काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वकै अर्थतन्त्र शिथिल हुने अवस्थामा पुगेका बेला यसको असर नेपाली गायनमा पनि परेको छ ।
कोरोना संक्रमणको त्राससँगै मेला, महोत्सव तथा स्टेज कार्यक्रम नहुँदा गायक/गायिका स्टुडियोमा बसेर गायनमा केन्द्रित भएका छन् ।
तय भइसकेका कार्यक्रम स्थगित हुँदा गायक÷गायिका स्टुडियोमा बसेर नयाँ गीत गाउन व्यस्त भएका हुन् । डेढ दर्जनभन्दा धेरै कार्यक्रम स्थगित भएपछि गायक प्रमोद खरेल अहिले काठमाडौंमै छन् ।
“स्टेज कार्यक्रम स्थगित भएपछि फुर्सदिलो जस्तो भएको छ, स्टुडियोको काम गरेर बसिरहेको छु,” उनी भन्छन्, “नेपाल मात्रै होइन विश्वकै व्यापार बिजनेससँगै अर्थतन्त्र नै कमजोर हुने अवस्थामा हामी व्यक्तिको त के कुरा ?” स्टेजबाट कमाई गर्ने कलाकारलाई ठूलो असर गरे पनि थाँती रहेका गीत रेकर्ड गर्न भने अवसर मिलेको उनी बताउँछन् ।
गायिका शान्तिश्री परियारले कोरोनाको त्रासका कारण मेला–महोत्सव हुन छोडेपछि करिब दुई दर्जन गीत गाइसकिन् ।
“कार्यक्रम ठप्प भएपछि पेन्डिङमा रहेका गीत रेकर्ड गरिरहेको छु,” शान्तिश्री भन्छिन्, “अहिले पनि करिब दिनको एउटाका दरले गीत रेकर्ड गरिरहेकी छु ।”
कोरोनाको त्रास अन्त्य भएर जनजीवन पुरानै अवस्थामा नफर्किएसम्म गीत रेकर्डडिङमै व्यस्त रहने उनी बताउँछिन् ।
कोरोनाको त्रासकै कारण आधा दर्जन स्टेज कार्यक्रम रद्ध भएपछि गायक हेमन्त शर्मा पनि फुर्सदिला भएका छन् । स्टेज कार्यक्रमलाई दिने समय अहिले उनले नयाँ गीतका लागि खर्चिरहेका छन् ।
“स्टेज कार्यक्रमबाट पैसा जोहोे गरेर अर्को गीतको जुगाड गर्ने हामीलाई कार्यक्रम नै नभएपछि आम समुदायलाई झैं असर परेको छ,” हेमन्त भन्छन्, “मेला–महोत्सव नभए पछि अहिले नयाँ गीतको तयारीमा छु । फुर्सदको समय नयाँ गीतको तयारीलाई दिइरहेको छु ।”
हेमन्त र प्रमोद जस्तै गायिका मीना निरौलाका पनि थुप्रै स्टेज कार्यक्रम रद्ध भए । स्टेज कार्यक्रम नभएपछि काठमाडौं छोड्नु नपरेपछि मीना पनि स्टुडियोमा व्यस्त छिन् ।
“स्टेज कार्यक्रम नहुँदा अहिले हामीलाई रेस्ट जस्तै भएको छ,” मीना भन्छिन्, “वैशाखमा नयाँ एल्बम ल्याउने तयारीमा त्यसकै काम गरिरहेको छु ।”
कोरोनाकै कारण गायिका सुनिता दुलाल पनि अहिले घरमै छिन् । पूर्व निर्धारित सबै कार्यक्रम स्थगित तथा रद्ध हुँदा उनी पनि अहिले स्टुडियो वर्कमै छिन् ।
“कार्यक्रम नै नभएपछि कतै जानै परेन । फुर्सदको यो समयमा नयाँ गीतको तयारी छालेकी छु,” सुनिता भन्छिन्, “यो त्रासको वातावरण अन्त्य नभएपछि नयाँ गीतको काममा व्यस्त भइन्छ ।”
गायक प्रकाश सपूत भने यति बेला चलचित्रको छायांकनमा छन् । तीन सातादेखि जारी सुटिङका क्रममा पोखरामा रहेका प्रकाश छायांकन सकिएपछि डविङलाई समय दिनेछन् ।
“चलचित्रको काम सकिएपछि नयाँ वर्षका कार्यक्रम थिए तर ती सबै स्थगित भइसकेका छन् । सायद अब कार्यक्रम नभएपछि नयाँ गीतमै जुट्छु होला,” प्रकाश भन्छन् ।
मेला–महोत्सव नहुने भएपछि आफू नयाँ गीत कम्पोजमा व्यस्त रहेको गायक युवराज चौलागाईं बताउँछन् । यही शुक्रबार नयाँ गीत रिलिजको तयारी गरिरहेको उनले जानकारी दिए ।
“सबै कार्यक्रम बन्द भएपछि नयाँ कम्पोजमा नै अहिले धेरै गायक÷गायिका व्यस्त छन्,” उनी भन्छन्, “म पनि नयाँ कम्पोज नै गरिरहेको छु । शुक्रबार एउटा गीत रिलिज भएपछि अरू नयाँ कम्पोज सुरु गर्दैछु ।”
गायिका अभया सुब्बाका पनि स्वदेश र विदेश दुवैतिरका कार्यक्रम स्थगित भएपछि नयाँ गीतकै तयारीमा रहेको बताउँछिन् ।
अभया अहिले गीत लेख्ने तथा कम्पोज गर्ने काम गरिरहेकी छन् । अवस्था सहज नभएसम्म नयाँ गीतकै काममा रहने उनको भनाइ छ ।
संगीतकार अर्जुन पोखरेल बाहिर कार्यक्रम नभएको अवस्थामा गायक÷गायिका नयाँ गीत रेकर्डमा बढी व्यस्त भएको बताउँछन् ।
“स्टेज कार्यक्रम नभएपछि थाँती रहेका काम सकौं भन्ने सबैलाई छ,” संगीतकार पोखरेल भन्छन्, “मेला–महोत्सव पनि नभएको र कोरोनाको त्रास भए पनि नेपालमा महामारीकै अवस्था नरहेका कारण काम सकिहालौं भन्ने देखिएकाले हामीलाई प्रेसर नै छ ।”