संक्रमणको जोखिममा रहेकाहरूलाई अलग्गै राखेर परीक्षण गर्न र समुदायमा महाव्याधि फैलन नदिन क्वारेन्टिनको व्यवस्था गरिएको हो । दुर्भाग्य, व्यवस्थापनमा देखाइएको अत्यन्त गैरजिम्मेवार हेलचेक्य्राइँका कारण क्वारेन्टिनहरू नै कोरोनाभाइरस फैलाउने केन्द्र बन्न पुगे । विशेषगरी प्रदेश नम्बर दुई र पाँचका प्रदेश तथा स्थानीय सरकारहरू क्वारेन्टिनको व्यवस्थापनमा पूर्णतः असफल भएका छन् । प्रदेश नम्बर दुईमा क्वारेन्टिनमा करिब १८ हजार राखिएका छन् भने क्वारेन्टिन स्थल नै कोरोना संक्रमण फैलिने सबैभन्दा जोखिमपूर्ण ठाउँ बनेका छन् । कतिपय स्थानमा संक्रमणको पुष्टि भएकालाई समेत क्वारेन्टिनमा अरूसँगै राखिएको छ भने परीक्षणको नतिजा नआउँदै घर पठाइएका कतिपयमा संक्रमण देखिएपछि सुरक्षाकर्मी खोज्दै हिँडेका छन् । तर सरकार भने बन्दाबन्दी लम्याउनै व्यस्त छ । जेठ २० गते सकिने भनिएको बन्दाबन्दी मन्त्रिपरिषद्ले जेठ ३२ गतेसम्म लम्याउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सीमाहरू भने असार १६ सम्मै बन्द रहनेछन् ।
सरकार एकातिर विनायोजना बन्दाबन्दी (लकडाउन)को अवधि लम्याएर बसेको छ भने अर्कातिर क्वारेन्टिनकै कारण संक्रमण धान्नै नसकिने गरी फैलँदै गएको छ । क्वारेन्टिनको नाम दिइएका विद्यालयका कक्षा कोठामा राखिएका कतिपयले खानेपानीसमेत नपाएको गुनासा गरेका छन् । यस्तै झुल नभएको कोठामा बेन्चमै खानेबस्ने गरेका छन् तिनलाई लामखुट्टेको टोकाइबाट हुने सरुवा रोगसमेत सर्नसक्ने जोखिम बढेको छ । क्वारेन्टिनमा बसेको १० दिनसम्म पनि परीक्षण र उपचार नहुँदा दैलेखका युवकको मृत्यु भयो । क्वारेन्टिनमा आइपुग्दैमा बिरामी देखिएका दैलेखका युवक सरकारी हेलचेक्य्राइँकै कारण अकालमा मरे । डडेलधुराको क्वारेन्टिनमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकको अकाल मृत्यु भएको छ । बाँकेमा क्वारेन्टिनबाट घर पठाएको चार घन्टापछि उनीहरूमध्ये सात जनामा संक्रमणको पुष्टि भयो । घरपरिवारको सम्पर्कमा पुगिसकेका तिनलाई खोजेर ल्याई आइसोलेसनमा राख्नु प¥यो । तर, क्वारेन्टिनमा संक्रमितसमेत थपिने क्रम बढे पनि परीक्षण भने बढाइएको छैन । परीक्षणका लागि स्वाबको संकलन नै निकै सुस्त र थोरै छ भने परीक्षणको प्रतिवेदन नआउँदै संक्रमितहरू मर्न थालेका छन् ।
महाव्याधि कोभिड–१९ सँगको युद्धमा संसारका धेरै मुलुक जित्दैछन् भने शासकहरूको मूर्खताका कारण कतिपयले हार्दैछन् । सरकारको हठ, बदनियत, हेलचेक्य्राइँ र अकर्मण्यताका कारण नेपाल पछिल्लो कोटीमा पर्न लागेको छ । विशेषज्ञहरूले दिएको सल्लाह सरकारले कहिल्यै सुनेन । संक्रमणको नबढ्दै स्वास्थ्य सामग्रीको प्रबन्धलगायतका तयारी गर्न सामाजिक सञ्जाल, सञ्चार माध्यम, संसद् र विशेषज्ञहरू सबैबाट सरकारको ध्यानाकर्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले संसद्मै नेपालमा जोखिम छैन भने । अर्का मन्त्री त ‘नेपाललाई कोरोना फ्री’ क्षेत्र घोषणा गर्ने हदसम्म उत्ताउलिए । नेपाललाई महाविपत्तिको भुमरीमा फसाएर अर्को ‘ओम्नी’ पोस्ने दुर्नियत छैन भने सरकारले तत्काल स्वतन्त्र विशेषज्ञहरूको सल्लाहअनुसार बन्दाबन्दीको व्यवस्थापन गरोस् । साथै क्वारेन्टिनलाई अहिलेजस्तो ‘मृत्यु शैय्या’ हैन संक्रमण रोक्ने स्थल बनाइओस् । परीक्षण र सम्पर्क पहिचानको गुण र दुवै वृद्धि गरियोस् । सरकार अहिलेजस्तै तमासेमात्र हुने हो भने जनताको धैर्य पनि समाप्त हुनेछ । जनता सडकमा उत्रे भने सरकारका सबै योजना तुहिने निश्चितै छ ।