site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए महाधिवेशन प्रतिनिधिका निम्ति झन्डै ३२ सय आवेदन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका निम्ति उच्चस्तरीय समितिले तोकेको मिति वैशाख ९ गते (२२ अप्रिल २०२५ राति ११ः५९ सम्म) संघको वेबपोर्टलमार्फत डेलिगेट बन्न तीन हजार १८१ जनाले आवेदन दिएको समितिले जनाएको छ  ।

समयभित्र प्राप्त सबै आवेदनको हाल समीक्षा प्रक्रिया तीव्र गतिमा जारी रहेको समितिद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। 

Argakhachi Cement Island Ad

प्रारम्भिक जाँचका क्रममा कुनै आवेदकको कागजात अपूर्ण वा अस्पष्ट भेटिएमा २४ घण्टाभित्र आवश्यक प्रमाण पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिने र समयमै प्रमाण नपुर्‍याएमा सो आवेदन स्वतः अमान्य हुने विज्ञप्तिमा स्पष्ट पारिएको छ । 

सम्पूर्ण प्रमाणीकरण प्रक्रिया वैशाख १३ गते (२५ अप्रिल २०२५) भित्रमा सम्पन्न गर्ने तयारी गरिरहेको समितिले जनाएको छ। आवेदन दर्ता गरिसकेका र डेलिगेट्स शुल्कस्वरूप एक सय अमेरिकी डलर बुझाइसकेका आवेदकलाई उक्त रकम जम्मा गरेको प्रमाण तुरुन्त पठाउन पनि समितिले अनुरोध गरेको छ ।

प्रमाणीकरण भई शुल्क तिरेका डेलिगेटले  मात्र महाधिवेशनमा भाग लिन तथा उम्मेदवारी दिन पाउने समितिले प्रस्ट पारेको छ । 

एकता महाधिवेशनप्रति देखिएको अभूतपूर्व चासो, सहभागिता र समर्थनप्रति संघले आभार प्रकट गरेको छ ।

महाधिवेशनको मिति र कार्यक्रमबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिने पनि समितिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्