site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
को–को छन् प्रदेश २ मुख्यमन्त्रीको दौडमा ?

जनकपुर । सत्ताधारी दुई राजनीतिक दलको एकीकरणपछि प्रदेश २ को सरकार परिवर्तन विषयले प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । लालबाबु राउत नेतृत्वको सरकारले कार्यकालको आधा समय पूरा गरेको छ । सुरुको यो अढाइ वर्षमा उनी सरकार सञ्चालन कार्यमा सफल हुन नसकेको भन्दै सत्तापक्षकै सांसदहरुले खुलेर आलोचना गर्न थालेका छन् । 

यसका साथै दुईवटा पार्टी एकीकरण भएपछि विधानतः संसदीय दलको नेतामा एकजनालाई चयन गर्नुपर्ने भएको छ ।  यही समयमा तत्काल सरकारको नेतृत्व पनि परिवर्तन गरिहाल्नुपर्ने पक्षमा सांसदहरु छन् ।  प्रदेश २ एकमात्र प्रदेश हो जहाँ नेकपाइतर सरकार छ । यस प्रदेशमा संयुक्त गठबन्धन बनाएर चुनाव लडेका तत्कालीन समाजवादी पार्टी र राजपाको सरकार छ । 

अहिले दुवै दल एकीकरण भइसकेपछि जनता समाजवादी पार्टीको एकल सरकार छ ।  प्रदेशसभामा भने पार्टी एकीकरणपछि पूरा गर्नुपर्ने प्रक्रिया पूरा नगर्दा अहिले पनि दुईजना संसदीय दलका नेता र दुईजना प्रमुख सचेतक छन् ।  पार्टीको केन्द्रीय नेतृत्वले तत्काल विवाद नमिलेसम्म यथास्थितिमै अघि बढ्ने योजना बनाएको नेताहरु बताउँछन् ।

तर, यसरी लामो समयसम्म चल्न सक्दैन । यस्तो अवस्थामा मुख्यमन्त्रीमा लालबाबु राउतलाई यथावत राखेर बाँकी सबै मन्त्री फेर्नेकि दुवै दलका नेतासमेतलाई मन्त्रिमण्डलमा कायम राखेर अन्यलाई फेर्ने अथवा मुख्यमन्त्रीसमेत पूरै नयाँ अनुहार ल्याउने भन्ने विषयमा छलफल चलिरहेको पार्टीस्रोतले जनाएको छ । 
यद्यपि तत्कालै कुनै निर्णय लिएर बाँकी कार्यकालभित्र परिणाम देखिने गरी काम गर्नुपर्ने आवाज पनि उठिरहेको छ । 

सरकारको नेतृत्व (मुख्यमन्त्री) मा पुग्न पहिला एकीकृत पार्टीको संसदीय दलको नेता चयन हुनुपर्ने संवैधानिक वाध्यता छ ।  यसका लागि वर्तमान मुख्यमन्त्री राउत, तत्कालीन समाजवादी पार्टीका प्रदेश अध्यक्षसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनल, तत्कालीन समाजवादी पार्टीका उपनेता रामआशिष यादव, सोही पार्टीका सांसद तथा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव र राजपाका सांसद उपेन्द्र महतो पनि मुख्यमन्त्रीको दौडमा रहेको प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वयम् उनीहरु आफैँले बाह्रखरीलाई जनाए । 

माथिको सूचीमा समावेश नभए पनि प्रदेशसभाका सभामुख सरोजकुमार यादव पनि मौका मिले सरकारको नेतृत्व सम्हाल्न तयार रहेको भन्दै पार्टीको केन्द्रीय नेतृत्व समक्ष कुराकानी गरेको उनीनिकट स्रोतले जनाएको छ ।  आधा कार्यकालको अवधिमा प्रदेशसभालाई सक्षम नेतृत्व प्रदान गर्न सफल भएको दाबी पेस गर्दै उनले मुख्यमन्त्री भएर सरकारको नेतृत्व गर्न पाए प्रदेशलाई उल्लेखनीय गति प्रदान गर्न सक्ने योजनासहित उनी प्रस्तुत भइरहेका छन् । 

कोभिड १९ को चपेटामा राष्ट्रिय राजनीतिसमेत स्थिर भइरहेको बेला सरकारको नेतृत्व फेर्ने विषयले प्रदेशको राजनीति तातेको हो ।  यद्यपि कोरोनाकै कारण प्रदेशसभा सञ्चालन हुन नसकिरहेको हुँदा यी विषयले मुर्त रुप लिन नसकेको सांसदहरु बताउँछन् । यसैबीच भर्चुअल प्रविधि अपनाएर भए पनि प्रदेशसभाको काम, कारवाही अगाडि बढाउने तयारी भइरहेको प्रदेशसभा सचिवालयका एकजना अधिकृतले बाह्रखरीलाई जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro