पोखरा । बिहिबार साँझ गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने पोखरा ६ का ३७ वर्षीय पुरुष हुन् । तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई प्रदेश सरकार मातहतमा रहेको संक्रामक तथा सरुवा रोगको अस्पतालमा बनाइएको आइसोलेसनमा राखेर उपचार थालनी थियो ।
अस्पतालका मेडिकल अधिकृत त्रिभुवन भण्डारीका अनुसार ती पुरुषमा सामान्य ज्वरो थियो । अन्य कुनै दीर्घ रोग थिएन । सामान्य लक्षण नै थिए ।
तर, बुधबारदेखि उनलाई पखाला पनि लाग्यो । अक्सिजनको मात्रा कम हुँदै गयो । त्यसपछि बिहीबार बिहान उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रिफर गरिएको भण्डारीले जानकारी दिए ।
आईसीयूमा उपचाररत ती पुरुषको बिहीबार साँझ मृत्यु भएको छ । अन्य रोग नभइ कोरोनाकै कारण उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पश्चिमाञ्चल अस्पतालमा कोरोना संक्रमणले हालसम्म आठ जनाले मृत्यु भएको छ ।