देशमा उत्सवको वातावरण पटक्कै छैन । नागरिकका मूर्त जीवन जोखिममा भएका बेला अमूर्त दिवसको हर्ष मनाउने मनःस्थिति नदेखिनु अस्वाभाविक पनि हैन । यसैले तेह्रौं गणतन्त्र दिवसका अवसरमा यस वर्ष जनतामा निराशा र क्षोभ बढेको हुनुपर्छ । त्यसो त जनसाधारण यस्ता अवसरहरूप्रति प्रायः निस्पृह नै रहन्छन् । राजनीतिक परिवर्तन जनसाधारणको जीवनमा खुसीको कारण बनेर पुग्न जो सकेन । सीमामा अलपत्र परेर नागरिक मरेका छन् । भोकले श्रमजीवीहरू सडकमै मरेका छन् । जातिगत विभेदका कारण कथित तल्लो जातका प्रेमी किशोरको हत्या गरिएको छ । यो राज्यमाथि नै कलंक हो । यस्तो कलंक लागेको बेला केको हर्षबढाइँ ? केको दीपावली ? महामारीले थपेको पीडा पनि छँदैछ । यस वर्षको गणतन्त्र दिवस सायद अहिलेसम्मकै सबैभन्दा उत्साहहीन हुनेछ ।
राजनीतिक नेतृत्वको विचार र व्यवहारमा पटक्कै सुधार हुन नसक्ता गणतन्त्रले जनताको स्नेह र सम्मान पाउन नसकेको हो । गणतन्त्रका शासकहरूको चरित्र र प्रवृत्ति हेर्दा कुनै मध्ययुगीन युद्ध सरकार र तिनका भारदारको जस्तो देखिन्छ । ‘फोहोरी खेल’ भनिने गरेको राजनीतिलाई ‘घीनलाग्दो’ बनाइदिएका छन् यिनले । महामारीका लागि औषधि किन्दासमेत प्रधानमन्त्रीका निकटतम व्यक्तिहरूले भ्रष्टाचार गर्न छाडेनन् । प्रधानमन्त्रीले तिनलाई कारबाही गर्नुको साटो आड ढाके । महामारीको कहर बढ्दै गएका बेलासमेत अर्को पार्टी फुटाएर आफ्नो गुट बलियो बनाउने कुटिल मनसाय राखेर अध्यादेश जारी गराउनेसम्मको घीनलाग्दो खेल भएको देखियो । राष्ट्रिय सीमाको रक्षाको विषयलाई पनि अहिले राजनीतिक स्वार्थमा प्रयोग गर्न खोजिएको देखिँदैछ । सीमामा भूमि र देशभित्र जनता दुवै संकटमा छन् । शासकहरू संकटलाई पनि दोहन गर्न उद्यत देखिन्छन् ।अर्थात्, राज्य र शासनलाई निहित स्वार्थ सिद्ध गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ । अनि, के सम्झेर जनताले हर्षोल्लास मनाउने ?
राणाकालमा शाहहरू शासनकालमा शासकहरूको सुखदुःख जनताले मनाउनु पर्ने उर्दी हुन्थ्यो । त्यसलाई जनताले सके बेवास्ता गर्थे नसके निस्पृह भएर मनाइदिन्थे । त्यतिबेला शासन पद्धतिले नै जनतालाई हटक गरेको थियो । अहिले त लोकतान्त्रिक गणतन्त्र नामको उन्नत शासन प्रणाली छ नि देशमा । शासकहरू जनादेशबाट सत्तामा पुगेका हुन् । यसैले नागरिकलाई निषेध गर्ने नैतिक वा वैधानिक अधिकार शासकसँग हुँदैन । उनीहरूले जनतालाई शासनका कुनै कुरा लुकाउन पाउँदैनन् । तर, नेपाली जनताको दुर्भाग्य जे गर्न नहुने थियो त्यही भइरहेको देखिएको छ । उन्नत लोकतान्त्रिक प्रणालीमा शासनमा भने सर्वसत्तावादी मानसिकता भएको व्यक्तिमात्र पुगे । अहिलेको निराशा यही प्रणालीसँग पात्रको प्रवृत्ति नमिल्दा उत्पन्न भएको हो । पात्रहरूको प्रवृत्तिले निम्त्याएको विकृतिका लागि पद्धतिलाई दोष दिनु फट्याइँ हो । पात्रहरू सुध्रिए सबैभन्दा उत्तम र सहज हुन्थ्यो । तर, ‘बाह्र वर्ष ढुंग्रोमा राखे पनि नसोझिने’ कोटीका पात्र सुध्रने लक्षण देखिँदैन । शासकहरूको निरन्तर निगरानी गरेर तिनका कुकृत्यप्रति जनतालाई सजग बनाउनु अहिले देशलाई माया गर्ने सबै नागरिकको दायित्व हो । भन्छन् नि – स्वतन्त्रताका लागि निरन्तरको सजगता जरुरी हुन्छ ।