहोरिइरहेको छ । नेताहरूप्रति आक्रोश पोख्दा कुन बेला लोकतान्त्रिक गणतन्त्रमाथि पनि थुकको छिटा पर्ने हो भन्ने तिनले ख्यालै नगरेको देखिएको छ । यसले जन्माउने दुर्गा प्रसाई प्रवृत्ति हो र हुने भनेको ‘तीनकुने ताण्डव’ नै हो ।    

कसैका विरुद्ध आगो ओकल्न सजिलै हुन्छ । त्यस आगोले जब अन्ततः आफूलाई नै पोल्छ अनि त्यतिबेला थाहा हुन्छ जलनको पीडा । ‘भट्ट गेडी’ खोज्न खरबारीमा आगो लगाउने दन्त्यकथाको ‘मूर्ख गोठालो’ बन्न हौसिनेहरू बेलैमा चेतुन् । 

यताका रौसेहरूले पनि पनि थाहा पाउन् बङ्गलादेशमा अहिले के भइरहेको छ ।  “कट्टरपन्थीहरूले महिलाहरूको शरीरमाथि नियन्त्रण सुरु गरेका छन्” द न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा अप्रिल ३ मा प्रकाशित एउटा समाचार टिप्पणीको शीर्षक वाक्य हो यो । समाचार अनुसार शेख हसिनाको बहिर्गमनपछि उत्पन्न राजनीतिक शून्यता धार्मिक कट्टरपन्थीहरूले भर्न थालेका छन् । यसको उदाहरण दिँदै टाइम्समा लेखिएको छ - एउटा नगरमा किशोरीहरूलाई फुटबल खेल्नबाट रोकिएको छ भने अर्को घटनामा महिलाले टाउको नछोपेको भन्दै दुर्व्यवहार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गर्दा भिडले उसलाई बलपूर्वक उम्काएर फूलको माला लगाइदियो ।  
ढाकामा निकालिएको एउटा जुलुसको माग र धम्की थियो- इस्लाम धर्मको अपमान गर्नेलाई सरकारले मृत्युदण्ड दिएन भने उनीहरू आफ्नै हातले मार्नेछन् । केही दिनपछि त एउटा प्रतिबन्धित संगठनले ‘इस्लामी खिलाफत’को माग गर्दै ठूलो जुलुस निकालेको थियो । 

अब बिस्तारै स्थिति अनियन्त्रित हुँदै जाने लक्षण देखिएको छ । समाधान के त ? निष्पक्ष चुनाव भए अबामी लिग नै सत्तामा पुग्न सक्छ नभए पनि बलियो विपक्षी त पक्कै हुन्छ । चुनाव नगरी शासन चलाइरहन त मुहम्मद युनुसलाई पनि नदेलान् । इस्लामी सरकारको माग र कट्टरपन्थीको दबाब बढ्दो छ । शासनको स्वाद चाखिसकेको सेना पनि तमासा हेरेर त के बस्ला र ? 

अर्थात्, सजिलै बङ्गलादेशमा लोकतन्त्र फर्कने लक्षण छैन । अनि नागरिकहरूमा छटपटी पनि सुरु भइसकेको छ । टाइम्सले २९ वर्षीय समाजशास्त्रका स्नातक शेख तस्मिन अफ्रोजलाई उद्धृत गर्दै लेखेको छ - विरोध जुलुसमा हामी अग्रसङ्क्तिमा थियौँ र हामीले सडकमा बन्धुहरूको संरक्षण गरेका थियौँ । अहिले ६ महिनामै सबै कुरा उल्टिएको छ । 

हामी नेपालीले अब पछुतोको यो अनुभव गर्न नपरोस् !

बङ्गलादेशमा भएको विप्लवपछि नै मलाई लागेको थियो अब कट्टरपन्थीहरूले पक्कै टाउको उठाउनेछन् ।

यसैले यो पनि

बङ्गलादेशको बबन्डरमा हौसिनेहरू ! 

 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro