विपत्तिले पनि छिमेकीलाई मिलेर बस्न बाध्य बनाउँछ । बुद्धिमान छिमेकीले त विपत्तिको सामना मिलेरै गर्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत कोरोनाभाइरसको विश्वमहामारीको सामना गर्न दक्षिण एसियाली स्तरमा रणनीति बनाउने प्रस्ताव गर्नु सायद यही छिमेकी कर्तव्यबोध हो । भारत र पाकिस्तानको मनमुटावका कारण वार्षिक शिखर बैठकसमेत हुन नसकेको अवस्थामा प्रधानमन्त्री मोदीले साझा रणनीति निर्माण गर्न देखाएको चासोलाई दक्षिण एसियाली सहयोग संगठन (सार्क)को वर्तमान अध्यक्ष नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् । यही बहानामा भए पनि सार्कले पुनर्जीवन पायो भने यस क्षेत्रका लागि लाभदायी नै हुनेछ । यसैले भारतका प्रधानमन्त्री मोदी संकटका बेलामा भए पनि दक्षिण एसियाको साझा भाग्य र भविष्य सम्झेकाले धन्यवादका पात्र भएका छन् । साझा भूगोल र सामाजिक सम्बन्धका कारण नेपाल र भारतमा हुने प्रयासको सफलता वा असफलताको असर दुवै देशमा पर्छ ।
चीनको वुहानबाट सुरु भएको मानिएको कोरोनाभाइरस (कोभिद–१९) लाई विश्व स्वास्थ्य संगठनले विश्वमहामारी (प्यान्डेमिक) घोषणा गरेको छ । अमेरिकाले युरोपलाई यात्रा प्रतिबन्ध लगाएको छ भने देशमा संकटकाल घोषणा गरेको छ । इटाली, स्पेनजस्ता मुलुकमा सरकारहरूले ठूलो जनसंख्यालाई हिँडडुल गर्न प्रतिबन्ध लगाएका छन् । भारतमा पनि फाट्टफुट्ट यसको संक्रमण देखिन थालेको छ । चीनले करोडौं जनसंख्यालाई नियन्त्रणमा राखेर कोविद–१९ को संक्रमण नियन्त्रित हुनथालेको बताएको छ । भने दक्षिण कोरियाले अपेक्षाकृत स्वतन्त्रता उपभोग गर्न दिएर पनि महामारीबाट हुने मृत्युदर निकै कम राख्न सकेको छ । भारतले करिब एक महिना संक्रमण फैलेको क्षेत्रबाट भारत प्रवेश गर्न रोक्ने रणनीति अपनाएको छ । अर्थात्, अहिलेसम्म युरोप र अमेरिकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न अपनाएको रणनीति र विधिले निश्चित आकारसम्म पनि लिइसकेको छैन । यसैले दक्षिण एसियाले अन्तर्राष्ट्रिय अनुभवबाट सिक्नका लागि चीन र दक्षिण कोरियाली रणनीतिमात्र उपलब्ध देखिन्छन् ।
दक्षिण एसियाका लागि साझा रणनीति बनाउँदा पक्कै पनि चीनको जस्तो कठोर नियन्त्रणको शैली अपनाउन सकिँदैन । दक्षिण एसियाली समाज पहिलो त चिनियाँ समाजजस्तो एकरूपी छैन । क्षेत्रफल र जनसंख्याको तुलनामा चिनियाँभन्दा दक्षिण एसियाली समाज बहुविविधतायुक्त छ । साथै, चिनियाँ जनताले जस्तो चर्को अधिनायकवादी शासनमा अभ्यस्त नभएकाले पनि दक्षिण एसियामा नियन्त्रणकारी उपाय सफल हुनसक्तैन । अर्कातिर, दक्षिण कोरियामा जस्तो उन्नत प्रविधि र सर्वसुलभ स्वास्थ्य सेवा पनि दक्षिण एसियाली मुलुकहरूमा उपलब्ध हुन सक्तैन । अर्थात्, सार्कले कोरोनाभाइरसविरुद्ध साझा रणनीति अपनाउने हो भने आफ्नै भूगोल र समाज सुहाउँदो विधि पहिल्याउनुपर्छ । र, दक्षिण एसियाव्यापी रणनीति अपनाउन भारतले नै उदारता एवं अग्रसरता देखाउनुपर्छ । पाकिस्तान र बंगलादेशको प्रतिक्रिया नपर्खेरै भारतले नेपाल र भुटानसँग सहकार्य गर्न सक्छ । खुला आवागमन भएका यी तीन मुलुकबीचको सहकार्यबाट सिंगो क्षेत्रका लागि उपयोगी रणनीतिको विकास हुनसक्छ ।**यसैबीच आइतवार साँझ सार्कका सरकार प्रमुखहरूबीच भिडियो कन्फ्रेन्स हुने समाचार सार्वजिनक भएको छ । कोराेनाकाे संक्रमण नियन्त्रणमा सहकार्य हुनसक्यो भने त्यसको दूरगामी सकारात्मक प्रभाव पर्नेछ ।
विसं २०७२ सालको भूकम्पले थिलथिलो भएको नेपालमाथि नाकाबन्दी लगाउँदा पनि यिनै नरेन्द्र मोदी भारतका प्रधानमन्त्री थिए । केही दिन पहिले पनि भारतले नेपालको आफूमाथिको निर्भरतालाई बेवास्ता गरेर औषधिलगायतका केही अत्यावश्यक वस्तुको निर्यात रोकेको छ । यसैले प्रधानमन्त्री मोदीको प्रस्ताव ट्विटको सामग्रीमात्र त हैन भन्ने सन्देह पनि हुन्छ । प्रधानमन्त्री मोदी साँच्चै नै संवेदनशील हुन्थे कूटनीतिक माध्यमबाट यसलाई अगाडि बढाइसकेको हुनुपर्ने हो । अझै समय छ । दक्षिण एसियाको नेता हुने हो भने भारतले उदार हृदय देखाउनु जरुरी छ । नेपालले भारतको प्रस्तावको स्वागत गरिसकेको छ । कूटनीतिक शिष्टाचारका लागि पनि सायद जरुरी भएरै अस्पतालको शैयाबाटै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीको प्रस्तावको स्वागत गरेको हुनुपर्छ । भारतसँग सहकार्य गर्न तत्पर रहनुपर्छ तर भर पर्नु हुँदैन भन्ने इतिहासले पढाएको पाठ भने बिर्सनु हुँदैन । नेपालले संक्रमण नियन्त्रण र स्वास्थ्य सेवामा पहुँच बढाउन गर्नुपर्ने प्रयास जारी राख्नुपर्छ ।