काठमाडौं । चलचित्रकर्मीहरुले नेपाली सञ्चारमाध्यमले आर्टलाई उचित स्थान नदिएको बताएका छन् । कलालाई नेपाली सञ्चारमाध्यमले कहिल्यै पनि प्राथमिकतामा नराखेको उनीहरु बताउँछन् । मनोरञ्जनको माध्यम मात्रै ठान्ने र आर्टलाई नजरअन्दाज प्रायः गर्ने गरिएको उनीहरुको गुनासो छ ।
नायक निखिल उप्रेती यसलाई ‘विकेको मानसिकता’को उपजको सज्ञा दिन्छन् । नेपालमा अझै पनि नेपाली कलाकारकाभन्दा बलिउड कलाकारका ठूलठुला होर्डिङबोर्ड लाग्ने गरेको बताउँछन् । यही कारण माधुरी दीक्षितले नेपाललाई भारतको प्रान्त हो भनेको निखिलको भनाइ छ । “उनले एयरपोर्टबाट बाहिर निस्किनबित्तिकै अमिताभ र साहरुख खानका ठूलाठूला होर्डिङबोर्ड लागेको देखिन् । एयरपोर्टमा पुगेका मिडिया हिन्दी भाषामा उनलाई प्रश्न गरे । होटेलमा पुगेर टेलिभिजन हेर्दा अधिकांश हिन्दी च्यानल देखिन्छ,” निखिल भन्छन्, “त्यही भएर उनले नेपाललाई भारतको प्रान्त भनिन् । नेपालमा अझै पनि नेपाली कलाकारभन्दा भारतीय कलाकारकै ठूला होर्डिङबोर्ड लागिरहेका छन् । किन भनेर सोधियो भने नेपाली कलाकारभन्दा भारतीय कलाकार नै धेरै खोजिन्छ, हेरिन्छ भनेर स्पष्ट जवाफ आउँछ । यो विकेको मानसिकता हो । ब्यापारिक घरानामात्रै होइन ठूला मिडिया हाउस पनि त्यही नै हो ।”
आफ्नो पनलाई होच्याउने प्रवृत्ति मिडियामा पनि रहेकाले भारतीय चलचित्रलाई प्राथमिकता दिने सञ्चारमाध्यमले नेपाली चलचित्र र यसका समाचारलाई प्राथमिकता नदिएको उनको धारणा छ ।
नेपाली मिडियालाई अर्काको सामग्री मात्रै मनपर्ने गरेको निखिलसँगै थुप्रै दृस्टान्त छन् । “मैले कुनै समय एउटा त्यस्तो स्टन्ट गरेको थिएँ, जुन निकै रिस्की थियो । १२–१५ फिट हाइटमा मोटरसाइकल उडाएर होर्डिङबोर्ड फोडेको थिएँ । त्यो समय ग्राफिक्स थिएन । त्यसैले आफैं कन्सेप्ट बनाएर गरेँ,” निखिल भन्छन्, “त्यो स्टन्टबारे पत्रिकामा आउनै पर्छ, लेखिनै पर्छ भन्ने मेरो मान्यता होइन, किन भने त्यो मेरो ठूलो कुनै काम होइन मुख्र्याइँ नै थियो, किन भने थोरै कमजोरीले मेरो लाइफ ड्यामेज पनि हुनसक्थ्यो । मेरो चित्त दुखेको त्यहाँ हो, मिडिया आएका थिए र पनि त्यो स्टन्टबारे कतै पनि आएन । तर, यो देशका ठूला भनिएका मेन स्ट्रिमका डेली पेपरहरुले ऋतिक रोशनले कुनै एक कफीसपमा कसैसँग बसेर कफी पिइरहेको फोटो त्यसको भोलिपल्टको पहिलो पृष्ठको एयर प्यानलमा प्रकाशित गरे ।”
कुनै प्रसंग नै नरहेको ऋतिकले कफी खाँदै गरेको तस्बिर छाप्ने मिडियाले आफ्नै कलाकारले जीवन जोखिममा राखेर दिएको स्टन्टलाई नजरअन्दाज गरिनुले नेपाली सञ्चारमाध्यमको रोजाइ के र कहाँ छ भन्ने स्पष्ट पार्ने निखिल बताउँछन् ।
“म मेरो र चलचित्र क्षेत्रको मात्रै कुरा गर्दिन । डा. सन्दुक रुइतले भारतकै प्रसिद्ध पद्यमश्री पुरस्कार पाउँदा एक कोलममा सीमित पारिदिने हाम्रा मिडियाले बलात्कार मुद्दामा जेल परेर कृष्णबहादुर महरा छुट्दा कुन पेजमा कति स्पेस दिए ?”, निखिल भन्छन्, “महरा ठूलो राजनीतिक क्रान्ति सफल पारेर जेलबाट छुटेका थिए ? सन्दुक रुइतले कुनै अपराध गरेका थिए ।”
पछिल्लो समय फाइदा छ भने समाचार बनाउने, होइन भने नबनाउने प्रवृत्ति धेरै भएको निर्देशक निश्चल बस्नेत बताउँछन् । न्यु मिडियाले भिडियो र अडियोसहित समाचार दिएर पुराना सञ्चारमाध्यमलाई ‘च्यालेन्ज’ गर्न थालेको उनको भनाइ छ । पाठक, दर्शक वा स्रोतासम्मको ‘रिच’का हिसाबले पनि न्यु मिडियाले च्यालेन्ज गरिरहेको उनी बताउँछन् ।
“समीक्षक र कोही मेकरले आर्टिकल लेखेको अवस्थामा मेन स्ट्रिममा राम्रो कभरेज हुने र फिल्मलाई लिएर भने मेन स्ट्रिम न्युज बन्दैन,” निर्देशक निश्चिल भन्छन्, “फिल्मसँग सम्बन्धित फ्रन्टमा समाचार कोही ठूलो चलचित्रकर्मी बित्यो भने श्रद्धाञ्जलीको मात्रै आउँछ ।”
कुनै पनि क्षेत्रको विकासका लागि सञ्चारमाध्यमको पनि दायित्त्व भएको तर कला क्षेत्रको विकासका लागि नेपाली सञ्चारजगतले खासै भूमिका नखेलेको उनी बताउँछन् । “आर्ट र त्यससँग सम्बन्धित व्यक्तिले गरेको राम्रो काम फ्रन्टप्रेजको हेडलाइन किन बन्न सक्तैन ?”, निश्चल प्रश्न गर्छन्, “राजनीतिक खिचातानी र भाषणबाजी मात्रै नेपाली पत्रकारिताले प्राथमिकता दिएको कति भयो ? नेपाली आर्टको राम्रो पक्ष मात्रै आउनुपर्छ भन्ने छैन । स्वस्थ आलोचना नै आओस्, तर ठूला मिडिया हाउसबाट आउँदा रचनात्मक आलोचना आउने भएकाले त्यसले फिल्ममेकरलाई सहयोग नै हुन्छ । त्यसले आम जनतालाई पनि बुझ्न सजग गराउँछ ।”
यसो गर्न सकिए समग्र कला क्षेत्रप्रतिको बुझाइमा नै परिवर्तन आउने उनको विश्वास छ । विकाउ समाचारमा मात्रै ध्यान नदिन उनको सुझाव छ । “ब्लोअप मात्रै कलाकारिता र चलचित्र होइन । आखिर रिचका लागि ठूला सञ्चारमाध्यमले पनि सस्तो मनोरञ्जनलाई नै बेचिरहेका छन्,” निश्चल भन्छन्, “फिल्मको समाचार कहाँ आउँछ भन्दा पछाडितिरको कुनै भित्री पेजमा रंगसंसार, रंगमञ्च भनेर केही बिकाउ समाचार हुन्छन् । त्यही मात्रै हो चलचित्र र चलचित्र पत्रकारिता ? यसभित्र गम्भीर विषय र कुराहरु छैनन् ?”
कलालाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन ल्याउन सञ्चारमाध्यमले सन्तोषजनक भूमिका निर्वाह गर्न नसकेको उनी बताउँछन् । विश्वका विकसित देशमा कलालाई उच्च प्राथमिकता दिने गरिएको भन्दै निश्चल युरोपमा आर्टिस्टिक भ्यालु भएका कुराहरुलाई प्रश्रय दिने गरेको तर नेपालमा भइरहेको कुरालाई वास्तै नगर्ने गरेको बताउँछन् ।
नायिका करिष्मा मानन्धर आफूले आजसम्म मेनस्ट्रिम मिडियामा चलचित्र अथवा कलालाई लिएर सम्पादकीय विरलै देखेको बताउँछिन् । मेनस्ट्रिमका परिशिष्टांकहरुमा कहिले कतै–कतै ग्ल्यामराइज गरेर स्पेस दिए पनि यसलाई गम्भीर रुपमा सञ्चारमाध्यमले नलिने गरेको उनको टिप्पणी छ ।
“पत्रिकाहरुका साप्ताहिकहरुमा तस्बिर राखेर ग्ल्यामराइज गरेर आउने गरे पनि मिडियाहरु चलचित्र र कलालाई लिएर गम्भीर भएको म देख्दिनँ,” करिष्मा भन्छिन्, “यति धेरै लगानी भएको र यति धेरै मान्छे आबद्ध भएको क्षेत्र, त्यसमा पनि देशको कला, संस्कृति, संस्कार र साहित्यसँग जोडिएको क्षेत्रलाई किन सञ्चारमाध्यमहरुले नजरअन्दाज गरिरहेका छन् ?”
यो क्षेत्रका गम्भीर विषयमा प्रवेश गरेर यसका सकारात्मक र नकारात्मक दुवै पाटालाई केलाएर लेखिएको अवस्थामा चलचित्रकर्मीले पनि बुझ्ने र आफूलाई सुधार्ने मौका पाउने उनी बताउँछिन् ।
“अध्ययन तथा अनुसन्धान गरेर लेखिएका सामग्रीहरु पढेर आफूलाई सच्याउन पनि सकिन्छ । तर, सञ्चारमाध्यमले त्यो गरेनन्,” करिष्मा भन्छिन्, “सामान्यता चलचित्र पत्रकारितामा जे चल्दै आएको थियो, त्यसैलाई मेनस्ट्रिम मिडियाले पनि फलो गरे । तर, यो सही र यो गलत भनेर कसैले पनि लेखेनन् ।”
समाजका हरेक पक्ष अगाडि बढ्न त्यसका सकारात्मक र नकारात्मक पक्ष केलाएर औँल्याउने काम सञ्चारजगतको भए पनि त्यो नेपालमा खट्किरहेको उनको गुनासो छ । भलै, केही अनलाइन सञ्चारमाध्यमहरुले भने चलचित्रका गम्भीर विषयलाई उठान गरिरहेको उनी बताउँछिन् ।
“कसैले कुनै विषयमा लेख्छन् भने त्यो सामग्री सम्बन्धित क्षेत्रका व्यक्तिले पढ्छन्, मनन् गर्छन् र आफूलाई सुधार्छन् होला । चलचित्र क्षेत्रमा त्यो आजसम्म भएकै छैन,” उनको गुनासो छ, “हामी विभिन्न विषयमा बोल्छौँ, तर त्यसलाई गहन रुपमा पनि लिइँदैन । यिनीहरुलाई चलचित्रबाहेक अरु केही थाहा छैन भन्ने दृष्टिकोण छ ।”