काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय उडान भर्न पाएको छैन, उद्घाटन भएको दुईवर्ष पुग्न केही दिनमात्र बाँकी रहँदा पनि । बल्लबल्ल हिमालय एयरलायन्सले उडान गर्ने प्रस्ताव गरेको छ ।
हिमालय एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग नियमित उडानको प्रस्ताव गरेको हो । काठमाडौंबाट उडान गर्दै आएको हिमालय एयरलायन्सले सातामा दुई दिन उडान गर्ने प्रस्ताव गरेको क्यानका सूचना अधिकारी ज्ञानेद्र भुलले जानकारी दिए ।
भुलका अनुसार, एयरलायन्सले नेपालबाट सातामा ५ उडान गर्ने प्रस्ताव छ ।
जसमा तीन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दुई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने प्रस्ताव गरेको छ ।
एयरलायन्सले सातामा तीन फ्लाइट काठमाडौं–ल्हासा गर्दै आएको छ ।
“बुधबार एयरलायन्ससँग भएको छलफलमा काठमाडौंबाट ल्हासा जाने र त्यहाँबाट फर्कदा पोखरा । त्यसपछि त्यहाँबाट ल्हासा हुँदै काठमाडौं आउने प्रस्ताव गरेको छ,” उनले भने, “हामीले नेपाल वायु सेवा निगम र हिमालय एयरलायन्सलाई उडानको प्रस्ताव गरेकामा हिमालय एयरलाइन्सले रेस्पोन्स गरेको छ ।”
प्रधानमन्त्रीको चीन भ्रमणका बखत पोखरा विमानस्थलबाट नेपाल–चीन नियमित उडान गर्न त्यहाँका व्यवसायीहरूसँग छलफल हुने उनले जानकारी दिए ।
प्रस्ताव आएपनि अन्य प्रक्रिया भने अघि बढेको छैन । “हामी कुराकानीमै छौं, स्वीकृत नभएसम्मका लागि प्रस्ताव मात्रै हुने,” प्रवक्ता हंसराज पाण्डेले भने ।
हिमालय एयरमा नेपाल र चिनियाँ लगानीकर्ताको लगानी छ ।
नेपाली र चिनियाँ लगानीको संयुक्त उपक्रम (जेभी) मा हिमालय एयरलाइन्स स्थापना भएको थियो । जसमा नेपाली लगानी यति वर्ल्ड इन्भेस्टमेन्ट प्रालि र चिनियाँ लगानी तिबतान सिभिल एभिएसन डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (टीसीएडीआइसी) को रहेको छ ।
२०७९ पुसमा उद्घाटन भएपनि पोखरामा चार्टर्डबाहेक अन्य उडान हुन सकेको छैन ।
विमानस्थल सञ्चालनमा आएपछि खर्च मात्रै बढेको छ । विमानस्थल निर्माणमा लागेको खर्च र त्यसको सावाँ–ब्याज तिर्न नयाँ विमानस्थलले मात्रै वार्षिक १ खर्ब ५० अर्ब रूपैयाँ कमाउनै पर्नेछ ।
तर, पोखरा विमानस्थलमा नियमित उडान हुन नसक्दा क्यानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कमाइले ऋण तिरिरहेको छ ।
उपत्यकाबाहिर बनाएको दुईवटा विमानस्थल चलाउन नसकेपछि कार्यकाल सम्हाले लगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा पूर्ण रूपमा सञ्चालनसम्बन्धी कार्ययोजना ल्याएका थिए ।
मन्त्रिपरिषदबाट स्वीकृत उक्त कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन भएको छैन । सरकारको कार्ययोजना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि १० घण्टा बन्द भएपछि पाँच अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवामा उडान गरिरहेका छन् ।
पोखरातर्फ भने कुनैपनि कम्पनीले चासो दिएका छैनन् । क्यानले हिमालय र नेपाल वायु सेवालाई उडान गर्न प्रस्ताव गरेपनि पछिल्लोपटक हिमालय एयरलाइन्स सकारात्मक भएको हो ।
गौतमबुद्ध विमानस्थलबाट जजिरा, थाई एयर एशिया, कतार एयरवेज, फ्लाई दुवई र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि १० घण्टा बन्द छ । ‘विमानस्थलको ट्याक्सी वे’ निर्माण गर्न क्यानले ५ महिना राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएपछि क्यानले ३० प्रतिशत उडान भैरहवा र पोखराबाट गर्नुपर्ने शर्त छ ।
मुख्य विमानस्थल बन्द हुँदा भैरहवा र पोखरा नचलेको अवस्था मन्त्रालयले हवाइ टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना ल्याएको थियो ।
उक्त प्याकेजले भैरहवातर्फ विमान कम्पनीहरू आकर्षित भए पनि पोखरामा गएका छैनन् । चिनियाँ ऋणमा बनेको पोखरा विमानस्थलले ऋण आफ्नो सञ्चालन खर्च समेत उठाउन सकेको छैन ।
पोखरा विमानस्थल नचलेपछि निर्माण गर्दा लागेको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई अर्थ मन्त्रालयले पत्र लेखेको थियो । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले उक्त पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका थिए ।
पत्र हस्तान्तरण अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । तर, उक्त प्रस्तावमा चीनले कुनै उत्तर नदिएको अर्थ मन्त्रालयले जनाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिव २५ अर्ब ८८ करोड रूपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।
२०७२ चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरू भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो ।