काठमाडौं । नेपालले औपरिचारिक रुपमा फिफा तथा एएफसीको प्रतियोगिता खेल्नुअघि विदेशमा खेल्ने भनेकै भारत, बंगलादेश वा पाकिस्तान गएर हो । त्यो पनि कहिले नेपाल–११ त कहिले काठमाडौं–११ को नाममा । १९८२ मा भारतकै दिल्लीमा सम्पन्न एसियन गेम्समार्फत नेपाली फुटबलले औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेक्यो ।
अन्तर्राष्ट्रिय फुटबल यात्रा थालेको चार दशकपछि बल्ल भारतले पहिलो पटक नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्दैछ, भदौ १७ र २० गते दशरथ रंगशालामा । यसबीचमा भारतविरुद्ध नेपाल २० पटक आमनेसामने भइसकेको छ । त्यसमध्ये मैत्रीपूर्ण खेल भने तीनवटा मात्र खेलेको छ ।
विश्व फुटबलको प्रचलन हेर्ने हो भने मैत्रीपूर्ण खेल प्रायःजसो छिमेकी मुलुकसँग नै खेल्ने गरिन्छ । तर भौगोलिक तथा सांस्कृतिक हिसाबले सबैभन्दा नजिक मानिने भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको संख्या भने अत्यन्तै कम छ । कूटनीतिक क्षेत्रमाजस्तै भारतले फुटबलमा पनि नेपाललाई ‘बडे भाइ’ कै नजरबाट हेर्ने गरेको खेल विज्ञ बताउँछन् ।
“‘उनीहरूमा सहअस्तित्वको भावना खासै देखिँदैन,” फुटबल विज्ञ सञ्जिव मिश्र भन्छन्, “दक्षिण एसियाली प्रतियोगिताहरुमै पनि कहिले हामी खेल्दैनौं भन्छन् । कहिले हामी दोस्रो टिम पठाउछौँ भन्छन् । सधैँ आनाकानी मात्र गर्छन् ।”
९० को दशकपछि भारतीय फुटबलले लामो फड्को मारे पनि त्यसअघि दुवै टिमको स्तर बराबर जस्तै हो । तर पनि भारतीय टिमले नेपाललाई हेयको दृष्टिले हेर्ने गरेको उनको प्रतिक्रिया छ ।
जुन तथ्यले पनि पुष्टि गर्छ । औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको चार दशकमा जम्मा तीन मैत्रीपूर्ण खेल भएका छन् । नेपालमा आएर त अहिलेसम्म खेलेकै छैन ।
“उनीहरूले नेपाललाई खासै महत्व दिँदैनन् । आफुलाई चाहिएको बेला नेपाललाई भारतमै बोलाएर खेल्छन् । नभए नेपाल आएर खेलेको थाहा छैन,” लामो समयदेखि नेपाली फुटबललाई नजिकबाट नियालेका मिश्रले भने ।
हुन त भारतविरुद्ध नेपालको नतिजा गर्व गर्न लायक छैन । पहिलोपटक १९९३ को दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भारतलाई हराएको थियो । निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि नेपालले टाइब्रेकरमा ४–३ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।
त्यसबाहेक २००६ को एएफसी च्यालेन्ज कपमा ३–० र २०१३ को साफ च्याम्पियनसिपमा २–१ ले हराउनुबाहेक भारतविरुद्ध नेपालको प्रदर्शन विर्सनलायक छ । तीन बराबरी खेलेको छ भने बाँकी सबै खेल हारेको छ ।
भारतले पछिल्लो पटक नेपालमा खेलेको भनेकै २०१५ मा फिफा विश्वकप छनोटअन्तर्गतको खेल थियो । त्यसयता भारतले नेपालमा खेलेको छैन । हुन त १९९१ मा भारतको ओलम्पिक टिम आएर मैत्रीपूर्ण फुटबल खेलेको थियो । तर सिनियर टिमले पहिलो पटक आउँदैछ ।
फिफा क्यालेन्डरमा खेल्ने भएकाले यस मैत्रीपूर्ण खेलले अन्तर्राष्ट्रिय मान्यता पाउँछ । तर भारतले फेरि पनि आफ्नो नियमित कप्तान सुनिल क्षेत्रीलगायतका सिनियर खेलाडीलाई आराम दिएको छ । उनीहरुको हेपाहा प्रवृत्ति अझै पनि देखिन्छ ।
तथापी भारत नेपालमा आएर खेल्दा सुस्ताएको फुटबललाई भने फेरि एकपटक तताउनेछ । त्यसको फाइदा एन्फालाई अगामी लिगमा पनि हुनेछ ।
“भारतीय फुटबल टिम नेपाल आउनु खुसीको कुरा हो । भारतलाई हराउँदा नेपालीहरु सधै खुसी हुने गर्छन्,” मिश्र थप्छन्, “हुन त उसले नियमित कप्तानलगायतलाई आराम दिएको छ। तथापी भारत नेपालमा आएर खेल्दा कोभिड–१९ ले सेलाएको यहाँको फुटबल माहोल पनि पुनः जुर्मुराउने आशा गर्न सकिन्छ ।”