site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हत्याको त कुरै छोड्नुस्, मैले एकजनालाई पिटेको छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासलाई पछाडितिर धकेल्न चाहनेले ‘१७ हजारको हत्यारा’ आफूलाई भनिरहँदा पार्टीनिकट नेता–कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । शनिबार (चैत ३०) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

१७ हजार मानिस युद्धको नियमानुसार मारिएको उनले उल्लेख गरे । उनले त्यति बेला राज्य र विद्रोही पक्ष (तत्कालीन माओवादी)बाट कति हत्या भयो भन्ने अध्ययन गर्न सकिने बताए । बिनाअध्ययन आफूमाथि आरोप लगाइएको भन्दै उनले आपत्ति जनाए ।

उनले ‘१७ हजार मानिस प्रचण्डले मारेको’ भन्ने आरोपको खण्डन गरे । आफूले अहिलेसम्म एकजनालाई पनि नपिटेको उनले बताए । “राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्ने कुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर, के यो आरोप सत्य हो त ?,” उनले भने, “१७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त भन्ने, मैले एकजनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् ।”

तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण विषयको जिम्मा लिएको उनको भनाइ थियो । “युद्धको नेतृत्व मैले गरेको हो । मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ,” उनले भने ।

उनले अगाडि भने, “तर, यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजीवी, राजनीतिक दल, सात राजनीतिक दल त्यति बेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईंहरू पनि कोही बोल्न चाहनुभएको छैन । तपाईंहरू पनि यसमा बोल्नुभन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठिक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निष्कर्ष र दिगो बनाउन सकिँदैन ।”

अध्यक्ष प्रचण्डले सबै नेताहरू उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाए । लोकतन्त्रलाई ‘नेतातन्त्र’ भनिएकामा पनि उनको असन्तुष्टि छ । उनले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताए ।

“यो विषय पनि यहाँ पनि सबै उस्तै हुन्, अथवा माओवादी मात्रै १७ हजारको जिम्मेवार हो । हत्यारा हो, आतंककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अंग भएको कुरालाई हामी के भन्छौँ छ ?,” उनले भने, “त्यो गलत हो ? त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो ।”

यौनजन्य हिंसामा परेका पीडित महिलालाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने उनले बताए । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य र विद्रोही पक्ष कति जिम्मेवार भन्न डराउन नहुनेमा उनले जोड दिए । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro