व्यक्तिले सार्वजनिक रूपमा गरेका काम पनि सधैँ पूर्ण हुँदैनन् । खराब नियत नराखी गरिए पनि कतिपय काम बाध्यता, सीमितता र दक्षताको अभावमा अपेक्षित हुँदैनन् । कति तत्कालीन समयमा आफैँलाई अब्बल लागेका काम पनि समयक्रमसँगै चित्त बुझाउन सकिँदैन । कति ठिकठाक मात्रै लाग्छ । रहरमा धेरै नसोची र कतिपय अवस्थामा बाध्यात्मक परिस्थितिमा काम गरिन्छ । पहिला आफैँले गरेका काममा अहिले कत्तिको सन्तुष्ट हुनुहुन्छ भनेर केही कलाकार तथा मेकरसँग जिज्ञासा राखेका छौँ ।
दीपकराज गिरी
दीपकराज गिरीलाई आफू्ले गरेको कामप्रति खासै पछुतो छैन । कारण, उनी लामो समय टेलिचलचित्रमा काम गरेर आए । फिल्म बनाउन र खेल्न पनि हतार गर्दैनन् । र पनि उनलाई एउटा कुरा भने सधैँ खट्किन्छ । त्यो हो, उनकै बानी ।
कस्तो बानी जुन आफैँलाई मन पर्दैन दीपकलाई ? उनी भन्छन्, “अलि बढी नै रियाक्टिभ छु । यो मलाई धेरैले भन्ने गरेको र म आफैँले पनि महसुस गरेको कुरा हो ।”
सिनेमा मेकिङ सम्झिँदा आफैँलाई लाज लाग्ने गल्ती गरेजस्तो नलाग्ने उनी बताउँछन् । “तर, व्यक्तिगत रूपमा कलाकार भएका हिसाबले मेरो व्यक्तित्व र इमेज कस्तो हुनुपर्थ्यो, त्यसमा चाहिँ मेरो कमजोरी रहेको म स्वीकार गर्छु,” दीपक भन्छन्, “म एकदमै रियाक्टिभ भएँ । कतै अन्याय भयो भने म चुप लागेर बस्न सक्तिनँ । कति अवार्ड समारोहमा गएर बीचमै हिँडे । म ती समारोहमा कि जानै हुँदैन थियो कि गएपछि निस्किएर हिँड्न हुँदैन थियो ।”
कलाकार र निर्माताका हिसाबले मिडियामा प्रस्तुत हुने तरिका तथा रियाक्ट गर्ने शैली अलि धेरै एग्रेसिभ भएको उनको ठम्याइ छ । “सामाजिक सञ्जालले एउटा कलाकारको छवि कस्तो बनाइदिन सक्छ, मलाई थाहा छ । तर पनि यसमा मैले मेरो कमजोरी भेटेको छु,” दीपक भन्छन्, “मेरो प्रोडक्टभन्दा पनि मेरो व्यक्तित्वमा, शैलीमा कमजोरी देखेको छु ।”
भलै, यसमा आफूले महसुस गरेर रियाक्ट गरिहाल्ने स्वभाव परिवर्तन गर्ने प्रयास गरिरहेको उनी बताउँछन् । दीपक कसैले सामाजिक सञ्जालमा केही लेख्यो वा सञ्चारमाध्यममा केही आयो र आफूलाई चित्त बुझेन भने सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया जनाइहाल्छन् । उनको यो स्वभावलाई कतिले ‘छुद्र’ भनि टिप्पणी गर्छन् ।
दीपेन्द्र के खनाल
निर्देशक दीपेन्द्र के खनाललाई आफूले निर्देशन गरेका दुईवटा चलचित्र किन गरेँ भन्ने कुराले लामो समय पिरोल्यो । ‘युगदेखि युगसम्म’ र ‘धर्मा’ बनाउँदा सम्झौता गर्नु हुँदैन थियो भन्ने निष्कर्षले दीपेन्द्रलाई बेचैन बनायो ।
वर्ल्ड सिनेमा हेरेर त्यसबाट प्रभावित भएका उनी त्यस्तै चलचित्र बनाउन चाहन्थे । तर, नेपालमा बम्बइया फर्मुलामा चलचित्र निर्माण भइरहेका थिए । दीपेन्द्र त्यसलाई चिर्दै आफ्नै कलात्मक चलचित्र बनाउन थाहन्थे । त्यहीअनुसार उनले कथा लेखे । ‘युनिटी ब्यान्ड’लाई लिएर चलचित्र बनाउने तयारी गरे ।
तर, चलचित्र वितरकले उनको कथा हेरेर ठाडै अस्वीकार गरे । राजेश हमाललाई लिएर हामीले भनेअनुसार बनाउने हो भने चलचित्र रिलिज हुन्छ, अन्यथा वितरण गर्न सकिँदैन भने ।
चलचित्र बनाउने उत्साहले आएको, बनाउनैपर्यो । उनले कथा मोडिफाइ गरे । युनिटीलाई बिर्सिदिए । राजेश हमाललाई लिएर चलचित्र बनाए । यो चलचित्र बनाएको चार वर्षपछि काठमाडौंमा रिलिज भएको थियो ।
‘धर्मा’को समय पनि त्यही हो । सूत्र हिन्दी सिनेमाकै थियो । फरक केही गर्छु भन्नेलाई वितरकको डे–वानदेखिको हस्तक्षेपले हायलकायल बनाउँथ्यो । लतारिएर वितरकको योजनामुताबिक काम गर्नुपर्थ्यो । ‘धर्मा’मा पनि दीपेन्द्रले सम्झौता गरे ।
जापान गएर गरेको चलचित्रको अध्ययन र उत्साहअनुसार उनले कलात्मक चलचित्र बनाउन पाएनन् । पछि उनलाई पश्चात्ताप भयो । “मैले मेरै तरिकाले मैले भनेअनुसारको चलचित्र बनाउन नपाउँदा पनि किन यी चलचित्र निर्देशन गरेँ ?,” उनले आफैँलाई प्रश्न गरे, “मैले हतार गरेर गल्ती गरेँ । मैले मेरो इच्छाअनुसार जबसम्म चलचित्र बनाउन पाउँदिन थिएँ । त्यो बेलासम्म गर्नु हुँदैन थियो ।”
चलचित्र कलाको विधा हो र कलामा सम्झौता होइन, आफ्नो स्वतन्त्रता प्रस्तुत गर्न सक्नुपर्छ भन्ने अडानमा बस्नुपर्छ भन्ने कुराले उनलाई लपेटिरह्यो ।
तर, जब उनले आफूले सोचेजस्तै अरु चलचित्र गरे, त्यस बेला उनले सम्झौता, अभाव र दबाबमा गरेको संघर्षले आफूलाई थप बलियो बनाएको महसुस गरे । र, त्यसलाई पश्चात्तापभन्दा पनि सिकाइको समय र संघर्षको एक चरणको रुपमा बुझ्न थाले ।
राजेश हमाल
राजेश हमाललाई दुईवटा चलचित्रप्रति सन्तुष्टि छैन । कारण, राम्रो हुन्छ भनेर गरेको तर सफलता पाउनुको सट्टा उल्टै किन त्यस्तो चलचित्रमा काम गरेको ? भन्ने प्रश्नको सामना गर्नुपर्यो । समयसापेक्ष चलचित्र बनाउने भनिए पनि अन्ततः त्यस्तो नभएकाले राजेश ती चलचित्रबाट सन्तुष्ट हुन नसकेका हुन् ।
“सो कल्ड अहिलेको समयसापेक्ष चलचित्र बनाउने भन्ने हेतुले टिम जुटेको थियो । तर, त्योअनुसार हुन सकेन,” राजेश भन्छन्, “त्यसपछि अब बदलिँदो समयानुसार छनोट गरेर चलचित्र गर्नुपर्छ भन्ने निर्णयमा म पुगेँ ।”
विगतका दिनमा सामाजिक विषयवस्तुमा चलचित्र बन्ने र करिब–करिब आफ्नो भूमिका निर्धारित हुने गरेको त्यसक्रममा केही चलचित्र बन्दाबन्दै राम्रो बन्ने, तर केही चलचित्र कम्प्रमाइज गर्दागर्दै स्क्रिप्टमा लेखिएजस्तो राम्रो नबन्ने गरको उनी बताउँछन् ।
“तर, जब मैले शकुन्तला र वाग्मतीमा काम गरेँ, त्यसपछि मलाई अब मैले समयसापेक्ष, मेरो उमेर, मेरो अवस्था सुहाउँदो विषयवस्तुको चलचित्र गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेँ,” राजेश भन्छन्, “नत्र अब खाली चलचित्र गर्नका लागि मात्रै यो पात्र, त्यो पात्र भनेर खेल्नु उचित हुँदैन ।”
कमब्याकका रूपमा हेरिएका दुई चलचित्रबाट तारिफको सट्टा किन त्यस्ता चलचित्रमा ? भन्ने प्रश्न सामना गर्नुपरेपछि उनी ती चलचित्र नगरेकै भए हुने थियो भन्ने निष्कर्षमा पुगेका हुन् । तिनै चलचित्रले राजेश अब केवल संख्या बढाउने र पारिश्रमिक लिनका लागि मात्रै चलचित्र गर्नु हुँदैन, समयसापेक्ष कथा भन्ने चलचित्रमा मात्रै काम गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हुन् । ती दुई चलचित्रपछि उनले फिचर फिल्ममा काम गरेका छैनन् ।
निश्चल बस्नेत
निश्चल बस्नेतलाई आफू्लाई गरेको काममा पश्चात्ताप नै त छैन । “मैले अहिलेसम्म गरेका काममा योचाहिँ नगरेको भए हुने थियो भन्ने त केही पनि लागेको छैन । मलाई इच्छा लागेर र त्यो समयका लागि राम्रो लागेर मैले गरेको प्रयास हो, चाहे मैले निर्देशन, अभिनय वा निर्माण गरेको काम होस्,” निश्चल भन्छन्, “मलाई केही न केही राम्रो लागेर, योचाहिँ उत्कृष्ट बन्छ भनेर नै गरेको काम हो । भलै, कुनै सफल भयो होला, कुनै असफल भयो होला ।”
तर, समय बित्दै जाँदा आफूले गरेका काममा केही कमजोरी भने उनले देखेका छन् । नजानेरै होस् अथवा बाध्यताले गरेका केही काम अहिले त्यसो नगरेको भए पनि हुने थियो भन्ने लाग्ने गरेको तर ठूलो कमजोरी नै चाहिँ गरेँ भन्ने महसुस नगरेको बताउँछन् ।
“आफ्नो कामको समीक्षा गरेर त्यसमा कमजोरी भेट्टाउन धेरै समय लाग्दो रहेछ । केही दिनपहिला टेलिभिजनमा टलकजङ भर्सेस टुक्ले आउँदा मैले हेरेको थिएँ । मैले डिसेन्ट फिल्म बनाएको रहेछु भन्ने लाग्यो,” निश्चल भन्छन्, “तर, केही चिज मिलाएको भए अझै राम्रो हुनेरहेछ भन्नेचाहिँ लाग्यो । यो चलचित्रमा जब दया (दयाहाङ राई) दाइ आएपछि सहरको पोस्चरलाई त्यति धेरै स्पेस नदिएको भए हुन्थ्यो भन्ने लाग्छ । दया दाइ नभएको भए त्यो क्यारेक्टरले त्यति स्पेस पाउँदैन थियो ।”
टुल्केले सहरबाट के सिकेर गयो भनेर देखाउनु थियो । वास्तवमा उसले गुह्य कुरा केही सिकेको छैन । ठाँटिएर हिँड्यो भने मान्छेले जिउहजुरी गर्छन् र ठूलो स्वरले करायो भने थर्किन्छन् भन्ने मात्रै उसले सहरबाट बुझेर गाउँ फर्किन्छ र यो दयाबाट सिक्छ भनेर त्यो पोस्चर देखाइएको छ । तर, यो अलि लामो भयो भन्ने उनले अहिले महसुस गरेका छन् ।
“क्लाइमेक्समा विद्रोही र सरकारी सुरक्षा फौजबीच भएको लडाइँ मैले सिम्बोलिक रूपमा देखाउन मैले साउन्डमा धेरै खेल्न खोजेँ,” उनी भन्छन्, “त्यसमा साँच्चै लडाइँ हुँदा कति डरमर्दो हुन्छ भनेर मैले दुई पक्षबीचको लडाइँ नै देखाएको भए अझै पावरफुल हुन्थ्यो कि भन्ने लाग्छ ।”
‘लुट’ अहिले हेर्दा जबर्जस्ती तन्काएर लामो नबनाएको भए हुन्थ्यो भन्ने उनलाई हुन्छ । तर, त्यो समय चलचित्र भनेको साढे दुई घण्टाकै हुनुपर्छ भन्ने थियो । त्योभन्दा छोटो त चलचित्र नै हुँदैन भनिन्थ्यो ।
“लुट जम्मा एक घण्टा ५५ मिनेटको थियो । त्यो पनि तन्काएर अगाडि र पछाडि नाम थपेर । बीचमा गीत घुसाएर तन्काइएको छ । स्क्रिनप्ले काट्ने ठाउँ हुँदाहुँदै लामो पार्नकै लागि काटिएन,” उनी भन्छन्, “छोटो फिल्म भएपछि यसलाई मान्छेले फिल्म नै भन्दैनन् भनेर माधव (वाग्ले) दाइले भन्नुभएको थियो । त्यो बेलाको सोचअनुसार जबर्जस्त तन्काएर दुई घण्टा पुर्याएको हो ।”
त्यो बेला आफूसँग चलचित्रबारे धेरै ज्ञान नरहेको र भएको टाकनटुकन ज्ञानलाई समेटेर ‘लुट’ बनाएकाले त्यसमा सच्याउने ठाउँ रहेको उनी बताउँछन् । “तर, त्यही फिल्मलाई लिएर मान्छेले विभिन्न विचार र धारणा राख्न थालेका थिए । जुन मैले सोचेभन्दा फरक हुन्थ्यो, त्यो बेला मैले त्यसरी सोचकै पो थिइँन भन्ने लागेको थियो,” उनी भन्छन् ।
करिष्मा मानन्धर
लामो समय नेपाली चलचित्र उद्योगमा आफ्नो एकल वर्चस्व कायम राखेकी नायिका हुन्, करिष्मा मानन्धर । राजेश हमाललाई जस्तै आफ्नो चलचित्रमा लिन प्रोडुसरहरु करिष्मालाई लामो समय कुर्थे ।
बजारमा उनको माग थियो । दर्शकमा उनी लोकप्रिय थिइन् । त्यो समय उनले भनेको निर्माताहरु मान्न तयार थिए । तर, उनले त्यसो गरिन् ? करिष्मा स्वयं भन्छिन्– गरिनँ । त्यही त मेरो कमजोरी भयो ।
“हामी सधैँ निर्देशित भयौँ । निर्देशकले गरेको निर्देशनानुसार काम गर्यौँ । चलचित्र भनेको टिमवर्क रहेछ । त्यति बेला मैले त्यसमा ध्यान दिइनँ,” उनी भन्छिन्, “अहिले जसरी चलचित्रमा टिमवर्क हुन्छ, सुरुको समयमा हुन्थ्यो होला, तर बीचमा भएन । हो, त्यहाँ मैले किन हस्तक्षेप गरिनँ भन्ने अहिले लाग्छ ।”
चलचित्रमा जे हुनुपर्ने हो, त्यो भइरहेको छैन भन्ने थाहा हुँदाहुँदै पनि मौन हुनु नै त्यो समय आफ्नो गल्ती भएको उनी अहिले निष्कर्ष निकालिरहेकी छन् । “मलाई थाहा थियो भने त्यो बेला मैले बोल्न सक्नुपर्थ्यो,” उनी भन्छिन्, “यति धेरै व्यस्त भएर प्रोडक्टिभ काम गर्न सक्दैनौँ भन्ने पनि थाहा थियो । त्यसैले हरेक वर्ष चलचित्र निर्माण गर्ने निर्मातालाई मैले कम्तीमा एउटा चलचित्रचाहिँ विषयप्रधान बनाऊँ है भनेर भन्न सक्थेँ । तर, भनिनँ । त्यो गरेको भए सायद त्यही समयदेखि अहिले हामीले बहस गरिरहेका जस्ता चलचित्र बन्ने थिए ।”
खगेन्द्र लामिछाने
खगेन्द्र लामिछानेलाई चलचित्र क्षेत्रमा आफूले पछुताउने गरी त केही गरेजस्तो लाग्दैन, तर राम्रो गर्न सकिने हुँदाहुँदै पनि केही काममा कमजोरी भएको महसुस हुन्छ ।
चलचित्र ‘धनपति’को क्लाइमेक्सको सिन केही कमजोर भएको बताउन उनी हिचकिचाउँदैनन् । नारा–जुलुस, सडक अवरुद्ध र गाडी जलाउने सिन थियो । त्यो केही कमजोर भएको उनी बताउँछन् ।
“काम गर्दागर्दै हामीलाई त्यो फिल भएको थियो । क्लाइमेक्सको सिन भनेजस्तो दिन सकिएन भन्ने पनि भएको थियो । भीएफएक्सका लागि इन्डिया पठाउने कि भनेर हिसाब–किताब पनि नभएको होइन । तर, पाँच मिनेटको सिनका लागि ५० लाख खर्च लाग्ने भएपछि हामी पछि हट्यौँ,” खगेन्द्र भन्छन्, “चलचित्रको क्लाइमेक्स सिन कथा राम्रो भएर पनि दृश्यमा देखाउन नसकिने भयो, यो चलचित्र नै ड्रप गरेर अर्कै प्रोजेक्टतिर लागौँ कि भन्ने पनि निर्देशक दीपेन्द्र के खनाल र मेरो कुरा भएको थियो । तर, कथा राम्रो भएको र धेरै काम सकिइसकेकाले हामीले काम अगाडि बढाएका थियौँ ।”
कमर्सियल चलचित्र ‘जय भोले’मा गरेको कामलाई लिएर कतिले आलोचना गरे पनि खगेन्द्र आफू अभिनेता भएका नाताले आर्ट र कमर्सियल दुवै चलचित्रमा काम गर्नु आफ्नो धर्म भएको बताउँछन् । आफूले बनाएका चलचित्र भने व्यावसायिक प्रयोजनका लागि मात्रै नहुने उनी स्पष्ट पार्छन् ।