site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुर्गा प्रसाईंको बयान : ... अनि प्रहरीमाथि गाडी चलाएँ 
फाइल तस्बिर

काठमाडौं । चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद धवलशसशेर राणा थुनामुक्त भए ।

क्यान्सरपीडित राणाको फलोअपका लागि भारत जानुपर्ने भएकाले उनलाई प्रहरीले उपचारका लागि थुनामुक्त गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले राणालाई आइतबार साँझ हाजिर जमानीमा थुनामुक्त गरेका हुन् । 

उनीसँगै पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र भने प्रहरीकै थुनामा छन् । उनीहरु दुवैजना १५ चैतको साँझ पक्राउ परेका थिए । पूर्वपञ्ज नवराज सुवेदी संयोजक रहेको राजसंस्था पुनस्र्थापना समितिले जनआन्दोलनको नाम दिएर प्रदर्शन थालेका थिए । 

जनप्रदर्शनका कमान्डर भने विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका थिए ।  दुर्गा प्रसाईंले नै नेतृत्व गरेको प्रदर्शन अराजक बनेपछि प्रदर्शन नियन्त्रण गर्न प्रहरीले सयौँ गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो ।  त्यस्तै प्रदर्शनकारीले तीनकुनेस्थित प्रेम श्रेष्ठको घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो ।  सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर करिब एक सयजना घाइते भएका थिए । 

दर्जनौँ निजी घर र कार्यालयमाथि प्रदर्शनकारीले आगजनी गरेका थिए । सोही अभियोगमा प्रहरीले ८४ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । प्रहरीले उनीहरुको भूमिका हेरेर राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योग तथा कर्तव्य  ज्यान मुद्दामा समेत अनुसन्धान गर्ने तयारी गरेको छ । 

यसरी तीनकुने प्रदर्शनमा अराजक र उत्पात मच्चाएको आरोपमा पक्राउ परेका राणा, मिश्र र दुर्गा प्रसाईं सबैभन्दा माथिल्लो तहका थुनुवा हुन् । प्रहरीले प्रसाईंलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ ।

प्रसाईंलाई पनि जिल्ला प्रहरी परिसरको हिरासतमै राखिएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले बयान लिने काम थालिसकेको छ ।  पक्राउ परेका अन्य अरोपीको बयान सुरु गरिए पनि दुर्गा प्रसाईंको हकमा भने प्रारम्भिक सोधपुछ मात्रै भएको छ ।

अन्य आरोपीहरुको बयान सकिएपछि मात्रै दुर्गा प्रसाईंको बयान लिन थालिने प्रहरीको तयारी छ ।  अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सबैको बयानका आधारमा प्रश्न तयार पारेर दुर्गाको बयान लिइने तयारी छ ।

अहिले प्रसाईंसँग प्रारम्भिक बयान भने भइसकेको छ । 

ती अधिकारी भन्छन्, ‘‘प्रदर्शनका मुख्य कमान्डर नै दुर्गा हुन् । उनकै कमान्डमा प्रदर्शन अराजक बनेको छ । पूर्वनियोजित पनि हुन सक्छ । पक्राउ परेका अन्यको बयानका आधारमा उनीमाथि बयान हुन्छ ।’’ 
प्रदर्शनको अघिल्लो राति केही युवाहरुलाई दुर्गा प्रसाईंले गोप्य प्रशिक्षण समेत दिएको प्रहरीको दाबी छ ।

उनीहरुमाथि संगठित अपराध मुद्दा चलाइएको कारण प्रहरीले ६० दिन थुनामा राखेर अनुुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।  अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार मिश्र र राणाले प्रदर्शनमा अराजकता मच्चाएर व्यक्तिको ज्यान लिने कुनै उद्देश्य नरहेको इन्कारी बयान दिएका छन् ।

‘‘बयानका क्रममा मिश्र र राणाको भनाइ लगभग एकै देखिन्छ,’’ उनीहरुको बयानलाई उद्धृत गर्दै ती अधिकारी भन्छन्, ‘‘प्रदर्शन राजसंस्था पुनस्र्थापनाका लागि गरिएको थियो । आगजनी र मान्छे मार्ने उद्देश्यले गरिएको होइन । दुर्भाग्य भयो । यसमा राज्यको भूमिका पनि उत्तिकै छ ।’’

दुर्गा प्रसाईंले भने प्रहरीको प्रारम्भिक बयानमा समेत आफू जसरी पनि राजसंस्था पुनस्र्थापना गरी छाड्ने दाबी गरिरहेका छन् ।  उनले पनि प्रदर्शनमा अराजकता मच्चाउने र मान्छे मार्ने नियत आफूहरुको नभएको इन्कारी बयान दिएका छन् । 

तर, आफ्नो कार्यक्रम सञ्चालन हुनुपूर्व नै प्रहरीले स्टेजमा अश्रुग्यास प्रहार गरेपछि भने सहन नसकेको जिकिर गरेका छन् ।

उनले प्रहरीलाई भनेका छन्,‘‘मेरो पनि प्रहरी दाजुभाइ मार्ने उद्देश्यले गाडी त्यसरी चलाउने कुनै योजना होइन । तर, स्टेजमै अश्रुग्यास हानेपछि भने असैह्य भयो । भित्रबाट नै रिस उठ्यो, अनि गाडी त्यसरी हुँइकाएको हुँ । तर, मैले राजा त ल्याएरै छोड्छु । बरु मेरो सबै सम्पत्ति नै सकियोस् । म यो आन्दोलन रोक्नेवाला छैन ।’’

हिरासतमा समेत दुर्गामा कुनै हिनताबोध र डरको भावना नरहेको प्रहरी कर्मचारी बताउँछन् ।  उनलाई अन्य थुनुवा राखिएको कोठामै राखिएको छ । मिश्रलाई भने अर्को छुट्टै कोठा छ । हिरासत कक्षभित्र मिश्र र प्रसाईंको भने भेट हुँदैन ।

उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुईपल्ट म्याद पाएको थियो ।  पहिलो पटक पाँचदिनको म्याद पाएको प्रहरीले दोस्रोपल्ट चैत २४ मा भने १५ दिनको म्याद पाएको थियो । प्रसाईंलाई सोही म्याद मिलान गरेर १२ दिनको म्याद दिएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro