सरकारका तर्फबाट बिगार्न सक्नेजति स्थिति बिगारेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरूसँग कोभिड..१९ का बारेमा परामर्श गरेछन् । ‘आग लागी झुपडी डेढधडी भद्रा’ । विज्ञहरूले जे परामर्श दिए पनि प्रधानमन्त्री ओलीले सुन्ने मान्ने सम्भावना अत्यन्त कम छ । विज्ञहरूले अहिलेको अवस्थामा बन्दाबन्दी खुकुलो बनाउने र परीक्षण तथा सम्पर्क पहिचानको दायरा र गति बढाउने सुझाव दिए । सरकार भने स्वास्थ्य संकटको घोषणा गरेर थप कडाइ गर्ने तयारीमा लागेको समाचार आएको छ । कोभिड–१९का कारणले भन्दा अरू नै रोग र भोकले धेरै जनाको ज्यान लिइसकेको छ । अर्थतन्त्र लभगभ ध्वस्त भइसकेको छ । देशभरका जनताको मानसिक, शारीरिक, सामाजिक र आर्थिक जीवनमा बन्दाबन्दीले पारेको प्रभाव भयावह हुने देखिएको छ । अर्थात्, शासकहरूको नियतमा शंका नगर्ने हो भने पनि भन्नुपर्ने हुन्छ – यो त विश्व महाव्याधि पो हो त !
गत वर्षको मंसिर महिनामा चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसको संक्रमणलाई सुरुमा चीन सरकारले ढाकछोप गर्न थाल्यो । महामारीबारे विश्वले थाहा पाउनेबित्तिकै नेपालमा तयारी गरिएको भए अहिलेको भयावह अवस्थाबाट जोगिन सकिन्थ्यो । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्रीले संसद्मै नेपालमा कोरोनाभाइरसबाट डराउनु पर्ने अवस्था नभएको भनेर ठोकुवा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री त कोरोनाभाइरसले भित्रिइसक्ता पनि नेपाललाई कोरोना फ्री’ मुलुक भनेर प्रचार गर्ने गुड्डी हाँक्तै थिए । अर्थात्, सरकारले देशमा कोरोनाभाइरसको महामारी फैलनसक्छ भन्ने स्वीकारै गरेन । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि नेपालमा केही हलचल त देखियो परन्तु खासै केही नगरी करिब दुई साता बिताइयो । सरकारको अकर्मण्यता मूर्खतामात्र जस्तो देखिएको तर त्यो त भ्रष्टाचारको बदनियतले गरिएको अलमलको नाटक रहेछ । ओम्नी प्रकरणले सरकारको भ्रष्ट नियतको पोल खुल्यो । त्यही अकर्मण्यता र बदनियतले मुलुकलाई भयावह महामारीको जोखिममा पुर्याएको हो ।
बन्दाबन्दीको समय प्रधानमन्त्रीले पार्टी फुटाउन अध्यादेश जारी गराउनेदेखि ‘सांसद अपहरण’ गराउनमा बिताए भने सत्तारुढ दलका अर्का अध्यक्षको नेतृत्वमा अरू नेता प्रधानमन्त्री हटाउने चटक देखाउन लागे । त्यस अवधिमा न क्वारेन्टिनको व्यवस्थामा ध्यान दिइयो न परीक्षणलाई व्यापक बनाउनै खोजियो । अब भारत र तेस्रो मुलुकहरूबाट पनि फर्कनेहरूको ओइरो लागिसकेको छ । संक्रमण गाउँगाउँसम्म फैलेको छ । तर क्वारेन्टिन, परीक्षण र उपचारको प्रबन्ध कतै पनि छैन भने हुने अवस्था छ । सरकार भने बाहिरबाट काठमाडौं जान भाँजो हालेर मुलुकलाई बेवारिसे अवस्थामा छाड्ने मनःस्थितिमा देखिएको छ । काठमाडौंवासी पनि बन्दाबन्दीबाट आजित भएर अवज्ञा गर्ने अवस्थामा पुगेका छन् । यस्तोमा भौतिक दूरी र व्यक्तिगत सुरक्षासमेत उपेक्षा गर्न थालिएको छ । गरिबहरू त कोभिड–१९ बाट बरु बाँच्न सक्ने तर भोकले मर्ने स्थिति देखिएको छ । महाव्याधिलाई पैसा कमाउने र विपक्षी दबाउने मौका बनाएर सरकारले ठूलो घात गरेको छ । तर, देशै भड्कालोमा पर्यो भने शासकहरूमात्र जोगिँदैनन् भन्ने तथ्य भने बिर्सेजस्तो छ । सबैले सबैतिरबाट शासकहरूलाई सम्झाउनु जरुरी छ – यो विश्व महाव्याधि पो हो त !