-1744985963.jpg)
काठमाडौं । नेपाल शिक्षक महासंघले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध आन्दोलन जारी रहेको बताएको छ ।
अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध आन्दोलन लक्षित रहेकाले आन्दोलनरत शिक्षकलाई सोहीअनुसार प्रस्तुत हुन महासंघले आग्रह गरेको छ ।
“हाम्रो लडाईं राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति अमैत्री र हेपाहा चरित्रसँग छ,” महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।”
उनले आन्दोलनरत शिक्षकहरूलाई अनुशासित र संयमित व्यवहारसहितको सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।
आन्दोलनमा सहभागी हुन आएका शिक्षकलाई आन्दोलनस्थलमा पूरा अवधि (११ देखि २ बजेसम्म) रहन अध्यक्ष सुवेदीको अनुरोध छ ।
“पसल अघि मोटरसाइकल पार्किङ गरिदिएर आफूहरू समस्यामा परेको गुनासो आन्दोलनको विरोधसभास्थल वरिपरिका व्यापारीको छ । यसमा विचार गरिदिनुहोला,” सामाजिक सञ्जाल फेसबुकमा सुवेदी लेख्छन्, “आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरूपले प्राप्त हुनेछन् । त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ ।”
सुवेदीले सडकको सफाइ, दुबो र बोटविबरुवाको सुरक्षाप्रति जिम्मेवार हुन आग्रह गर्दै जेब्राक्रसबाहेक अन्य ठाउँबाट सडक वारपार नगर्न पनि सचेत गराएका छन् ।