site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनपीएल सम्पूर्ण नेपालीको ‘ड्रिम प्रोजेक्ट’

काठमाडौं । नेपाली खेलकुदमा नेपाल प्रिमियर लिग (एनपीएल)को चर्चा चुलिरहेको छ । नेपालमा सायदै यस्ता कोही क्रिकेट समर्थक छन्, जसलाई एनपीएल चर्चा थाहा छैन । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको यो फ्रेन्चाइज क्रिकेट नेपालमा मात्र नभइ विश्वभर नै चर्चाको विषय बनिरहेको छ । 

चर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका निम्ति सम्झौता हुनुले पनि यो चर्चा झनै चुलिएको हो । प्रतियोगिताका निम्ति क्यानले आठ फ्रेन्चाइज टिमको फ्रेन्चाइजी बिक्री गरिसकेको छ । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताका आठवटै टिमले आफ्नो मार्की खेलाडी घोषणा गरिसकेका छन् भने विदेशी खेलाडी समेत सार्वजनिक गरिरहेका छन् । यसै सन्दर्भमा बाह्रखरीका आशिष पुडासैनीले क्यानका प्रवक्ता छुम्बी लामासँग एनपीएलको तयारी र समसामयिक क्रिकेटका विषयमा कुराकानी गरेका छन् । उक्त कुराकानीको संम्पादित अंश : 

Dabur Nepal
NIC Asia

नेपाल प्रिमियर लिगको तयारी कस्तो छ ? क्यानले भनेजस्तै ग्रान्ड बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटप्रेमीको ड्रिम प्रोजेक्ट हो भन्ने कुरा हामीले लिएका छौँ । अबको १२ दिनमा एनपीएल सुरु हुँदैछ । आजको दिनसम्म एनपीएलको चर्चा नेपालमा मात्र नभई संसारभरी भइरहेको छ । यसको तयारीका लागि क्यानले सम्पूर्ण तयारी गरिरहेको छ । नेपाल क्रिकेट संघ एनपीएलको अन्तिम तयारीमा छ ।

तपाईंहरूले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका निम्ति स्टार स्पोर्ट्ससँग सम्झौता गर्नुभयो । ब्रोडकास्ट पार्टनर सार्वजनिक हुँदा केही रकम तिर्नुपर्ने भनिएको थियो, विश्व खेलकुदलाई उदाहरणमा हेर्ने हो भने ब्रोडकास्टरले पैसा तिर्नुपर्ने हुन्छ । तर, यहाँ त तपाईंहरूले तिर्नुभएको छ । यो त उल्टो भएन ?

स्टार स्पोर्ट्समा एनपीएल प्रसारण हुनु आफैँमा नेपालका निम्ति प्रतिष्ठाको कुरा हो । नेपाली खेलकुद मात्रै नभई अन्य क्षेत्रमध्येमा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय च्यानलमा प्रसारण हुने पहिलो बन्दैछ । यसले सारा नेपालीलाई खुसीको महसुस गराउने छ । स्टार स्पोर्ट्समा प्रसारण गर्न त्यति सजिलो थिएन । धेरै मेहनतपछि क्यानले सम्झौता गरेको हो । तपाईंले भनेजस्तो उल्टो होइन, सुल्टो नै छ । एनपीएललाई क्यानले अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छ । त्यसैकारण एनपीएललाई विश्वस्तरमा लैजानुपर्छ भनेर हामी स्टार स्पोर्ट्समा गइरहेका छौँ । एनपीएलको प्रसारण हामीले मात्र चाहेर स्टार स्पोर्ट्समा हुन सम्भव थिएन । यसैकारण सचिवज्यूले भनिसक्नु भएको छ, हामीले अहिले केही रकम तिरेर लाइभ गराइरहेका छौँ । आगामी दिनमा तपाईंले भनेजस्तै स्टार स्पोर्ट्सले क्यानलाई नै पक्कै तिर्नुपर्ला । 

स्टार स्पोर्ट्स र सिद्धार्थ बैंकसँगको सम्झौताको रकम सार्वजनिक गर्नुभएन । स्टार स्पोर्ट्सलाई कति दिने र सिद्धार्थ बैंकबाट कति लिने पनि खुलाउनु भएन । यस्तो किन ? 

केही सम्झौताहरूमा कन्फिडेन्सियल कुराहरू रहन्छन् । सम्झौतामा उहाँहरूले कन्फिडेन्सियल नै राख्ने भनेपछि हामीले बाहिर नल्याएका हौँ । क्यान एउटा सार्वजनिक संस्था हो । त्यहाँ अडिट रिपोर्ट हुन्छ । यसैकारण सान्दर्भिक समयमा यो कुरा पक्कै पनि बाहिर आउँछ नै ।

क्यानकै आयोजनामा यसअघि भएका प्रतियोगिताहरूमा विभिन्न विवाद देखिसक्यौँ । एनपीएललाई सबैभन्दा ठूलो प्रतियोगिता बनाउने लक्ष्य तपाईंले भन्नुभयो । त्यो दाबी कसरी गर्नसक्नुहुन्छ ?

क्यानले गरेको कार्यक्रमका निम्ति भारतीय कम्पनीसँग सम्झौता गर्दा केही प्राविधिक त्रुटि भयो । यसैकारण त्यो लिगले नेपाली क्रिकेटलाई नै बदनाम गर्ने अवस्थामा पुगेको थियो । त्यही लिगलाई शिक्षाका रूपमा लिएर क्यानले आफ्नै लगानी, आयोजना र व्यवस्थापनमा यो प्रतियोगिता हुन गइराखेको छ । त्यो आधारमा पनि यो प्रतियोगिता उत्कृष्ट हुन्छ भन्ने हामीले बुझेका छौँ । 

लिगका निम्ति फ्रेन्चाइजी लिनुभएका मालिकहरूले पनि नेपाली क्रिकेटलाई माथि लैजान हृदयदेखि नै काम गरिरहनु भएको छ । खेलाडीहरू टेस्ट राष्ट्र र एसोसिएटस्तरमा पनि उत्कृष्ट अनुबन्ध भइरहेका छन् । खेलाडी, प्रोमोसन, ब्रान्डिङका हिसाबले विश्वस्तरमा पुर्‍याउन ब्रोडकास्टका निम्ति स्टार स्पोर्ट्ससँगको सम्झौता भएको हो । यी सबै कुराहरूले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता बन्नेछ । यसले नेपाललाई नै विश्वस्तरमा परिचित गराउने हाम्रो विश्वास छ ।

प्रसारणका निम्ति स्टार स्पोर्ट्ससँग सम्झौता हुँदै गर्दा नेपालको घरेलु क्रिकेटले नदेखेको डिसिजन रिब्यु (डीआर) सिस्टम आउँछ कि आउँदैन ?

यो नितान्त प्राविधिक कुरा भएको हुँदा स्टार स्पोर्ट्स र क्यानका प्राविधिक टिमबीच छलफल भइरहेको छ । सकेसम्म हामी सबै प्रविधि प्रयोग होस् भन्ने चाहन्छौँ । तर, कति धेरै कुराहरूमा हामीले स्टार स्पोर्ट्सको आवश्यकता पूरा गर्न सक्छौँ, सक्दैनौँ भन्ने कुरा रहन्छ । यसमा प्राविधिक कुराहरू जोडिने हुँदा हामीले अहिले नै ठ्याक्कै भन्न सक्ने अवस्था छैन ।

प्रत्यक्ष प्रसारणका निम्ति स्टार स्पोर्ट्ससँग सम्झौता त भयो । तर, घरमा टेलिभिजन नहुने, युट्युब वा फेसबुकमा हेर्न चाहने दर्शकका लागि क्यानले के सोचेको छ ?

अवश्य पनि यसमा क्यानले काम गरिसकेको छ । जो स्टार स्पोर्ट्समा हेर्न चाहनुहुन्छ, त्यसमै हेर्नुहुन्छ । जो डिजिटल स्ट्रिमिङ मोबाइलमा हेर्न चाहनुहुन्छ उहाँहरूले त्यसैमा हेर्न पाउनु हुन्छ । यसको विषयमा पनि क्यानले केही दिनमै निर्णय सार्वजनिक गर्नेछ । 

एनपीएलको नामलाई लिएर अहिले केही विवादजस्तो पनि देखिएको छ । जोरा स्पार्ट्स म्यानेजमेन्टले नेपाल प्रिमियर लिग लेखेको लेटरहेडमा विज्ञप्ति पठाएको थियो । बाहिरबाट हामीले हेर्दा क्यानले यसमा ध्यान नदिइरहेको जस्तो लाग्छ, किन ? अदालतले पनि १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको थियो । यस विषयमा क्यानले के गरिरहेको छ ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हामी कार्यान्वयनको अन्तिम चरणमा पुगिसकेका छौँ । नेपाल क्रिकेटको आधिकारिक सञ्चालक निकाय नेपाल क्रिकेट संघ हो । क्यानलाई नेपालको खेलकुद ऐनले दिशानिर्देश गर्दछ । त्यो हिसाबले घरमा प्रतियोगिता आयोजना गर्ने र व्यवस्थापन गर्ने अधिकार क्यानलाई हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति क्यान आईसीसी र एसीसीको माध्यमबाट अघि बढ्छ । त्यसकारण क्यानले कुनै प्रतियोगिता आयोजना गर्न निजी कम्पनीसँग सोधिराख्नु पर्छ जस्तो मलाई लाग्दैन । 

Chhumbi-lama-(2)-1732021326.JPG
निजी कम्पनीहरू ऐनअनुसार सञ्चालन भइराखेका हुन्छन् । सम्मानित अदालतमा मुद्दा पुग्दा पनि अदालतले अहिले यसलाई रोक्नुपर्ने कारण छैन, प्रतियोगिता आयोजना गराउनुस् भन्ने देखाएर अन्तरिम आदेश दिएको छैन । अदालतबाट अन्तरिम आदेश नआउँदा क्यानलाई प्रतियोगिता आयोजना गर्न कुनै बाधा अड्चन छैन । जसले क्यानलाई एनपीएल मेरो नाममा छ भनेर मुद्दा हालेका छन्, उनलाई हामी के भन्न चाहन्छौँ भने क्रिकेटलाई माया गर्नेहरूलाई संघले जहिले पनि स्वागत गर्छ । 

क्यान कुनै व्यक्तिको हैन । त्यसकारण एनपीएल क्यानको मात्र नभई सम्पूर्ण नेपालीको सम्पति हो भनेर बुझ्न पर्छ । अदालतको कारण देखाउ आदेश भन्ने कुरा कानुनी भएकाले यस विषयमा क्यानको कानुनी टिमले यसलाई हेरिरहेको छ । अदालती प्रक्रिया पूरा हुँदै जान्छन् । एनपीएल भव्य रूपमा हुन्छ । 

एनपीएलकै लागि भनेर त्रिवि क्रिकेट मैदान कसरी तयार हुँदैछ ? 

क्यानले करिब ६ महिनाको दौरान मैदानको पिच र माटो रेनोभेट गरेर नयाँ पिचको सेप आएको छ । नयाँ पिचमा यसपालि एनपीएल सुरु हुन्छ । दर्शकदीर्घाका लागि केही व्यवस्थापन गर्ने भनेर हामीले प्राकृतिक प्यारापिट भनौँ त्यसलाई हामीले केही सुधार गरेका छौँ । समर्थकका निम्ति जोन छुट्याएका छौँ । साधारणतर्फ दर्शकहरूका निम्ति टेम्प्रोररी बाथरुम निर्माण गरेका छौँ । 

राष्ट्रिय खेलकुद परिषद्को लगानीमा डिजिटल स्कोरबोर्ड जडान गरेका छौँ । जसलाई एनपीएलमै देख्न सकिन्छ । भीआईपीका निम्ति टिकट बिक्री गर्ने भन्ने कुरा आएको छ । त्यसैकारण अस्थायी प्यारापिट बनाएका छौँ । अरु धेरै काम त्रिवि क्रिकेट मैदानमा भइरहेको छ । धेरै नयाँ चिजहरू एनपीएलमा देख्न पाउँछौँ । 

भीआईपीमा प्यारापिट हुँदा दर्शकले टिकटका निम्ति केही बढी रकम तिर्नुपर्ने भएको हो ?

यस विषयमा छलफल भइरहेको छ । क्यानको बोर्डले नै छलफल गरेपछि टिकट मूल्य निर्धारण हुन्छ । साधारण, भीआईपीतर्फ र भीभीआईपीतर्फ के गर्ने भनेर क्यानको बोर्ड बैठकले तय गरेर सार्वजनिक गर्नेछ । 

३०० दिनभित्र कीर्तिपुरमा फ्लड लाइट र प्यारापिट बन्ने भन्ने हालको मन्त्रिपरिषद्को पहिलो निर्णय थियो । आजको दिनसम्म यो निर्णय भएको १२६ दिन भइसक्यो । सरकारले यसका लागि क्यानसँगको समन्वय कसरी गरिरहेको छ ? 

त्रिवि क्रिकेट मैदानमा एनपीएलपछि सायद सरकारले सोहीअनुसार निर्माण कार्य सुरु हुन्छ भन्ने सुनिएको छ । नेपालमा क्रिकेटको माहोल देखेर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने निर्णय गर्नुभएको छ । त्यसको लागि क्यान सरकारकाप्रति आभारी छ । त्यसैअनुसार नेपाल सरकारअन्तर्गत सहरी विकास मन्त्रालयले सम्भाव्यता अध्ययन, डीपीआरका प्रक्रियामा काम गरिरहेको छ भन्ने जानकारी क्यानलाई छ । 

Chhumbi-lama-(1)-1732021326.JPG
क्यानले गर्नुपर्ने सहकार्य, समन्वय हामीले गर्ने नै भयौँ । अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्न के के चाहिन्छ भन्ने कुरामा उहाँहरूले पनि अध्ययन गरिरहनु भएको छ । यसमा क्यानले पनि आवश्यक सहयोग गरिरहेको छ । आवश्यक परे उहाँहरूले अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अवलोकन पनि गर्ने भन्ने कुराहरू आएका छन् । सरकारले घोषणा गरेको समयावधिभित्रै रंगशाला बनोस् भन्ने हाम्रो चाहना छ । 

तपाईं यसअघि पनि क्यानको कार्यसमितिमा बसेर काम गरिसक्नु भयो । हाल प्रवक्ता हुनुहुन्छ । यसअघि र अहिलेको कार्यसमितिमा फरक के के पाउनु भयो ?

क्रिकेट संघ सधैँ नेपाल क्रिकेट संघ नै हो । कार्यसमिति मात्रै परिवर्तन हुने हो । केही मतभेद र भिन्नता हुनु स्वभाविक हो । तर, त्यसबेला पनि कार्यसमितिले काम गरेकै हो । त्यसबेला सकारात्मक काम पनि थिए, नकारात्मक पनि थिए । तर, हाल नेपाली क्रिकेटमा लामो समय काम गरेको, टिमबाट खेलेको, खेल जीवनबाट ख्याति कमाएको पारस खड्का जो अहिले सचिव पदमा निर्वाचित भएका हुनुहुन्छ । उहाँ, अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष र सबै सदस्यहरूको यो टिम क्रिकेटमा केही नयाँ गरौँ भनेर लागिरहनु भएको छ । क्यानले राम्रो काम गरिरहेको छ । यो एउटा चरण मात्रै हो । अझ तीन वर्ष काम गर्न बाँकी नै छ । एक वर्षमा भनेजति उपलब्धि भएको छ । आगामी दिनमा चुनौती पनि छ । तर, यसलाई आत्मसात गरेर यो टिम अघि बढिरहेको छ ।

अन्त्यमा, नेपाली क्रिकेट समर्थकलाई एनपीएलको बारेमा के सन्देश दिन चाहनुहुन्छ ?

एनपीएल नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता बन्ने लयमा छ । प्रतियोगितामा रहेका आठ वटा फ्रेन्चाइजमा आफ्नो टिमलाई समर्थन गरेर त्रिवि क्रिकेटमा उपस्थित भएर खेल हेरिदिनु होला । हौसला बढाइदिनु होला । जो बाहिर हुुनुहुन्छ, उहाँहरूले ओटीटी प्लेटफर्म, स्टार स्पोर्ट्सलगायत अरु माध्यमबाट हेरेर एनपीएललाई माया गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्न चाहन्छु ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro