site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गोबरगाढावासी भन्छन्, ‘कोसीको बाढी बेहोर्छौं तर सीमा छाड्दैनौँ’
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
सप्तरी । “बरु सप्तकोसीको भेलबाढी बेहोर्छौं । तर, देशको सीमा छाड्दैनौँ, बुझ्नुभो हजुर ! राज्यलाई थाहा छैन होला, गोबरगाढा कति टाढा र कतापट्टि पर्छ । त्यहाँका मानिसहरूले कस्तो दुःख बेहोरिरहेका छन् !” स्थानीय बिन्देश्वर यादवले यसो भनिरहँदा सबै गोबरगाढावासी उनको बोलीमा लोली मिलाइरहेका थिए ।
‘सप्तरीको टापु’भनेर चिनिने गोबरगाढा पुग्न कम्तीमा आधा दर्जन कोसीका भंगालाहरू छिचोल्नुपर्छ । कोसीको कहरमात्र होइन, बेलाबखत हात्तीको आतंक पनि खेप्न विवश छन् गोबरगाढावासी ।
 
 
वर्षात्को बेलामा त त्राही–त्राहीमा बाँच्नुपर्छ । एक पोका नुन किन्न पनि कोसी तरेर हनुमाननगर आइपुग्नुपर्ने उनीहरू जस्तै विपत् आइलागे पनि गोबरगाढा छाड्न तयार छैनन् । यसको एउटै कारण छ– उनीहरू नेपाल सीमाका रक्षक सिपाही हुन् । आफ्नो थातथलो चटक्क छाडेर अन्यत्र स्थानान्तरण हुँदा भारतले सीमा मिचिदिने भयमा छन् उनीहरू  । र त, उनीहरू भन्छन्, “बरु कोसीको कहर खेप्छौँ, सास्ती बेहोर्छौं तर आफ्नो थातथलो छोडेर भारतीय पक्षलाई सीमा सार्न सजिलो बनाइदिन सक्दैनौँ ।” त्यसो त गोबरगाढा सबैभन्दा धेरै सीमा स्तम्भ हराउने नेपाल–भारत सीमा क्षेत्र हो । यो क्षेत्रमा ३ सय ८३ वटा सीमा स्तम्भ रहेकोमा १ सय ६० भन्दा बढी हराइसकेको सरकारी तथ्यांक छ ।
 
गोबरगाढा क्षेत्र गत वर्ष हनुमाननगर–योगिनीमाई नगरपालिकामा गाभिएको छ । तर, सञ्चार र विद्युत् सेवाबाट निकै पर रहेको यो ठाउँको दुर्दशाको बारेमा राज्य बेखबरजस्तै छ । केही दिनअघिको सप्तकोसीको बाढीले यो ‘टापु’ चारैतिरबाट घेरियो । कोसीको चौतर्फी घेराबन्दीमा परेका उनीहरूसँग मृत्यु पर्खनुबाहेक अरु विकल्प रहेन । अहिले पानी त सुकेको छ तर उनीहरूको दुःख र व्यथा दूर भएको छैन । आकाशमा कालो बादल मडारिन थालेपछि उनीहरूको मुटुमा ढयांग्रो बज्न थाल्छ । र, अनिँदै रात बिताउँछन् । 
 
घरमा खासै भाँडावर्तन र लुगाफाटो देखिँदैन । केटाकेटी नांगै कुदिरहेका छन् । कतिपय खोलामा पौडी खेलिरहेका छन् । “कतिखेर डुबानमा पर्ने हो, के सामान राख्नु ?,” शिवनारायण यादवले बताए । 
गोबरगाढाको बीचमा शारदा निम्न माध्यामिक विद्यालय छ । तर, त्यहाँ शिक्षक र विद्यार्थी छैनन् । रकम अभावले भनेजस्तो विद्यालय बनाउन नसकेको गुनासो बिन्देश्वरको छ । उनी भन्छन्, “शौचालयसमेत बनाउन सकिएको छैन । कोसीको बीचमा भएकाले शिक्षकहरू पढाउन आउन पनि मान्दैनन् ।”
गोबरगाढावासीको मुख्य पेसा पशुपालन हो । यसबाहेक उनीहरू माछा मारेर पनि परिवारको भरणपोषण गरिरहेका छन् । “बगरमा खनजोत गर्न सकिँदैन, फेरि आफ्नो नाममा जग्गा पनि छैन । त्यसैले यहाँका अधिकांश मानिसहरू खोलामा माछा मारेर पेट पाल्छन्,” शिवनारायणले थपे । 
“हाम्रो त जीवन नै यसैगरी बितेको छ हजुर !” स्थानीय मानिकलाल मुखिया भन्छन्, “कोसीसँग पौँठेजोरी खेल्दाखेल्दै हाम्रो जिन्दगी नै बित्न आँटिसक्यो ।”
बाढीको चपेटामा परेका गोबरगाढावासीका लागि केही राहत सामग्री बोकेर हामी शुक्रबार सप्तरीतिर लागेका थियौं । गोबरगाढा पुग्न कोसीका ६ वटा भंगाला पार गर्नुपर्ने रहेछ । अन्तिम भंगालो छिचोल्न त डुंगाकै सहारा लिनुपर्यो । हामीलाई गोबरगाढा पुर्याउन सहयोग गरेका स्थानीय ओम राउत भन्दैथिए, “बस्ती सार्न स्थानीय प्रशासनले पहल नगरेको होइन, तर गोबरगाढावासी देशको माटो परचक्रीको हातमा सुम्पन तयार छैनन् । यो कुरा देशले कहिल्यै महसुस गरेन ।”
२०–३० वर्ष अघिदेखि कोसीले धार परिवर्तन गर्दै लगेपछि गोबरगाढाको अधिकांश भू–भाग चौरमा परिणत भएको छ । केही ठाउँमा खनजोत गरेर खेती लगाउन पनि खोजिएको छ । तर, बाढीले सबै बगाइदिएपछि त्यो बगरमै परिणत भयो । 
वर्षात्को समयमा हनुमाननगरसम्म पानी आइपुग्छ । ढुंगामा ओहोरदोहोर गर्नुपर्ने र सबै भंगालोमा डुंगा नभएकाले महिला तथा केटाकेटीलाइ अप्ठ्यारो पर्ने गरेको  हनुमाननगरका कौशलकुमार मण्डलले बताए । 
हामी त्यहाँ पुग्दा ८/१० जना मानिसहरू डुंगा बोकेर लैजाँदै थिए । “नगरपालिकाले सहयोग गर्दैन, एउटा डुंगा बनाउन कम्तीमा ४०÷५० हजार रुपैयाँ खर्च लाग्छ । डुंगा भएन भने त यहाँ ओहोरदोहोर गर्नै सकिँदैन,” शिवनारायण यादवले भने । 
कोसी ब्यारेज निर्माण भएपछि यहाँको अधिकांश जमिन सिँचाइबाट वञ्चित छ । वर्षामा डुबान, हिउँदमा पिउने पानीको समेत अभाव । उनीहरू छेवैबाट बगेको कोसी हेरेर कल्पिन बाध्य हुन्छन् । भारतसँग सीमा जोडिएका खेतका गह्राहरूमा पानीको अभावले भर्खर रोपिएको धानको गाभा मर्न थालेको प्रष्टै देखिन्छ । 
गोबरगाढामा मुखिया, राम, पासवान, यादवलगायत करिब दुई सय परिवारको बसोबास छ । ८ सय बिघामा फैलिएको कोसीको चौरमा भैंसी चरिरहेका देखिन्थे । “एउटा परिवारले कम्तिमा १० वटा भैंसी पालेका छन्, हामीले पनि ३० वटा भैंसी पालेका छौँ र दूध बेचेर नै गुजारा चलाउने गरेका छौँ,” मानिकलाल मुखियाले जानकारी दिए । गोबरगाढासँग भारतको रतनपुर, पिपराही गाविस जोडिएको छ । सीमावर्ती गाविस भएकाले भारोपर्म र सरसहयोग भारतीयहरूसँग पनि हुन्छ । तर, कहिलेकाहीँ सम्बन्ध बिग्रिने गरेको  मानिकलाल बताउँछन् । “आफ्नै देशमा त अपहेलनामा परिन्छ, अर्काको देशका मानिसले हामीलाई राम्रो गर्लान् त ?” उनले प्रश्न गरे । 
 
गोबरगाढावासीलाई राज्यले पनि उपेक्षा गरेको स्थानीयको गुनासो छ । “यहाँको प्रशासनले वर्षमा एउटा डुंगा दिन पनि कञ्जुस्याइँ गर्छ, अरु सहयोग के गर्लान् ?” मनिकलालले आक्रोश पोखे । दुई वर्षअघि डुंगा किन्न भनेर गाविसमार्फत निकासा भएको रकम पनि टाठाबाठाले खाइदिएको भन्दै उनले दुःखेसो पोखे, “डुंगा किन्न दिएको पैसा पनि हिनामिना गरे, अहिले बाढीपीडितलाई भनेर दाताले दिने गरेको राहत सामग्रीमा पनि आँखा लगाउँदैछन् ।” 
हनुमाननगर–योगिनीमाई नगरपालिका बनेपछि गोबरगाढा वडा नम्बर ८ मा परेको छ । तर, त्यहाँका बासिन्दा कसैको पनि नम्बरी जग्गा छैन । बिन्देश्वर यादवले दुःखेसो पोखे, “हामी कसैको पनि जग्गाको लालपुर्जा छैन । वर्षौंदेखि देशको सीमामा बसोबास गर्दै आएका छौँ । हाम्रा पितापुर्खाले पनि जीवन यहीँ बिताए, तैपनि हामीले अहिलेसम्म आफ्नो नाममा जग्गा पाउन सकेनौँ ।” गोबरगाढावासी कसैको पनि आफ्नो नाममा जग्गा नभएको र उनीहरूले कोसीको बगरमा खेतीकिसानी तथा पशुपालन गर्दै आएको बताउँछन् नगरपालिकाका कार्यकारी अधिकृत भागवत मेहता । “उनीहरूको नाममा जग्गा नभएको कुरा पटक–पटक उठेको भए पनि व्यक्तिगत नाममा जग्गा दर्ता हुन सकेको छैन,” उनले भने । 
 
गोबरगाढावासीलाई राहत
यसैबीच सामाजिक सञ्जाल प्रयोगकर्ताको एक समूहले बाढीपीडित गोबरगाढावासीलाई खाद्य सामग्री तथा कपडा सहयोग गरेको छ । ट्वीटर प्रयोगकर्ताहरू सरु थापा, पुरुषोत्तम पोखरेल, दीपिका जमकट्टेल, दीपक घिमिरेलगायतले सामाजिक सञ्जालमार्फत संकलन भएको राहत सामग्री पीडितलाई हस्तान्तरण गरेका हुन् । 
१ सय ८८ घरधुरीलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरिएको र कोसीको भंगालो छिचोलेर बाढीपीडितलाई भेट्न पुग्दा उनीहरू अत्यन्तै खुसी भएको सरुले बताइन् । 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३  १४:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro