अभाव र असुविधाको वास्तै नगरी खेलमा समर्पित नेपाली खेलाडीले देशको खेल इतिहासमा कीर्तिमा कायम गरेका छन् । नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक ५१ स्वर्ण पदक जित्यो । भारतले नेपालभन्दा बढी पदक जित्यो तर देशको भूगोल र जनसंख्याको अनुपात हेर्दा नेपाली खेलाडीको उपलब्धिलाई उम्दा भन्न हिचकिचाउनु पर्दैन । यसैले सबै खेलाडी बधाई र स्याबासीका पात्र भएका छन् । प्रतियोगितामा सफल भएर पदक हात पार्नेमात्र हैन खेल र प्रशिक्षणमा सहभागी सबै खेलाडी एवं प्रशिक्षकहरू बधाईका पात्र हुन् । अनेकौं कमी र केही अनियमितताको आरोप लागे पनि खेल आयोजकहरूलाई धन्यवाद नदिनु अन्याय हुन्छ । हामी श्रेष्ठ प्रदर्शन र सफल आयोजनका लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापन सबैलाई बधाई एवं धन्यवाद ज्ञापन गर्छौँ ।
खेलहरू काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएका थिए । सबैतिरबाट व्यवस्थापनका हकमा भने हेलचेक्य्राइँ, लापरबाही र अनियमितताका गुनासा आउन थालेका छन् । जनकपुरमा आतिसवाजीका क्रममा अलपत्र छाडिएको पटाकाले एक जना बालकको ज्यान लिएको समाचार छ । काठमाडौंमा नेपाल प्रहरीका अधिकृतको अनुचित बल प्रयोगबाट एक जना पत्रकार सिकिस्त घाइते भएर अस्पतालमा उपचाररत छन् । उपहार वितरणमा करोडौं खर्च भएको अनुमान गरिएको छ तर खेलाडीले जुत्ता वा खेलका अन्य सामग्रीसमेत पाएनन् । हुँदाहुँदा टिकट विक्रीका लागि जिम्मा दिइएको कम्पनीमाथि समेत बदमासी गरेको आरोप लागेको छ । अर्थात्, खेलाडीहरूले जसरी नाम राखे खेल व्यवस्थापकहरूले त्यसरी नै इज्जत गुमाएका रहेछन् । खेलाडीहरूमाथि जस्तै राष्ट्रले व्यवस्थापकहरूमाथि पनि गर्व गर्न पाएको भए सुनमा सुगन्ध हुनेथियो ।
सम्पन्न सागबाट सिकौँ । खेलाडीको भविष्य र सुविधामा ध्यान दिन सके राष्ट्रको इज्जत खेलाडीले बढाउने रहेछन् । खेलाडीका निम्तिभन्दा पदाधिकारी र कर्मचारीका निम्ति राज्यको खेलकुद बजेट बढी खर्च गर्ने परिपाटी बन्द गरेर खेलाडीलाई प्राथमिकता दिने अभ्यास थालौँ । अर्को कुनै प्रतियोगितामा खेलाडीले न्यूनतम सुविधा र खेल सामग्री नपाएको गुनासो गर्नु नपर्ने व्यवस्था मिलाऊँ । स्वर्ण पदकका दाबेदारले प्रतियोगिता छाडेर अरब जाने बाध्यता अन्त्य गर्न योजनाबद्धरूपमा काम थालियोस् । नत्र, अर्को प्रतियोगितामा शिर निहुरिनेछ र देशले त्यस्तो परिस्थिति सिर्जनाहरूलाई कहिल्यै माफ गर्नेछैन । संस्थागत खेलाडीहरूको वर्चस्व हुनु राम्रो हो तर जीविकाको उपाय नभएका खेलाडीका लागि राज्यले हेर्ने र संस्थागत खेलाडीलाई पनि प्रोत्साहन दिने स्पष्ट र पारदर्शी व्यवस्था गरौँ । कुनै पनि खेलाडीलाई अभिभावकले निरुत्साहित गर्ने वा आफैँ हतोत्साही हुने अवस्था आउन नदिऊँ । रह्यो, कमजोरीको प्रश्न सबै पक्षले समीक्षा गरेर सच्याउनुपर्छ । बदमासी, अनियमितता र बदनियत भएको छ भने त कानुनबमोजिम कारबाही हुनुपर्छ । खेलाडीहरूको पौरख कसैको बदमासी ढाकछोप गर्न प्रयोग नहोस् !