नाट्यकर्मी केदार श्रेष्ठसँग उनका केही साथीहरूले ‘चलचित्र ‘वधशाला’ मा मैले पनि खेलेको छु नि !’ भने । नेपाली सेनासँगको लामो ‘लफडाबाजी’ पछि चलचित्र प्रदर्शन भयो । केदार आफ्ना साथीहरूले खेलेको चलचित्र भन्दै उत्साही हुँदै हेर्न हलसम्म पुगे । चलचित्र सुरु भयो । साथीहरू आउलान्, आउलान् भन्दाभन्दै १ घण्टा ४० मिनेट लामो वधशाला सकियो । तर, उनका साथीहरू कतै देखिएनन् ।
केदारले पछि उनीहरूलाई सोधे, “खोइ तिमीहरूलाई चलचित्रमा मैले देखिनँ त ?”
केदारलाई ती साथीले भने, “ओई ! मेरो स्वर चिनिनस् तैंले ? त्यो बोराभित्रबाट कराउने मै त हो ।”
केदारसँग यही चलचित्रसँग सम्बन्धित अर्को किस्सा पनि छ । चलचित्रमा कलाकारले आर्मीको जर्नेललाई भने जस्तो निर्देशकलाई भनेका थिए, “दाइ लास्ट सिनमा भए पनि मेरो टाउकोबाट बोरा निकाल्दिनुस्, ल ?”
कलाकारको त्यो आग्रह सुनेर केदार भन्छन्, “मेरो मन पनि त्यो कुरा सुनेर चस्स घोचेको थियो ।”
हुन त चलचित्र वधशाला बनाउँदाका धेरै रोचक प्रसंग निर्देशक मनोज पण्डितसँग छन् ।
“चलचित्रमा खेल्ने भन्दै दुई जना कलाकार हामीकहाँ पुगेका थिए । उनीहरू मेकअप गरेर ‘रेडी’ भएका थिए । उनीहरूको पालो आउनै लागेको थियो । अगाडिका कलाकारको छायांकन हेरिरहेका थिए,” मनोज भन्छन्, “उनीहरूको पालो आयो । उनीहरूलाई बोलाउन खोज्दा त उनीहरू सेटै छोडेर भागि पो सकेछन् ।”
तत्कालीन राज्य पक्षले विद्रोही माओवादीको आन्दोलन दबाउन बन्दी बनाइएका माओवादी कार्यकर्तालाई नेपाली सेनाले दिएको चरम यातना र जिउँदै पुरेको विषयलाई उठान गरिएको चलचित्रमा अधिकांश कलाकार मुकुन्डो लगाएर अभिनय गर्छन् । बन्दी बनेका अधिकांशलाई चलचित्रको फस्ट सर्टदेखि अन्तिमसम्म आर्मीले कुटेको मात्रै देखाइएको छ ।
मुख्य भूमिकामा रहेका कलाकार खगेन्द्र लामिछाने र सौगात मल्लको पनि अन्तिममा केही मिनेटमात्रै मुकुन्डो उतारिन्छ । उनीहरूको स्वर नचिन्ने दर्शकले अन्तिमसम्म चलचित्रको मुख्य पात्र को हो ? भन्ने नै भेउ पाउँदैन ।
चलचित्र समीक्षक समाजले आइतबार वधशाला प्रदर्शनपछि आयोजना गरेको छलफलमा उक्त चलचित्रका मुख्य कलाकार लामिछाने बताएअनुसार उनले जिन्दगीमा सबैभन्दा धेरै हेरेको चलचित्र नै त्यही रहेछ ।
“मैले मेरो जिन्दगीमा सबैभन्दा धेरै हेरेको चलचित्र नै त्यही हो,” उनले भने, “किनभने मेरो पहिलो चलचित्र पनि यही नै हो ।”
हलभरि हाँसोको फोहरा छुट्यो । खगेन्द्र भन्दै थिए, “अरू चलचित्रमा त क्यामेरातिर हेरेर बोल भन्छन् । त्यसमा बोराभित्र टाउको थियो, जता फर्केर बोले पनि हुने ।”
‘वधशाला’ मा केही महिला पात्र पनि छन् । सशस्त्र द्वन्द्वकालमा पुरुषलाई जस्तै यातना महिला बन्दीलाई पनि दिइएको दृश्य छ । महिला बन्दीका रूपमा चलचित्रमा छिन्– सरिता गिरी । सरिताको पनि कम पीडादायी अनुभव छैन, यो चलचित्रसँग जोडिएको ।
“चलचित्रमा जम्मा तीनवटा डाइलग छन् र दुईवटा दृश्य । तर, मलाई त्यो चलचित्रको छायांकनका क्रममा कैयौंपटक मिनेटौं घिसारिएको थियो । मेरो ढाड र खुट्टाको छाला कतै सारसउँदो थिएन । कति दिनसम्म चल्न चट्पटाउन सकिनँ,” गिरीले भनिन्, “जति पनि काम गर्यौं, सबै रियल सिन गर्यौं । त्यो बेला त्यस्तो जोखिम मोलेर मैले कसरी काम गरें, अहिले आफैलाई अचम्म लाग्छ ।”
छायांकनमा सरितालाई आर्मीले घिसारेको लामो सर्ट लिए पनि चलचित्रमा भने देखिँदैन ।
किन ?
“चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त्यहाँ आर्मीले बन्दीलाई दिएको यातनाको दृश्य हेरेर नेपाली सेनाले चलचित्र विकास बोर्डलाई ‘‘चलचित्र वधशालाको सेन्सर पास नगर्नू’’ भनेर पत्र पठायो । त्यही सिनलाई लिएर आर्मीले आपत्ति जनायो । त्यो सिन नहटाए नेपाली सेनाको चरित्रमै दाग लाग्ने र नेपाली सेनाप्रतिको जनताको हेराइ नै नकारात्मक हुने भन्दै उक्त सिन नहटाए सेनाले चलचित्र सेन्सर गर्न नदिने भएपछि मैले त्यो सिन हटाएको हुँ,” निर्देशक मनोज सम्झिन्छन्, “आर्मीले गरेको अवरोधलाई लिएर म अन्तर्राष्ट्रिय अदालत जान्छु भनेँ । त्यही विषयलाई लिएर सेन्सर हटाइदिन आग्रह गर्दै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईकहाँ पुगेँ । तर, उहाँले पनि म केही गर्न सक्तिनँ भन्नुभयो । चलचित्र बनाउनभन्दा पनि सेन्सर पास गराउन गाह्रो भएको थियो ।”
चलचित्रमा अधिकांश समय दयाहाङ राई र अर्पण थापाले बन्दीलाई बुटले हानिरहन्छन् । क्रूरताको पराकाष्ठा नाघ्छन् उनीहरू । हेर्ने दर्शकका आँखा रसाउँछन् । तर, पनि चलचित्रका दृश्यहरू झन् हृदयविदारक हुँदै जान्छन् । बन्दीहरू जिउँदै खाल्डामा पुरिन थाल्छन् ।
तुलनात्मक रूपमा केही भद्र र मिजासिला देखिने मेजर (अनुप बराल) पनि बन्दी सौगात मल्ललाई खुट्टामा लागेको गोली ननिकाले पाक्छ भन्दै ब्ल्याक मेलिङ्ग गरिरहन्छन् । गोली लागेर सुन्निएको नलीखुट्टामा क्याप्टेन (अर्पण थापा) ले बुटले किल्चेर सौगातलाई बेहोस बनाउँछन् । यस्ता दृश्य चलचित्रको अन्तिमसम्म पनि दोहोरिइरहन्छन् । बन्दीलाई आफू अपराधी भएको कुरा स्वीकार गराउनमै चलचित्रको पूरै समय खर्चिइएको छ । आर्मीले यातना दिएरै निर्दोषलाई समेत अपराधीको बिल्ला भिराइरहेका हुन्छन् ।
फरक विषयमा चलचित्र बनाउने मनोजले यो चलचित्रमार्फत बन्दी र ती बन्दीको रेखदेख गर्ने सेनाबीच सूर्तीले कस्तो सम्बन्ध विकास गर्नसक्छ र त्यसको प्रभाव के पर्छ भन्ने देखाउन भन्दै चलचित्र बनाउन खोजेका थिए रे ?
“मैले सूर्तीले एउटा बन्दी र आर्मीबीचको सम्बन्ध र त्यसको प्रभाव देखाउन खोजेको थिएँ,” निर्देशक पण्डित भन्छन्, “तर, चलचित्र बनाउँदै जााँदा त्यो विषय नै छायामा पर्यो । मेरो कमजोरी नै त्यही भयो ।” चलचित्रमा आफ्नो कमजोरी भएको स्वीकार गर्ने मनोज आफू पनि नेपाली चलचित्रको लिगेसीबाट बाहिर निस्किन नसकेको बताउँछन् । “मुनामदनकै शैली मैले छोड्न सकिनँ,” उनले भने ।
सोचेको थिमअनुसार चलचित्र बनेको भए विश्वमै रुचाइने चलचित्र बन्ने थियो भन्दै उनले भने, “त्यो समयमा नेपाली सेनाको गणमा हुने गरेको ज्यादती बाहिर ल्याउन खोजेँ, त्यो नै एउटा महत्त्वपूर्ण कदम हो भन्ने लाग्छ ।”
चलचित्र पागलपनले मात्रै बन्ने भन्दै पण्डित भन्छन्, “म पनि एउटा पागल नै हुँ । पागल भएरै यो चलचित्र बनाएको हुँ ।”
अन्तिममा उनले भने, “चलचित्र इस्युमा हैन, आइडामा बनाउनुपर्ने रहेछ । नयाँ पुस्तालाई मेरो आग्रह छ– इस्युमा चलचित्र बनाउने मेरो जस्तो गल्ती नगर्नुस् ।’’
छेउमै बसेका खगेन्द्रले भने, “अहँ, म चाहिँ यसमा सहमत छैन । चलचित्र इस्यु र आइडा दुबैमा बन्छ ।”
सँगै रहेका अर्का नाट्यकर्मी घिमिरे युवराज भन्दै थिए, “‘पशुपतिप्रसाद’ पनि इस्युमै बनेको चलचित्र हैन र ?”