काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चार वर्षमा सामाजिक सञ्जालमा निकै आलोचना खेपे । उनको काम–कारबाहीको विषयमा तीव्र आलोचना भएको हो ।
‘‘मलाई भोट दिएर त हेर्नुस्, सय दिनमा १०१ काम गरेर देखाउँछु,” चुनावको बेला मेयर शाक्यले भनेका थिए । १०१ प्रतिबद्धताअन्तर्गतको ७२ नम्बर बुँदामा रहेको आफ्नै महानगरको भवनसमेत उनले बनाउन सकेका छैनन् ।
०७४ जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यको चार वर्ष बित्दा चुनावी प्रतिबद्धता एकतिहाइ पनि सफल भएको छैन । गएको जेठ १४ गते उनी मेयर बनेको चार वर्ष पूरा भएको हो । १४ गते निर्वाचित भई जेठ १७ गते उनले आफ्नो कार्यभार सम्हालेका थिए । मेयरको चार वर्ष बढीको कार्यकाललाई हेर्ने हो भने १५ सय दिनभन्दा बढी भइसकेको छ ।
मेयर शाक्यको पहिलो प्राथमिकताको प्रतिबद्धतामा भत्ता बढाउने थियो । उनले राज्यले दिएको सामाजिक सुरक्षा भत्ता तीन हजारबाट बढाएर पाँच हजार पुर्याउने, ८४ वर्ष पुगिसकेका व्यक्तिलाई १० हजारमा दुई हजार थपेर १२ हजार बनाउने बाचा थियो । उनको यो भत्ता बाँड्ने प्रतिबद्धता पूरा भयो ।
काठमाडौंको सांस्कृतिक सम्पदा बचाउने उनको दोस्रो प्रतिबद्धतामा मात्रै परेको छ । बरु, सम्पदा संरक्षण पुनर्निर्माणको नाममा सम्पदाको ऐतिहासिकता मास्दै आएको गुनासोे बढेको छ ।
ज्येष्ठ नागरिकलाई भत्ता बढाउने प्रतिबद्धताबाहेक अरु केही पनि उदाहरणीय काम गरेको देखिँदैन । चुनावको प्रचारका क्रममा उनले निर्वाचित भएको दिनदेखि १०० दिनसम्म जनताको घरदैलोमा गएर १०१ काम गर्ने प्रतिबद्धता घोषणा गरेका थिए ।
स्थानीय अरुणसिंह केसीले शाक्यको सांस्कृतिक सहर, मनोरेलदेखि स्मार्ट सिटीसम्मका प्रतिबद्धता पूरा गर्ने आश्वासन चुनाव जित्नकै लागि प्रपञ्च रहेको बताए । शाक्यले काठमाडौंलाई धुलो–धुवाँमुक्त, ट्राफिक जाम हटाउने, फोहोरमैला व्यवस्थापनलगायत प्रतिबद्धता व्यक्त गरेका थिए । तर, अहिले पनि अवस्था उस्तै छ । केसीले भने, ‘‘चार वर्र्षअगाडि जनप्रतिनिधि आएपछि विकास होला, साँस्कृतिक सहर कायम होला भन्ने सोचेका थियौँ । अहिले त झन् विकासको नाममा संस्कृति, भाषा, धर्म मासिँदै आएको छ ।”
कामै नगरी चर्चा !
चुनाव जितेर कार्यभार सम्हालेकै सय दिनमा मेयर शाक्यले काठमाडौंलाई बाहिरबाट आएका मानिसले बिगारेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । त्यसपछि चार वर्षसम्म विवादित भएर सामाजिक सञ्जालमा चर्चा कमाइरहे, मेयर शाक्यले । सम्पदा पुनर्निर्माण, फुटपाथ उठाउँदा पनि उत्तिकै चर्चा चल्छ, काठमाडौं महानगरको ।
शाक्यका १०१ प्रतिबद्धताको कार्यसूचीको २४ नम्बरमा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने योजना छ । तर, अहिले पनि सडकको अवस्था बेहाल छ ।
प्रतिबद्धताको सातौ नम्बरमा साइकल सिटी छ । मेयर शाक्य आफैँ साइकल चढेर साइकल सिटी स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धता पनि कागजमै सीमित देखिएको छ । सँगैको ललितपुर महानगरपालिकाले साइकल लेन तयार गरिसकेको छ ।
स्मार्ट सिटी निर्माणमा महानगरको झिनो प्रयास
संघीय राजधानी काठमाडौंमा मेयर शाक्यको महत्वाकांक्षी र चुनावी प्रतिबद्धतामध्येको एक योजना हो, स्मार्टसिटी । यसअन्तर्गत पूर्वाधार विकास, मापदण्डविपरीतका होर्डिङबोर्ड, साइकल लने, सडक मर्मत, धुलो धुवाँ नियन्त्रण, फोहोरमैला व्यवस्थापन, फुटपाथ व्यवस्थापनजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय पर्छन् ।
यसको लागि महानगरले प्रयास नगरेको होइन । तर, महानगरले सरोकारवाला निकायसँग छलफल नगरी काम गर्दा समस्या समाधान हुनसकेको छैन । नगरप्रहरीले होर्डिङ बोर्ड हटाउन थाल्छन्, हटाएकै ठाउँमा फेरि होर्डिङ बोर्ड राखिन्छ ।
महानगरका नगरप्रहरी प्रमुख धनपति सापकोटा मपदण्डविपरीतका होर्डिङ बोर्ड, टहरा सबै हटाएको दाबी गर्छन् । ‘‘महानगरको कानुनी प्रक्रियाअन्तर्गत हामीले काम गरिरहेका छौँ । सबै किसिमका होर्डिङ बोर्ड, टहरा हटाइसकेका छौँ । फुटपाथ पैदलयात्रुका लागि हो, व्यापार गर्नका लागि होइन । त्यसैले फुटपाथमा व्यापार–व्यवसाय गर्न दिदैनौँ,” उनले भने ।
अधिकांश सम्पदामा कंक्रिट
सम्पदा संरक्षणकर्मीहरु महानगरले सम्पदा पुनर्निर्माण गर्ने नाममा जताततै कंक्रिटको प्रयोग गर्दै आएको बताउँछन् । महानगरले ‘सांस्कृतिक सहर काठमाडौं महानगर’को नारा बोकेको छ । तर, आफ्नै नारालाई उल्लंघन गरेको आरोप लाग्दै आएको छ । महानगरले रानीपोखरी र कमलपोखरीमा कंक्रिट प्रयोग गर्दा विरोध भएको थियो ।
जहाँ मेयर त्यहाँ विवाद
स्थानीय शुसान वैद्य काठमाडौं महानगरमा जहाँ हेरे पनि विवाद रहेको बताउँछन् । ‘‘महानगरका मेयरले स्मार्ट सिटी, मनोरेल, हरियाली, संस्कृतिको नाममा बदामासी गर्दै आएका छन् । निर्वाचित भएको सय दिनमै मिडियामा नआउन चाहने मेयर एकाएक कामै नगरेर चर्चामा आएका थिए । काठमाडौंलाई बाहिरबाट आएका मानिसले बिगारेको भन्दा उनी भाइरल भए । कहिले सडकको धुलो–धुवाँ त कहिले रानीपोखरीको विषयमा पनि उत्तिकै आलोचना भयो,” उनले भने, ‘‘पछिल्लो समय शाक्यले बालाजु बाइपास, कमलपोखरी, मजदुरलाई खाना वितरण गरिरहेको हाम्रो टिमको टहरा भत्काएर, आकाशे पुलमुनिको फ्रन्टलाइनर्सको चित्र मेटाएर पनि उत्तिकै आलोचना भयो ।”
महानगरका कार्यकारी अधिकृत राजेश्वर ज्ञवाली मेयर शाक्यको यो अवधिलाई सफल मान्नुपर्ने बताउँछन् । मेयर शाक्यले चार वर्षमा हेर्नलायक काठमाडौं बनाएको उनले दाबी गरे । ‘‘हामीले दीर्घकालीन रुपमा सोच्नुपर्छ । खालि विवाद र विरोधले केही हुनेवाला छैन । कहिले सकारात्मक पनि सोच्नुपर्छ,” उनले भने ।
यता, काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले काठमाडौंलाई स्मार्ट सिटी र हरियाली कायम राख्न विभिन्न प्रयास गर्दै आएको बताए । उनले उपत्यकामा वृक्षरोपण गरेका विरुवाको संरक्षण, हेरचाह, फोहोरमैला व्यवस्थापन, सडकलाई धुलो–धुवाँमुक्त बनाउँदै आएको दाबी गरे ।
उनले भने, ‘‘फोहोरमैला व्यवस्थापनका लागि विभिन्न स्थानमा स्मार्ट डस्बिन राखेका छौँ । दैनिक सातवटा ब्रुमरले धुलो उठाउने काम गरिरहेको छ । यस्ता काम एकैचोटि हुने होइन । विस्तारै परिवर्तन हुँदै जाने भएकाले तत्काल नतिजा दखिँदैन ।”
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल मेयर शाक्यका प्रतिबद्धतामा कोरोना महामारी बाधक बनेको जिकिर गर्छन् । ‘‘मेयर शाक्यले निरन्तर जनहितका काम गरेका छन् । यद्यपि, मेयर शाक्यले गरेका अधिकांश प्रतिबद्धता पूरा भइसकेका छन् र केही प्रतिबद्धता पूरा हुने चरणमा छन्,” उनले भने ।
यस्ता थिए मेयर शाक्यका चुनावी १०१ प्रतिबद्धता
१. राज्यले दिएको सामाजिक सुरक्षा भत्ता तप्न हजाबाट बढाएर पाँच हजार पु¥याउने, ८४ वर्ष पुगिसकेका व्यक्क्तिलाई १० हजारमा २ हजार थपेर १२ हजार बनाउने ।
२. ऐतिहासिक महत्व बोकेको सोह्रखुट्टेको पुनःस्थापना प्रक्रिया अघि बढाउने ।
३. मेयरको पदभार ग्रहण गर्नुभन्दा अगाडि नै महानगरपालिकाको कार्यालय परिसरभित्र नवनिर्वाचित प्रतिनिधिहरुले मूल्यवान् फल लाग्ने रुख रोपेर ग्रीन एन्ड क्लिन काठमाडौं अभियान सुरु गर्ने ।
४. महानगरपालिका क्षेत्रभित्रका धार्मिक सास्कृतिक तथा पर्यटकीय केन्द्रहरु जस्तै पशुपतिनाथ बौद्धनाथ वसन्तपुरलगायत स्थानमा द्रुतगतिको नि:शुल्क वाइफाइ क्षेत्र बनाउने ।
५. बाटो वितार पिडित समुदायसँग वार्ता गरेर जनभावनाअनुसार समस्या समाधान गर्ने ।
६. साइकल सिटी महानगरको कार्ययोजना प्रारम्भ गर्ने ।
७. महानगरको योजना आयोग गठन गरेर काम सुरु गर्ने ।
८. महानगरपालिकाको आफ्नै पूर्वाधार कमिटी गठन गर्ने ।
९. विभिन्न क्षेत्रमा लगानी गर्न महानगरपालिकाको आफ्नै लगानीमा कम्पनी स्थापना गर्ने ।
१०. महानगरपालिकाको नयाँ सांगठनिक संरचना निर्माण, जनशक्ति व्यवस्थापन र परिचालन गर्ने ।
११. महानगरपालिकाका सम्पुर्ण कार्यलाई भ्रष्टाचारमुक्त र पारदर्शी बनाउन इगर्नेन्स प्रर्णाली सुरु गर्ने र सम्पूर्ण कार्यकक्षमा सीसीटीभी जडान गर्ने ।
१२. प्रत्येक युवालाई कुनै न कुनै खेल शारिरीक व्यायाम, व्यावसायिक तालिम, हस्तकला, ललितकला प्रविधिलगायत आबद्ध गराउने गरी कार्यक्रम ल्याउने ।
१३. समयसापेक्ष रोजगारीमूलक वातावरण सिर्जना गर्ने र युवाका लागि अनलाइन रोजगार सूचना केन्द्र सुरु गरिनेछ ।
१४. खेलकुद क्षेत्रका विशेष प्रतिभा र योगदान गर्नेहरुलाई नियममित सहयोग गर्न पुरस्कार तथा प्रोत्साहनका लागि अक्षयकोष स्थापना गर्ने ।
१५. नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीसँग समन्वय गरेर महानरका संवेदनशील स्थलहरुमा सीसीटीभी जडान गर्ने काम सुरु गर्ने ।
१६. स्वयम्भू, बौद्ध, पशुपति, वसन्तपुरलगायत धार्मिक, सांस्कृतिक, पुरातात्विक, पर्यटकीय महत्वका सम्पदा क्षेत्रको विकास र प्रवर्द्धनका लागि विशेष योजना बनाएर काम सुरु गर्ने ।
१७. सार्वजनिक-साझेदारीको नीति अवलम्वन गर्ने ।
१८. विभिन्न ठाउँमा जन्मदेखि मृत्युसम्म चाहिने सामग्रीसहितको ‘मिनी असन बजार’ सञ्चालनका लागि अध्ययन गर्ने ।
१९. भित्री सहरको हरेक ५०० मिटरमा र बाहिरी सहरमा आवश्यकताअनुसार निजी साझेदारीको ढाँचामा पब्लिक सर्भिस सेन्टर बनाउने प्रक्रिया अगाडि बढाउने । त्यस्ता सेन्टरहरुमा महिला अपांगता भएका व्यक्ति, वृद्ध, बालबालिकामैत्री डिजिटल सूचनापाटी, शौचालय, डिजिटल सुझाव संकलन डेस्क, तौल नाप्ने मेसिन, रिचार्ज कार्ड, चार्जर, फ्रि वाइफाईको व्यवस्था गरिनेछ ।
२०. धर्म पथमा रहेको पुरानो काठमाडौं महानगरपालिकाको जग्गामा पर्वस्वीकृत नक्साअनुसार भवन निर्माण सुरु गर्ने ।
२१. महानगरपालिकाका करदाताको सुविधाका लागि बचत स्मार्ट कार्डको व्यवस्था गर्ने ।
२२. महानगरपालिकाद्धार सञ्चालित, चमती मनोहरा लगायतका स्थानमा अवरुद्ध ल्याण्डपुलिङको काम यथाशिघ्र सम्पन्न गर्ने ।
२३. घरघरमा अचम्मको सियो गज्जबको चुलो कार्यक्रम सञ्चालन गर्ने ।
२४. मेलम्ची आयोजना लगायत अन्य कारणबाट सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने विशेष प्रविधिको प्रयोग गरेर धुलो र खाडलरहित सडक निर्माण गर्ने ।
२५. ‘सही समय सही ठाम, नो ट्राफिक जाम'को अभियान सुरु गर्ने ।
२६. बाटामा थुपारिएका निर्माण सामग्री हटाउने ।
२७. हाल पेन्डिङमा रहेका मुद्धालाई १०० दिनभित्र टुंग्याउने ।
२८. प्रत्येक वडामा विषयगत दक्षतासहितको महानगर स्वयसेवक घोषणा गरी परिचालन गर्ने ।
२९. प्रत्येक घरमा अनिवार्य बर्खेपानी संकलनको अभियान सुरु गर्ने । संकलनबाट बढि भएको पानी भुमिगत जल भण्डारण गर्ने अभियान थाल्ने ।
३०. घरघरमा अत्याधुनिक प्रविधियुक्त (थोरै जग्गामा पनि जडान गर्न सकिने) सेप्टीट्यांकी जडानको अभियान सुरु गर्ने ।
३१. चोभारदेखि हिमाल सिमेन्ट कारखानासम्मको जग्गामा नेपाल सरकारसँग समन्वय गरी बाल मनोरञ्जन, चलचित्रकर्मी र नेपाल उद्योग बाणिज्य महासंघका सहकार्यमा वृहत प्रदर्शनी केन्द्र निर्माणको पहल गर्ने ।
३२. 'भोकरहित जनता, शोकरहित महानगर'का लागि सुपथ मुल्यको मेयर फड पार्लर खोल्ने पक्रिया आरम्भ गर्ने ।
३३. राष्ट्रिय सभागृहमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने ।
३४. राजस्व अध्यन बोर्ड बनाएर अनुसन्धान अध्ययन थाल्ने ।
३५. काठमाडौंका बारेमा जानकारी दिने मोबाइल एप सुरु गर्ने ।
३६. स्मार्ट भर्टिकल कार पार्किङ निति निर्धारण गरी कार्यान्वयन गर्ने ।
३७. महानगरका विशेष स्थानमा भइकल फ्रि जोन घोषणा गर्ने ।
३८. 'काठमाडौं महानगर झिलिक्क : घरघर टिलिक्क' अभियान थाल्ने । सरकारी सार्वजनिक भवनमा रङरोगन गर्ने ।
३९.धरहरा प्रिमिसेसको गुरुयोजना बनाएर कार्यान्वयन गर्ने ।
४०. महानगरपालिकाले स्थानीय समुदायको जनसहभागितामा काष्ठमण्डपको पुनर्निर्माण गर्ने ।
४१. सम्पदा पुननिर्माणमा जनसहभागितामा विल्ड ब्याक बेटर अवधारणा अनुसार कार्यान्वयन गर्ने ।
४२. भूकम्पले नष्ट गरेका र असुरक्षित घरहरूको पुनर्निर्माणका लागि राज्यले व्यवस्था गरेको अनुदान र सहुलियत ऋण प्राप्तिका लागि सहजीकरण गर्ने ।
४३. नदी किनारमा रहेका मठमन्दिरको संरक्षणसहितको बागमती, विष्णुमती र रुद्रमती संग्रहालय निर्माणको प्रक्रिया थाल्ने ।
४४. महानगर र गोकर्णेश्वरको समन्वय/सहकार्यमा ‘'तारेभिर परियोजना'को प्रक्रिया अगाडि बढाउने ।
४५. टोखा नगरपालिकासँग समन्वय/सहकार्य गरेर टोखाका सांस्कृतिक सम्पदा संरक्षण, प्रवद्र्धन एवं झोरस्थित बाणेश्वर ‘'वाटर फल पार्क' बनाउन प्रक्रि या अगाडि बढाउने ।
४६. ललितपुर महानगर र गोदावरी नगरसँग समन्वय गरी हाल ललितपुर महानगरपालिकामा भएका शिल्पकारहरूको ‘‘नयाँ ललितपत्तनम” नामको आर्ट एण्ड क्राप्ट निर्माण प्रक्रिया सुरु गर्ने ।
४७. काठमाडौँको भित्री शहरका दक्षिणी भेगको ‘क्वःन'को ऐतिहासिक क्षेत्रलाई आवश्यक प्रक्रिया पूरा गरी जीवन्त संग्रहालय (लाइभ म्युजियम) घोषणा गर्ने ।
४८. पुरातात्विक मापदण्ड अनुसार रानीपोखरीको पुनर्निर्माण तत्काल सुचारु गर्ने ।
४९. ऐतिहासिक दरबार हाइस्कूल पुनःस्थापनाका लागि सार्वजनिक बहस गरी काम सञ्चालन गर्ने ।
५०. इन्टरनसेनल आर्ट र कल्चरल हब बनाउन सुरु गर्ने ।
५१. भद्रकाली मन्दिर परिसरको विस्तृत परियोजनाका लागि सर्वेक्षण गर्ने ।
५२. अध्ययन भइसकेको हनुमानढोका क्षेत्रमा पहिले रहेको प्रहरी कार्यालय परिसरलाई विशेष सांस्कृतिक क्षेत्रको रूपमा परिमार्जन गरी निर्माणकार्य आरम्भ गर्ने ।
५३. निश्चित समय तालिका अनुसार यातायात सञ्चालन गर्न अपाङ्ग, बालबालि कामैत्री शौचालय सुविधासहितको बस सेवा सुरु गर्ने ।
५४. कार पार्किङ मलको नीति बनाएर काम सुरु गर्ने ।
५५. 'जञ्जालमुक्त सडक सञ्जाल' कार्ययोजना सुरु गर्ने ।
५६. निर्माणाधीन चक्रपथ विस्तारको काम यथाशीघ्र सम्पन्न गर्न प्रभावकारी पहल गर्ने ।
५७. भक्तपुरको हनुमन्तेदखि कटवाल दहसम्म बागमती किनारहुँदै केवल बसको सम्भाव्यता अध्ययन सुरु गर्ने ।
५८. सम्पूर्ण ट्राफिक लाइट मर्मत गरेर सुचारु गर्ने ।
५९. ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ धुँवाधूलो न्यून गरेर ‘नो माक्स सिटी’ को अभियानबाट सञ्चालन गर्ने ।
६०. पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरी गोठाटारमा रहेको बालुवा खानीलाई व्यवस्थापन गरी ‘‘पाशुपत सरोवर” निर्माणका लागि पहल गर्ने ।
६१. काठमाडौँलाई प्लाष्टिकमुक्त बनाउन प्लाष्टिकका सामग्री व्यवस्थितरूपमा जम्मा गरेर राखेवापत महानगरपालिकाले किन्ने व्यवस्था गर्ने । कुहिने फोहरबाट जैविक मल उत्पादनका लागि महानगरपालिकाले अनुदान दिने र किन्ने व्यवस्थासमेत गर्ने ।
६२. शहरको सुन्दरता र दुर्घटना न्यूनीकरणका लागि अव्यवस्थित पोल तथा तारहरूको उचित व्यवस्थापनका लागि आवश्यक खाका तयार गर्ने ।
६३. ज्येष्ठ नागरिकका लागि घरघरमा निःशुल्क सेवाका लागि महानगरपालिकाका स्वयसेंवक परिचालन गर्ने ।
६४. विपन्न, असहाय र विभिन्न कारणले बिचल्लीमा परेका नागरिकलाई उच्चप्राथमिकतामा राख्दै आवश्यकता अनुसार आवास, स्वास्थ्य उपचार तथा परिवारसँग समन्वय गरी तत्काल उद्धारकार्य सुरु गर्ने ।
६५. राज्यको लगानी वा विभिन्न संघ–संस्थाबाट सञ्चालित, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, असहाय तथा अपाङ्गता भएका नागरिक संरक्षण केन्द्रको गुणस्तरवृद्धिका लागि अनुगमन गर्ने ।
६६. महानगरपालिका, सम्बन्धित व्यवसायीको परिवार र संघसंस्थाको समेत साझेदारीमा शहरको तरकारी बजार, कल कारखाना, शिक्षण केन्द्र, स्वास्थ्य केन्द्र नजिकै ‘‘शिशु स्याहार र बाल विकास केन्द्र” सुचारु गर्ने ।
६७. महानगरलाई दुव्र्यशनमुक्त शहर बनाउन रोकथाम र निर्मूल पार्ने योजना बनाएर काम सुरु गर्ने ।
६८. सेवानिवृत्त कर्मचारीका साथै ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्दै उहाँहरूको ज्ञान, सीप एवं अनुभवलाई जीवन्त राख्न दिवा सेवासहितको क्लब, मनोरञ्जन केद्र, स्वास्थ्य क्लब, जिम केन्द्र /व्यायाम/योगा केन्द्र, पुस्तकालय, स्वास्थ्य केन्द्र आदि सहितको सुविधासम्पन्न एकीकृत सेवा प्रदान गर्ने गरी भौतिक पूर्वाधारको व्यवस्था मिलाउने ।
६९. ‘हेल्लो मेयर क्विक रेस्पोन्स’ कार्यक्रम सञ्चालन गर्ने ।
७०. महानगरका सरकारी र सार्वजनिक ठाउँहरूलाई ‘बाउन्ड्रीलेस गार्डेन’ का रूपमा विकास गर्ने ।
७१. घर निर्माण सम्पन्न प्रमाणपत्र एक महिना भित्र प्रदान गर्ने ।
७२. महानगरपालिका भवन निर्माणको काम सुरु गर्ने ।
७३. नेपाललाई संसारको उत्कृष्ट सबै मौसममा क्रिकेट खेल्न मिल्ने स्थल बनाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहल गर्ने ।
७४. प्रेम दिवस लगायत अन्य विभिन्न दिवसको अवसर पारेर युवा जोडीलाई रचनात्मक काममा सहभागी गराउँदै सफा, सुन्दर, स्वच्छ र हरियालीसहितको नगर निर्माण गर्न विरुवा, फलफूल वा फूलहरू रोप्ने व्यवस्था मिलाउने ।
७५. छाडा जीवजन्तु तथा फोहोर मैलालगायत समस्या तत्काल समाधान गर्ने ।
७६. घरबाट निस्केको कुहिने फोहोर व्यवस्थापन गरेर जैविक मल बनाउने प्लान्ट राख्ने अनिवार्य व्यवस्था गर्ने । त्यसका लागि महानगरले प्राविधिक सीप र प्रविधिका लागि अनुदान दिने ।
७७. महानगरभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रलाई जोड्ने ‘सम्पदा–मार्ग’ को पूर्वघोषित कार्यक्रममा आवश्यक परिमार्जन गरी भ्रमण प्याकेजसहित दक्ष पथप्रर्दशकसहितको सुविधा सम्पन्न टुरिष्ट बस सञ्चालन गर्ने ।
७८. काठमाडौँ महानगर र चन्द्रागिरी नगरपालिकाको सहकार्यमा सटल बसको व्यवस्थासहितको सहिद स्मृति पार्क र पृथ्वीनारायण स्मृति सङ्ग्रहालयसहितको युवा पार्क निर्माण गर्ने ।
७९. तिनकुनेको जग्गाको समस्या समाधान गरी अत्याधुनिक पार्क निर्माण गर्न सुरु गर्ने ।
८०. अपाङ्गतामैत्री पार्क निर्माणको काम सुरु गर्ने ।
८१. ‘‘कौसी खेती तथा गार्डेन : घरघरमा जैविक तरकारी खेती”का लागि आवश्यक बाकस, मल, प्लाष्टिक टनले सहितको प्रविधिका लागि प्रोत्साहनस्वरूप अनुदानको व्यवस्था गर्ने । न्यून शुल्कमा विरुवा उत्पादनका लागि नर्सरी निर्माण गर्ने ।
८२. अव्यवस्थित र असुरक्षित भविष्यका कारण जीवनदेखिको निराशाका कारण बढ्दो मानसिक समस्याहरू रोकथाम र उपचारका लागि उचित प्रवन्ध गर्ने ।
८३. हिसांपीडित महिलाको तत्काल उद्धार र पुनव्र्यवस्थापन गर्ने ।
८४. तरकारी, फलफूल र खाद्यान्नमा विषादिको प्रयोग नियन्त्रणका लागि परीक्षण गर्ने व्यवस्था मिलाउने ।
८५. राजधानी महानगरलाई देशका सबै नपोलीको साझा ‘मैत्रीनगर’ को रूपमा विकास गर्न सात वटै प्रदेशका लागि ‘‘प्रदेश भवन” निर्माणका लागि प्रक्रिया थाल्ने ।
८६. पुरानो बसपार्कमा प्रस्तावित काठमाडौँ टावर निर्माणका सम्बन्धमा जनभावनाको कदर गर्दै काम सुरु गर्ने ।
८७. महानगरभित्रका सबै होलसेल बजारलाई यातायात सुविधासहित व्यवस्थित गर्ने ।
८८. गोंगबुँ बसपार्कको गुरुयोजनालाई परिमार्जनसहित अगाडि बढाउने ।
८९. स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न साना तथा घरेलु, मझौलास्तरका उद्योग, व्यापार–व्यवसायहरूको लगत संकलन गरी कार्ययोजना अगाडि बढाउने ।
९०. परम्परागत शिल्पी तथा व्यवसायमा आबद्ध नागरिकलाई आधुनिक प्रविधि एवं पुँजीनिर्माणमा सहजीकरण गर्ने ।
९१. मझौला तथा साना व्यवसाय सुरु गर्नेहरूलाई लगानीमैत्री विनियमहरू बनाउन सुरु गर्ने ।
९२. बागबजारमा रहेको भक्तपुर बसपार्कको नयाँ व्यवस्थापन गर्ने ।
९३. होम एड्रेसिङ प्रणालीलाई व्यवस्थित गर्ने ।
९४. डेरामा बस्ने नागरिकका लागि आवासको व्यवस्थापनलाई सहज, सहुलियतपूर्ण, स्वच्छ, स्वस्थ र सुरक्षित बनाउन आचारसंहिता लागू गर्ने ।
९५. भूकम्पप्रतिरोधी भवन निर्माणका लागि महानगरपालिकाले निःशुल्क प्राविधिक सहयोग उपलब्ध गराउन कार्यविधि तयार गर्ने ।
९६. ‘काठमाडौँ स्मार्ट सिटी जन कार्ड’ कार्यक्रम लागू गर्न कार्यदल गठन गरी यथाशिघ्र काम सुरु गर्ने ।
९७. हाइड्रोेजन फ्युलको सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न विज्ञ समूह गठन गरी कार्य सुभारम्भ गर्ने ।
९८. स्मार्ट सिटीको पूर्वाधारका लागि चाहिने महानगर बोर्डब्याङ्कको स्थापना गरी काम थाल्ने ।
९९. पत्रकारहरूका लागि सम्पूर्ण व्यावसायिक सुविधासहितको सञ्चार केन्द्रको कार्ययोजना सुरु गर्ने ।
१००. चौबिस घण्टे ‘‘जीवन्त शहर” को योजना बनाउने ।
१०१.महानगर मातहतका हरेक कार्यालयलाई आधुनिक, चुस्त, जनमैत्रीका साथै प्रविधि मैत्री कार्यालयको रूपमा स्थापित गर्दै परामर्श तथा उजुरी डेस्कलाई प्रभावकारी बनाउने ।