आफ्नो जमानाका ‘सर्वशक्तिशाली’ शासक जनरल पर्वेज मुसर्रफलाई पाकिस्तानको एउटा अदालतले ‘राज्य द्रोह’को अपराधी ठहर गरी मृत्युदण्डको फैसला सुनाएको छ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पविरुद्ध संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिव’ले सत्ताको दुरुपयोग गरेको आरोपमा महाभियोग प्रस्ताव पारित गरेको छ । मुलुकलाई हिन्दुत्वकरण गर्ने अभियानमा भारतको परम्परागत धर्मनिरपेक्ष छविविपरीत अल्पसंख्यक मुसलमानहरूलाई एक्ल्याउने अभियानमा लागेका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण अहिले हिन्दुस्थानभर असन्तुष्टिको आगो सल्केको छ । कश्मीर खुला कैदखाना भएको छ भने उत्तरपूर्व जलिरहेछ । तैपनि मुसर्रफ, ट्रम्प र मोदीले आफूलाई नै सही ठान्छन् । उनीहरूको अहंकार र हठ पूरा गर्दा राष्ट्रको जति नै क्षति भए पनि पछुतो गर्दैनन् ।
मुसर्ररफलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसला उपल्लो अदालतले उल्ट्याउन सक्छ । त्यहाँको शासनमा सबैभन्दा बढी शक्ति र प्रभाव भएको सेनाले आफ्ना पूर्वसेनापतिलाई दिइएको मृत्युदण्डको विरोध गरिसकेको छ । सेनाको इच्छाविपरीत प्रधानमन्त्री इमरान खानले अदालतको फैसला कार्यान्वयन गर्नु त परैजाओस् मान्नुपर्छ भन्न पनि सक्तैनन् । यसैले मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सायद नैतिक र ऐतिहासिक मूल्यमात्रै हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प महाभियोगको प्रस्ताव पारित गरिएका तेस्रा राष्ट्रपति हुन् । संसद्को माथिल्लो सदन सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । यसैले अहिलेको प्रस्ताव पारित हुँदैमा ट्रम्प पदबाट हट्नुपर्दैन । यथा, प्रधानमन्त्री मोदीको पनि संसद्मा प्रचण्ड बहुमत छ । उनको दल भारतीय जनता पार्टीमा पनि मोदीको नेतृत्वलाई कसैले चुनौती दिएको छैन । यसैले सिगैं मुलुकलाई ‘कैदखाना’ र ‘असन्तोषको आगो’मा धकेलेर पनि उनी प्रधानमन्त्री भइरहनसक्छन् ।
मुसर्रफका समर्थकहरूले जति नै ‘राजनीतिक प्रतिशोध’ भने पनि त्यतिबेलाको निर्वाचित प्रधानमन्त्री नवाज सरिफको सरकारविरुद्ध उनले संविधानविपरीत सैनिक विद्रोह गरेकै हुन् । पाकिस्तानको कानुनले त्यसलाई राज्यद्रोह ठान्छ र त्यसको सजाय मृत्युदण्ड हुन्छ । मुसर्रफले सजाय भोग्न त सायद नपर्ला तर इतिहासमा उनी राज्यद्रोहको अभियोगमा मृत्युदण्ड दिइएका व्यक्ति बनेका छन् । यस्तै डोनाल्ड जे. ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको कलंकबाट मुक्त हुनसक्नेछैनन् । नरेन्द्र मोदीलाई दुनियाँले संसारको सबैभन्दा ठूलो लोकतन्त्रलाई समाप्त पारेर जातीय प्रभुत्व स्थापना गर्ने व्यक्तिका रूपमा सम्झनेछ । यिनीहरूले शक्तिशाली हुँदा जति दमन गरे पनि इतिहासलाई मेट्न त पक्कै सक्तैनन् । सामयिक इतिहासका यी पात्र र घटनाबाट नेपाली शासकहरूले केही पाठ सिक्लान् त ?
एघारौं शताब्दीको मानिने संस्कृत चम्पु काव्य ‘भोजप्रबन्ध’मा बालक राजा भोजले आफूलाई मार्न लगाउने संरक्षक मुञ्जलाई लेखेको भनिएको एउटा श्लोक शासकहरू सबैका लागि मननीय छ :
‘‘मान्धाता च महीपतिः कृतयुगालंकार भूतो गतः
सेतुर्येन महोदधौ विरचितः क्वासौ दशस्यान्तकः
अन्ये चापि युधिष्ठिर प्रभृतिभिर्याता दिवम् भूपते
नैकेनापि समम् गता वसुमती नूनम् त्वया यास्यति ।’’
साँच्चै हो ! मर्दा कसैले केही लाँदैन । व्यक्ति गएपछि उसको कीर्ति, कृति र कलंक न बाँकी रहन्छ ।