site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्मुताइरीको ‘नाटक’ कि राजनीति ?
SkywellSkywell

काठमाडौं । नेपाली फुटबलमा विवाद नौलो कुरा होइन । तर यस पटकको विवाद अलि अनौठो छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीबीचको झगडा समर्थकलाई सामान्य लाग्न थालिसकेको छ । तर पछिल्लो विवादको केन्द्रबिन्दुमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी छन् । 

कुवेतका नागरिक अल्मुताइरीले साउन १० गते नेपाली समर्थकलाई सम्बोधन गर्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण राजीनामा दिन कार्यालय जान लागेको स्ट्याटस लेखे । त्यसमा नेम्वाङले पछिल्लो तीन सातादेखि आफुविरुद्ध नाटकीय व्यवहार गरेको अल्मुताइरीको आरोप थियो । स्ट्याटसको अन्त्यमा उनले लेखेका छन्, ‘‘आशा छ, मेरो राजीनामाले नेम्वाङ खुसी हुनेछन् ।’’

यसपछि बल्झिएको विवादले अझै निकास पाएको छैन । 

KFC Island Ad
NIC Asia

सामान्यतः फुटबलभित्रको विवाद एन्फा आफैँले सुल्झाउने गर्छ । तर नेम्वाङ र अल्मुताइरीबीचको विवाद एन्फाले मिलाउन सकेन । युवा तथा खेलकुद मन्त्रालय गुहार्नुपर्‍यो । मन्त्रालयले पनि विवादलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तिरै पन्छाइदियो ।

राखेपले पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्सीय समिति बनाइ छानबिन गर्न जिम्मेवारी दियो । उक्त समितिले भदौ ९ गते ११ बुँदे निष्कर्षसहित राखेपलाई आफ्नो प्रतिवेदन बुझाएको छ । 

Royal Enfield Island Ad

त्यसबारे राखेपले अहिलेसम्म कुनै प्रतिकृया दिएको छैन । तर अल्मुताइरीको प्रतिक्रिया फेसबुकमार्फत नै सार्वजनिक भइसकेको छ । प्रतिवेदनले अल्मुताइरीलाई आफ्नो काममा केन्द्रित हुन र फेसबुकबाट विवादित स्ट्याटस हटाउन निर्देशित गर्नुपर्ने सुझाव दिएको छ । 

तर अल्मुताइरीले प्रतिवेदन सार्वजनिक भएको केही बेरमै फेसबुकबाटै लेखे, ‘आई एम आउट, लेट पोलिटिक्स वर्क’ अर्थात् म बाहिरिएँ, राजनीतिले काम गरोस् । 

प्रतिवेदनको भावनाविपरीत स्ट्याटस लेखेर बाहिरिएको घोषणा गरेका अल्मुताइरी साच्चै बाहिरिएका भने छैनन् ।

उनले यसअघि पनि दुईपटक राजीनामाको ‘स्टन्ट’ गरिसकेका थिए । 

पहिलो पटक राजीनामा दिन एन्फा जान लागेको भन्ने स्ट्याटस लेखेर फुटबलमा नयाँ विवाद सृजना गरेका उनले दोस्रो पटक पनि साउन २६ सम्ममा समस्या समाधान नभए आफू नबस्ने भन्दै धम्क्याएका थिए ।

प्रशिक्षक अल्मुताइरीको नाटकीय व्यवहार

अल्मुताइरीलाई एन्फाले २०७७ चैत २२ गते मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अल्मुताइरी ‘एफसी कोचिङ इन्स्ट्रक्टर र प्रो लाइसन्स’ प्राप्त प्रशिक्षक हुन् । 

यसकारण पनि उनीबाट ठूलो अपेक्षा थियो । तर अल्मुताइरी नेपाल आएदेखि नै विभिन्न कुराले चर्चामा छन् । कहिले उनको अति प्रशंसा हुन्छ भने कहिले चर्को आलोचना । 

नेपाली फुटबल टोलीको खेल्ने शैली परिवर्तन गरेको अल्मुताइरीको दाबी छ । उनको दाबीलाई केहीले पत्याइदिएका छन् ।

केहीले कुनै सत्यता नरहेको बताइरहेका छन् । मैदानभित्र उनको प्रदर्शन अहिलेसम्म औसत छ । तर मैदानबाहिर उनको प्रदर्शन ‘लाजमर्दो’ रहेको खेल विज्ञको टिप्पणी छ । कम्तिमा ‘एफसी कोचिङ इन्स्ट्रक्टर र प्रो लाइसेन्स’ प्राप्त प्रशिक्षकलाई सुहाउने गतिविधि छैनन् ।

उनका अभिव्यक्तिहरु हेर्दा लाग्छ, उनी एन्फाभित्र पदाधिकारीको विवादमा खेल्न खोज्दैछन् । ‘राजनीतिले काम गरोस्’ भन्दै उनी आफैँ राजनीति गरिरहेका छन् । 

“खासमा उनी एन्फाले नियुक्त गरेका एक सामान्य कर्मचारी हुन् । भलै उनको तलब कतारले व्यहोर्छ । कतारको सहयोगमा उनी नेपाल आएका हुन् । त्यसको मतलब उनले यहाँ जे पनि गर्न सक्छन् भन्ने होइन,” एक अधिकारी भन्छन् । 

तर एन्फा नेतृत्व निरीह बन्दा यस्तो भइरहेको छ । एन्फाले आचार  संहिता बनाएको छ । त्यसमा कसले के गर्ने, के नगर्ने भनेर पनि लेखिएको छ । प्रशिक्षक अल्मुताइरीले त्यसको पालना नगरिरहँदा पनि एन्फा नेतृत्वले उनलाई लगाम लगाएको छैन । बरु एउटा कर्मचारीसामु पूरा एन्फा निरिह देखिएको छ ।

अल्मुताइरीले आचार संहिताविपरीत सुरुमै एन्फा पदाधिकारीहरुले फुटबल विकासमा सोच्नुपर्ने भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । 

यसअघिको नेपाली टोली जित्नको लागि भन्दा विदेश घुम्नका लागि जाने भन्दै नेपाली फुटबलमा जीवन समर्पित गरेका खेलाडी तथा पदाधिकारीहरुको अपमान गरे । 

पछि निक्कै आलोचना भएपछि यस विषयमा उनले माफी माग्नुपर्‍यो । वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफुले राजीनामा दिनुपरेको बताए । एन्फामा राजीनामा दिन जाँदैछु भने । तर राजीनामा दिएनन् । 

त्यसपछि साउन १५ गते एन्फा कार्यसमिति बैठक बसेर प्रशिक्षक र उपाध्यक्षबीचको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालय पठाउने निर्णय गर्‍यो । 

त्यसपछि अल्मुताइरीले एन्फामा उजुरी दिँदै साउन २६ गतेसम्म विवाद टुंगो नलागे नेपाल छाड्ने चेतावनी दिएका थिए । तर उनको त्यो भाका नाघेको पनि धेरै भइसक्यो । उनले पद छाडेका छैनन् ।

राखेपद्वारा गठित छानबिन समितिले भदौ ९ गते प्रतिवेदन सार्वजनिक गर्‍यो । प्रतिवेदनको निष्कर्ष सार्वजनिक भएलगत्तै अल्मुताइरीले ‘आफु हट्ने र राजनीतिले काम गरोस्’ भनेर अभिव्यक्ति दिए । जुन उनको पछिल्लो अभिव्यक्ति हो । 

पछि हटेँ भनेर सामाजिक सञ्जालमा अभिव्यक्ति दिए पनि अल्मुताइरीले पोखरामा कुनै पनि दिन प्रशिक्षण रोकेनन् । पटक पटक पदबाट राजीनामा दिन्छु भन्ने तर नदिने । एन्फालाई घुर्काउने मात्र उनको रणनीति देखिन्छ । 

नेपाली फुटबल अहिले महत्वपूर्ण क्षणमा छ । भदौ १७ र २० गते भारतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्दैछ । साथै चीनमा हुने एएफसी एसियन कपको तयारी गरिरहेको छ । यस्तो अवस्थामा उनका स्टन्टबाजीले टिमलाई फाइदा भन्दा घाटा नै बढी हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro