काठमाडौं । सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ ।
प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको छ ।
पक्राउ गर्दासमेत पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिन थालिएको प्रहरीले जनाएको छ ।
अत्यावश्यक कामबिना सडकमा निस्किएकालाई पक्राउ गरेर २ घण्टा होल्डमा राख्दै सचेत गराएर पठाउने काम सुुरु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
उनले भने,“पक्राउ गर्दा पनि (डिभाइस) प्रविधिको प्रयोग गरेका छौं । नियन्त्रणमा लिएपछि भ्यानमा हाल्दैनौँ । सोही स्थानमा होल्ड गर्छौँ । त्यहाँ पनि २ मिटरको दुरीमा उनीहरुलाई राख्छौं । सचेत गराएर आएकै स्थानतर्फ फर्काइदिन्छौँ ।”
कोरोना भाइरसको संक्रमणबाट जोगिन नागरिक आफै सचेत हुनुपर्ने भए पनि कतिपयमा भने अटेर गर्ने मानसिकता देखिएको उनले बताए ।
यसैबीच प्रहरीले आज बिहान साढे ७ बजेसम्म लकडाउन उल्लंघन गरेको भन्दै ६१७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई दुईघण्टा सडकमै राखेर जहाँबाट आएको त्यतै फर्किन भनेको प्रहरीले जानकारी गराएको छ ।