काठमाडौं । मुलुक लकडाउनमा थियो । जनता कोभिड–१९ को संक्रमणको भयले घरभित्रै थिए । सीताराम कट्टेल (धुर्मुस) पनि केही दिनअघि मात्रै चितवनबाट काठमाडौं आइपुगेका थिए । कोेरोनाबारे उनले केही चेतनामूलक भिडियो बनाए । बच्ने र बचाउने उपाय सिकाए । लकडाउन लम्बिँदै जाँदा खान–बस्न कठिन भएका मजदुर तथा विद्यार्थीलाई सहयोग गरे । काठमाडौंभित्र र बाहिर अलपत्र परेकाहरूलाई घरघर पुर्यादिए । ललितपुरमा केही दिन निःशुल्क खाना खुवाए ।
धुर्मुस काठमाडौं दुःखमा रहेका जनतालाई घरभित्रै बसेर भए पनि सहयोग गरिरहेका थिए । तर उनले चितवनमा निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला भने अलपत्र परिरहेको थियो ।
उनको मनले मानेन । त्यसैले धुर्मुस पुगे चितवन । काम त सुरु गर्ने तर कसरी ? कोरोनाको महामारी थियो । कामदार आ–आफ्ना घर गएका थिए । उनले केही मजदुरलाई बोलाए । स्वास्थ्य परीक्षण गराए । परीक्षणमा कोरोना नेगेटिभ देखिएका मजदुरमार्फत वैशाख २० बाट काम सुरु गरे ।
“अवस्था प्रतिकूल थियो । सरकारले लकडाउन गरेको थियो । सबै जनता घरमा बसेका बेला मैले काम सुरु गरेँ,” धुर्मुस भन्छन्, “सामाजिक दूरी कायम गरेर काम गर्नुपर्ने थियो । स्वास्थ्य सुरक्षामा पर्याप्त सतर्कता अपनाएर काम सुरु गर्यौं ।”
अहिले उनले १०७ मजदुरमार्फत रङ्गशालाको काम गरिरहेका छन् । जसमा ८८ जना दक्ष कामदार रहेको उनले जानकारी दिए । अबको केही दिनमै ३० देखि ३५ कामदार थप्ने उनको योजना छ । सामान्य समयमा ३१३ मजदुरले काम गर्दै आएका थिए । उनका अनुसार अहिले प्यारापिटको पिलर उठाउने काम भइरहेको छ ।
लकडाउनका कारण छड, बालुवा तथा सिमेन्टको अभाव झेले पनि लकडाउन खुकुलो भएपछि निर्माण सामग्री उपलब्ध हुन केही सहज भएको धर्मुसको अनुभव छ । रङ्गशालाको ग्राउन्डको काम ८५ प्रतिशत सकिएको छ । ग्राउन्डमा पाँगो माटोसमेत हालिसकेको तर पानी परिरहेका कारण रोलरले पेल्न नपाएको उनले बताए । रोलर लगाएर दुबो रोप्न पाएको अवस्थामा मैदान भदौदेखि असोजकै बीचमा अन्तर्राष्ट्रिय खेल खेलाउन तयार हुने उनको दाबी छ ।
रङ्गशालाको नमुना ग्राउन्ड भने पूर्ण रूपमा तयार भइसकेको छ । उनका अनुसार उक्त ग्राउन्डमा जुनसुकै प्रतियोगिता अहिले नै खेलाउन सकिन्छ । क्युरेटर बसेर उक्त ग्राउन्ड फाइनल गरिएको उनले बताए ।
सामान्य समयमा रङ्गशालामा श्रमदान गर्न दैनिक केही संख्यामा विभिन्न ठाउँबाट स्वःस्फूर्त आउने गरे पनि कोरोनाका कारण अहिले यो सहयोग भने उनले पाएका छैनन् । धुमुर्सले रङ्गशाला जनस्तरको सहयोगमा निर्माण सुरु गरेका हुन् । तर अहिले जहाँबाट सबैभन्दा धेरै सहयोग आइरहेको थियो तिनै देशमा कोरोनाको महामारी फैलिएका कारण सहयोग करिब रोकिएजस्तै भएको उनी बताउँछन् ।
“सहयोगका लागि प्रतिबद्धता जनाइसक्नु भएकाहरू यदि रकम पठाउन सक्ने अवस्थामा हुनुहुन्छ भने मात्रै पठाउनुस् भन्ने अवस्था छ,” उनी भन्छन्, “हामीसँग अनुमति लिएर जसले पैसा उठाउनुभएको छ । पठाउन सक्ने अवस्था छ भने पठाइदिनु भए हामीलाई काम गर्न सजिलो हुन्छ ।” तर अहिले हामीलाई सहयोग गर्नुस् भन्ने अवस्था नरहेको भन्दै उनी अफ्ठ्यारोमा परेका विदेशमा रहेका नेपालीलाई सुलभ भाडादरमा नेपाल फर्काउन सरकारसँग आग्रह गर्छन् ।
उनले ०७५ माघ १६ गते रङ्गशाला निर्माण घोषणा गरे । जमिन घेरेर डीपीरआरको तयारी भइरहेको अवस्थामा जेठ १५ गते स्थानीयले अवरोध सिर्जना गर्दै कम्पाउन्डमा डोजर चलाए । यसले साढे २ महिना रोकिएपछि मंसिर १ बाट काम सुरु भएको थियो । चैत ९ गतेबाट कोरोनाका कारण बन्द भएको काम वैशाख २० गतेबाट आशिंक रूपमा सुरु भएको थियो ।
“आर्थिक, प्राविधिक तथा निर्माण सामग्रीसहित सम्पूर्ण स्रोत व्यवस्थापन भए अझै पनि समयमै रङ्गशाला निर्माण गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो,” उनी भन्छन्, “तर यसका लागि हामीलाई बोलकबोल भएको, उपलब्ध गराउँछु भनेको रकम र सरकारले गर्छु भनेको सहयोग समयमै गर्नुपर्नेछ ।”
रङ्गशालाको अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्न धुर्मुसले आईसीसीको कन्सल्टेन्ट श्रीलंकन बन्धुलालाई अनुबन्ध गरेका छन् । उनको प्रत्यक्ष निगरानीमा काम भइरहेको छ । यद्यपि अहिले भने बन्धुला लकडाउनका कारण श्रीलंकामा छन् । उनले अहिले भिडियोमार्फत सल्लाह सुझाव दिइरहेका छन् र सोहीअनुसार काम भइरहेको छ ।
“कठिन परिस्थितिमा पनि राष्ट्रिय महत्त्वको परियोजना भएकाले काम गरिरहेका छौं । जनस्तरबाट बनेको राष्ट्रकै गौरवको आयोजना भएकाले पक्कै पनि सहयोग र साथ रहनेछ भन्ने विश्वास छ,” उनले भने ।