आफ्नै कारणले ‘शिथिल विपक्ष’को बिल्ला भिरेको नेपाली कांग्रेस केही यता जुर्मुराउन थालेको छ । त्यतिमात्र हैन जनताका वास्तविक समस्यालाई बेवास्ता गरेर सीमित वर्गका पक्षमा पैरवी गर्ने केही वर्ष अघिको प्रवृत्ति पनि त्यागेर कांग्रेसले जनसमस्या उजागर गर्न थालेको देखिएको छ । नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नक्सा निसान छापमा समावेश गर्न प्रस्तुत भएको नेपालको संविधान संशोधन विधेयकमा संस्थागतरूपमै निर्णय गरेर कांग्रेस राष्ट्रियताका पक्षमा सुदृढ र स्पष्ट अडान प्रकट गरेर जिम्मेवार विपक्षको भूमिकामा प्रकट भएको थियो । संविधान संशोधन प्रकरण सकिएपछि कांग्रेसले कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवारी र हेलचेक्याइँको विरोध गरेर सशस्त र जुझारु विपक्षको जिम्मेवारी पूरा गर्न अग्रसर भएको देखिएको छ ।
कोभिड—१९ को व्यवस्थापनमा सरकारले देखाएको गैरजिम्मेवार प्रवृत्ति र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गर्न स्वदेश र विदेशबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेसका अनुसार महामारीको व्यवस्थापनमा सरकारको गैरजिम्मेवारपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचारका भयावह हुँदै गएको देशको अवस्थामा स्वदेश र विदेशबाट एकैसाथ प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । कोभिड—१९ को संक्रमण नियन्त्रण, महामारीले जनतामा पारेको प्रभाव न्यून गर्न सरकारले गर्नुपर्ने कामलगायतका विषयमा कांग्रेसले यसअघि नै प्रधानमन्त्रीको ध्यानाकर्षण गरिसकेको छ । ज्ञापनपत्रमा ‘‘नेपाल फर्कन चाहेका विदेशमा रहेका नागरिकका लागि उपयुक्त व्यवस्थ ागर्न र हवाई भाडालगायत अन्य खर्च व्यवस्था गर्न नसक्नेका लागि सरकारले उपयुक्त व्यवस्था गर्न गरोस् ।’’ भन्नेजस्ता मागहरू समावेश छन् ।
लोकतन्त्रमा विपक्षी राजनीतिक दल सशक्त, जनमुखी र जिम्मेवार नभए सत्ता निरंकुश हुन्छ भने विपक्ष सशक्त हुँदा नै जनताको हित हुन्छ । ओली सरकार गैरजिम्मेवार र भ्रष्ट हुनुमा कांग्रेसको कमजोर भूमिका पनि जिम्मेवार छ । यसैले अहिले संकटको समयमा नेपाली कांग्रेस जुर्मुराउनु सकारात्मक हो । संसद्मा संख्या थोरै हुँदैमा विपक्षको भूमिका कमजोर हुने हैन । कमजोर त दृष्टिकोण र अभ्यासबाट हुन्छ । यस्तै संख्याभन्दा विरोधको प्रभावकारिता नियत र शैलीमा निर्भर हुन्छ । अहिले अर्थतन्त्र टाट पल्टन लागेको र प्रधानमन्त्री ओलीमाथि उनकै पार्टीभित्रबाट प्रहार भइरहेको मौका छोप्नका लागि कांग्रेसले विरोध स्वर उरालेको हो भने त्यसबाट नैतिक शक्ति हासिल हुँदैन ।
जनस्तरबाट सरकारको विरोध सुरु भएकाले जस लिन खोजेको हो भने पनि त्यो प्रयत्न सफल नहोला । हालै राजधानीलगायतका ठाउँमा गरिएको विरोध प्रदर्शनले जनचासोका सही माग र जनविरोधको सही तरिकाको उदाहरण देखाएको छ । सडक विरोध त राजनीतिक दलमा नरहेका युवालाई नै छाडे प्रभावकारी हुने देखिन्छ । यसै पनि संसद्मा गरिएको विरोध सरकारले नसुनेमात्र विपक्षी दल सडकमा आउने हो । जनताका पक्षमा सशक्त तर अत्यन्त जिम्मेवारीसाथ प्रस्तुत भएमात्र नेपाली कांग्रेसको विरोध सार्थक हुनेछ । यसैले ‘सरकारको छिनोफानो’ गर्न हैन महामारीको संकटबाट नेपाली जनता र अर्थतन्त्रलाई जोगाउन कांग्रेसको भूमिका सशक्त हुनुपर्छ । अनिमात्र विरोधको औचित्य सिद्ध हुन्छ । सत्ताका लागि त नेपाली कांग्रेसले अर्को चुनावसम्म पर्खिनै पर्छ नि !