अन्ततः विश्व स्वास्थ्य संगठनले बुधवार कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई ‘विश्वव्यापी महामारी (प्यान्डेमिक)’ घोषणा गर्यो । सुरु त चीनबाट भयो अर्थात् पहिलो बिरामी चीनमा देखियो तर त्यसको विस्तार भने अहिले संसारभर जस्तै भइसकेको छ । अमेरिकाले युरोपसँग आवागमन बन्द गरेको छ । चीनको वुहानमा डिसेम्बर, २०१० को सुरुमै कोरोनाभाइरसको संक्रमण देखिएको रहेछ । तर, त्यहाँको सरकारले सुरुमा भाइरसभन्दा पनि भाइरसको समाचार दबाउन बढी जोड दिइयो । मूलतः यही कारणले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी महामारी बन्न पुग्यो । संसारका अरू मुलुकहरूसँगै नेपाल पनि कोरोनाभाइरससँग तर्सेको छ । यसको संक्रमणको सामना गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएको छ र केही देशका नागरिकलाई प्रवेशाज्ञामा नियन्त्रण गर्नेलगायत आन्तरिक तयारी पनि भएको जानकारी दिइएको छ । तैपनि, सरकारले पर्याप्त तयारी गरेको मान्न जनता तयार देखिएका छैनन् । बजारमा देखिएको अत्यास सायद यसैको उदाहरण हो ।
कोरोनाको संक्रमणले महामारीको रूप लियो भने नेपालका अस्पतालहरूले धान्न सक्तैनन् । तैपनि, उपचारका लागि राज्यले तयारी भने गर्नैपर्छ । चीनमा अहिले संक्रमण दर घट्दो छ । चीनले करोडौं जनसंख्यालाई करिब दुई महिना आवागमनमा प्रतिबन्ध लगाएर संक्रमण घटाउन सफल भएको ठानेर हुनुपर्छ युरोप र अमेरिकाले पनि आवागमनमा प्रतिबन्ध लगाउने उपाय अपनाएका छन् । यस्तो उपाय खुला समाजमा पनि उपयोगी हुन्छ कि हुँदैन अहिले नै भन्न सकिँदैन । चीनले नै पनि कोरोनाभाइरस छैन वा मानिसबाट सर्दैन भन्नेजस्तो भ्रम फैलाउनुको साटो बेलैमा यसलाई नियन्त्रण गर्न र जनतालाई सूचित गर्न खोजेको भए यो संक्रमण विश्वव्यापी हुने थियो कि थिएन भन्ने विषयमा पनि विवाद सुरु भएको छ । यस्ता सबै विषयबाट संसारले शिक्षा लिनुपर्छ । कुनै जाति वा समाजको दानवीकरण गरेर वा जातीय घृणा र भेदभाव फैलाएर महामारी रोकिँदैन ।
नेपालमा एकातिर सरकारी तयारीमा जनता आश्वस्त हुनसकेका छैनन् भने अर्कातिर भ्रम र हल्ला पनि उत्तिकै छिटो फैलने गरेको छ । अहिलेसम्म कोरोनाभाइरसको उपचार पत्ता लागेको छैन र कुनै जडिबुटीबाट यसको संक्रमण नहुने वा निको हुने वैकल्पिक उपचार पनि फेला परेको छैन । यसैले सकेसम्म भिडभाडमा जान जोगिने र संक्रमणको जोखिमबाट बच्ने व्यक्तिगत प्रयास नै यसको संक्रमण फैलन नदिने प्रभावकारी र सही उपाय मानिएको छ । एचआईभी एड्सलाई पन्छाउने हो भने एक्काइसौं शताब्दीमा ‘प्यान्डेमिक’ घोषित यो पहिलो संक्रमण हुन पुगेको छ । यद्यपि, अहिलेसम्म यसबाट मर्नेहरूको संख्या भने विगतका विश्वव्यापी महामारीका तुलनामा नगण्य छ । यसैले आत्तिनुभन्दा यसको सहजरूपमा सामना गर्न तयार रहनु नै बुद्धिमानी हुने देखिन्छ । यस्तो तयारीमा सबैको सहयोग र विश्वास जुटाउन सरकार अग्रसर हुनुपर्छ । जनताको कल्याणमा राज्यले कहिले गर्ने खर्च अनुपात्पादक ठान्नु हुँदैन । विपत्तिका बेला जनताका लागि उपयोगी सिद्ध नभए राज्यको औचित्य बाँकी रहँदैन ।
जनताले विपत्तिका समयमा राज्यबाट सबै प्रकारको सहयोगको अपेक्षा गरेका हुन्छन् । राज्य कर्तव्यबाट पन्छन खोजेको भान जनतामा परेका खण्डमा चर्को प्रतिक्रिया पनि व्यक्त गर्छन् । स्वास्थ्यमन्त्रीले सरकारले विदेशबाट आउने सबैलाई क्वारेनटाइनमा राख्न सक्तैन भन्दा भएको चर्को आलोचना यसको पछिल्लो प्रमाण हो । संक्रमणको शंका नै नहुँदा पनि सरकारले एक्ल्याएर राख्ने उपाय नियन्त्रणका लागि प्रभावकारी हुनसक्छ तर व्यावहारिक दृष्टिबाट पनि उपयुक्त हुँदैन । यस्तै, विदेशबाट आउने नेपाली नागरिकलाई स्वदेश आउनबाट रोक्न पनि मिल्दैन । यसैले देशभित्र सम्भव भएसम्म संक्रमणको जोखिम कम गर्ने उपायहरू अपनाउनु नै अहिलेका लागि सबैभन्दा उत्तम उपाय हो । व्यक्तिगत सरसफाइ सिकाउन नसकिने उमेरका ससाना बालबालिकाका शिशु कक्षाहरू, जात्रा, बैठक, भेलाजस्ता कार्यक्रमहरू तत्काल बन्द गरेर संक्रमण रोक्न सहयोग गर्न सकिन्छ ।
संसद्मै विद्यालय बन्द तथा संसद्को बैठक स्थगित गर्न माग भइसकेको छ । सरकारले संक्रमणको जोखिम नियन्त्रणका उपायहरूमा विशेष ध्यान दिनुपर्छ । आवागमन रोक्नेजस्ता निषेधकारी उपायभन्दा नेपालले सावधानी र सतर्कतामा बढी जोड दिनु उचित हुनेछ । जनतालाई आत्तिन नपर्ने तर सावधान भने हुनै पर्ने सन्देश सबै सञ्चार माध्यमबाट प्रवाहित गर्नुपर्छ । सरकारले कोही कोरोनाभाइरसबाट संक्रमित भए उपचारको प्रबन्ध गर्ने र सन्देहास्पद बिरामीका साथै अरूको पनि व्यापकमात्रामा परीक्षण गर्ने व्यवस्था मिलाएर जनतालाई जानकारी दिनुपर्छ । यस्तै, विशेषज्ञ र सञ्चार माध्यम दुवैले सही सूचना जनतासम्म सम्प्रेषण गर्ने कर्तव्य पूरा गर्नुपर्छ । सावधानी अपनाए संक्रमण रोक्न सकिन्छ भनेर जनतालाई विश्वस्त बनाउन सके कोरोनाविरुद्धको आधा युद्ध जितिनेछ । नआत्तिऊँ तर सावधान होऊँ !