काठमाडौं । नेपाली चलचित्रमा कस्ता नायक हुन्छन् ? केही दिनअघि सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा नायिका करिष्मा मानन्धरले भनेजस्तो जस्तोसुकै कठिन परस्थितिमा पनि हिरोइनलाई बचाउन आइपुग्ने नायक राजेश हमालजस्तो । भलै, उनले अधिकांश नेपाली चलचित्रको कथाको केन्द्रमा पुरुष पात्र हुने गरेको बताएकी हुन् ।
तर, अक्सर करिष्माले भनेजस्तै नेपाली चलचित्रका नायकहरु यस्तो जादुमयी तिलस्मी हुन्छन्, आफू जहाँ जस्तोसुकै कठिन परिस्थितिमा जुधिरहे पनि हिरोइनलाई बचाउन, फकाउन, विवाह गर्न, बाबुलाई मार्नेविरुद्ध बदला लिन आइपुग्ने मात्रै होइन, सफल पनि हुन्छन् । पछिल्लो समयका केही चलचित्रमा आफूले भनेजस्तो जिन्दगी जिउन आवश्यक पैसाका लागि नायकहरु संघर्ष गरिरहेका छन् । यो घेराभन्दा बाहिर नेपाली चलचित्रका नायकहरु अपवादलाई छोडेर निस्किन सकेका छैनन् । यो हुनु नै नेपाली चलचित्रको दुर्भाग्य भएको चलचित्रकर्मीहरु बताउँछन् ।
समाजको यथार्थ चित्रण गर्ने, समाजको हुबहु प्रतिनिधित्व गर्ने, नेपाली मौलिक चलचित्र भनिए पनि अन्ततः यसको प्रतिनिधित्व कथाको मुख्य पात्र नायक र खलनायकले नै गर्छ । वास्तवमा समाजमा प्रताडित, समाजसँग संघर्ष गर्ने र समाजलाई परिवर्तन गर्न सक्ने पात्र नै यथार्थमा हिरो हो । समाजको मुख्य पात्र नै नायक अथवा प्रोटागोनिष्ट हो ।
“हाम्रा चलचित्रमा हामीले वास्तविक नायक नै खडा गर्न सकेनौँ । यो नै हाम्रो ठूलो दुर्भाग्य हो । हलिउड बलियो हुनुको कारण वास्तविक नायक पात्रहरु खडा हुनु नै हो । बलिउड पनि केही हदसम्म सफल छ । कारण, बलिउडले मान्छेलाई मोटिभेट गर्ने, मान्छेको सबकन्सस माइन्डमा रहेको कुरालाई पूरा गर्ने, नागरिकका समस्याहरुसँग संघर्ष गर्ने पात्रहरु जन्मायो । बलिउडले त नायक पात्रलाई अझ धेरै ग्ल्यामराइज गरिदियो,” निर्देशक मनोज पण्डित भन्छन्, “विश्वका सफल फिल्म इन्डष्ट्रिहरु नायककै जगमा चलेका छन् । तर, हाम्रोमा नायक भन्ने पात्रको अवधारणामाथि नै बलात्कार गरियो । नेपाली चलचित्र उद्योगमा हामीले सही अर्थमा नायक भन्ने पात्र नै जन्माउन सकेनौँ ।”
लेखक, सर्जक तथा चलचित्र लेखकहरुको कमजोरीको उपज नेपाली चलचित्रमा गलत रूपमा नायकको अवधारणा विकास भएको उनको भनाइ छ । केटी पट्ट्याउन र ऊसँग विवाह गर्न, बाबुको हत्याको बदला लिन, आधुनिक हुँदै जाँदा बैंकको पैसा चोर्न, अझ फराकिलो हुँदा आफ्ना चाहना प्राप्त गर्न नेपाली चलचित्रका नायकहरु सीमित रहेको उनको भनाइ छ । नेपाली नायकहरु व्यक्तिवादी चरित्रमा मात्रै सीमित रहेको उनको विष्लेषण छ ।
लोकतन्त्रपछिको उदार व्यवस्थामा बनेका अधिकांश चलचित्रमा कमजोर नायक सिर्जना भएको भन्दै उनी मानव मनमा बसेको उच्चतम सामर्थ्य भएको व्यक्ति नै नायक हो भन्ने तथ्य बुझ्न नसकेको बताउँछन् । “हाम्रा नायकहरुले क्षमताको उच्चतम विन्दु हासिल गर्न सकेका छैनन् । सतही तहमै छन् । नेपाली चलचित्रको दुर्भाग्य नै नायकहरुको कमजोर चरित्र लेखन हो,” उनी भन्छन्, “नेपाली चलचित्रलाई सबल र सक्षम बनाउनुपर्छ भने नायकको चरित्रमाथि काम गर्नुपर्छ । हाम्रा चलचित्रका नायकको समीक्षा गर्दा उनीहरुले प्राप्त गर्न चाहने भनेको महिला, केही सम्पत्ति र केही आक्रोश मात्रै हो ।”
नायक सीमित अस्तित्वभित्र रहनु नै नेपाली चलचित्रको कमजोरी भएको उनको बुझाइ छ । यसको कारण सर्जक भएको भन्दै उनी प्रश्न गर्छन्– नेपाली समाजको आवश्यकता, चाहना र समस्या यति नै हो त ?
केही चलचित्रले स्वतन्त्रताको सन्देश दिन खोजे पनि ठूलो ‘स्केल’मा चलचित्र बनाउँछु भन्नेहरुको साँघुरो परिधिले समग्र नेपाली चलचित्रलाई नै सीमित घेरामा खुम्च्याइदिएको उनको बुझाइ छ ।
स्वाधीनता, समानता, स्वतन्त्रता, मुक्तिलगायत आम नागरिकको समस्या उजागर र त्यसको समाधानको उपाय खोज्ने नायक जन्माउन सके नेपाली चलचित्र सफल हुने र यसका लागि समाज बुझेको व्यक्ति नायक हुनुपर्ने उनको धारणा छ । यस्ता नायक जन्माउने स्क्रिप्ट लेखिए चलचित्रले केही बौद्धिक नायक खोजी गर्ने र त्यस्ता नायकले रियल लाइफमा पनि आफूलाई नागरिकको पक्षमा उभ्याउने मनोज दाबी गर्छन् ।
“यस्ता स्क्रिप्ट लेख्ने मेकर बौद्धिकस्तरको हुन्छ र उसले बौद्धिक तहकै नायक खोज्छ । बौद्धिकस्तरका नायक खोज्नबित्तिकै अरु क्षेत्रका समाज बुझेका व्यक्ति कलाकारितामा आउँछन्,” उनी भन्छन्, “फराकिलो सोच भएका व्यक्ति नायक हुँदा समाजप्रति जिम्मेवार र उत्तरदायी नायकहरुले समाजमा आफ्नो योगदान दिन्छन् । यो बौद्धिकताको उपज हो । आफूलाई सामाजिक मूल्य–मान्यतामा र दायित्वसँग जोडेर हेर्न थाल्नेबित्तिकै उनीहरु चलचित्रमा मात्रै होइन, समाज र देशकै हिरो हुन्छन् ।”
महाभारतकालीन सोचबाट नेपाली चलचित्र मेकर बाहिर आउन नसकेको निर्देशक प्रदीप भट्टराई बताउँछन् । कुनै हिरो आइदियोस् र आफूलाई परेको दुःखबाट पार लगाइदियोस् भन्ने सोच हावी हुँदा नेपाली चलचित्रको नायकको अवधारणामा परिवर्तन आउन नसकेको उनको ठम्याइ छ ।
“समाज परिवर्तन भइसक्यो । एउटा शरीरले अर्को शरीरलाई जित्नेभन्दा पनि बुद्धिले जित्ने समय आइसक्यो । शरीरभन्दा पनि ठूला हतियार काम नलाग्ने समय आइसक्यो । विचारप्रधान लडाईँ हुन थालिसक्यो,” प्रदीप भन्छन्, “समयले छोडेर कहाँ पुगिसक्यो । तर, हामी जहाँको त्यहीँ छौँ । फाइट खेलेर र झगडा गरेर जितिन्छ भन्ने सोचमा छौँ । दर्शक धेरै अगाडि बढेसके । समाजको विचार परिवर्तन भइसक्यो । तर, हामी सिनेमा मेकर भने अहिले पनि पुरानै ठाउँमा छौँ ।”
भुईंमान्छेलाई हिरो बनाएर लेख्न कठिन रहेको र रिस्क पनि उत्तिकै रहेको उनको अनुभव छ । नेपाली मेकरको नसा–नसामा महाभारतकालीन हिरोका कथा रहेको र त्यही नै लेख्ने गरेको उनी सुनाउँछन् ।
नदेखेको, नभोगेको अथवा देखेर पनि नलेखिएको कथा लेख्न र त्यसलाई दृश्यभाषा दिन कठिन रहेको प्रदीप बताउँछन् । “अहिलेका चलचित्रमा को हिरो हो र को भिलेन हो भन्ने नै छुट्ट्याउन कठिन छ । चलचित्र सकिएपछि ए हिरो त यो पो रहेछ किनभने, मुख्य मुद्दालाई यसले समात्यो भन्ने चलचित्र वर्ल्ड सिनेमामा बनिसके,” प्रदीप भन्छन्, “यो वर्षको ओस्कार जितेको चलचित्रमा मेन प्रोटागोनिष्ट नै उमेर ढल्किन लागेको अधबैँसे महिला छिन् । आर्थिक रूपमा विपन्न, सबै कुराले पीडित महिलालाई मुख्य पात्र बनाएको चलचित्रले ओस्कार अवार्ड जित्यो । हामीलाई यो चेत कहिले आउँछ ?”
यो अहिले हाम्रा लागि कल्पनाबाहिरको कुरा लागे पनि हामीले सोच्नुपर्ने कुरा यही नै रहेको उनको धारणा छ । नेपाली चलचित्रको गुणस्तर बढाउने र अन्तर्राष्ट्रिय बजारमा पनि लैजाने हो भने नायकको वर्तमान अवधारणा भत्काउनैपर्ने उनको तर्क छ । लेखक, निर्देशक तथा प्रोड्डयुसर सबैले अब यसमा तत्काल ध्यान दिनुपर्ने उनको भनाइ छ ।
“कर्तव्यबाट च्युत हुने तर अधिकार र अपेक्षा गर्ने हाम्रो बानी छ । अहिलेको यो कोरोना महामारीमा पनि हामी कसैले आएर हामीलाई बचाइदिए हुन्थ्यो भन्ने आशामा छौँ । तर, हामी आफैँ जुध्ने हो । हामी आफैँले केही गर्नुपर्छ भन्ने सोच कतिले राखेका छौँ ?,” उनी प्रश्न गर्छन्, “यस्तै अफ्ठ्यारो परिस्थितिबाट हिरो जन्मिने हो । तर, हामी कोही व्यक्ति वा अदृश्य शक्ति आएर मुक्ति दियोस् भन्ने परिकल्पना गरिरहेका छौँ । यही सोचको उपज नै हाम्रा चलचित्रमा पनि पहलमान नायकको परिकल्पना गर्छौँ । यो न्यारेटिभ जबसम्म समाजमा चल्छ, तबसम्म नेपाली चलचित्रमा पनि चल्छ । तर, चलचित्रको विकासका लागि आवश्यक भनेको यो मान्यता तत्काल भत्किनुपर्छ ।” अबको चलचित्रको न्यारेटिभ, जसलाई समस्या पर्छ उही हिरो भएर निस्किनुपर्छ भन्नेमा उनको जोड छ ।
चलचित्र लेखक प्रदीप भारध्वज विस्तारै बम्बईया सूत्र विस्थापन हुँदै जाँदा प्रोटागोनिष्टमा पनि परिवर्तन आउने अपेक्षा गर्छन् । ‘छक्कापञ्जा’को पहिलो सिरिज, ‘पशुपतिप्रसाद’, ‘झ्यानाकुटी, ‘कबड्डी’, ‘कालोपोथी’ यसको उदाहरण भएको उनको बुझाइ छ । “बक्स अफिसमा राम्रो व्यापार गरेको छक्कापञ्जाको पहिलो सिरिजमा पनि परम्परागत हिरो छैन । क्यारेक्टरहरु नै हिरो भएको चलचित्र हो,” स्क्रिप्ट राइटर प्रदीप भन्छन्, “विस्तारै नेपाली चलचित्र पनि परिवर्तनको चरणमा छ । एकैपटक सामान्य क्यारेक्टरलाई चलचित्रको मुख्य हिरो बनाउन दर्शकको पनि चाहना हुनुपर्छ । दर्शकको जस्तो चाहना हुन्छ, त्यस्तै चलचित्र मेकरले बनाउने हो ।”
यद्यपि, दर्शकमा फिल्म लिट्रेसी बढ्दै गएको भन्दै यो सकारात्मक पक्ष भएको उनको भनाइ छ । तर, जबसम्म अहिले युट्युब ट्रेन्डिङमा जस्ता सामग्री आइरहेका छन्, त्यसमा १८० डिग्रीको परिवर्तन नआएसम्म पूर्णतः भुईँमान्छे हिरो भएका चलचित्र आम रूपमा बन्न नसक्ने र वर्तमानमा रहेको नायकका अवधारणामा आमूल परिवर्तन नदेखिने उनको बुझाइ छ ।
अभिनेता खगेन्द्र लामिछाने दर्शकमा आएको परिवर्तनकै कारण आफूलाई चलचित्र उद्योगले स्वीकार गरेको बताउँछन् । “सायद, सामान्य पात्र पनि मेन प्रोटागोनिष्ट हुन्छ भन्ने नभएको भए हामीलाई दर्शकले स्वीकार्नु हुने थिएन,” खगेन्द्र भन्छन्, “हामी दर्शकबाट स्वीकारिनु भनेकै सामान्य व्यक्ति पनि चलचित्रको मुख्य पात्र हुनसक्छ भन्ने प्रमाणित हुनु हो ।”
हलिउड र बलिउडमा केही पहिला नै यो चेत आइसके पनि नेपालमा भने ढिलो भएको उनको बुझाइ छ । “हलिउडले धेरै पहिला नै भुईँमान्छेलाई हिरो बनाएर चलचित्र बनायो । भारतले पनि निकै समय भइसक्यो । त्यसको सिको गरेर हामीले त्यस्ता चलचित्र बनाउन सुरु त गर्यौँ तर अलि पहिला नै यो गर्नुपर्थ्यो,” उनी भन्छन्, “हामीले जति मौलिक कथामा चलचित्र बनाउँछौँ, त्यति नै हाम्रा चलचित्रको गुणस्तर बढ्दै जान्छ ।”
कर्णाली र दुर्गम पहाडका मौलिक चलचित्र बनाउन थालिएको भन्दै उनी त्यस्ता चलचित्रमा जिउडाल मिलाएर बसेका व्यक्ति हिरो नहुने बताउँछन् । उनी भन्छन्, “त्यहाँको वास्तविक कथा ल्याउँदा त्यहाँका क्यारेक्टर पनि त्यस्तै देखिनुपर्छ । ती चलचित्रमा हाइट, वेट, वर्ण, छाला र भाषाले अवरोध सिर्जना गर्दैन । यसो हुनु भनेको परम्परागत नेपाली चलचित्रमा रहेका नायकको अवधारणा भत्किनु हो ।”
तुलनात्मक रूपमा केही ढिलो भए पनि विस्तारै नेपाली चलचित्रले स्थानीय कथा र कथा सुहाउँदो व्यक्तिलाई मुख्य पात्रका रूपमा अघि सार्न थालेको भन्दै खगेन्द्र यसले गति लिनेमा आशावादी छन् । यो गतिसँगै नेपाली चलचित्रले फड्को मार्ने उनको अपेक्षा छ ।