पोखरा । गत जेठ २४ मा पहिलो केस भेटिएको पोखरा महानगरपालिकामा त्यसयताको साढे दुई महिनामा कोरोना संक्रमितको ग्राफ बढेर २७९ पुगेको छ । जेठ २४ गते पोखरा महानगरपालिका-८ का ५९ वर्षीय पुरुषमा काठमाडौंस्थित एक अस्पतालमा उपचारको क्रममा संक्रमण पुष्टि भएको थियो । 'ट्राभल हिष्ट्री' नभएका ती पुरुषमा कसरी संक्रमण भयो त ? यसको जवाफ स्थानीय सरकार र प्रदेश सरकारले पत्ता लगाउन सकेनन् ।
जेठ २४ मा प्रदेश राजधानीसमेत रहेको पोखरा महानगरपालिकामा एक अंकमा रहेको संक्रमणको दर अहिले तीन अंकमा पुगेको छ । अढाइ महिनामा २७९ संक्रमित पुग्दा पछिल्ला १० दिनमा मात्रै ७९ संक्रमित थपिएका छन् । महानगरमा कोरोनाको ग्राफको वृद्धिदर तीव्र छ । संक्रमणको दर ह्वात्तै बढेसँगै महानगरसहित कास्कीमा अहिले १० दिने निषेधाज्ञा जारी छ ।
यो हप्तामात्रै महानगरभित्र ४६ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ । महानगरका ३३ वडामध्ये ३१ वटा वडामा कोरोना संक्रमित छन् । वडा नं. २० र २४ मा भने आजका मितिसम्म संक्रमित भेटिएका छैनन् ।
१० दिनमा तीन जनाको निधन, ७९ थपिए
भदौ १ देखि १० गतेको अन्तरालमा मात्रै पोखरामा २ जनाको कोरोना संक्रमणको कारणले ज्यान गएको छ । यस्तै ७९ जना संक्रमित थपिएका छन् । ज्यान गुमाउने एकजना पोखरा १६ का ६६ वर्षीय पुरुष हुन् ।
रक्तचाप, मृगौला, सुगर रोग समेत रहेका ती वृद्धको २ गते निधन भएको थियो । सोही दिन तनहुँको व्यासबाट उपचारको लागि पोखरा ल्याइएकी ५० वर्षीय महिलाको पनि निधनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
बिहिबार फेरि पोखरा महानगरपालिका ११ की ३२ वर्षीय महिलाको कोरोना संक्रमणकै कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको छ । ती महिलामा कुनै प्रकारको दीर्घरोग नभएतापनि कोरोना संक्रमणकै कारणले निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।
पछिल्ला ११ दिनमा मात्रै २८ प्रतिशत संक्रमित थपिएका छन् । त्यसमा नेपाल प्रहरीदेखि, सशस्त्र प्रहरी, बैंकका कर्मचारी, सरकारी कर्मचारी, व्यापारीलगायतका व्यक्ति छन् । ट्राभल हिस्ट्री नै नभएका व्यक्तिमा धमाधम संक्रमण भेटिएपछि अहिले निषेधाज्ञा जारी गरिएको छ ।
महानगरभित्र रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ४० बेडको आइसोलेसन र लेखनाथमा रहेको प्रदेश संक्रामक तथा सरुवा रोगको आइसोलेसन भरिएपछि संक्रमितहरु होम आइसोलेसनमा पनि छन् । महानगरका मेयर मानबहादुर जिसीले संक्रमितको लागि आइसोलेसन व्यवस्थापन गर्न १०० बेडको भवन खोजी गरिरहेको जानकारी दिए ।
पोखरा महानगरपालिकाले “छिमेकीले बाधा नगर्ने ठाउँमा १०० बेडको भवन उपलब्ध गराउन” सार्वजनिक सूचना जारी गरेको छ ।
कुन वडामा कति संक्रमित ?
भदौ १ गते मात्रै पोखरा महानगरका विभिन्न वडामा १२ जना संक्रमित थपिएका छन् । वडा नं. १७ मा भदौ १ गते पोखरा १७ मा ३० वर्षीय पुरुषसहित वडा नं. १६ का ६६ वर्षीय वृद्ध, वडा नं. २७ मा १० वर्षे बालकसहित ३ जना, ३० मा २१ वर्षीय युवती सहित गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भदौ २ गते भने पश्चिमाञ्चल अस्पतालको इमर्जेन्सीमा ६६ वर्षीय पुरुष र कास्की सेवा अस्पतालको आईसीयूमा ५० वर्षीय महिलाको कोरोना संक्रमणकै कारणले निधन भयो ।
भदौ ३ गते एकैपटक २५ जनामा संक्रमण भेटिएको छ । तीमध्ये प्रहरी पनि थिए । मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टिननमा बसेका प्रहरीमा कोरोना देखिएको थियो । बाँकी चाहिँ एकै परिवारका सदस्यहरु थिए ।
सहकारीमा काम गर्ने एक महिला सदस्यमा संक्रमण भेटिएपछिको ट्रेसिङमा थप व्यक्तिमा संक्रमण भेटिएको थियो ।
भदौ ४ मा १६ जना सशस्त्र प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो । ५ गते १ जना र ६ गते ६ वर्षे बालकसहित ८ वटा वडामा १६ जनामा संक्रमण भेटिएको थियो । ७ गते पश्चिमाञ्चल अस्पतालमा इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सहित पाँचजनामा संक्रमण भेटिएको थियो ।
८ गते २० वर्षीय युवतीमा, ९ गते ११ जनामा संक्रमण भेटिएको थियो, तीमध्ये एकजना पत्रकार पनि हुन । स्थानीय रेडियो तथा पत्रिकामा कार्यरत ती पत्रकार बैंकका कर्मचारीसँगको कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । ११ जना मध्ये २ जना प्रहरी पनि हुन । १० गते भारतीय सेनामा कार्यरत युवा सहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बिहिबार साँझसम्म वडा नं. १६ मा ७६ वर्षका पुरुषमा संक्रमण फेला परेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । बिहिबार नबिल बैंकका सुरक्षाकर्मीमा पनि संक्रमण भेटिएको छ ।