site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१५ कम्पनी र एक व्यक्ति, जसले तिरे सबैभन्दा बढी कर (सूचीसहित)

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सरकारलाई बढी कर तिर्ने १५ कम्पनी तथा एक जना व्यक्ति सम्मानित भएका छन् ।  १३औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले शनिबार एक विशेष समारोहका बीच सम्मान गरेको हो । 

सम्मान हुनेमा सरकारीदेखि निजी कम्पनी र व्यक्ति परेका छन् ।  यो वर्ष व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा राजबहादुर शाह छन् । यसअघि उनका बुवा विजयबहादुर शाह शाह व्यक्तिगत रूपमा बढी कर तिर्नेमा पर्दै आएका थिए ।   

अघिल्ला वर्षझैँ यो वर्ष बढी कर तिर्नेमा भाटभटेनी सुपरमार्केट रहेको छ । नबिल बैंक पनि लगातार बढी कर तिर्ने कम्पनीको सूचीमा परेको छ । त्यस्तै सरकारी कम्पनी नेपाल टेलिकम र सीडीएससी पनि परेका छन् । 
बढी कर तिर्ने पहिलो नम्बरमा पर्दै आएको सूर्य नेपाल भने यो वर्ष सूचीमा परेन । 

सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएको छ । 

यो वर्ष बढी कर कुन क्षेत्रका कुन कम्पनीले तिरे ? 
नेपाल टेलिकम 

सरकारी दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकम सरकारी निकायमध्ये सबैभन्दा धेरै आय कुर बुझाउने बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७९–८० मा सरकारी निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने नेपाल टेलिकम बनेको हो ।

नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने निकाय बनेको यो पहिलोपटक भने होइन । टेलिकम लगातार ठूलो करदाता बन्दै आएको छ ।

गएको आथिर्क वर्ष २०८०–०८१ मा नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा ४.९९ कम अर्थात् ३४ अर्ब ४६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको खुद नाफा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ छ ।

नबिल बैंक 

नबिल बैंक यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ ।  बैंक, वित्तीय संस्था र बिमाको कारोबार क्षेत्रकातर्फ अहिलेसम्म आठपटक यो सम्मान प्राप्त गर्न सफल भएको हो ।  आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

यो बैंक वि.सं. २०५७ मा आयकरमा दर्ता भएको थियो ।  नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ ।  यसअघि आर्थिक वर्ष २०६७–६८, २०७०–७१, २०७१–७२, २०७३–७४, २०७५–७६, २०७६–७७ र २०७७–७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

नबिल बैंकले देशभरी २६८ शाखा कार्यालय र ३२० एटीएम मेसिनमार्फत सेवा दिँदै आएको छ । 

भाटभटेनी सुपर मार्केट 

वस्तु व्यापार कारोबारबाट बढी आयकर तिर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।  आर्थिक वर्ष २०७९–८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । 

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा सम्मानित गरेको हो । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।  भाटभटेनीले देशमा उत्पादन भएका खाद्य वस्तुदेखि विदेशी ब्रान्डका वस्तु पनि बिक्री गर्दै आएको छ । 

नेपालमा सबै सामग्री एउटै स्टोरबाट बिक्री गर्ने भाटभटेनी सुपरमार्केट नै रहेको छ । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सम्मानपछि भने–धेरै रोजगारी सिर्जना गर्ने र सरकारलाई लगातार बढी राजश्व बुझाउने नै भाटभटेनीको योजना हो । 

उनले व्यवसायीले बढी भन्दा बढी कर तिर्दै गएमा मुलुक समृद्ध बन्न धेरै समय नलाग्ने बताए ।

डाबर नेपाल 
आर्थिक वर्ष २०७९/८० मा यो कम्पनीले वस्तु निर्यातको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट सम्मान पाएको छ । एक अर्बभन्दा बढीको करयोग्य कारोबार गर्ने यो कम्पनी ठूला करदाता कार्यालयमा दर्ता छ । 

यो कम्पनी वि.सं. २०५८ मा आयाकरमा दर्ता भएको हो । त्यस्तै भ्याटमा वि.सं. २०५४ मा दर्ता भएको थियो ।  कम्पनीले दैनिक उपभोग्य सामग्रीहरू कोलकेट, रियाल जुस, स्याम्पु लगायतको उत्पादन तथा बिक्री गर्दै आएको छ । 

डाबर नेपालले जडीबुटी खरिद गर्नुका साथै नेपालका किसानहरूलाई जडिबुटी खेतीका लागि प्रविधि, बीउ दिएर जडीबुटी खेतीका लागि प्रोत्साहन गरिरहेको छ । यसबाट खाद्यान्न उत्पादन कम हुने जमिनबाट किसानले प्रशस्त आयआर्जन गर्न सफल भएका देखिन्छन् । 

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा यो कम्पनीको उद्योग रहेको छ ।

कोडावतार टेक 

विभागले सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरी सबैभन्दा बढी कर बुझाउने कम्पनीका रूपमा कोडावतार टेक प्रालिलाई सम्मान गरेको छ ।  विभागका अनुसार, कोडावतारले आर्थिक वर्ष २०७९–०८० मा आईटीसम्बन्धी सेवा निर्यात गरी आय विवरणानुसार सबैभन्दा बढी आयकर दाखिला गरेको हो ।

काठमाडौं आधारित कोडावतार ०७७ साल असार २६ गते आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा दर्ता भएको विभागले जनाएको छ । 

मासिक रूपमा भ्याट विवरण बुझाउँदै आएको कम्पनीले आर्थिक वर्ष २०७९–०८० को कर चुक्ता ०८० असोज २४ गते गरेको विभागको तथ्यांक छ । दर्ता भएको करिब तीनवर्षको अवधिमा नै आईटी निर्यात गरी सबैभन्दा बढी कर भुक्तान गर्ने कम्पनीका रूपमा कोडावतारलाई विभागले सम्मान गरेको हो ।

कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार, यसले २५० भन्दा बढी मानिसलाई रोजगारी प्रदान गरेको छ ।

वेबसाइटमा अन्तर्राष्ट्रिय मानकीकरण संस्था आईएसओबाट प्रमाणित उल्लेख गरिएको कोडावतारका डायलेक्सी र क्रिस्प कल दुई क्लाउड टेलिफोनी तथा म्यासेज सेवा छ ।

कोडावतारको डायलेक्सीले स्वास्थ्य, शिक्षा, स्टार्टअप, होटेल, रियलस्टेटलगायत क्षेत्रका कम्पनीलाई इन्टरनेटमा आधारित सञ्चार सेवा उपलब्ध गराउँछ ।  यस्तै, क्रिस्प कलले १०० भन्दा बढी देशमा भर्चुअल सिम नम्बर उपलब्ध गराउने एवं इन्टरनेट आधारित फोनकल सुविधा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

पतञ्जली आयुर्वेद 

पतञ्जली आयुर्वेदले कृषि उद्योग गर्नेमध्ये आर्थिक वर्ष २०७९–८० को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गरेको छ ।  वि.सं. २०६८ मा आयकरमा दर्ता भएको यो कम्पनी २०७० सालमा भ्याटमा दर्ता भएको थियो । 

काठमाडौं महानगरपालिका वडा नं. ४ भाटभटेनीमा यो कम्पनी छ । पतञ्जलीले पनि औषधिजन्य उत्पादन र घरायसी प्रयोजनमा दैनिक आवश्यक पर्ने कोलकेट, तेल, स्याम्पू लगायत उत्पादन र बिक्री गर्दै आएको छ । 

श्रुती ट्रेडर्स 

यो कम्पनी आर्थिक वर्ष २०७९–८० मा एकलौटी फर्महरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्ने ओमसतिया गाउँपालिकामा कम्पनी अवस्थित छ । 

यो कम्पनी ठूला करदाता कार्यालयमा दर्ता छ । एक अर्बभन्दा बढीको करयोग्य कारोबार गर्ने करदाता ठूला करदाता कार्यालयमा दर्ता हुने व्यवस्था छ ।  कम्पनी २०७४ सालमा आयकर र २०८० मा मूल्य अभिवृद्ध कर (भ्याट) दर्ता भएको तथ्यांक विभागसँग छ । कम्पनीले मासिक रूपमा कर तिरेको देखिन्छ । 

भोटेकोसी पावर कम्पनी 

भोटेकोसी पावर कम्पनीले २०७९/८० मा ऊर्जा क्षेत्रमा सबैभन्दा बढी कर तिर्नेमा परेको छ । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोसी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । 

यो कम्पनीलाई सरकारले ऊर्जा क्षेत्रमा बढी कर तिर्ने कम्पनीको रूपमा यो वर्ष सम्मान गरेको छ । कम्पनीको कार्यकारी अध्यक्ष सिद्धार्थ राणा छन् । माथिल्लो भोटेकोसी आयोजना सन् २००१ देखि सञ्चालनमा आएको थियो । आयोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित छ । 

सीडीएससी 

धितोपत्र बजारमा सेयरको बैंकको रूपमा काम गर्दै आएको सि.डि.एस.एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले यो वर्ष बढी आयकर दाखिला गरेर सम्मानित भएको छ । कम्पनीले ५० करोडदेखि १०० करोडसम्मको कारोबार गर्ने करदातामध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मान प्राप्त गरेको हो । 

यो नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सहायक कम्पनी हो । कम्पनीको अध्यक्ष नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुन्छन् । 

लुम्बिनी मेडिकल कलेज 

आर्थिक वर्ष २०७९–८० मा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमध्ये सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ ।  १८ वर्षदेखि सञ्चालनमा रहेको यो मेडिकल कलेजले विद्यार्थी पढाउनुका साथै स्वास्थ्य उपचारको काम पनि गर्दैै आएको छ । 

कलेजले पीजी प्रोग्राम, बीएससी नर्सिङ र एमबीबीएस पढाउँदै आएको छ । वि.सं. २०६२ सालमा आयकरमा दर्ता भएको यो कम्पनी २०७४ मा भ्याटमा दर्ता छ । यो कम्पनी ठूला करदाता कार्यालयमा दर्ता छ । 

कम्पनीको अध्यक्ष गोपाल बहादुर पोखरेल छन् । त्यस्तै रामप्रसाद पोखरेल, जगत पोखरेल, कृष्ण सुवेदी र निर्दाेष खनाल सञ्चालक हुन् । 

ह्यात होटेल 

२०३४ सालमा स्थापना भएको तारागाउँ रिजेञ्सी (ह्यात) होटेल २०७९/८० मा उत्कृष्ट करदाता बन्यो । पर्यटन व्यवसायतर्फ सबैभन्दा बढी आयकर दाखिल गर्ने कम्पनीको रुपमा सरकारले होटेललाई सम्मान गरेको छ । 

विकास समिति ऐन, २०१३ अन्तर्गतको तारा गाउँ विकास समिति गठन आदेश, २०३४ अनुसार वि.सं. २०३४ सालमा स्थापित तारागाउँ विकास समिति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा रहेको संस्था हो । 

नेपालको पर्यटन उद्योगलाई विकास र विस्तार गरी सघन एवं समन्वयात्मक ढंगबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न तथा विदेशी पर्यटकहरुलाई नेपाली कला, संस्कृति र रहनसहनसँग बढी परिचित तुल्याउन नेपाली शैलीका आवासगृह, चमेनागृह र अन्य आवश्यकीय भवनहरू स्थापना र संचालनमा छन् ।

सिटी एक्सप्रेस

रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये आर्थिक वर्ष २०७९/८० मा आयकर विवरणअनुसार सबैभन्दा बढी आयकर तिर्नेमा सिटी एक्सप्रेस मनि ट्रान्सफर परेको छ ।  सिटी एक्सप्रेसले बिगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ । सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ । 

राजबहादुर शाह 

आर्थिक वर्ष २०७९–८० मा व्यक्तिगत आयमा सबैभन्दा बढी तिर्नेमा जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह परेका छन् । यसअघिका वर्षहरूमा सबैभन्दा बढी कर तिर्नेमा उनकै बुबा विजयकुमार शाह पर्दै आएका थिए ।

जावलाखेल ग्रुपअन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरीलगायतका कम्पनी छन् ।  यी कम्पनीले गोल्डेनओक, ब्ल्याकओक, रुस्लान भोड्का, ब्लु डाइमण्ड जिन, बडवाइजर वियर, वार्सटाइनर वियरलगायतका मदिरा उत्पादन गर्छन् । 

बुबा विजयकुमारले २०७७, २०७८, २०७९ र २०८० सालमा बढी कर तिर्ने व्यक्तितर्फ सम्मान पाएका थिए । यो वर्ष भने छोरा राजबहादुरले पाएका हुन् ।  राजबहादुर शाह २०७० सालदेखि करको दायरामा आएका हुन् । 

होङ्सी शिवम् सिमेन्ट

२०७५ साउनदेखि २०८१ असार मसान्तसम्म सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) टिरेर यो वर्ष होङ्सी शिवम् सिमेन्ट सम्मानित भएको छ । यो कम्पनीले कर कार्यलयमा दर्ताभएदेखि नै समयमै नियमित कर दाखिला गरेको आन्तरिक राजस्व विभागको भनाइ छ । 

होङ्सी शिवम् सिमेन्ट कम्पनीमा होङकोङ रेड लाइन नं. ३ सिमेन्टको ७० प्रतिशत र चाइना शिवम् सिमेन्टको ३० प्रतिशत सेयर स्वामित्व रहेको लगानी बोर्डको तथ्यांकमा छ ।  यो कम्पनीको फ्याक्ट्री नवलपरासीमा छ भने चुनढुंगा खानी पाल्पामा छ । 

बरूण बेभरेज नेपाल 

पेप्सी र डिउ लगायत पिय पदार्थ उत्पादन तथा बिक्री गर्दै आएको बहुर्राष्ट्रिय कम्पनी बरूण बेभरेज नेपाल यो वर्ष विशेष उद्योगहरूमध्ये बढी आयकर दाखिला गर्नेमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा यो कम्पनीले सरकारलाई बढी राजस्व दाखिला गरेकोमा सम्मान गरिएको हो । 

सोल्टी इन्टरप्राइजेज 

सोल्टी होटेलमा लगानी गर्नका लागि स्थापना गरिएको सोल्टी इन्टरप्राइजेज कम्पनी पनि यो वर्ष सरकारबाट सम्मानित भएको छ ।  वार्षिक कारोबार रकम ५० करोडसम्म गर्ने करदातामध्ये आर्थिक वर्ष २०७९–८० मा बढी आयकार तिरेको आधारमा यो कम्पनी सम्मानित भएको हो । 

यो कम्पनीबाट सबैभन्दा बढी सोल्टी होटेलको सञ्चालकमा जाने गरेका छन् । यो कम्पनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक नै सोल्टी होटेलको अध्यक्ष हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्