काठमाडौं । नेपालमा त्यस्ता चलचित्रको संख्या कति होला जसमा नायिका नहुन् ? सायदै होलान् यस्ता चलचित्र । जहाँ नायक छन्, त्यहाँ नायिका पनि छन् । यो त भयो उपस्थितिको कुरा । तर, सान्दर्भिकता त्यहाँ हुन्छ, जहाँ नायकजत्तिकै नायिका पनि सशक्त हुन्छिन् ।
तर, के नेपाली चलचित्रले नायकलाई जति नै ठाउँ दिएको छ नायिकाहरुलाई पनि ?
‘राजेश हमालसँग म चलचित्रमा छु भने समाजमा महिला पीडित भए भने राजेशजी नै आएर उनीहरुको रेस्क्यू गर्नुहुन्थ्यो,’ केही समयअगाडि काठमाडौंमा आयोजित नेपाल इन्टरनेसनल फिल्म फेष्टिभल (निफ)मा नायिका करिष्मा मानन्धरले राखेको विचरको एउटा अंश हो यो । उनको यो भनाइको तात्पर्य थियो– के ती पीडित महिलाहरुको उद्धार गर्न म सक्तिन थिएँ र राजेश हमाल नै चाहियो ?
उनको यो भनाइको अर्थ हो, कथाले नै नायिकालाई कम आँकिरहेको छ । करिष्माको यो भनाइले नेपाली चलचित्रले नायिकालाई सशक्त पात्रका रुपमा नउभ्याएको प्रष्ट पार्छ । एकाध चलचित्रबाहेक नायिकालाई सशक्त पात्रका रुपमा नेपाली चलचित्रले प्रस्तुत नगरेको उनी बताउँछिन् ।
इष्यु वेसमा चलचित्र बाक्लो रुपमा नबनेसम्म नायिकाहरुको भूमिका चलचित्रमा सशक्त नहुने उनी बताउँछिन् ।
अन्य क्षेत्रमा जस्तै चलचित्रमा पनि महिला पछि परेको करिष्माको धारणा छ । तर, अन्य क्षेत्रमा जति पनि चलचित्रमा महिलाको सहभागिता नरहेको भन्दै उनी असन्तुष्टि जनाउँछिन् ।
नेपाली चलचित्रमा किन सधैँ नायिकाहरुलाई कमजोर बनाइन्छ ? नायिकाहरु क्षमतावान् छैनन् ? काम गर्नै सक्तैनन् ?
अभिनेत्री सुरक्षा पन्त फिल्म लेखक तथा मेकर महिलाप्रति कति सचेत छन् भन्ने कुराले यसमा ठूलो अर्थ राख्ने बताउँछिन् । महिलाको अस्तित्त्वप्रति सचेत मेकर नेपाली चलचित्र उद्योगमा छन् कि छैनन् भन्ने प्रश्न गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ । “मेकर महिला होस् वा पुरुष त्यसले फरक पार्दैन । तर, महिलाको अस्तित्त्वप्रति ऊ कति सचेत छ भन्ने कुराले म्याटर गर्छ,” सुरक्षा भन्छिन्, “लेख्ने इच्छाशक्ति पनि हुँदैन । यदि, महिलाको स्टोरी पुरुषले लेख्दै छ भने उसले लेख्दा कति ठाउँमा आफूलाई मार्नुपर्छ । आफैँसँग बार्गिनिङ गरिरहेको हुन्छ । बायस भएर होइन, प्राकृतिक रुपमै पुरुष लेखक बायस भइरहेको हुन्छ ।”
कथा लेख्दा कति ठाउँमा जे हो त्यो भन्नसक्नु पर्ने तर त्यो हिम्मत सबै पुरुष लेखकमा हुन्छ भन्ने नहुने उनको भनाइ छ । “लेख्दा कति ठाउँमा पुरुषलाई तल पार्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा पुरुष लेखक सम्झौता गर्न तयार हुँदैनजस्तो लाग्छ,” सुरक्षा भन्छिन्, “कति प्रयासहरु भएका छन् । तर, पूर्ण रुपमा महिलालाई स्थान दिइएको छैन । सबै प्रयासहरु इमानदार छ भन्ने हुँदैन ।”
नेपाली चलचित्रमा नायिकाले स्वतन्त्र रुपमा आफैँले महत्त्वपूर्ण निर्णय लिइरहेको, आफैँले कुनै समस्याको समाधान गरिरहेको अवस्था कमै मात्र हुने गरेको उनी बताउँछिन् । यस्तो अवस्थामा निर्णायकको रुपमा बुवा, श्रीमान्, दाजुभाइ अथवा ब्वाइफ्रेन्ड आउने गरेको उनी सुनाउँछिन् ।
“यदि, कुनै चलचित्रले महिलाको कथा उठाउँदै छ भने किन उसलाई शतप्रतिशत स्थान दिइँदैन ?,” सुरक्षा प्रश्न गर्छिन्, “यो लेखकको इमानदारितामा भरपर्ने कुरा हो । र, यो चेतनाको विकास भइसकेको छैन ।”
चलचित्रमा नायकको अपोजिटमा राख्दैमा महिला पात्र नायिका नहुने उनको तर्क छ । “केवल चलचित्रमा महिलालाई राख्ने मात्रै काम गरिन्छ भने म त त्यस्ता चलचित्रमा खेल्न इच्छुक हुन्न,” उनी भन्छिन्, “महिलालाई स्थान दिइएको छ तर मुख्य प्रोटागोनिष्टमा ऊ छैन, त्यो पात्रको सम्भाव्यता पनि छैन भने मलाई त्यस्तो चलचित्र मन पर्दैन । समय दिइएको छ तर कथामा महत्त्वपूर्ण प्रभाव पार्दैन भने त्यो पात्रको के अर्थ ?”
यद्यपि, महिलाले गरेका क्रियाकलापले कथालाई निष्कर्षमा पुर्याउँछ अथवा ठूलो तरंग पैदा गरिरहेको हुन्छ भने सानै रोल भए पनि आफूले रुचाउने गरेको उनी सुनाउँछिन् ।
महिलाका कथा भन्न महिला मेकर नै आउनुपर्छ भन्ने अनिवार्य नै त नहुने तर यदि, महिला मेकरले महिलाको कथा उठान गर्दा इमानदारिता प्रस्तुत गर्नसके त्यस्ता चलचित्रमा नायिका सशक्त रुपमा प्रस्तुत हुनसक्ने सुरक्षाको धारणा छ । केही महिला मेकर आए पनि व्यावसायिक चलचित्रमा उनीहरुको ध्यानकेन्द्रित हुँदा महिला पात्रलाई सशक्त रुपमा अगाडि ल्याउन नसकिएको उनको बुझाइ छ ।
कमर्सियल मेकरभन्दा पनि इन्डिभिजुअल मेकरले यसमा इमानदार प्रयास गरिरहेको तर उनीहरुलाई सहयोग र साथको खाँचो रहेको उनी बताउँछिन् । यस्ता मेकरलाई चलचित्र विकास बोर्डले सहयोग गर्नुपर्नेमा उनको जोड छ । बोर्डले खडा गरेको स्टोरी बैंकमार्फत यस्ता कथालाई सहयोग गर्नुपर्ने सुरक्षा बताउँछिन् ।
विषयप्रधान चलचित्र बनाएर नेपाली मेकरले रिस्क लिन नचाहेको अभिनेत्री बेनिशा हमालको भनाइ छ । आर्ट भनिए पनि चलचित्र अन्ततः बिजनेस नै भएको र चलचित्र दर्शककै लागि बनाउने भएकाले महिलालाई केन्द्रमा राखेर कम चलचित्र बनेको र यसकै परिणाम नायिकाहरु पर्दामा सशक्त रुपमा नदेखिएको उनको भनाइ छ ।
“तुलनात्मक रुपमा महिला कथाप्रधान चलचित्रले राम्रो व्यापार गर्न सकेनन् । राम्रो व्यापार गर्न नसकेपछि निर्माताहरूले पनि महिलालाई प्रमुख भूमिका दिएर रिस्क लिन चाहनु भएन,” बेनिशा भन्छिन्, “महिलाको काँधमा चलचित्र राख्ने रिस्क लिन नचाहेका कारण अभिनेताहरू सधैँ नेपाली चलचित्रमा हाबी हुनुभयो । नायिकाहरु छायामा परे ।” केही मेकरहरुले हिम्मत गरेर महिलाप्रधान चलचित्र बनाइरहे पनि दर्शकले साथ नदिँदा उनीहरु निराश हुने गरेको उनको भनाइ छ ।
नायकलाई नै मुख्य पात्रका रुपमा हेर्ने चलन नै बसिसकेको र यो प्रवृत्ति भत्काउन फिल्म लिट्रेसी बढ्नुपर्ने उनको धारणा छ । महिलाले लिड गरेको चलचित्र छ भन्नेबित्तिकै कमजोर रहेको अनुमान दर्शकले गर्ने गरेको बेनिशाको दुखेसो छ ।
महिलाका कथालाई केन्द्रमा राखेर चलचित्र बन्ने हो भने अभिनेत्रीहरुले आफ्नो क्षमता देखाउन पाउने बताउँदै उनी भन्छिन्, “अवसर र स्थान पाएन भने जतिसुकै क्षमता भए पनि त्यो यतिकै खुम्चिएर बस्नुपर्छ । मलाई लाग्छ, अहिले हाम्रोमा भइरहेको पनि यही नै हो । महिला कलाकारको क्षमता प्रदर्शनका लागि फिमेल सेन्ट्रिक क्यारेक्टर भएका चलचित्र बन्नुपर्छ ।”
नेपाली चलचित्रमा नायिकाहरु सधैँ ‘शो पिस’का रुपमा मात्रै राख्ने गरिएको निर्देशक मनोज पण्डित बताउँछन् । नायकको मनोरञ्जनको साधनका रुपमा मात्रै नायिकालाई प्रस्तुत गरिनु विडम्बना भएको आफ्नो अध्ययनले देखाएको उनी बताउँछन् । “हाम्रा चलचित्रमा नायिकाहरुलाई नाच्ने, गाउने, रमाइलो गर्ने र नायकको मनोरञ्जनका लागि मात्रै राख्ने गरिएको छ,” निर्देशक मनोज भन्छन्, “के चलचित्रमा नायिकाको भूमिका यति मात्रै हो ? वर्ल्ड सिनेमामा डाँडापाखा गएर नाच्ने भूमिकामा मात्रै सीमित छन् नायिका ?”
जबसम्म नायिकालाई पनि नायकजत्तिकै सशक्त रुपमा चलचित्रमा प्रस्तुत गरिँदैन, त्यो समयसम्म नेपाली फिल्म समग्रमा राम्रो नबन्ने मनोज बताउँछन् । सबल चलचित्रका लागि फिल्मका हरेक पक्ष उत्तिकै सशक्त हुनुपर्ने र कुनै एक पक्षलाई नजरअन्दाज गर्नेबित्तिकै चलचित्र फितलो हुने उनको आफ्नै अनुभव छ ।
नायकको वरिपरि घुम्ने पात्रका रुपमा जबसम्म नायिकालाई सीमित गरेर राखिन्छ, त्यो बेलासम्म नेपाली चलचित्र विश्व बजारमा पुग्न नसक्ने उनको दाबी छ । समाजअनुसारको कथा र पात्र खोज्नुपर्नेमा मेकरहरु चुकिरहेको मनोज बताउँछन् ।
कथा भन्न मुख्य चरित्रका रूपमा अझै पनि नायक नै खडा गर्ने परम्परा यथावत् रहनु पुरानै ढर्राबाट चलचित्र माथि उठ्न नसक्नुको गतिलो उदाहरण भएको निर्देशक यादव खरेल बताउँछन् । चलचित्र निर्माणको सुरुको दशकमा नायिकाले नै कथा बोक्ने केही चलचित्र निर्माण भए पनि त्यसले उल्लेख्य रूपमा निरन्तरता पाउन नसकेको निर्देशक यादव बताउँछन् ।
“नेपालमा भर्खर चलचित्र बन्न थालेको थियो । माइतीघर, आमालगायत चलचित्र बनेका थिए । चलचित्र निर्माणको क्रम र संख्या बढ्दै जाँदा फिमेल प्रोटागोनिस्ट भएका चलचित्रको संख्या निकै कम छ,” उनी भन्छन्, “मेकरले व्यावसायिकतालाई केन्द्रमा राखेका कारण चरित्रप्रधान कथाले कम स्थान पाउँदै गयो ।”
चलचित्रमा के बिक्छ, त्यसको पछि लाग्दा चलचित्रमा नायिकाहरु कमजोर बन्दै गएको उनको भनाइ छ । बजारको पछि लाग्दा नायिकाहरुलाई कमजोर बनाउँदै लगिएको छ ।
“चलचित्रमा बिक्ने भनेकै हिंसा, यौन र संगीत हो । हिंसाका लागि पुरुष पात्र नै प्रयोग हुने भएकाले कथामा पुरुष पात्र नै खडा गरियो । अर्को कुरा, मेल डोमिनेटेड सोसाइटी भएकाले महिलालाई समान रूपमा नहेर्ने गरेकाले पनि महिलाप्रधान चलचित्र कम बने,” निर्देशक यादव भन्छन्, “हिंसा र यौनमा सधैँ पुरुषले नै जित्ने भएकाले पुरुष पात्रलाई नै मुख्य चरित्र बनाउने गरिएको छ । हिंसा र यौन सबैभन्दा धेरै बिक्री हुने भएकाले लक्षित वर्गका लागि पनि पुरुषप्रधान चलचित्र बनिरहेका छन् ।”
यौनका लागि मात्रै महिला पात्र प्रयोग भइरहेको उनको बुझाइ छ । यद्यपि, यो पहिलादेखिकै चलन रहेको उनी सुनाउँछन् ।
समाजका कथा भन्नेभन्दा पनि बलिउड सूत्रमा लामो समय नेपाली चलचित्र बनेकाले महिला चरित्रप्रधान फिल्म नेपालमा धेरै निर्माण हुन नसकेको नायिका करिष्मा मानन्धर बताउँछिन् ।
समाजमा रहेका कथाको गहिराइमा पुगेर कथा भन्नेभन्दा पनि बाहिर जे देखिन्छ, त्यसैको लेप लगाउने नेपाली चलचित्रको चरित्र छ । मेनस्ट्रिमका नाममा झट्ट हेर्दा साना–साना लाग्ने तर गहिरा र गहकिला विषयलाई नेपापली मेकहरुले आफ्ना चलचित्रमा खिप्न सकेका छैनन् ।
महिलाले भोगे गरेका कुराहरु भन्नुपर्नेमा त्यसविपरीत बजारका नाममा महिलालाई ‘प्रोडक्क’को रूपमा प्रयोग गरिँदा महिलाको इनर साइकोलोजीमा कथा भन्ने क्रम नै सुरु नभएको निर्देशक मनोज बताउँछन् ।
यदि, कलाकारको आँखाले हेर्दा समाजमा जे छ, भइरहेको छ र देखिन्छ, त्यो चलचित्रको माध्यमबाट भन्न थाले नेपाली चलचित्रमा नायिकाहरु सशक्त देखिने उनको विश्वास छ ।