नरेश फुयाँल
रहर त हो, गर्दैमा के बिग्रिन्थ्यो र ? बुवालाई छोरो इन्जिनियर भैदिए हुन्थ्यो भन्ने थियो । तारानाथले पनि गाउँकै एकजना दाइ इन्जिनियर भएर गाउँमा पुल, पुलेसा बनाउँदै हिँडेको देखेका थिए । विकासको काममा योगदान पनि हुने । पैसा पनि हुने । त्यो भन्दा पनि ठूलो त इज्जत हुने । बुवाको रहर तारानाथको लक्ष्य बन्यो, सिभिल इन्जिनियर ।
०४१ सालमा एसएलसी दिए । गणितमा टाठो । कक्षाको प्रथम विद्यार्थी । नतिजाले रोकेन । इन्जिनियरको रङ्गीन सपनाको छड्के झोला बोकर सिन्धुपाल्चोकबाट काठमाडौं पसे । पुल्चोक इन्जिनियरिङ कलेज गन्तव्य थियो । तर त्यहाँको नतिजाले धोका दियो उनलाई । आर्किटेक्टमा त उनको नाम निस्कियो, तर उनलाई त्यसमा दिलचस्पी थिएन । पढेनन् ।
पढ्ने के त ? वकालतमा पनि उनको रुचि थियो । सार्वजनिक छवि पनि हुने । त्यसैले उनी पुगे ल कलेज । पढ्न थाले संविधान कानुनका धारा र दफा । उनलाई रुचि थियो राजनीतिमा पनि । स्कुलमै हुँदा नेविसङ्घ र अखिलमा रहेर काम गरेका उनलाई काठमाडौंमा पनि त्यसबाट अलग हुनु थिएन । समय पनि त्यस्तै थियो । पञ्चायतकाल थियो । बहुदलका पक्षमा दलहरु आन्दोलनमा थिए । उनलाई पनि पञ्चायतका विरुद्धमा आफ्नो तहबाट सहयोग गर्नुथियो ।
“स्कुलमा सुरुमा पनि नेविसङ्घमा थिएँ । तर पञ्चायतविरुद्धका आन्दोलनमा नेविसङ्घ निस्क्रिय भएकाले म अखिलमा सक्रिय भएँ । कारण अखिल सक्रिय थियो । जिल्लामा म सचिव र उपाध्यक्ष नै भएँ अखिलको,” उनी भन्छन्, “नेविसङ्घ पञ्चायतविरुद्धको गतिविधिमा निस्क्रिय नभएको भए म अखिल हुँदैनथेँ ।”
ल कलेजमा पढाइभन्दा राजनीति बढी भयो । उनले पनि विद्यार्थी राजनीति मज्जैले गरे । तारानाथका समकालीनहरु अहिले संसद्देखि सरकारसम्म वाक्लै छन् ।
कविता लेख्ने, साहित्यमा चासो थियो । भाषा पनि राम्रो । साथीहरुले उनलाई भित्ते पत्रिकाको सम्पादक बनाए । राजनीतिदेखि समाज, साहित्यदेखि सम्पादकीयसम्म उनले लेखे । त्यसले तारानाथलाई लेख्ने बानीको विकास मात्रै गरेन, पत्रकारिताको कखरा पनि सिकायो ।
०४३ सालमा पहिलो पटक उनले ‘समीक्षा’ साप्ताहिकमा लेख छपाए । विद्यार्थीको कोलम थियो । त्यसमा उनले टिप्पणी लेखेका थिए ।
तीर्थ कोइराला पत्रकार भनेर चिनिसकेका थिए । तीर्थसँगै केदार सुवेदी, जयदेव गौतमलगायतले राम्रो लेख्दोरछौ भने ।
ओमबहालमा एउटा प्रेस थियो । थुप्रै पत्रिका छापिन्थे त्यसमा । यादव खरेलको ‘घुँयत्रो’, पिताम्बर शर्माको ‘जनसन्देश’, ‘नेपाली आवाज’ र ‘जनज्योति’को कार्यालय त्यहीँ नजिकै थियो । र, त्यहीँ थियो ‘दिनारम्भ’ पनि । ‘दिनारम्भ’का सम्पादकले भने, “तपाईं समसामयिक विषयमा त लेखिहाहल्नु हुन्छ । इन्टरनेसनल अफेयरमा पनि लेख्नुस् भनेर तीनवटा गोरखापत्र दिए । प्यालेस्टाइनको विषय चर्को थियो । गोरखापत्र हेरेर उनले त्यहीँ बसेर खरर लेखे । अर्को दिन अन्तरराष्ट्रिय कोलममा वाइलाइनसहित छापियो ।
त्यसले तारानाथलाई म लेख्न सक्नेरहेछु भनेर आत्मविश्वास जगायो । त्यसपछि उनले ‘दिनारम्भ’मा नियमित लेख्न थाले ।
० ० ०
विद्यार्थी राजनीतिमा पनि विभिन्न चलखेल हुन्थ्यो । कसलाई उकास्ने– कसलाई सिध्याउने दाउपेच हुन्थ्यो । निकटस्थ भएकै आधारमा अवसर पाउने र चाकडी नगर्दा बञ्चित हुनुपथ्र्यो । उनले पनि तीतो अनुभव सँगाले । उनलाई त्यो चित्त बुझेन । त्यसैले उनले निर्णय लिए, पञ्चायत व्यवस्था विरोधी आन्दोलन त छोड्दिनँ । तर राजनीति पनि गर्दिनँ ।
आईएल सकिसकेको थियो । अदालत जान थालेका थिए । कालो कोट लगाएर न्यायाधीशका अगाडि बहस गर्ने रहर थियो । सिनियर वकिलले अदालत त पठाउँथे, तर तारिख र मुद्दाका फाइल बोकाएर । फाइल बोक्दाबोक्दा थाकिसकेका थिए तारानाथ ।
बाँकी जानेको काम लेख्ने थियो । त्यसैले उनले निर्णय गरे– अब पत्रकारिता गर्छु । ०४४ साल थियो त्यो ।
‘दिनारम्भ’, ‘समीक्षा’, ‘जनसन्देश’, ‘छलफल’, ‘समाज’, ‘जनज्योति’, ‘विमर्श’लगायत थुप्रै पत्रिकामा काम गरे । उनले प्रेसपास लिएको पहिलो पत्रिका ‘दिनारम्भ’ थियो ।
०४६ सालको आन्दोलनको तयारी चलिरहेको थियो । तारानाथ विभिन्न पत्रपत्रिकामा काम गरिरहेका थिए । पत्रकारिता पढेका साथी थिए नीलकण्ठ हुमागाईं । उनले एक दिन भने, “यी बूढाहरुका पत्रिकामा काम गरेर हुँदैन, तपाईं र म मिलेर एउटा पत्रिका निकालौं ।”
काठमाडौंमा पत्रिका दर्ता गर्न गाह्रो । धुलिखेल गएर दर्ता गरे । नाम राखेका थिए ‘उषा’ साप्ताहिक । त्यसमा तारानाथ थिए– कार्यकारी सम्पादक ।
जनआन्दोलनमा तारानाथको कलम ‘उषा’ मै चल्यो ।
‘विमर्श’लाई हरिहरले छुटाएर लगेका थिए । पुरानो ‘विमर्श’का रुपमा ‘नेपाली आवाज’ निस्किरहेको थियो । ‘देशान्तर’ किशोर नेपालले प्रकाशन गरिरहेका थिए । तर प्रशासनले राजकाज मुद्दा चलाएपछि उनले नेपाल छोडेका थिए ।
त्ससपछि तारानाथ र नीलकण्ठले उपाय लगाए बन्द यी पत्रिकाको सम्पादकको अन्तरवार्ता लिएर छापौं । उनीहरुले किशोर नेपाल, हरिहर विरही र पदम ठकुराठीको अन्तरवार्ता लिएर छापे । त्यसपछि उनीहरुलाई पनि अञ्चलाधीशको कार्यालयले राजकाज मुद्दा लगायो । दुई/दुई हजार रुपैयाँ तिरेर धरौटीमा रिहा भए ।
० ० ०
‘स्पटलाइट’ प्रकाशन गरिरहेका मुकुन्द पराजुलीलगायतले नेपाली पत्रिका निकाल्ने तयारी गरिरहेका थिए । उनी र हरि अधिकारी एकदिन पत्रकार खोज्दै ‘उषा साप्ताहिक’ आइपुगे । उनीहरुले भने, “हाम्रो पत्रिकामा काम गरौं ।”
‘जनमञ्च’को पहिलो रिपोर्टरका रुपमा तारानाथ नियुक्त भए । यो समय ०४६ को आन्दोलनपछिको थियो । त्यसमा राजेश ढुङ्गाना, जीवेन्द्र सिम्खडा, चन्द्रशेखरलगायत पछि जोडिन आइपुगे ।
केही समयपछि नारायण वाग्ले पनि ‘जनमञ्च’मै काम गर्न आइपुगे । सुरुमा सम्पादकलाई चिठ्ठी लेखेका उनलाई मुकुन्दले बोलाएर रिपोर्टरकै रुपमा प्रवेश गराए । कला साहित्यमा उनले कलम चलाउँथे ।
डेढ वर्षमा तारानाथले ‘जनमञ्च’ छोडे । ‘नेपाली आवाज’मा धेरैले काम छोडेपछि पत्रकारको अभाव रहेछ । भरत जङ्गम प्रकाशक भएर आएका थिए । तारानाथलाई बोलाए । ‘जनमञ्च’मा प्रमुख संवाददाता भएका उनले त्यहाँ कार्यकारी सम्पादकको जिम्मेवारी पाए ।
त्यहाँ उनले एउटा चाखलाग्दो समाचार लेखे । ०४६ सालको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । संविधान जारी भएपछि संसदीय निर्वाचन गराएर सरकारबाट बहिर्गमन हुनुपर्ने थियो । संविधान पनि बन्यो । निर्वाचन पनि भयो । अब उनले सरकार छाड्ने दिन आयो । राजीनामा दिए । बिहीबार किशुनजीले प्रधानमन्त्रीको क्वार्टर छोड्ने दिन थियो । ‘जनमञ्च’मा काम गर्थे तारानाथ उनलाई फोन आयो । शुक्रबार पत्रिका निस्किन्थ्यो । त्यसैले उनले म आउन भ्याउँदिनँ, तर विवरण टिपाउनुस् भनेका थिए ।
नदनकुमार शर्माले फोन गरेर भने– किशुनजीले आज बालुवाटार छोड्नु भयो ।
कसरी छोड्नु भयो ? नदनले लामो विवरण टिपाए । अन्तिममा नदनले भने, “किशुनजी जाँदा गज्जब भो नि ।”
के भयो र ?
“ट्याङ्का र छातामात्रै लिएर जानु भयो, अरु केही लानु भएन नि ।”
तारानाथलाई रमाइलो लाग्यो भने, “नदनजी यसलाई अलि डिटेलमा भन्नुस न ।”
अफिसमा यस विषयमा छलफल भयो । बक्स न्युज बनाउने सल्लाह भयो ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, किशुनजीले बालुवाटार छोडे भन्ने समाचार छापे । बक्समा ‘छाता, सुराही र ट्याङ्काका साथ बाहिरिए किशुनजी !’ शीर्षकमा समाचार छापियो ।
त्यो समाचारको थुप्रै प्रतिक्रिया आयो । कालान्तरमा त्यही नै किशुनजीको बिम्ब बन्यो । आज पनि भोगविलासमा कुनै नेता लिप्त देखियो भने किशुनजीको त्यही कुरा बिम्ब बन्न पुग्छ ।
० ० ०
‘जनमञ्च’मा काम गरेको एक वर्ष भएपछि उनलाई फेरि राजनीतिले तान्यो । ०४९ मा राजनीति गर्छु भनेर जिल्ला फर्किए । तीन महिना गाउँ बसे । पार्टीले जिम्मेवारी पनि दियो– क्षेत्रीय समिति सचिव ।
उनी काठमाडौं आएका थिए । सुने, योगेश उपाध्यायको सम्पादकत्वमा ‘काठमान्डू पोस्ट’ प्रकाशन हुँदैछ । नारायण वाग्ले पनि त्यतै छन् भनेको सुनेपछि भेट्न थापाथली पुगे । चन्द्रशेखर, जिवेन्द्र सबै त्यहाँ आएका रहेछन् । नेपाली पत्रिका पनि निकाल्ने तयारी भैरहेको रहेछ । ‘जनमञ्च’मा सँगै काम गरेका योगेशले भने, “कहाँ राजनीति गरिराखेको फर्की ।”
“दाइ पत्रिकारितामा पनि दुःखै छ ।”
“राजनीतिमा चाहिँ सुख छ त ?”
“हैन राजनीतिमा केही भूमिका पाइरहेको छु ।”
“विचार गर ।”
“त्यसो भए म एकपटक गाउँ गएर आउँछु ।”
नारायण वाग्लेलाई लिएर तारानाथ हेलम्बु पुगे । हेलम्बुबाट मेलम्ची झरेपछि नारायण काठमाडौं फर्किए । तारानाथ केही दिन घर बसेर आउँछु भनेर लागे ।
केही दिनमा काठमाडौं आउँदा योगेशले भने, “ल तिम्रो नियुक्तिपत्र तयार छ है ।”
०४९ भदौबाट उप–सम्पादकको रुपमा तारानाथ ‘कान्तिपुर’ दैनिक प्रवेश गरे । फागुन ७ गतेबाट पत्रिका प्रकाशन आरम्भ भयो । अधिकांश डेमो अङ्कमा मुख्य समाचार उनकै नाममा छ । पहिलो अङ्कमा पनि उनको बाइलाइन समाचार छ ।
त्यहाँ उनले रिपोर्टिङदेखि पेज डिजाइनमा पनि बस्थे । रिपोर्टिङ गर्थे । आर्थिक पेज हेरे । जिल्ला समाचार पनि हेरे । सम्पादकीय लेख्ने अर्को मान्छे पनि चाहियो भने । त्यतै तानियो उनलाई । नाइट डेस्कमा पनि बसे ।
तीर्थ कोइरालाले छाडेर हिँडेपछि चिफ रिपोर्टर भएका तारानाथ ‘कान्तिपुर’मा समाचार सम्पादक र फिचर एडिटर पनि भए ।
० ० ०
‘कान्तिपुर’मा करिब ९ वर्ष काम गर्दा उनी पत्रकार महासङ्घमा सदस्य, सचिवकाे चुनाव लड्दै हुँदै महासचिव भएका थिए । महासङ्घमा पनि खटिनुपर्ने अनि पत्रिकामा पनि । त्यहीबेला योगेशले प्रधान सम्पादकबाट राजीनामा दिए । सेकेन्ड म्यान रहेका तारानाथको व्यवस्थापनसँग कुरा मिलेन । उनले राजीनामा दिए ।
तर पत्रकारिताबाट टाढा हुनु थिएन । त्यपछि जिवेन्द्र सिम्खडा र कविर राणाले ‘खबर कागज’ निकालिरहेका थिए । त्यसमा आबद्ध भए तारानाथ ।
त्यहीबेला नेपाल टेलिभिजनमा ‘प्रक्षेपण’ कार्यक्रम चलाए । त्यसअघि नै उनी रेडियो नेपालमा करेन्ट अफेयर्सको कार्यक्रम ‘परिक्रमा’का निर्माता भइसकेका थिए ।
‘विमर्श’लाई उनले नयाँ तरिकाले निकाल्ने सुर कसे । लगानीकर्ता भेटियो । २४ पेजमा रङ्गीन बनाएर निकाल्न थाले । सम्पादकीय नेतृत्व उनैले गरे । ६ महिना भएको थियो । बैङ्ककमा भएको एउटा तालिममा गएर फर्किंदा पत्रिका १६ पेजमा खुम्चिएछ । उनलाई चित्त बुझेन । बाहिरिए ।
० ० ०
०५९ सालमा उनी पत्रकार महासङ्घको नेतृत्व (सभापति)मा पुगे । सरकार–माओवादी द्वन्द्व उत्कर्षमा थियो । सबैभन्दा धेरै पत्रकार महासङ्घमा उनै रहेका बेला मारिए । १३ जना पत्रकार मारिए भने दर्जनौं अपहरणमा परे । दुई पटक उनकै पालामा सङ्कटकाल लाग्यो । त्यसको प्रतिरोध उनैले गर्नुपर्यो । त्यही बेला पत्रकार महासङ्घ कमजोर अवस्थामा थियो । कमजोर महासङ्घलाई खुट्टा टेकाउनु थियो ।
०६१ माघ १९ गते राजाले देशबासीका नाममा विशेष सम्बोधन गर्दैछन् भन्ने समाचार फैलिएको थियो । राजाको सन्देश आउन लागेको थियो । त्योभन्दा पहिला नै तारानाथको घर (कौशलटार) अगाडिको चौरमा प्रहरीको चहलपहल सुरु भयो । राजाको विशेष सम्बोधन चलिरहेको थियो । घर पछाडिबाट निस्किएर भागे उनी ।
त्यो दिन तारानाथ घर फर्किएनन् । बानेश्वरमा पत्रकार साथीकै घरमा बसे । २० गते भेला गर्ने प्रयास गरे । तर पत्रकार महासङ्घको कार्यालय प्रहरीको कब्जामा थियो । दरबारको कदमलाई कसरी लिने ? त्यो दिन पनि उनी घर गएनन् । रातभर निद्रा परेन । छटपटी भैरह्यो । राति नै उनले महासङ्घको तर्फबाट वक्तव्य ड्राफ्ट गरे । भोलिपल्ट बिहानै चार–पाँच जना साथी जम्मा भएर वक्तव्य जारी गरे । त्यसले हङ्गामा चल्यो । वक्तव्यमा भनिएको थियो– नागरिक अधिकार, प्रेस स्वतन्त्रता र लोकतन्त्रविरुद्धको शाही कू हो राजाको सम्बोधन । यसविरुद्ध सबै प्रतिरोधमा उत्रिनुपर्छ भनेर आह्वान पनि गरिएको थियो ।
त्यसपछि सरकारको तारो बन्यो पत्रकार महासङ्घ । २३ गते उनलाई यूएनको गेटबाटै गिरफ्तार गर्ने प्रयास भयो । त्यसबाट बचेका उनी २४ गते यूएनको सेल्टरमा पुगे । त्यहीँबाट उनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यम र सञ्चार संस्थालाई नेपाल र नेपाली सञ्चारको अवस्थाबारे जानकारी दिए । नेपालभरका पत्रकारको अवस्थाबारे जानकारी लिए । यसका लागि उनलाई सेटलाइट फोन दिइएको थियो ।
केही दिन स्विस र ब्रिटिस दूताबासले पनि उनलाई सहयोग गरे ।
“१० दिनसम्म मेरो घर प्रहरीले कब्जा गर्यो । मेरा बच्चाहरु सानै थिए । मेरो फ्ल्याटमा आएर इन्सपेक्टर बसे । छतमा रहेको किचनमा मेरी श्रीमती छोराछोरी बस्नु प¥यो,” उनी भन्छन्, “फोन खुलेपछि घरमा फोन गर्दा इन्सपेक्टरले पो उठाउँछ ।”
तारानाथलाई पक्रिन नपाएपछि प्रहरीले उनको महासचिव विष्णु निष्ठुरीलाई पक्राउ गर्यो ।
गिरिजाप्रसाद नजरबन्दमा थिए । बाहिरी सम्पर्कबाट अलग भएका थिए । १३ औं दिनमा तारानाथकै पहलमा गिरिजाप्रसादलाई कूटनीतिज्ञसँग भेटाइयो । ३६ दिनमा उनी आफ्नो घर पुगे ।
० ० ०
मानव अधिकार उल्लङ्घनका घटना दिनहुँ भैरहेका थिए । राज्य कठोर बन्दै गैरहेको थियो । राजाले शासनसत्ता हातमा लिएपछि सेना र प्रहरीको फूर्ति बढेको थियो । जनतामा त्रासको अवस्था सिर्जना भएको थियो । त्यसैले तारानाथ जेनेभा गए । नेपालमा ह्युमनराटइट काउन्सिलको कार्यालय ल्याउन पहल गरे । फर्किएर आउँदा दिल्लीमा जवाहरलाल युनिभर्सिटीमा देवेन्द्रराज पाण्डे र उनले सम्बोधन गरे । जनआन्दोलनको जग बसाउन उनले आफ्नो तहबाट प्रयास गरे । महासङ्घको महाधिवेशन मिति घोषणा भैसकेको थियो । एक वर्ष पर सारौं भन्ने साथीहरुको प्रस्तावलाई अस्वीकार गर्दै उनले प्रजातान्त्रिक प्रक्रिया रोकिँदैन भन्ने देखाउन वैशाखमा महाधिवेशन गरे । सरकारका प्रतिनिधिविना पहिलोपटक महाधिवेशन सम्पन्न भयो । सरकारलाई बहिष्कार गरेको थियो महासङ्घले ।
० ० ०
तारानाथले पत्रकार महासङ्घ छोड्ने बेलासम्म पनि दरबार सच्चिएको थिएन । लोकतन्त्र आइसकेको थिएन । त्यसैले केही न केही गर्नु नै थियो । स्वतन्त्र प्रेसका लागि भूमिका खेल्नु नै थियो ।
भारतदत्त कोइराला, विनय कसजू र हेमबहादुर विष्टको ‘मिडिया सपोर्ट इन्टरनेसनल’को अफिस थियो । तारानाथले उनीहरुसँग सहयोग मागे । ‘मिडिया सपोर्ट इन्टरनेसनल’को कार्यालयमै कोठा लिए । मूलधारका पत्रपत्रिकाबाट बाहिरिएका पत्रकारलाई पत्रिकामै राखिरहनु थियो । उनले तिनै पत्रकारलाई लिएर ‘इन्डिपेन्डेन्ट न्युज सर्भिस’ सुरू गरे । क्रिटिकल न्युज मरिरहेको थियो । त्यसलाई जोगाउने प्रयास गरे । धेरै पत्रपत्रिकाले ‘इन्डिपेन्डेन्ट न्युज सर्भिस’ले तयार पारेको समाचार छापे । जनआन्दोलन सकियो । खुला वातावरण आयो । उनले पनि ‘इन्डिपेन्डेन्ट न्युज सर्भिस’ बन्द गरे ।
संविधानले प्रेस स्वतन्त्रताको व्यवस्था गरे पनि बेलाबेलामा स्वतन्त्र प्रेसको घाँटी निमोठिइरहेको थियो । त्यसैले ढुक्क हुने अवस्था थिएन । प्रतिफल ०६२ मा तारानाथले फ्रिडम फोरमको स्थापना गरे । स्वतन्त्र प्रेसको वकालत गर्ने यसको मुख्य उद्देश्य थियो । पत्रकारको हकहित र सुरक्षाबारे खबरदारी गर्ने काम थियो । सूचनाको हकको ऐन बनाउन र उक्त ऐन कार्यान्वयनमा ल्याउन ०५५ सालबाट सक्रिय उनी आजपर्यन्त लागिरहेका छन् । कहिले महासङ्घबाट, कहिले व्यक्तिगत तवरबाट त कहिले फ्रिडम फोरमका तर्फबाट अनवरत् सङ्घर्ष जारी छ ।
राष्ट्रिय समाचार समिति (रासस)मा पनि पुगे उनी । ०६४ बाट उनले २२ महिना राससको नेतृत्व गरे ।
० ० ०
बिहीबारको दिन फ्रिडम फोरमको कार्यालयमा गफिँदा उनले आफ्ना सकसमात्रै सुनाएनन्, आफूले लेखेका केही समाचार पनि सम्झिए । जसले उनलाई करिअरमा साथ त दियो नै आत्मसन्तुष्टि पनि मिल्यो ।
०४७ पुसमा उनले ‘जनमञ्च’मा कभर स्टोरी गरेका थिए । स्टोरी थियो – मेलम्ची सेतो हात्ती बन्दै ।
त्यसमा उनले तत्कालीन समयमा विश्व बैङ्क र एडीबीको लडाइँ, काठमाडौंमा खाने पानीको अभाव, आयोजना प्रमुखले गरिरहेको भ्रष्टाचार, जियोलोजिकल हिसाबले मेलम्चीको पानी काठमाडौं ल्याउन सहज छैन भन्ने स्टोरीमा लेखेका थिए । “अझै पनि अहिले बनेको सुरुङबाट पानी काठमाडौं आउँछ अथवा आउँदैन फिक्स छैन,” उनी भन्छन्, “अहिले पनि मलाई त्यो बेला त्यो समाचार पढेका कतिले भन्छन्– तिमीले त्यो बेला लेखेको कुरा मनन् गरेको भए यस्तो हुँदैनथ्यो ।”
० ० ०
चेलीबेटी बेचविखानको मुद्दा उनले पटकपटक उठाए आफ्नो कलममार्फत् । चाहे त्यो साप्ताहिकमा होस् अथवा ‘कान्तिपुर’ दैनिकमा ।
यसमा जब ‘इनडेप्थ’ समाचार उनले गरे, यो समस्या समाधानका लागि मुभमेन्ट आवश्यक पर्छ भनेर माइती नेपालको गठन भयो । भलै त्यो बेला नाम ‘माइती’ मात्रै थियो । ‘माइती’को विधान पनि उनैले लेखे । अनुराधा कोइरालालाई उनैले ‘माइती’मा जोडे । एउटा टिम तयार भयो । उनी संस्थापक कार्यसमितिमा महासचिव भए । त्यही संस्था अहिले चेलीबेटी बेचविखन रोकथाममा अग्रणी संस्थाका रुपमा कार्यरत छ । अनुराधा त्यही संस्थाको नेतृत्व र कार्यक्षमता तथा योगदानका कारण विश्वकै प्रतिष्ठित सम्मान सीएनएन हिरो भइन् ।
० ० ०
संसदीय पत्रकारिता त भैरहेको थियो, तर त्यसमा अझै विकास र विस्तारको आवश्यकता थियो । तारानाथले पाल्र्यामेन्ट्री अफेयर्स रिपोटर्स क्लब बनाए । संस्थापक अध्यक्ष बने । संसद्को रिपोर्टिङ गर्ने पत्रकारलाई भारतमा लगेर तालिम दिने व्यवस्था पनि उनैले गरे ।
त्यति मात्रै होइन, अदालती समाचार सङ्कलनमा पनि उनले केही अभ्यास गरे । अदालतको समाचार लेख्नु हुँदैन, अपहेलना÷मानहानिको मुद्दा लाग्छ भनेर धेरै पत्रकार डराउँथे । तर कानुन पढेकाले पनि उनलाई सजिलो भयो सार्वजनिक विषय जनताको सरोकारको विषय हुने भन्दै उनले अदालतको नियमित रिपोर्टिङ गरे । अदालतका चर्चित मुद्दामा उनले समाचार लेखे । गिरिजाप्रसाद र मनमोहन अधिकारी दुवैको संसद् विघटनको मुद्दाको समाचार तारानाथले नै लेखे ।
० ० ०
पत्रकारले राजनीति गर्न हुन्छ ?
“सिद्धान्ततः हुँदैन । पत्रकारले सक्रिय राजनीति गर्नु हुँदैन ।”
“हाम्रो समय अलि फरक थियो । पत्रकारिता व्यवसाय भैसकको थिएन । हामी सङ्क्रमणकालमा थियौं । राजनीति गर्नलाई पत्रकार भयौं । समय नै त्यस्तै थियो । राजनीतिले हामीलाई कुनै न कुनै तरिकाले पछ्याइरह्यो,” उनी आफ्नो अनुभव सुनाउँछन्, “राजनीतिसँग म नजोडिएको भए अहिलेका कुनै पनि सम्पादक भन्दा म सिनियर हुँ । तर राजनीतिले कहिलेकाहीँ व्यावसायिक क्षमतामाथि प्रश्न उठाउँछ । राजनीतिमा पनि यो त पत्रकार हो भन्छन् । पत्रकारितामा यो राजनीति गर्छ भन्छन् । न यता न उता हुन्छ ।” त्यसैले उनी अहिलेको पुस्तालाई सुझाउँछन्– राजनीति गर्ने भए राजनीति नै गर । पत्रकारिता गर्ने भए पत्रकारिता नै गर । दुइटै ठाउँमा बस्दा दुवैमा असफल बनाउँछ । राजनीति र पत्रकारिताको मारमा परेका पत्रकारमध्ये म पनि एउटा हुँ । तर मैले भन्नुपर्दा मेरो लगाव पत्रकारितामै रह्यो ।
० ० ०
पत्रकारिताले आधुनिक प्रविधिको साथ पाइरहेको छ । प्रिन्टदेखि आजको अनलाइनसम्म । प्रिन्टमा जस्तो समाचारको प्रभाव अहिले रहेन । कारण, स्रोतले अब सूचना बाहिर ल्याउन पत्रिका, टेलिभिजन र रेडियो कुर्नु परेन । स्रोतले सोसल साइटहरुबाटै सूचना ब्रेक गर्न सक्ने भयो । नागरिक पत्रकारिता सुरू भयो । त्यसैले फितला समाचार र विचार पर्खिएर अब अडियन्स बस्दैनन् । उनी भन्छन्, “अहिले गहन सामग्री चाहिएको छ । तर अभाव छ ।”
एकातिर कन्टेन्टमाथिको लगानीको अभाव, अर्कातिर आर्थिक सुरक्षाको अभाव, कारण यस्तै हुन् गहन सामग्री अभाव हुनुमा । त्यसैले यस्तैयस्तै नयाँ कन्टेन्ट उत्पादनको सोचमा छन् अहिले तारानाथ ।
इन्जिनियर हुन पाएनन् । वकिल भएर पनि वकालत गर्ने अवसर मिलेन । बाटो फेरिँदै गयो । कलम चल्न थाल्यो । निब तिखारियो । पत्रकार भए । जब अब मेरो गोरेटो पत्रकारिता नै हो भन्ने निक्र्योल निकाले उनलाई आइडल लागे गोविन्द वियोगी, मणिराज उपाध्याय र हरिहर विरही । उनीहरुले जस्तै लेख्न र अन्तरवार्ता लिन पाए । कल्पना गर्थे उनी । एक दशकको सङ्घर्षमा तारानाथले उनीहरुकै हाराहारीमा लेख्न थाले ।
भारतदत्त कोइराला र गोकुल पोखरेल जस्तो एकेडेमिक हुन पाए ! महत्वाकाङ्क्षा थपियो । कालान्तरमा पत्रकारहरुको छाता संस्थाको नेतृत्व पनि गरे । त्यो पनि अप्ठ्यारो समयमा । अहिले प्राज्ञिक बहसहरुमा पनि छलफल गरिरहेकै छन् । सुरुको रहर नभेटिएपछि फेरिएको बाटोका रहरहरु भने उनले मेटाए । भन्छन्, “भलै गर्न अझै धेरै बाँकी छ ।”
तस्बिर : सुनिल प्रधान