मूलतः सरकारको गलत र बदनियतपूर्ण निर्णयहरूका कारण कोभिड—१९ को संक्रमण धानै नसकिने गरी समाजमा फैलने जोखिम बढ्दै गएको छ । जनता भने सरकारले बन्दाबन्दी (लकडाउन) केही होलो हुनेबित्तिकै कोभिड —१९ को प्रकोप सकिएजस्तै सामान्य अभ्यासमा फर्कन खोज्दैछन् । असार महिनाको अन्त्यसम्ममा संक्रमितहरूको संख्या ४० हजार नाघ्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साउनमा संक्रमण नियन्त्रणमा आउने दाबी गरे पनि उपप्रधानमन्त्री ईश्वर पोख्रेलले भदौमा कोभिड—१९ को संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छन् । यसैले जनता आफैँले आनीबानीमा सुधार नगर्ने हो भने आउँदा दिनहरू निकै भयावह हुनसक्छन् ।
सरकारले संक्रमण रोक्न बेलैमा प्रयास गरेको भए स्थिति यसरी बिगे्रर जाने थिएन । अहिले भारतबाट आएकाहरूको व्यवस्थापन गर्न नसकेकाले संक्रमण तीव्र गतिमा फैलिएको भन्ने प्रधानमन्त्री ओलीसमेतका सरकारी पदाधिकारीहरूले सीमामा आएका नागरिकलाई व्यवस्थितरूपमा ल्याएर क्वारेन्टिनमा राख्न, घरसम्म पुर्याउन र पीसीआर विधिबाट परीक्षण गर्न विज्ञहरूलगायतले दिएका सल्लाहको उपेक्षा गरे । स्वास्थ्यमन्त्रीले त संसद्मै नेपालमा संक्रमणको खतरा नै छैनसमेत भनिदिए । व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा सामग्री र उपकरणको आपूर्तिलाई राज्यको ढुकुटी दोहन गर्ने उपायका रूपमा प्रयोग गरियो । यही कारणले सचेत युवा सडकमा उत्रेर ‘अब त अति भयो’ भन्दै आन्दोलनै सुरु गरेका हुन् । यसबाट सिक्नुपर्ने पाठ के हो भने संक्रमणका नाममा पैसा कमाउनेबाहेक शासकहरूलाई जनताको जीवन रक्षामा चासो छैन । त्यसैले जनसाधारण स्वयं नै संक्रमण फैलन नदिन सचेत हुनु जरुरी छ ।
अहिलेसम्म बेलायतमा एउटा औषधिले कोभिड—१९ संक्रमितलाई फाइदा भएको बताइएबाहेक उपचारमा संसारभर खासै प्रगति भएको समाचार छैन । यस्तो गम्भीर परिस्थितिमा पनि जनसाधारणले संक्रमण फैलने जोखिमप्रति हेलचेक्य्राइँ गर्नु आत्मघाती दुर्भाग्य हो । सरकारले जनतालाई असुविधा भयो भनेर नभई कर नउठे सरकारको ढुकुटी रित्तिने भएकालेमात्र आर्थिक गतिविधि सञ्चालन गराउन बन्दाबन्दी खुकुलो बनाएको हो । यसैले सरकारी ढुकुटी भरियो वा विरोध चर्कन थाल्यो भने सरकारलाई जनसाधारणको व्यवहार बन्दाबन्दी थोपर्ने बहाना हुनेछ । यसैले संक्रमण रोक्न सहायक मानिएका सामान्य नियमलाई बेवास्ता नगरौँ । भिडभाडमा नजाने, घरबाहिर निस्कँदा सधैँ ‘मास्क’ लगाउने, मानिसहरूबीच भौतिक दूरी कायम गर्ने, साबुनपानीले नियमितरूपमा हात धुनेजस्ता कामलाई अब दैनिक जीवनका सामान्य बानी बनाउनुपर्छ । यो ‘नयाँ बानी’ अब केही समयका लागि जीवनशैली नै बनाउनुपर्छ ।
धेरै गरिबहरूका लागि मास्क र साबुनपानी जुटाउन पनि आर्थिक दृष्टिबाट निकै कठिन हुनसक्छ । स्थानीय सरकारहरूले सामाजिक संघसंस्थासमेतको सहयोग लिएर तिनलाई मास्क र साबुन उपलब्ध गराउनु उचित र आवश्यक देखिन्छ । यस्तै क्वारेन्टिनबाट पीसीआर परीक्षणको नतिजा नआई समुदायमा नजाने र जान नदिने गरेर समाजमा संक्रमण फैलन रोक्न सकिन्छ । क्वारेन्टिनको सही व्यवस्थापन र पीसीआर परीक्षणबाट संक्रमण मुक्त नदेखिँदासम्म घर नपठाउने नीति अपनाएर पनि संक्रमणको वेग रोक्न सकिन्छ । यसैले महामारीको भयावहता अब जनसाधारण र स्थानीय तहहरूको प्रयासमा निर्भर हुने देखिन्छ । असल अभ्यास अपनाएर बाचौँ र अरूलाई पनि बचाऊँ ! प्रधानमन्त्री ओलीले भनेजस्तो नेपालीको रोग प्रतिरोध क्षमता बलियो छ भन्ने त सायद कुनै अध्ययनले पुष्टि गरेको छैन तर भूकम्पपछि नेपाली समाजले आफ्नो जीवटपन प्रमाणित गरेको छ । यसैले नयाँ जीवनशैली अपनाएर भए पनि कोभिड—१९ को संक्रमण रोक्न हामी नेपालीहरू सक्षम हुनुपर्छ ।