काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान आसिफ शेखले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएका हुन् ।
जनकपुरको टिममा आज पनि नियमित कप्तान अनिल साह छैनन् ।
प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।
आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि, सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।
लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।